site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नइपालको दबदबा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मेरो कुनै घर छैन,
मलाई यस्तो घर चाहियो
घरभित्र प्रकाश नहोस्
मलाई यसमा चिन्ता छैन;
प्रकाशको घेराभित्र मेरो घर होस्
मलाई यस्तै घरको खाँचो छ
छ यस्तो कुनै घर तपाईंले देखेको?
 
देखेको हुनुहुन्छ भने 
मलाई त्यसको ठेगाना दिनुस्
देख्नुभएको छैन भने पनि केही छैन
म तपाईंलाई पनि सहानुभूति दिन सक्छु
मानिस भएर पनि तपार्इँ–हामी यस्तो घरमा बस्न सकेका छैनौं
जुन प्रकाशको घेराभित्र छ । 
तर पनि हामी बेघरहरू परस्पर भरोसाको घेरामा त बस्न सक्छौं । 
(छ यस्तो कुनै घर तपाईंले देखेको?) –अज्ञेय 
 
हिन्दी कवि अज्ञेयको ‘छ यस्तो कुनै घर तपाईंले देखेको ?’ कविताका यी पंक्तिले मानिसलाई घरको महत्व कति हुन्छ भनेर देखाएको छ । अहिले विभिन्न कारणले हामी आफू बसेको गाउँ र समाज मात्रै होइन, मुलुक नै छाड्न बाध्य छौं । हामीमध्ये कति आफ्नै रहरले सुखसयल र समृद्धिको खोजीमा बिदेसिएका छौँ त कतिपय विभिन्न कारणले बाध्य पारिएका छौं । कतिपय विभिन्न कालखण्डमा भएका युद्ध, हिंसात्मक घटना र प्राकृतिक प्रकोपका कारण आफ्नो देश छोड्न बाध्य छन् । यस्तो अवस्थामा आर्थिक रूपले जति नै सम्पन्न भए पनि मानिसहरू आफू जन्मेको देशको भाषा, संस्कृति र रहनसहनप्रतिको झुकावले परदेशमा रमाउन सक्दैनन् । आफू जन्मेको मात्रै होइन, आफ्ना पुर्खाहरू जन्मेको ठाउँप्रतिको मायाले पनि मानिसहरूलाई सताएको देखिन्छ । यस्तो समस्या खासगरी युरोप अमेरिकामा जन्मेका अफ्रिकी तथा भारतीयमूलका नागरिकहरूलाई भएको पाइन्छ ।
उपनिवेशकालमा धेरै भारतीय तथा अफ्रिकी नागरिकहरूलाई मजदुरका रूपमा युरोप, अमेरिका लगिएको थियो । तिनै नागरिकका सन्ततिहरू अहिले दोहोरो पहिचानसहितको जीवन बिताउन बाध्य छन् । त्यसो त बेलायती सेनामा कार्यरत नेपालीका छोराछोरीमा पनि त्यस्तो समस्या देखिन्छ । त्यही देशकै नागरिकता पाए पनि उनीहरू आफूलाई त्यहाँ प्रवासी नै महसुस गर्छन् ।
हामी जहाँसुकै रहे पनि हामीलाई आफ्ना मान्छेको आड र भरोसा चाहिन्छ भन्ने भारतीय कवि अज्ञेयको सन्देश यथार्थपरक छ । दोस्रो मुलुकमा रहँदा त्यहाँ हामीले भाषिक, तथा सामाजिक, सांस्कृतिक संघर्ष झेल्नुपर्छ । त्यस्तो स्थितिमा हामीलाई आफ्नाको खाँचो पर्दछ । त्यति मात्रै होइन, आफ्नो वास्तविक पहिचानका लागि पनि आफ्नै समूहको आवश्यकता पर्दछ ।
धेरै कवि, कलाकारहरू आफैं पनि यस्ता समस्याबाट गुज्रेका छन् र उनीहरूका कृतिमा यस्तै विषयको उल्लेख्य चर्चा पाइन्छ । नोबेल पुरस्कार विजेता नाइजेरियाली लेखक वोल सोयन्काले देशको राजनीतिक कारणले विदेशमा शरण लिनुपरेको थियो । जर्मन नाटककार बर्तोल्त ब्रेख्तले पनि आफ्नो जीवनको अधिकांश समय निर्वासनमा बिताएका थिए । उनले सन् १९३३ देखि १९४१ सम्म डेनमार्क, १९४१ देखि १९४७ सम्म अमेरिका र १९४७ देखि १९४९ सम्म स्विजरल्यान्डमा निर्वासित जीवन बिताएका थिए ।
बेलायती साम्राज्यले आफ्नो राज्य विस्तारसँगै अफ्रिका तथा भारतबाट धेरै मानिसलाई मजदुरका रूपमा फिजी, सुरिनाम, गुयाना तथा ट्रिनिडाड एन्ड टोबागो जस्ता मुलुक लगिएको थियो । तिनै मजदुरका सन्तान हुन्– सन् २००१ का लागि साहित्यमा नोबेल पुरस्कार विजेता लेखक भीएस नइपाल ।
पछिल्लो ५ दशकभन्दा लामो समय विश्व साहित्यमा आफ्नो दबदबा कायम राख्न सफल नइपालका कृतिहरूले विशेषगरी उपनिवेशताकाका र बेलायती साम्राज्यको पतनपछिका विषयवस्तुलाई समेटेका छन् । उनको उपन्यासहरूमा भारतीय प्रवासीहरूको मुद्धालाई प्राथमिकताको साथ उठाइएको छ । 
भारतीय नागरिक मात्रै होइन, उपनिवेश बनाइएका धेरै मुलुकका नागरिकहरू अल्पसंख्यक युरोपेली शासकबाट भएको दमन सामना गर्न बाध्य थिए । सोही क्रममा उनीहरूले युरोपेली भाषा, संस्कृति र कला–साहित्यलाई अफ्रिका÷एसियामा प्रचार–प्रसार गरे । भारतीय तथा अफ्रिकी शैक्षिक प्रणालीको बदलामा युरोपेली शैक्षिक प्रणाली प्रवेश गराए । आफ्नै देशमा भारतीय तथा अफ्रिकी नागरिक अपमान सहन बाध्य भएका थिए । त्यसै कारणले पनि साम्राज्यवादविरुद्ध आन्दोलन सुरु भएको थियो । अझ दोस्रो मुलुकमा लगिएका आप्रवासी कामदारलाई त मानवको व्यवहार पनि गरिँदैनथ्यो ।
सन् १९५९, १९६० र १९६१ मा भएको तिब्बत विद्रोहपछि धेरै तिब्बती नागरिकहरू नेपाल र भारतका विभिन्न ठाउँमा शरण लिन पुगे र शरणार्थी जीवन बिताउन बाध्य भए । उनीहरू नेपाल बसेको पनि लामो समय भइसक्यो । दोस्रो–तेस्रो पुस्ताका तिब्बती नागरिकहरूको त बिहेवारी नै नेपाली नागरिकसँग भइसकेको छ । सन् १९८९ भन्दा अघि आएका तिब्बती नागरिकलाई संयुक्त राष्ट्रसंघले शरणार्थी परिचयपत्र दिएको छ र उनीहरूले नेपालमा व्यवसाय तथा सम्पत्ति आर्जन गर्न सक्छन् । तर पनि उनीहरूलाई नेपाल घरजस्तो लाग्दैन । उनीहरूमा तिब्बती माटोप्रतिको माया देख्न सकिन्छ ।
भीएस नइपलले पनि धेरै समयपहिले भारतबाट क्यारेबियन मुलुक ट्रिनिडाड पुगेका भारतीयहरूको जीवनलाई आफ्ना उपन्यासका विषयवस्तु बनाएका छन् । ट्रिनिडाडमा रहेका भारतीयमूलका नागरिकहरूको पहिचान संकटमा रहेको कुरा उनका कृतिहरू पढ्दा थाहा पाउन सकिन्छ । उनले आफ्नो संस्कृति, भाषा र धर्मबाट बिछोडिनु पर्दाको दुःख आफ्ना रचनामा समेटेका छन् । 
आफ्नै जीवन र समाजका कुराहरू अभिव्यक्त गर्ने नइपालले सन् १९५५ मा २३ वर्षकै उमेरमा पहिलो उपन्यास ‘मिगेल स्ट्रिट’ लेखेका थिए । बीबीसीको क्यारेबियन सेवामा कार्यरत नइपालले त्यो उपन्यास ६ हप्तामै लेखेर सकेका थिए ।
सन् १९५७ मा उनले ‘द मिस्टिक मसास’ उपन्यास प्रकाशित गरेपछि मात्रै उनले लेखेको पहिलो उपन्यास प्रकाशित भएको थियो । दर्जनौं प्रसिद्ध साहित्यिक पुरस्कार विजेता नइपाललाई नोबेल समितिले उनको लेखनशैलीको प्रशंसा गर्दै भनेको थियो, “नइपाल परम्परालाई बोक्ने आधुनिक दार्शनिक हुन् ।”
त्यसो त नइपाललाई समितिले प्रसिद्ध लेखक जोसेफ कोन्राडसँग तुलना गरेको थियो । नइपालको साहित्यिक यात्राले ‘अ हाउस फर मिस्टर विश्वास’को प्रकाशनसगै नयाँ मोड लियो । यो उपन्यासको प्रकाशनसँगै नइपाल साहित्यिक बजारमा आफ्नो उपस्थिति जमाउन सफल भए । उपन्यासले ट्रिनिडाडको ग्रामीण भेगको गरिब परिवारमा जन्मेको मोहन विश्वासको भद्रगोल जीवन र मृत्युसम्मको घटना समेटेको छ । मोहन ज्योतिषशास्त्र अनुसार अशुभ साइतमा जन्मेको हुन्छ र उसको दुबै हातमा ६ वटा औँला हुन्छन् । हिन्दू पुरोहितले यसलाई अशुभको संकेतको संज्ञा दिन्छन् । जब मोहन विश्वासका पिता उसलाई बचाउने क्रममा नदीमा डुब्छन्, ज्योतिषको भविष्यवाणी पूरा भएको मानिन्छ । त्यसपछि मोहन आफ्नी काकी ताराको सहयोगमा आमासँग माटोको झुपडीमा बस्न बाध्य हुन्छ ।
यो उपन्यासको मुख्य पात्र नइपालका पिता हुन् भनिन्छ । उपन्यास उनै नइपालका पिताको जन्मदेखि मृत्युसम्मका घटनाको संकलन हो । आमाले मोहन पण्डित बनोस् भन्ने चाहन्थिन् तर उसको चकचके व्यवहारका कारण गुरुले मन पराउँदैनन् । आमाले उसलाई बन्दोबस्तीको व्यवस्था मिलाउन अनेकौं प्रयास गर्छिन् । मोहनको जीवनले तब नयाँ मोड लिन्छ, जब उसले काम गर्ने साहूकी छोरीले उसलाई विवाहको प्रस्ताव राख्छे । सम्पत्तिको नाममा कौडी नभएको मोहनलाई ससुरालीमा बस्न दिन आमा राजी हुन्छिन् । ऊ बिहेपछि ससुरालीमै बस्न थाल्छ । मोहनलाई ससुरालीले बनाएका नियमदेखि रिस उठ्छ । उसलाई दिइने नमीठो खानादेखि पनि उसलाई खपिनसक्नु हुन्छ । मोहनले आफ्नै श्रीमतीको पनि साथ पाउँदैन । उसकी श्रीमती पनि बच्चाहरूसँग माइतीमै बस्न मन पराउँछे । मोहनले जागिर खाएर आफ्नै घर बनाउने सपना देख्छ । तर, पैसाको अभाव तथा अन्य कारणले उसको सपना पूरा हुँदैन । तर कालान्तरमा उसले आफ्नै घर बनाउँछ । त्यसपछि उसको जीवनमा खुसी फर्किन्छ । जीवनको उत्तरार्द्धमा मोहनले सन्तोषजनक रूपमा जीवन व्यतीत गर्छ ।
यो उपन्यास पात्रहरूको संरचनाका साथै मनोविज्ञानका माध्यमबाट पाठकहरूलाई तान्न सफल छ । यसलाई अर्को दृष्टिकोणबाट हेर्ने हो भने मोहनको ससुरालीलाई उपनिवेशको रूपमा लिन सकिन्छ, जहाँ शासित भारतीयहरूको जस्तै जीवन बिताउन बाध्य छ मोहन । सुख र समृद्धिको आशामा धनी केटीसँग बिहे गरे पनि मोहनले ससुरालीमा आत्मसम्मान पाउँदैन, जसरी प्रवासी नागरिकहरूले पाउँदैनन् ।
त्यस्तै, उनको अर्को चर्चित उपन्यास ‘हाफ अ लाइफ’मा साम्राज्यवादीहरूले छाडेर गए पनि बाँकी रहेका अवशेषहरूको बारेमा लेखिएको छ । साम्राज्यवादको पतन भए पनि त्यसले छाडेको प्रभाव भारत तथा धेरै अफ्रिकी मुलुकहरूमा देख्न सकिन्छ । अझै पनि अफ्रिकी मुलुकहरूमा स्वदेशी प्रविधिलाई मात्रै होइन, स्वदेशी जनशक्तिलाई पनि विश्वास गरिँदैन । अफ्रिकाका सडक डिजाइन कि त युरोपेलीले गर्छन् कि त चिनियाँले । अफ्रिकी इन्जिनियरहरू सक्षम नभएका होइनन तर पनि उनीहरूको क्षमतामाथि आफ्नै देशका नागरिकले विश्वास गर्दैनन् ।
यस्तै साम्राज्यवादको अवशेष तथा धङधङीलाई प्रस्तुत गरेका छन् नाइजेरियाली लेखक वोल सोयन्काले चर्चित उपन्यास ‘इन्टरप्रेटर्स’मा । ‘हाफ अ लाइफ’मा नइपालले साम्राज्यवादीहरू वरिपरि नभए पनि उनीहरूले छोडेर गएको रोग भने यथावतै छ भनेका छन् । अझै पनि आफूहरू म्याथ्यु आर्नाेल्डले भनेझैं उनीहरूबाटै सभ्यताको पाठ सिक्न चाहेको उल्लेख गरेका छन् । पुस्तकमा भनेका छन्, “अहिले हामी विभाजित जीवन बाँच्न बाध्य छौँ । हामी आफ्ना मौलिक संस्कृति र सभ्यतालाई पछ्याउनु भन्दा पनि आधा जीवनशैली यताको र आधा उताको जीवनशैली पछ्याइरहेका छौं ।”
नइपाल पटक–पटक आफ्ना अभिव्यक्तिका कारण विवादमा आएका छन् । कहिले इस्लाम धर्मलाई साम्राज्यवादको एउटा रूपको संज्ञा दिएर त कहिले अर्नेस्ट हेमिङ्वेजस्ता महान लेखकलाई ‘झुटो’ भनेर ।
त्यस्तै, आफूसमानका महिला लेखक विश्वसाहित्यमा नभएको भनेर विवादमा आएका नइपाल आफ्नो पारिवारिक जीवनका कारण पनि विवादमा आइरहन्थे । प्याट्रिक फ्रेन्चले लेखेको उनको जीवनी ‘द वल्र्ड इज ह्वाट इट इज’मा नइपाल आफ्नी श्रीमती प्याट हेलसँग असन्तुष्ट भएर वेश्यालय धाउने गरेको कुरा उल्लेख छ । नइपालले हेललाई ‘तिमी केवल महिला मात्रै होऊ, तिमीमा कुनै कौशल नै छैन । तिमी त क्लर्ककी श्रीमतीले झैँ व्यवहार गर्छ्यौ’ भनेको कुरा उल्लेख छ उनको जीवनीमा । सन् १९९६मा हेलको मृत्यु भएपछि नइपालले पाकिस्तानी पत्रकार नादिरा खानुम अल्वीसँग विवाह गरेका थिए ।
नइपालले रोजीरोटीका लागि प्रवासमा संघर्षरत भारतीयहरूको पीडालाई आफ्ना कृतिहरूमा उतारेका छन् । साथै उनले बेलायती शासकहरू भारतलगायतका देशहरूमा भौतिक रूपमा उपस्थित नभए पनि मनोवैज्ञानिक, सामाजिक तथा सांस्कृतिक रूपमा उनीहरूको उपस्थिति रहेको कुरा प्रष्ट पारेका छन् ।
‘अ बेन्ड इन् द रिभर’, ‘द एनिग्मा अफ् अराइभल’, ‘एन एरिया अफ् डार्कनेस’, ‘द लस अफ एल डोराडो’ जस्ता चर्चित पुस्तकका लेखक नइपाल भारतीय डायस्पोरालाई विश्वसाहित्यमा परिचित गराउने लेखक हुन् । सलमान रुस्दी, अमिताभ घोष, झुम्पा लहिरीहरू पनि विशेषगरी भारतीय डायस्पोराकै बारेमा कलम चलाउँछन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC