भूकम्पबाट भत्केका पुरातात्विक महत्त्वका सम्पदा नबन्ने डर बढ्दै गएका बेला पूरै नभत्केका केही ऐतिहासिक भवनहरू भत्काउने कि तिनलाई सबलीकरण (रेट्रो फिटिङ) गर्ने भन्ने विवाद सतहमा देखा पर्न थालेको छ । नेपाल राष्ट्र बैंक रहेको थापाथलीको भवन भत्काइसकिएको छ । अहिले काठमाडौं महानगरपालिका रहेको सुन्धाराको भवन पनि भत्काउने तयारी भएको सुनिएको छ । त्यसो त सिंहदरबार पनि भत्काउने तयारी भइसकेको थियो । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणमा प्रमुख कार्यकारी अधिकृत फेरिएपछि सिंहदरबारलाई सबलीकरण गरेर जोगाइने निर्णय भएको छ । यसैगरी केही राणाकालीन दरबार र महलहरूलाई सबलीकरण गरेर सदुपयोग गर्ने सोच पुनर्निर्माण प्राधिकरणले लिएको समाचार प्रकाशमा आएको छ । समाचार सही हो भने यसलाई पुनर्निर्माणका सन्दर्भमा अहिलेसम्म लिइएको सबैभन्दा उचित र दूरदृष्टियुक्त निर्णय भन्न हिचकिचाउनु पर्दैन ।
आधुनिक नेपाल निराशाजनक भए पनि कलात्मक संरचना निर्माणका दृष्टिबाट हाम्रो अतीत निकै गौरवमय रहेको छ । कला र संस्कृतिका दृष्टिबाट काठमाडौं उपत्यका संसारका कुनै पनि प्राचीन सहरभन्दा कम छैनन् । दुर्भाग्य, नेपालमा यी विश्वस्तरमा कलात्मक सम्पदाको महत्त्व बुझ्ने प्रयाससम्म पनि गरिएन । कला, संस्कृतिलाई नै सभ्यताको दिगो मानक मानिन्छ । त्यस दृष्टिले हेर्दा नेपाली समाज मध्ययुगभन्दा पनि पछि परेको देखिन्छ । थुप्रै अमूल्य सम्पदा लोप भएर गएका छन् । भूकम्पपछि त झन् संसारकै केही अद्वितीय सम्पदाहरूसमेत सधैँका लागि लोप हुने डर देखिन थालेको छ । सातौं शताब्दीको काष्ठमण्डपको पुनर्निर्माण थालिने सुरसार छैन । गलत निर्माण प्रविधि अपनाइएपछि सत्रौं शताब्दीको रानीपोखरीको निर्माण पनि स्थानीय समुदायको विरोधपछि अलपत्र परेको छ । यस्तो अवस्थामा राणाकालीन भवनहरू जोगाउने र तिनलाई होटल वा संग्रहालयका रूपमा प्रयोग गर्ने सोच राज्यले लिएको हो भने त्यो सराहनीय विषय हो ।
यथार्थमा नेपालमा शासकहरूको बुद्धिहीनताबाहेक अरू केहीले पनि प्रगतिको बाटो छेक्तैन । सही सोच हुने हो भने भूकम्पपछिको पुनर्निर्माण पनि कठिन हुनेछैन । सिंहदरबारमा २०३० सालमा आगलागीबाट संसारकै एउटा भव्य महल ध्वस्त भयो । विश्वकै भव्य आवासमध्ये मानिएको यस दरबारमा १ हजार ७०० कोठा थिए र ७ वटा त चोकमात्रै थिए । त्यस भवनलाई पहिलेजस्तै बनाइएको भए अहिले त्यो अद्वितीय हुनेथियो । अहिले खडा गरिएको ’कंक्रिट जंगल’ले त्यसको भव्यताको झल्को पनि दिनसक्तैन । अहिले बनाइएका भवनहरूले काठमाडौं सौन्दर्य बढाएका छैनन् बरू घटाएका छन् ।
राष्ट्रबैंकको थापाथलीस्थित भवन भत्काइयो । त्यसरी भत्काउँदा र त्यहाँ अर्को आधुनिक भवन बनाउँदा निर्णयकर्ताहरूले कमिसनका रूपमा ठूलो रकम त हात पार्लान् तर अब त्यस्तै भवन कहिल्यै बन्नेछैन । त्यस भवनसँग जोडिएको कलात्मक वैभवमात्र हैन ऐतिहासिक गौरव पनि सधैँका लागि समाप्त भयो । यो मूर्खतामात्र हैन इतिहास र भविष्यप्रति गरिएको अपराध पनि हो । यसैले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मुगल, रोमन र नेवारी वास्तुकलाकाे अपूर्व मिश्रण भएका राणाकालीन दरबारहरूलाई भत्काउन नदिएर संरक्षण गर्ने नीति अपनाएको हो भने त्यो राष्ट्रको दीर्घकालीन हित हुने गरी लिइएको सही निर्णय हो । कर्मचारीलाई खासै मन नपर्ने यस्ता निर्णय कार्यान्वयन गर्न भने सहज हुनेछैन । यसमा निजी क्षेत्रको साझेदारी आवश्यक र उपयोगी हुने देखिन्छ । प्राधिकरणले विशेष प्राथमिकता दिएर यस निर्णयलाई कार्यान्वयन गराओस् । ढिलो भयो भने कमिसनको लोभमा नीति निर्माताहरूको नियत बिग्रन बेर लाग्नेछैन ।