site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रश्न सोध्ने ‘बोक्सीको घर’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार र यातना दिइएका घटनाको दोषी को हो ? बोक्सी हुन्छन् कि बनाइन्छन् ? ती अनुहारहरू कसका हुन्, जो महिलालाई बोक्सी घोषित गर्छन् ? र, ती को हुन् जो सबै देखेर पनि मौन बस्छन् ?
मण्डला थिएटरमा चलिरहेको नाटक ‘बोक्सीको घर’ले यिनै समसामयिक प्रश्नहरू सोध्दै एक जटिल सामाजिक समस्याको जरो केलाउने आँट गरेको छ । सुलक्षण भारतीको लेखन र निर्देशनमा सरिता गिरीको एकल अभिनय रहेको यो नाटकले एक महिलाको यात्रा कोरेको छ, जहाँ हिँड्नुको कारण थाहा नपाउँदै उनी बीचबाटै हराएकी छन् ।
समाजमा घटेका धेरै घटनाहरू सुनेर पनि हामी नजिक पुग्दैनौं । नजिकको कसैलाई नपरुन्जेल त हामीलाई थाहा पनि हुँदैन कि घटना घट्छ र कसैलाई पिरोल्छ । त्यसैले हो, दिनहुँजसो अमानवीय घटनाहरू सार्वजनिक हुँदा पनि हामी चुपचाप बसिरहेका छौं । नाटकको प्रश्न छ, निदाएजस्तो गरेर कतै हामी त्यस्ता घटनाहरूलाई मौन स्वीकृति दिइरहेका त छैनौं ? 
एकल अभिनयमा नाटक पस्किनु चुनौतीको काम हो । थोरै घटना र संवादमा धेरै कुरा बताउनुपर्छ । सिम्बोलहरूको बढी सहायता चाहिने भएकाले दृश्य क्लिष्ट भइदिन्छन् । बन्यो भने नाटक शक्तिशाली बन्छ र बनेन भने नराम्रो गरी चिप्लिन्छ । यस अर्थमा लेखक तथा निर्देशक सुरक्षण भारतीले जोखिम मोलेका हुन्, जसमा उनी असफल भएका छैनन् ।
नाटकको सेट कलात्मक र सांकेतिक छ । भुइँमा पहिला गिटी अनि त्यसपछि बालुवा हुँदै माटो आउँछ । गिटी र बालुवाले पात्रको बाल्यकालको प्रतिनिधित्व गर्छन्, जसले डोर्‍याएर उनलाई माटोसम्म पुर्‍याउँछन् । यो सबैको जीवनको रीत हो । तर, नाटकमा माटो खण्डको रंग तीनवटा छन्, क्रमशः रातो, कालो र सेतो । उनी विवाह गरेर गएपछिको घर यिनै तीनवटा माटोको खण्डमा बनाइएको छ, जहाँ एउटा पिपलको रुख पनि उभिएको छ । एक नारी जो रातो रंग लिएर कसैसँग मिसिन्छिन्, जीवनको कालो रंगहरू खपेर बस्छिन् र सेतो जीवनको सजाय काट्छिन् । नाटकले प्रश्न गर्छ, पुरुषको यात्रा र महिलाको यात्रामा फरक किन भयो ? दुवैले समान बाँच्ने उमेरमा माटोको रंग अलग–अलग किन ? 
नाटक सुरु हुँदा दर्शकको पछाडिबाट उज्यालो फोकस दिएर थोरै–थोरै उज्यालो मञ्चमा बाँडिन्छ, अनुसन्धान गर्दा प्रहरीले लाइटको फोकस बालेजस्तो । यो हामीले कुनै पनि घटनालार्ई हेर्ने तरिकाको सांकेतिक रूप हो । हामी जुनसुकै कुरा पनि थोरै देखेर मूल्यांकन गर्न अभ्यस्त छौं । लाइटले देखाएजति उज्यालो हेरेर कोठा यस्तो छ भनेर भन्नु भूल हो । बोक्सीको हकमा पनि त्यही कुरा लागू हुन्छ । हामी बोक्सी भन्ने शब्दसँग परिचित छौं । बोक्सीको आरोपमा धेरै महिलामाथि भएका अमानवीय घटनाहरूलाई समाचारमा सुनेका पनि छौं । तर, कोही मान्छे बोक्सी कसरी बन्छ भन्ने बारेमा बेखबर छौं । ऊ बोक्सी बन्नुको पछाडि कस्ता–कस्ता घटना भएका हुन सक्छन् भन्ने प्रश्न आफूलाई कहिल्यै पनि सोध्दैनौं । त्यसैले नाटकको पात्र भन्छिन्–
एउटा धागो चुँडिन्छ 
पर्दा खस्छ
न दोष धागोको हो, न पर्दाको
दोष त बेहोसीपनको भयो
पर्दाअगाडि र पर्दापछाडिको चित्रण फरक हुन सक्छ ।
नाटकले भन्न खोजेको कुरा यो हो कि देखिइरहेको पर्दाअगाडिको बोक्सीको अनुहार पर्दापछाडिको वास्तविकता फरक छ । नाटककी भुन्टी पात्रलाई बनाएझैं हाम्रै समाजको बाल विवाहजस्ता कुसंस्कारहरूले कुनै अवोध बालिकालाई पोई टोकुवा बनाइदिन्छ । उनका ससुराजस्ता कलंक हुन सक्छन्, जसले पहिला बुहारीलाई बलात्कार गर्छन् र पछि बोक्सी भनेर दिसा चटाउन अग्रसर हुन्छन् । उनकी सासू र आमाजस्ती लाचार महिलाहरू हुन सक्छन्, जसले आफू महिला हुनुको यथार्थ बिर्सेर अर्को महिलाको घाउमा नुन लाउन विवश छन् ।
नाटकको एक दृश्य साह्रै मार्मिक छ । विवाह गरेर लगेपछि उनका श्रीमान्ले माया गरेको भन्दै पटक–पटक बलात्कार गर्छ, जसले गर्दा उनलाई ‘माया’ शब्दप्रति नै घृणा लाग्न थाल्छ । उनी केही दिनपछि घर फर्किन्छिन् र आमालाई सबै कुरा बताउँछिन् । तर, आमाले त्यसको विरोधको साटो अबका दिनमा उसले त्यसैगरी माया गरिरहने र उनले पनि त्यसैगरी माया गरिरहनुपर्ने बताएपछि उनी प्रश्न गर्छिन्, “आमा ! बाले पनि तपार्इंलाई त्यसैगरी माया गर्नुहुन्छ हो ?”
यो संवादले उठाएको मुद्दा गहन छ, किनकि आमाले जे सिकाइन्, त्यो उनलाई पनि कसैले सिकाएको थियो । यदि कसैले सिकाएको कुरा गलत हो भन्ने थाहा भएपछि पनि त्यसलाई अर्को पुस्तालाई सिकाउँदा सच्याएर सिकाइएन भने समाज जस्ताको त्यस्तै रहन्छ । 
नाटकको सबैभन्दा सबल पक्ष के भने यसले समस्या समाधानमा हात हालेको छैन । केवल समस्याको जरोलाई छताछुल्ल पारिदिएको छ । यहाँ देखाइएको कारण एउटा प्रतिनिधिमात्र हो, यस्ता कारणहरू अरु पनि थुप्रै हुन सक्छन् भनिदिएको छ । समस्याको पहिचान गरी बोक्सीलाई बोक्सीको रूपमा नभई हाम्रो चेतनाको कमजोरीको रूपमा स्वीकारेर आफ्नो मानसिक कमजोरीलाई हटाउने आग्रह गरेको छ नाटकले ।
भुन्टी पिपलका पातहरूलाई पात्र बनाएर कुरा गर्छिन् । पात्रको रूपमा पीपलको पातको र ‘प्रप्स’को रूपमा पिपलको रुखको प्रयोग दुवैको सांकेतिक महत्व छ । समाजको विश्वासअनुसार बोक्सी पीपलको रुखमा बस्छे भनिन्छ । वैज्ञानिक रूपमा पीपलको पातले सबैभन्दा धेरै अक्सिजन दिन्छ र हिन्दू धार्मिक विश्वासमा पीपललाई स्याहारकर्ता विष्णुको प्रतीक मानिन्छ । पीपलको रुख समाज हो भने पातहरू उसका साथीहरू हुन् । त्यत्रा मानिसहरूको भीडमा उनीसँग केही पातहरू थिए, जोसँग उनी बोल्थिन् । तर, समयले ती पातहरूलाई बिस्तारै उनीबाट खोस्दै लान्छ । उनी तिनीहरूलाई एक–एक गर्दै निमोठेर फ्याँक्दै जान्छिन् । र, त्यही पिपलको रुखमा बोक्सी भएर बस्न बाध्य हुन्छिन् । अन्तिममा सबैभन्दा बढी अक्सिजन फ्याँक्ने तथा स्याहारकर्ता विष्णुको प्रतीक पीपलकै रुखमा उनले जीवन समाप्त गर्छिन् । नाटकले एक पात्र बोक्सी बन्दा मौन बस्ने सबैलाई सांकेतिक रूपमा यही पिपलको रुखमार्फत निर्जीव बनाइदिएको छ ।
नाटकले दर्शकलाई डरदेखि करुणासम्मको यात्रा गराउँछ । चकमन्न रातको आवाज र सानो लाइटको उज्यालोमा देखाइएको पीपलको रुखमा बसिरहेकी महिलाको आकार देखिएर पात्र पहिलोपटक स्टेजमा आँउदा जोकोही झस्किन्छन् । यो गोथिक प्रयोगले डर उत्पन्न गरेर नाटक सुरु गर्छ । दर्शकलाई नाटकको गहिराइमा लैजाने प्रयोग हो यो नाटककारको । धेरैले यसलाई नकारात्मक रूपमा पनि लिन सक्छन् । त्यो तहको भयंकर दृश्य जरुरी थिएन कि जस्तो पनि लाग्छ नाटक सकिँदा । तर, त्यसको जवाफ भने निर्देशकसँग छ । उनी दर्शकलाई झट्ट देखिने तस्बिरबाट पूरै कथासम्म लिएर जान चाहान्छन् । यसका लागि पहिला बोक्सी देखेर दर्शक डराउनु अनिवार्य थियो ।
जब मानिस डराउँछ, तब उसले आफूलाई सुरक्षित पार्ने उपायबाहेक केही पनि सोच्दैन । समाजले बोक्सीको बारेमा हामीलाई यस्तो डर बाँडिदिएको छ कि हामी त्यसको उन्मूलनकर्ता बनेर आफूमाथि समस्या निम्त्याउनै चाहँदैनौं । यदि कोही यसलाई बुझेर तम्सियो भने पनि या त ऊ परिवारबाट रोकिन्छ या त समाजले उसैलाई बहिष्कार गरिदिन्छ । नाटकले महिला बोक्सी बन्न सक्ने एक कारणलाई विषयगत रूपमा स्टेजमा उतारेर सबैलाई झकझक्याउँदै यो अपिल गरेको छ कि ‘बोक्सी’ हामीले नै कसैलाई बनाएका हौं । हामीले चाह्यौं भने यसलाई रोक्न सक्छौं । हामीले चाह्यौं भने एक निर्दोष बालिकाको पढ्ने उमेर टोकेर उनलाई लोग्ने टोकुवा बनाउने बालविवाह अपराध हो भनेर त्यसको रोक्ने पहल सुरु गर्न सक्छौं ।
उनले मायालाई बलात्कार बुझेकी छन्, जुन उसका २४ वर्ष जेठा लोग्नेले उनलाई सिकाए । उनले जीवन भनेको रातोदेखि सेतोसम्म पुग्नु भन्ने बुझिन्, जुन कुरा उनलाई समाजले सिकायो । उनले हाँसोलाई पीडाभन्दा बाहिर कहिल्यै देखिनन् । रातलाई राक्षसभन्दा नजिकको कहिल्यै ठानिनन् । उनी रातसँग डराएर भनिरहिन्, “मलाई अन्धकारसँग डर लाग्छ । काला रंगहरूसँग डर लाग्छ । रातरातै ब्युँझने राक्षसहरूसँग डर लाग्छ ।” तर, उनको नजिक आएर कसैले ढाडस बदिएनन् । सबै उनीसँग डराइरहे, उनी रातसँग डराइरहिन् । उनको चित्कार जति हराउँदै गयो, त्यति मान्छे उनीसँग डराउँदै गए । डराउँदा डराउँदै उनले मृत्यु अँगालिन्, तर विडम्बना ! समाजका सबै मान्छे आफू उनको मृत्युको कारण हो भन्ने भुलेर उनको अदृश्य आत्मासँग पनि डराइरहेछन् । 
तर, बोक्सी प्रथाजस्तो सामाजिक समस्यालाई स्टेजमा ल्याएर दर्शकलाई सोच्न बाध्य गराउने नाटकले संरचनागत हिसाबमा केही गल्ती पनि गरेको छ । कतिपय स्थानमा अनावश्यक दृश्यहरू छिराइएको भान हुन्छ । उनको श्रीमान् तुइन चुँडिएर मरेको र उनी बेला–बेला नदीको किनारमा गइरहने प्रसंगले नाटकलाई खासै धेरै बल पु¥याएको जस्तो लाग्दैन । यहाँ सामान्य मृत्युकै विषयलाई सर्वव्यापक बनाउन पर्याप्त हुन्थ्यो । कहीँकहीँ घटनालाई विकास गर्नुको साटो जीवन दर्शनलाई थोपर्ने प्रयास गरेको भान हुन्छ । उनले श्रीमान्को घर जाँदै गर्दा सँगै पढेको साथी रवीलाई भेट्दा ‘जीवन पढ्दैछु’ भनेर जवाफ दिनुको साटो जवाफ दिनै नसकेको भए नाटकले झनै प्रभाव पार्न सक्थ्यो ।
अर्को एक दृश्यमा उनलाई आमाले घरको काम सिकाउँदै गरेको देखाइएको छ, जहाँ बोल्ने पात्र उनी हुन् कि आमा भन्ने खुल्दैन । पात्रले ‘देखिस् घाँसदाउरा यसरी गर्ने रे ! भन्छिन् । घर यसरी लिप्ने रे’ भन्दै काम गर्छिन् । त्यो ‘रे’ भनेर कसलाई सुनाएकी हुन् खुल्दैन । आमा बनेर सिकाएको हो भने यसरी गर्ने मात्र भन्नुपथ्र्यो ।
नाटकको लेखनमा पनि समस्या देखिन्छ । दृश्यहरूमा अभिनयमार्फत पर्याप्त मेहनत गर्ने ठाउँमा डाइलग बोलेर नाटकलाई फिक्का पारिएको छ । उनले श्रीमान् बितेपछि रातोबाट सेतो लुगा लगाउँदै गर्दा ‘अब म विधवा भएँ’ भन्नु जरुरी नै थिएन । यस्तै ‘रंगहरू खोसिए’ भन्ने कुरा पनि गर्दा देखिन्थ्यो । उनले भगवानलाई गरेको गाली अति सामान्य ‘तेरो शाखा सन्तान बोक्सी’ भनेर नभनेको भए नै शक्तिशाली हुन्थ्यो ।
यस्तै एक दृश्यमा नाटककै शक्तिशाली हुन सक्ने ठाँउ शब्दहरूले बिगारेका छन् । ‘मेरा शब्दहरू फुटेनन्’ भन्दै आवाज क्रमशः सानो सानो हुँदै गएर म्युट भएको सिनमा पछि ‘म लाटी भएँ’ भनेर नभनेको भए त्यसको तौल अर्कै हुनेथियो ।
समग्र नाटकभर पात्रले आवाज बढी निकालेर रोएजस्तो लाग्छ । त्यसैको कारणले भिन्न परिस्थितिमा आउनुपर्ने दृश्यको फिल दर्शकसम्म पुग्न पाएको छैन । सम्भवतः मौन आँसु (साइलेन्ट टियर्स)ले विषयको गाम्भीर्यतालाई अझै शक्तिशाली बनाउन सक्थ्यो । 
समग्रमा ‘बोक्सीको घर’लाई कमजोरीसहितको प्रयोगवादी नाटक भन्न सकिन्छ । सामाजिक विषयप्रतिको चेतना र एक महिला पात्रलाई विषयगत गहिराइमा लैजाने प्रयत्नले नाटकलाई हेर्न लायक बनाएको छ । एकल अभिनयमा सरिता गिरीको अभिनयको प्रशंसा भइरहनेछ । 
 
Twitter: @skyasesh
तस्बिरः http://streetnepal.com/boksiko-ghar/
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC