site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाढीको पीडा विर्सेर मतदान गर्न निर्वाचन आयोगको आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोगले बाढी पीडा विर्सेर एक दिन राष्ट्रलाई दिन आग्रह गरेको छ । निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले बाढी र डुवानको पीडालाई एकदिन विर्सेर मतदानमा सहभागी हुन आग्रह गरे ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । 
मतदान कार्य सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

Agni Group

प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । 
यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले दिएको मन्तव्य 

Global Ime bank

आदरणीय मतदाता आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरू,  
१.    स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा भोलि अर्थात् असोज दुई गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । मतदान कार्य सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको कुरा समस्त मतदाता, आम जनता, राजनीतिक दल र सरोकारवालाहरूलाई अवगत गराउन चाहन्छु ।
२.    प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ ।
३.    खाद्यान्नको उर्बरभूमि मधेसमा हालै गएको भीषण बाढी, डुबान र कटानले यस क्षेत्रका अधिकांश बासिन्दा कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको अवस्थामा हुने निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको सेवालाई नै सर्वोपरि राखेर काम गर्ने छन् भन्ने विश्वास आयोगले लिएको छ ।
४.     भोलि सोमबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म यहाँहरूलाई अनुरोध गर्दछु ।
५.    गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि भोलि मतदान हुन लागेको हो । यो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाका जनप्रतिनिधिहरूको निर्वाचन गर्ने छ । पहिलो र दोस्रो चरणको मतदानमा मतदाताहरूमा ठूलो उत्साह देखिएको थियो । ती क्षेत्रमा जस्तै  यहाँहरू पनि मतदान गर्न ज्यादै उत्सुक हुनुहुन्छ भन्नेमा निर्वाचन आयोग विश्वस्त छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग आयोग हार्दिक अपिल गर्न चाहन्छ ।
६.    पाँच वर्षसम्म नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरु तपाईहरुको घर टोलमा आइसक्नु भएको छ । बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि दिनुहोस्, यो असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन आयोग समस्त मतदाता आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक अनुरोध गर्दछ ।
७.    आदरणीय मतदाताहरू तपाईहरूले पक्कै पनि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र नजिकको मतदान केन्द्रबाट प्राप्त गरिसक्नु भएकै होला । मतदान गर्न जाँदा फोटोसहितको मतदाता परिचयपत्र लिएर मात्र मतदान केन्द्रमा जानुहुन म मतदाता महानुभावहरूसँग आग्रह गर्न चाहन्छु । मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी गराउँछु । साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।
८.    मतदाता महानुभावहरु, २०७३ फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसक्नु भएका र सोही मितिमा १८ वर्ष उमेर पुगी तपाईको नाम फोटोसहितको मतदाता नामावलीमा समावेश छ भने मात्रै तपाईहरुलाई मतदानको अधिकार प्राप्त हुन्छ । यहाँहरुको नाम जुन मतदान केन्द्रको मतदाता नामावलीमा छ, सोही मतदान केन्द्रबाट मात्रै मतदान गर्न पाउनु हुने भएकाले तोकिएको मतदान केन्द्रमा गई आफूले रोजेका सातजना उम्मेदवारको चिह्नमा गोप्य तबरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्न हुन आग्रह गर्दछु । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन अपिल गर्दै कसैले त्यस्तो गैर कानुनी कार्य गर्नुभएमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराउन चाहन्छु ।
आदरणीय मतदाता आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरू, 
९.    अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोग निर्देश गर्दछ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नु हुने छ । यसरी मत सङ्केत गर्दा मतदाताको इच्छाविपरीत हुने छैन भन्ने आयोगले विश्वास लिएको छ ।
१०.   तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।
११.   स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुरोध गर्ने नीति बमोजिम तेस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
आदरणीय मतदाता महानुभावहरू,
१२.   नेपालको संविधानले महिला, पिछडिएका क्षेत्र, सीमान्तकृत समूह, दलित, मधेशी समुदाय र अपाङ्गता भएका व्यक्तिहरूका साथै अन्य लक्षित समूह एवम् समुदायहरूको निर्वाचनमा सहभागिता सुनिश्चित गरेको छ । यस निर्वाचनबाट महिला, दलित र अल्पसङ्ख्यकको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगी महिलाको आत्मविश्वास र आत्मसम्मानको विकास हुने र महिलालगायत पिछडिएका वर्गका नागरिकको सशक्तीकरण हुने भएकाले मुलुकको राजनीतिक पद्धति सफल हुने कुरामा दुई मत रहन सक्दैन । आफ्नो स्थानीय सरकार कस्तो बनाउने हो, त्यो तपाई मतदाताहरूकै हातमा निर्भर रहेको छ ।
१३.   सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ । तसर्थ तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग ढुक्क रहेको छ ।
१४.   मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई सबैले मनन गर्नु हुने छ । यस अवधिमा निर्वाचन प्रसार–प्रसारका सबै कार्य निषेध गरिएको जानकारी सबै दल र उम्मेदवारले पाइसक्नु भएकै छ । त्यसैले आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबैसँग हार्दिक अनुरोध गर्दछु ।
१५.   निर्वाचन कार्यक्षेत्रमा खटिनुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षा निकायले विगतमा झैं आ–आफ्नो जिम्मेवारी पूरा गर्न कठिन परिश्रमका साथ अहोरात्र खटिरहनुुभएको छ । तपाईहरूको मेहनतले आयोगको मर्यादालाई उच्च बनाउन र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग पुग्ने छ । साथै लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा तपाईहरू निष्पक्ष भई आफ्नो बुद्धि, विवेक र संयमताको भरपूर प्रयोग गर्नु हुने छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।
१६.   निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोगका लागि आयोग हार्दिक अपील गर्दछ । तेस्रो चरणको निर्वाचनमा दलहरूबीचको सौहाद्र्र्धता प्रसंशनीय देखिएको छ, यो सौहाद्र्धता मतदान गर्न र विजय ¥यालीसम्म पनि कायमै रहने छ भन्नेमा आयोगले आशा एवं विश्वास लिएको छ ।
१७.   नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोग हृदयदेखि नै धन्यवाद दिन चाहन्छ ।
१८. मतदानको कार्य सम्पन्न भई मतपेटिकाहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरुसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न आयोग सबै निर्वाचन अधिकृतहरुलाई निर्देश गर्दछ । विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीकोे सहयोगात्मक भूमिका रहने छ भन्नेमा आयोग विश्वस्त छ ।
अन्त्यमा, निर्वाचनको वातावरण निर्माण गर्न आमसञ्चार जगत्ले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । निर्वाचनको संवेदनशीलतालाई मनन गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण गर्न आयोग सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछ । साथै मतदातालाई सुसूचित हुने, प्रोत्साहित हुने, सूचना र सन्देशहरु प्रकाशन र प्रशारण गरेर सहयोग गर्न पनि सबै पत्रकारसँग आयोग अपील पनि गर्दछ ।
धन्यवाद  

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC