site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जुडोले नाम दियो, दाम दिएन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
फुपुल्हामु खत्रीका लागि २०१६ अगस्ट ९ को दिन जीवनभर विशेष दिनका रूपमा रहिरहनेछ । ताप्लेजुङको लेलेपमा जन्मिएकी २० वर्षीया फुपुल्हामुका लागि त्यो दिन भय र उत्साहको अविस्मरणीय संयोग थियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिकमा देशकै प्रतिनिधित्व गरेर मैदान उत्रिँदा उनले आफ्नो काँधमाथि जीवनमा कहिल्यै बेहोर्न नपरेको भारी महसुस गरिन् । तर, चाहेरै पनि धेरै खेलाडीहरूका लागि दुर्लभ ओलम्पिकमा पाएको अवसरले उनमा ऊर्जा भरिदियो ।
६३ किलो तौल समूहमा क्युबाकी मारिसेट स्पिनोसासँग जुडोको एरिनामा प्रतिस्पर्धामा उत्रिँदा उनले आफ्नो सकेसम्मको सीप र ऊर्जा लगाइन् तर जित्न भने सकिनन् । ११–० ले पराजित भए पनि म्याटमा निर्धारित समय ४ मिनेट खेलेर कीर्तिमान बनाइन् । यसअघि जुडोकी अर्की लम्पियन देवु थापा सर्वाधिक साढे एक मिनेट टिकेकी थिइन् ।
विश्वस्तरीय खेलहरूमा नेपालको किन कमजोरी उपस्थिति हुँदै आएको छ भन्नेमा धेरै वहसहरु भइसकेका छन् । फुपुल्हामुको अनुभव पनि उस्तै हो– राजनीति, प्रशिक्षणको अवस्था र निरन्तरता, राज्यले खेलमा गर्ने लगानी, खेलाडीको आर्थिक अवस्था आदि । तर, उनलाई लाग्छ– राम्रो खेल खेल्नका लागि खेलाडी तनावमुक्त हुनुपर्छ ।
तर, उनको खेल जीवनमा कुनै न कुनै तनावले पछ्याइरहे । आफ्नो बुवाको असामयिक निधन र परिवारिक आर्थिक अभाव तनावका कारण थिए ।
खेलाडी देशका गहना भएकैले होला– जस्तोसुकै समय र परिस्थितिमा पनि देशको झन्डा फहराउँछन् । जस्तोसुकै दुःखमा पनि देशको शिर उँचो राख्न सधैं अघि सर्छन् ।
जुडोकी ओलम्पियन फुपुल्हामु पनि त्यस्तै खेलाडी हुन्, जसले आफ्नो सम्पूर्ण दुःख, पीडा, वेदना लुकाएर सारा नेपालीलाई खुसी बनाउने प्रयत्न गरिन् । उनले देशका लागि धेरै खेलमा पदक जितेकी छन्, यद्यपि ओलम्पिकमा उनको प्रयत्न सफल हुन सकेन ।
फुपुल्हामुको व्यक्तिगत जीवन दुःखमय भए पनि खेल्न भनेपछि हुरुक्कै हुन्छिन् । खेल उनको नसा–नसामा छ । अब आफ्नो नाम देशसँग जोडिइसकेपछि उनको काँधमा झनै ठूलो जिम्मेवारी थपिएको छ ।
भन्छिन्, “दुःख धेरै छन् । तर, खेलाडी भएकीले जस्तोसुकै दुःखमा पनि देशका लागि खेल्छु । देशको झन्डामुनि खेल्दा पीडाहरू भुल्छु । सबैभन्दा ठूलो कुरा इज्जत र प्रतिष्ठा त हो, जुन मैले खेलबाट पाएकी छु ।”
त्रिभुवन आर्मी क्लबकी खेलाडी फुपुल्हामु कहिलेकाहीँ खेलकुदबाट टाढा जान खोज्छिन् तर सक्दिनन् ।
“म अहिले जहाँ छु, यो सबै जुडो खेल र सम्पूर्ण नेपालीको कारण हो । जुडोले मलाई प्लेटफर्म दियो र भविष्यको बाटो देखायो,” उनी भन्छिन्, “परिवारको समस्याले पिरोल्छ । त्यसका लागि पनि विकल्प खोज्दैछु तर नाम र इज्जत दिने जुडो छाड्न सक्दिनँ ।”
