सडकमा थुपारिएको फोहोर तह लगाउन नसक्ने काठमाडौं महानगरपालिकाले पुरातात्विक महत्त्वका वस्तुलाई भने फोहोर भन्दै फाल्न हतार गर्नु कुनै रहस्य हैन भने मूर्खता हो । केही दिन यता काठमाडौंका सहरमा जताततै फोहोर थुप्रिएर दुगन्ध पैmलिएको छ । भित्री गल्ली वा चोकमा मात्र हैन नयाँ सडक, हनुमानढोकाजस्ता अत्यन्त व्यस्त र महत्त्वपूर्ण ठाउँमा समेत फोहोरको डंगुरले वरपर बसिनसक्नु भएको देखिन्छ । केही दिन बिराएर सहरमा यस्तो दृश्य र दुर्गन्ध नियमितजस्तै हुनलागेको छ । अर्कातिर, टुँडीखेलको छेउमा थुपारिएका पुरातात्विक वस्तुको भग्नावशेष ‘तह‘ लगाउन भने काठमाडौं महानगरपालिकाले निकै हतार गरेको देखियो । केही दिन पहिले पुरातात्विक अवशेषहरू डोजरले उठाएर ट्रकमा हालेर अन्यत्र लगेर मिल्काउने काम भएको देखिएको थियो । त्यसरी डोजर चलाएर फालिएको फोहोरमा थाम राख्ने ढुंगालगायत मूर्तिसमेत भेटिएको र कबाडी बटुल्नेहरू त्यहाँ खुलारूपमा घुमिरहेको तस्बिर सामाजिक सञ्जालमा देखिएका छन् ।
अर्थात्, काठमाडौं महानगर तुरुन्तै फाल्नु पर्ने फोहोर कैयौँ दिन थुपारेर राख्छ तर सँगालेर राख्नुपर्ने पुरातात्विक अवशेष भने मिल्काउन हतार गर्छ ।
फाल्नु पर्ने फोहोर थुपार्ने र जोगाउनुपर्ने वस्तुहरू मिल्काउने गर्नुको कारण र नियत भने बुझ्न कठिन हुन्छ । फोहोर सहरमा थुप्रिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । विदेशी स्वदेशी सबैले फोहोर व्यवस्थापन नगर्नेहरूलाई धिक्कार्छन् । यसैले यस्तो फोहोर तत्काल तह लगाइहाल्नु पर्थ्यो । अर्कातिर पुरातात्विक अवशेषलाई यसरी फोहोर सहर मिल्काउँदा कतिपय महत्त्वपूर्ण कलात्मक एवं धार्मिक महत्त्वका वस्तुहरू सधैँका लागि नष्ट हुन्छन् । भूकम्पलगत्तै पुरातात्विक अवशेषहरू यसरी जथाभावी थुपार्नु हुनेथिएन । उतिबेला विपत्तिका कारण बुद्धि पुगेन । तर, अब त टुँडिखेलको एउटा छेउमा थुपारिएका वस्तुलाई बिस्तारै केलाएर महत्त्वपूर्ण वस्तुको उचित संरक्षण र पुनःस्थापन, पुनःप्रयोग गर्न मिल्ने वस्तुको सदुपयोग गर्ने र काम नलाग्ने वस्तुमात्र अन्यत्र लगेर तह लगाउने गर्नुपथ्र्यो । दुर्भाग्य, काठमाडौं महानगरपालिकालगायत सम्बन्धित सरकारी निकायले लापरबाही गरे । काठमाडौं महानगरका नवनिर्वाचित प्रतिनिधिहरूले फोहोर व्यवस्थापन र सरसफाइलाई प्राथमिकता दिने घोषणा गरेका थिए । यसैगरी योे प्राचीन सहरको सांस्कृतिक गौरव कायम राख्ने विषय पनि उनीहरूको प्राथमिकतामा परेको थियो । निर्वाचित भएपछिका करिब ५ महिनाको काम गराइ हेर्दा भने ठीक उल्टो भएको देखिन्छ ।
काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू सहरभित्रको फोहोर व्यवस्थापन गर्न असमर्थमात्र हैन पुरातात्विक वस्तुको संरक्षणमा अनिच्छुक र लापरबाह पनि देखिएका छन् । पुरातात्विक महत्त्वको वस्तु भएकाले त्यसको संरक्षणमा पुरातत्व विभाग पनि पूर्व क्रियाशील हुनुपर्ने हो । तर, भूकम्पपछि पुरातत्व विभागले अस्तित्वसमेत देखाउन सकेन । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पनि पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भएकाले पुरातत्व विभाग शिथिल र उदासीन भएको हुनसक्छ । त्यसो हो भने प्राधिकरणले यस्ता वस्तुको संरक्षणमा चासो र अग्रसरता देखाउनु आवश्यक छ । पुरातात्विक महत्त्वका यस्ता अमूल्य वस्तुहरू नष्ट भए भने त्यस्तो क्षति अपूरणीय हुन्छ । त्यस अवस्थामा अहिलेका जिम्मेवार व्यक्तिहरूमाथि नेपालको पुरातात्विक सम्पदा नाश गर्ने षड्यन्त्रमा सामेल भएको कलंक लाग्नेछ । आफ्नो टोलको देवताको मूर्ति वा कलात्मक, सांस्कृतिक एवं धार्मिक महत्त्वको कुनै वस्तु सम्बन्धित अधिकारीहरूको लापरबाहीले नष्ट भएको थाहा पाउँदा सरोकारवाला समुदायमा विस्फोट हुने आक्रोश धान्न कठिन हुनेछ । महानगरपालिका वा सरकारका अन्य निकायसँग पुरातात्विक महत्त्वका वस्तु केलाउने सीप र जनशक्ति नभए स्वयंसेवीहरूको सहयोग लिए हुन्छ तर जनताकाे अास्था जोडिएका वस्तुमा हेलचेक्य्राइँ गर्नु हुँदैन ।