काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले ’पुरातात्विक वस्तुको रेखदेखमा हेलचेक्य्राइँ भइरह्यो भने पुरातत्व प्रेमी काठमाडौंवासी त्यसको प्रतिवाद गर्न बाध्य हुने’ चेतावनी दिएको छ । अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा ’भूकम्पबाट भत्केका पुरातात्विक महत्त्वका सम्पदाको अवशेषलाई राम्ररी रेखदेख र छानबिन गरी पुरातात्विक महत्त्वका वस्तु अलग गरेर पुनर्निर्माणमा प्रयोग नहुनेमात्र तह लगाउने व्यवस्था मिलाउन’ पुरातत्व विभागको ध्यानाकर्षण पनि गरिएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ’भूकम्पबाट भत्किएका पुरातात्विक महत्त्वका सम्पदाको भग्नावशेष तह लगाउने क्रममा हेलचेक्य्राइँ गरिएकाले धेरै अमूल्य वस्तु नष्ट भए भने कतिपय हराए । अधिकांश वस्तु काठमाडौंको टुँडिखेलमा लगेर थुपारिए । त्यसरी थुपारिएका पुरातात्विक महत्त्वका अवशेषहरूलाई अहिले फोहोर फाले जसरी बिनारेखदेख मिल्काउन लागिएको छ । अत्यन्त अमूल्य तथा महत्त्वपूर्ण पुरातात्विक वस्तुहरू यसरी नष्ट गर्न लागिएकोमा हामी चिन्तित र क्षुब्ध भएका भएका छौं ।’
विज्ञप्तिमा उल्लेख भएको छ ’यहाँ थुपारिएका वस्तुमा काठमाडौं सहरका महत्त्वपूर्ण पुरातात्विक सम्पदाका अवशेष छन् । ती अवशेषमध्ये अधिकांश पुनर्निर्माणका क्रममा पुनःप्रयोग गर्न सकिन्छ । सामान्यतः पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माण गर्दा यस्ता वस्तुको पुनःप्रयोग गरिन्छ ।’
टुँडीखेलमा थुपारिएको अवशेषमा रहेका अमूल्य पुरातात्विक अवशेष हराउन थालेको पनि विज्ञप्तिमा उल्लेख भएको छ । ’हामीले अगिल्ला दिन त्यहाँ देखेको तलको इ लोहँ (थाम अड्याउने ढुंगा) भोलिपल्ट त्यहाँ देखिएन । यसैले अरू महत्त्वपूर्ण वस्तु पनि हराउने वा नाश हुने शंकाले हामीलाई चिन्तित बनाएको छ ।’
भूकम्पबाट भत्केका धरहरा र काष्ठमण्डप वरपरका सम्पदाहरूको अवशेषसमेत टुँडिखेलको छेउमा थुपारिएको छ । त्यसरी थुपारिएको अवशेषमा महत्त्वपूर्ण वस्तुसमेत पुरिएको हुनसक्छ । एकाएक टुँडिखेलबाट मोटरमा हाली त्यहाँका अवशेष फाल्न थालिएपछि सम्पदाप्रेमीहरूले विरोध गरेका हुन् ।
तस्बिर सौजन्य - काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान