राजनीति
काठमाडौं । नेकपा एमालेले सरकारको कामकारवाही प्रति कडा निगरानी गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा जारी स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । आईतबार बसेको बैठकमा यसअघि उठेका विषयमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
मुलतः उनले एमाले नेतृत्वको सरकार ढल्नुका कारणबारे प्रष्ट पारेका थिए । बैठकमा ओलीले सरकार निर्माणको पृष्ठभूमिदेखि नै एमाले नेतृत्वमा नयाँ सरकार बन्न नदिन षडयन्त्र भएको टिप्पणी गरेका थिए ।
उनले यस्तो प्रयास देशभित्र र बाहिरबाट भएको बताएका थिए ।
“सरकार निर्माणको पृष्ठभूमिदेखि नै नेकपा (एमाले)को नेतृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्रहरु भएका थिए,” ओलीको भनाई उधृत गर्दै सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ती षड्यन्त्रहरुलाई चिर्दै हाम्रो नेतृत्वमा सरकार बनाउन हामी सफल भयौं । र, नौ महिनाको अवधिभित्र नेपाली जनतामा सकरात्मक आशावादिता सृजना गर्न हाम्रो सरकार सफल रह्यो । हामीले नेपाल राष्ट्र र नेपाली जनताको हीतमा दुरगामी महत्वका फैसला ग¥यौं । नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दिर्घकालीन गन्तव्यको तस्वीर जनसमक्ष प्रस्तुत ग¥यौं । राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं । अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ शिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बन्ध कायम गर्न सक्ने हैसियतमा पु¥याउने काम ग¥यौं । समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र नेकपा (एमाले)को इज्जत र प्रतिष्ठालाई युगौं युगसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको छ । यसमा सिंगो पार्टी गर्वबोध गर्दछ ।”
ओलीले सरकार बनेपछि पनि विभिन्न षडयन्त्र जारी रहेको बताउँदै बैशाख महिनामा पनि समीकरण बदल्ने प्रयास भएको बताएका थिए । तर उनले पार्टीमा देखिएको एकताले असफल भएको बताएका थिए ।
“गत बैशाख महिनामा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोशिस भएको थियो,”अध्यक्ष ओलीले बैठकमा भनेका थिए,“उक्त समयमा पार्टीको एकताबद्ध प्रयत्नबाट हामीले त्यसलाई असफल बनायौं । र, नेकपा (माओवादी केन्द्र) सँग ‘नौ बुँदे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्वका साथ अघि बढाउने सामुहिक संकल्प ग¥यौं । तर, देशभित्र र बाहिरका षड्यन्त्रहरु समाप्त भएका भने थिएनन् । उनीहरुले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिए । माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्वकांक्षा, अवसरवाद जस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान ग¥यो । हाम्रो पार्टीको तर्फबाट रणनीतिक समझदारीलाई विश्वासमा बदल्दै सरकारको नेतृत्व परिवर्तन गरेर भएपनि उक्त समीकरणलाई जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसको स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गरिएकोमा उहाँले त्यसतर्फ कुनै कदम नचाली सरकार परिवर्तनको षड्यन्त्रमूलक क्रियाकलापमा सामेल हुनुभयो । त्यसैको परिणाम उपयुक्त समीकरण बदलिन पुग्यो ।”
बैठकले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधी र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेको ठहर गर्दै त्यसप्रति सचेत हुँदै संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पूर्व सरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचनहरु सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले एमाले नेतृत्वमा रहेको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गर्दै सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय गरेको भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यिनै विषयवस्तुहरुलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३ १९:५२
प्रतिक्रिया दिनुहोस्