नेपालमा खेलकुदले जीविकोपार्जन कठिन छ । खेलेरै खेलाडी बाँच्न सक्ने अवस्था छैन । त्यसैले पनि भर्खर २१ लागेकी फुपुल्हामु अन्य विकल्पको खोजीमा छिन् । पिपुल्स कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत फुपुल्हामुलाई परिवार पाल्ने जिम्मेवारी छ । आफ्ना बुबालाई सगरमाथाको हिमपहिरोमा गुमाएपछि उनीमाथि परिवारको जिम्मेवारी थपिएको हो ।
“बुबा दुर्घटनामा पर्नु भएपछि हामीलाई आर्थिक रूपमा निकै कठिन भयो । तर, बुबाको इन्स्योरेन्स, उहाँको कामबाट प्रभावित भएकाहरूको सहयोगले केही धानेको छ,” उनले भनिन्, “माउन्टिनियरिङ क्षेत्रमा बुबाको इज्जत नभएको भए शायद हाम्रो अवस्था निकै दयनीय हुने थियो । एकजनाको कमाइले परिवार पाल्न गाह्रो हुन्छ । खेलाडीको रूपमा मेरो कमाइले त सम्भवै छैन ।”
अहिले फुपुल्हामुको परिवार दिदी डोमाको आम्दानीमा निर्भर छ । डोमाले बुबाको निधनपछि बुवाकै कार्यालयमा एकाउन्टेन्टको काम पाएकी थिइन् । अहिले फुपुल्हामुको परिवार काठमाडौँ जरंखुमा बुबाले बनाएको घरमा बस्छ ।
“अहिलेसम्म दिदीको कमाइ र बुबाको कामप्रतिको योगदानमा आएको केही सहयोगले चल्दै आएको छ । त्यसमा मैले पनि केही सहयोग गर्दै आएकी छु,” फुपुल्हामुले सुनाइन्, “सधैं दिदीको भरमा परिवार चल्दैन । सधैं बुबाको नाममा आएको फन्डले पनि चल्दैन । दिदीको बिहेपछि आमा, भाइ (छिरिङ दोर्जे) पाल्ने मेरो जिम्मेवारी हो । त्यसैले मैले पनि अब केही विकल्प खोज्नुपर्ने हुन्छ । सोच्दैछु– अब जुडोलाई निरन्तरता दिने कि परिवार र मेरो भविष्यका लागि केही गर्ने !”
 
ताप्लेजुङ, नयाँबजार र ओलम्पिक यात्रा 
नेपालको पूर्वी जिल्ला ताप्लेजुङ लेलेपमा ०५३ सालमा जन्मिइन्, फुपुल्हामु । तर, उनको लेलेपमा बसाइ ३ वर्षमात्र भयो । राजधानी आएपछि फुपुल्हामुको परिवारको वासस्थान बन्यो, नयाँबजार । त्यहीँबाट सुरु भयो उनको जुडो यात्रा ।
“मेरो घर नजिकै बहुद्देश्यीय मार्सल आर्ट केन्द्र थियो । त्यहाँ जुडोलगायत मार्सल आर्ट गेम्सहरू सिकाइथ्यो,” उनले सम्झिइन्, “मेरो जुडो यात्रा पनि त्यहीँबाट सुरु भयो ।”
फुपूल्हामुको परिवार काठमाडौं आउनुको कारण भने आमाको स्वास्थ्य र गरिबी नै मुख्य थियो । उनकी आमा सुत्केरी हुँदा जन्डिस भयो । त्यहाँ उपचार नहुने भएपछि बुबाले सबै परिवार काठमाडौँ सार्ने निर्णय गरेछन् ।
फुपूल्हामुले सुनाइन्, “हाम्रो आर्थिक अवस्था राम्रो थिएन । बुबा भरिया हुनुहुन्थ्यो । त्यसैबेला भाइ पेटमा हुँदा आमालाई जन्डिस भएछ । त्यसैले गाउँमा उपचार नहुने हँुदा बुबाले हामी सबैलाई काठमाडौँ बोलाउनुभयो । त्यसपछि हामी सबै काठमाडौँ आयौं ।” 
काठमाडौँ बसाइ त्यति सहज भएन । उनका बुबा भरिया थिए । पछि गाइड भएपछि केही सुधार भयो ।
भरियाको रूपमा काम गर्दागर्दै दोर्जे पछि गाइड बनेका थिए । उनले सगरमाथाको धेरैपटक आरोहणसमेत गरे । बुबा पर्यटन व्यवसायमा लागेपछि आर्थिक अवस्था केही हदसम्म सुध्रियो । आमा फुपूथाक्चेले नयाँबजारमा खाजा–नास्ताको हाटल चलाउन थालिन्, जसको नजिकै थियो– जुडो सिकाउने एमएमएसी केन्द्र ।
एकदिन जुडो खेलाडी लीला अधिकारी र चन्द्र डंगोल होटलमा खाजा खान पुगेछन् । उनीहरूले खाजा खाँदै गर्दा नजिकै थिइन् फुपुल्हामु । सानीनानी फुपुल्हामुलाई देखेपछि उनीहरूले बुबालाई आफूहरू जुडो खेलाडी भएको र फुपुल्हामुलाई पनि जुडो सिकाउन अनुरोध गरेछन् ।
“म सानै थिएँ । उहाँहरूको आँखामा परेछु । त्यसबेला उहाँहरू जुडो खेल्न विदेश जान लाग्नुभएको रहेछ । डंगोल गुरुले बुबालाई आफूहरू खेलाडी भएको र लीला अधिकारीलाई देखाउँदै छोरीलाई पनि जुडो खेलाउन, पछि देशविदेशमा गेम खेल्न पाउँछिन्, नाम कमाउँछिन् भन्नुभएछ,” फुपुल्हामुले भनिन्, “बुबाले सही ठानेर मलाई जुडो खेल्न पठाउनुभयो ।”
सुरुमा उनलाई धेरै गाह्रो भयो । जिउ पूरा दुख्थ्यो । कतिपटक त गइनन् पनि तर बुबाले जहिले पठाउने । तर, जब जुडोबारे बुझिन्, त्यसपछि बल्ल खेलाडी बन्छु भन्ने लाग्यो र कहिल्यै तालिम छुटाइनन् । 
उनले मज्जाले जुडो बुझेको ८ कक्षा पढ्दा हो । त्यतिबेला देवु थापा, लीला अधिकारीजस्ता जुडोका चर्चित खेलाडी थिए । उनलाई पनि त्यस्तै स्टार खेलाडी बन्ने हुटहुटी बढ्यो ।
“जब मैले जुडो बुझेँ, मलाई मेरो आइडल गुरु (देवु थापा) जस्तै चर्चित बन्न मन लाग्यो,” उनले भनिन्, “स्कुल छुट्टी हुनासाथ दौडेर क्लबमा पुग्थें ।”
फुपुल्हामुले जति मेहनत गरिन्, त्यहीअनुसार फल पनि प्राप्त गर्दै आइन् । ओलम्पिकमा सहभागिताबाहेक उनले आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन् । सागमा मात्रै ९ वटा अन्तर्राष्ट्रिय पदक जितेकी छन् । सागमा जुडोमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।
भारतको जयपुरमा ६ वर्षअघि भएको राजीव गान्धी जुडो च्याम्पियनसिपमा कांस्य हात पार्दै सिनियर जुडोको यात्रा थालेकी फुपूल्हामुले काठमाडौँ र इस्लामावादमा आयोजित दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुईपटक रजत जितेकी छन् । त्यस्तै, साग स्वर्ण जितेपछि उनले हंगेरी भएको हंगेरी ओपनमा कांस्य जितेकी उनले जुनियर स्पर्धामा भने एक स्वर्ण पदक ल्याइन् । हङकङ र मकाउमा भएको जेयूए क्याडेट जुनियर च्याम्पियनसिपमा रजत र कांस्य जितिन् ।
फुपूल्हामुलाई सबैभन्दा खड्किएको कुरा भेनेकै बुबालाई आफूले ओलम्पिक खेलेको देखाउन नपाउनु हो । उनका बुबालाई ०७२ वैशाखको सगरमाथा हिमपहिरोले सधैंका लागि चुँडेर लग्यो । दसौंपटक सगरमाथा चढ्न जाँदा उनी वैशाख ५ को हिमपहिरोमा परेका थिए ।
“बुबा हामीसँग हुनुहुन्न तर उहाँको सपना मैले पूरा गरेकी छु । मैले ओलम्पिक खेलेकी छु, सागमा मेडल जितें,” उनी भावुक भइन् ।
सागमा स्वर्ण जितेपछि फुपुल्हामुलाई सबैले चिने । नतिजा राम्रो नआए पनि उनी चर्चाको पात्र बनिन् । अहिले उनी मिडियामा छाएकी छन् । भन्छिन्, “बुवा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला !”
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC