site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजमार्ग, पारिजात र प्रिन्स
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
– कुमारी लामा
 
सम्झँदैछु भर्खरै भ्याएको एउटा यात्रा । 
छिचोलेको राजमार्ग । 
आइलागेका केही घटना ।
राजमार्गीय धङधङी टाँसिएको वाफिलो शरीर । 
अनि अनगिन्ति थकित यात्रीहरू । (आफैं पनि )
 
बेखबरै प्रश्निल भइसकेछु । 
 
यात्रामा छौँ हामी या हामीसँगै यी राजमार्ग पनि ?
थाक्छन् यात्रीमात्रै कि यी बाटाहरू पनि ?
 
(सायद सुषुप्त कतै छ राजमार्गको पर्सोनिफाइड रूप मभित्र र यी प्रश्न एउटा निम्छरो प्रयास)
 
अजीव भोगाइ देख्छु यी बाटाहरूको । यात्रीका लागि गन्तव्यको आधार, मिलनको उत्सुकता, भेटाइको हलुकोपन । हुन सक्छ– दुःखको खबर बोकी हुइँकिने हावाको बेग पनि । तर, सडक आफ्नै लागिचाहिँ के होला यी निरन्तरको यात्रा ? यात्रीहरू त पुगिजान्छन् आ–आफ्नो गन्तव्य तर आफू ?  
के ? मात्र पर्खाइ ? 
कसको ?
उही यात्रीहरूको ? 
या आफू भएर गन्तव्य समाउनेहरूको छाया या गन्ध या स्पर्शले पाउनुपर्ने सन्तुष्टिमात्र । अझ आफ्नै छातीमा निरन्तर घट्ने विभत्स दुर्घटनाहरूको साक्षी अनि दुखाइ । सडक भएर सोच्दा बहुत कठिन रहेछ सडक हुन ।
 
केही समयअघिमात्र चुँडिएको हो एउटी आइमाईको गर्धन उनको आँखैअघि । उफ् ! झ्यालबाट निकालिएको टाउको अब कहिल्यै भित्र पस्नेछैन । अर्को गाडीको तेज रफ्तारले भेटेको टाउको । सानो विस्फोट, टाउको छताछुल्ल सडकमा ! के भयो होला उसको दूधे बालकको हालत आमाको गिँडमात्रै छेउमा देख्दा ? साथै अरु यात्रीहरूको मानसिकता पनि । धत् ! यस्तो पनि बेहोर्नुपर्छ यात्रामा । कति बीभत्स हुन्छ कुनै घटना । चोट मनलाई मात्र हैन, आँखालाई पनि उत्तिकै दिने । 
टाउको पड्किएको आवाज त मैले सुनिनँ, तर देख्छु सडकभरि रगतको पोखरी । तब रिंगटा छुट्छ एक चरण, तिर्मिरिन्छन् आँखा । पानी खन्याउँदैछन् पखाल्न केही हातहरू । एक छिनअघिको रगतको पोखरी अब कुलेसो भएको छ । त्यसैमा मिसिएझैँ लाग्छ, त्यो बालकको आँसु, यात्रीहरूका आतंकका लहरहरू अनि यही राजमार्गकै दुःखी मन पनि । म भित्रभित्रै नीलोकालो भइसकेको छु । बिस्तारै त्यो रगतको कुलेसो सडक किनारको नालामा खस्छ । मिसिन्छ त्यहाँ बग्दै गरेको फोहोर पानीसँग । लाग्छ– एउटा जिन्दगी बिलायो नालाको फोहोर पानीमा । 
यस्तै धेरै घटनाहरूको समीप हुनुपर्ने यी सडकहरूको नियति । घरि त आफैँ पनि भागूँ लाग्दो हो यिनलाई । तर, सबैलाई कतै भगाउने उनी कता भाग्नु र ! जसरी भाग्न सक्दैन मानिस आफ्नो जीवनबाट । हिँडिरहनु जो पर्छ उसले घाम छाया जे भए पनि– उही जीवनको फेर समाएर । सडक र मानिसको जीवन उस्तै रहेछ । सडकमा हुन्छ दुर्घटना अनि हुन्छ दुर्घटना जीवनमा पनि । सडकले केवल सहन्छ चुपचाप अनि जीवनले पनि सहनुको विकल्प छैन । त्यसैले आजकल बहकिँदै छ मन पीडाको नसाले । 
 
० ० ० 
 
(कुरो भोगाइकै अघि बढाउन मन भयो । अब जानु पनि कहाँ छ र जीवनभन्दा टाढा)
जीवन भोगाइका जानिफकारहरूको छेउमा जब पुग्छु र सुन्छु उनीहरुका कुरा, लाग्छ आफूले त जीवनै पो भोगिएको रै’नछ । भर्खरै छरिएको थियो इन्टरनेटभरि डा. मास्केलाई लेखेको पारिजातको पत्र । पढिसक्दा लाग्यो, जीवन त उनले भोगेकी हुन् । जीवनको सबैभन्दा भित्र, मानौं कि हड्डीभित्रको मासीसम्म पसेर अनुभव गरेकी हुन् उनले । त्यतिको साहस छैन ममा । घरिघरि त बिलकुलै काँतर पाउँछु आफूलाई । पीडाको नशामा पनि मस्तै मातिदिन सक्ने हुन् यी आइमाई । मेरो प्रिय, अति प्रिय लेखक । ईष्र्या जाग्छ उनीप्रति । उनको लेखाइ र भोगाइ दुवैको । त्यो उनको अशक्त अवस्थाको पनि । उनलाई सधैँ पीडा दिइरहने घुँडा दुखाइको पनि अनि उनको रक्सीसँगको सामिप्यताको पनि (भलै उनले पेन किलिङका लागि पिउने बाध्यता रहेछ) ।
म त बिलकुल हुतिहारा नै हुँ । समाजका तीखा आँखासँग आँखा जुधाउन पटक्कै सक्दिनँ । र त, कति शालीन र सुसंस्कृत भइजान्छु अरुसामु । कस्तो आर्टिफिसियल जीवन ! जब सुकन्या दिदीसँग बर्खे झरीको टिपटिपसँगै कुराको शृंखला अघि बढ्छ, तब अरु पनि धेरै कुराहरू उघ्रिजान्छन् पारिजातका । सुकन्या थाल्नुहुन्छ कुरो । 
दिदी त ओपन बुक । उहाँ भन्नुहुन्थ्यो, “लेखकलाई त समालोचक र पाठकहरूले चिहानबाट पनि निकालेर चिरफार गर्छन् । त्यसैले सबथोक लेख्नुपर्छ ।”
यति सुनेपछि साउने दर्काइलाई उछिनेर मनभित्र दर्किन थाल्छ फरक झरी । भिजेर पानी पानी हुन्छु उनको विचारले । कति खुला मन, वाफ रे !
आफैंलाई हेर्छु फेरि एकपटक, लाज लाग्छ । म सधैँ लुकाउन, छेक्किन र भागिरहन खोज्ने मनुवा । हैट ! पागलपन नै छ एक प्रकारले छेकिन खोज्नुको । साँच्चि छेक्नुचाहिँ अब के छ हौ जीवनमा ?
डा. मास्केलाई लेखेको पत्रमा भोगाइ र गोपनीयताको पनि चरम गोप्य कुरा (आफ्नो यौन सम्बन्धबारे) खोल्न सक्नु साहस अझ भनौँ भयंकर साहस हैन र ? त्यही पनि एक स्वास्नी मानिसका लागि । तर, उनले खोलिन् । शायद केही नलुकाएकाले उनी गह्रौँ जिन्दगी पनि हलुको बाँचेर गइन् । सधैं खड्किन्छ एउटै कुरो । उनले वास्तवमै पीडादायी जीवन भोगिन्– मन र शरीर दुवैकै । तर उनको विशेषता हो– त्यही पीडालाई पनि नशालु देख्न सक्नु । हुन सक्छ त्यही नशालु पीडालाई प्रत्येक साँझको पियाइसँग मिसाएर ककटेल बनाउँदै पिउनु नै सबैभन्दा सुखद क्षण हुन्थ्यो उनका लागि । उनले मर्जीको जिन्दगी बाँचिन् । यहाँ धेरैलाई मर्जीको जीवन जुर्दैन । 
त्यसैले बारम्बार आउँछिन् सम्झनामा पारिजात । आउँछन् उनीहरू, जो जीवनको राजमार्गमा अलमलिरहेका छन् । उनीहरू, जो आफ्नो फरक बाटो समाई अघि बढिसकेका छन् । साथै कोही जो, जीवनलाई साह्रै सहजसँग गुडाइरहेका पनि छन् ।
यस्तै छन् एक । प्रिन्स (कुमार नगरकोटीको शब्दमा) उर्फ राजकुमार बानियाँ । उनको मुहारको शालीनता र व्यवहारको नरमपनाले हायलकायल भइजान्छु । कारण– आफ्नो रफ व्यवहार । चाहेजति नरम हुनै नसक्ने प्राणी । बहकिजान्छ मन । बेला न कुबेला केही–केही बड्बडाई गइन्छ । अनि अन्तमा आफ्नै कुरा सम्झेर लाज लाग्नु त स्वाभाविकै भो । 
प्रिन्सको जीवन सरल र सहज छ । या सरल बनाउने कला उनमा छ । उनको जीवन गाडी राजमार्गमा एकनासे रफ्तारमा छ (उनी आफैं स्वीकार्छन्) । अहिलेसम्म बम्पी ट्र्याक र हम्स आएकै छैन । सजिला मानिस उनी । बेफिक्री मस्त मान्ठा । उनीप्रति पनि ईष्र्या लाग्छ ।
सधैंको हसिँलो मुहार र गजबको चार्म । आफू परियो दुःखी प्राणी । मोबाइलको नेटवर्क गडबडीसम्म पनि दुईदिने टाउको दुखाइ भइजान्छ । कति झिनामसिना कुरामा पनि अल्झिजान्छ जीवन । लाग्छ– कहिल्यै चाहेजस्तो ‘स्मुथ’ पार्नै सकिएन यो चोला । आफ्नै रफ्तारमा जीवन गुडाउन सकेका सुखी प्रिन्स दम्भी चैँ छन् है– तर शालिन दम्भी । हाकाहाकी भनिदिन्छन्, “कहाँ जस्तो पायो उस्तै लेखिन्छ । आफू त अफ ट्र्याक लेख्ने परियो ।”
यसो भन्नु पनि प्रिन्स उर्फ राजकुमारको साहसै हो । के राख्नु र मनमा कुरा गाँठो पारी ? भनिदिने हो झ्याप्प ! लुकाउनु छिपाउनु किन पो प¥यो ? त्यसैले उनी यति स्वतन्त्र र खुस भएका हुँदा हुन् । अनि मेरो प्रिय पनि । नमन प्रिन्सलाई । उनको स्पष्टतालाई ।
यस्ता पात्रहरूसँगको हरेक पटकको भलाकुसारीसँगै आफू भने तल–तल कतै भासिँदै गएजस्तो लाग्छ । आफैंसँग अप्ठ्यारो पनि । कारण– म खुल्न सक्दिनँ उति । कारण– म छेकिन र भाग्नपट्टि लाग्छु । भगुवा जिन्दगी । गतिलो भएन यो जुनी जस्तो लाग्छ ।
एकातिर आफैंसँग गुनासो र अर्कोतिर छ यात्रा जारी जीवनको । राजमार्गमा प्रशस्त अड्चन छन् तर पनि गाडी त गुड्नु नै छ । कियारोस्तामी (इरानी सिनेमा निर्देशक)का पात्र मिस्टर वादीजस्तै रोकिँदै, अडिँदै, आत्महत्याका लागि सघाउन निकै जनालाई सहयोग माग्दै पनि चलाइरहनु त छ नै जीवनको गाडी । 
हैट ! आफू भने आत्महत्यासम्म चाहिँ पुगिन्न पक्का । किनकि मलाई मर्न डर लाग्छ । अथवा दुःख, पीडासरिको सही तर जीवन नै प्रिय छ । यसबेला गुन्जिदै छ दौलतविक्रम विष्टका कुराहरू ।
 
“म अस्थायी, त्यो स्वास्नीमान्छे अस्थायी, हाम्रा हरेक क्षण अस्थायी । जिन्दगी अस्थायी क्षणहरूमा ऊ हरेक घाउको पीडालाई पनि हाँसेर स्वागत गर्छे भने इच्छाहिनताभित्र पनि मुस्कुराइदिनुपर्छ मैले ।”
(चपाइएका अनुहारहरू)
 
वाह ! क्या पन्चिङ भनाइ ! के छ र स्थायी ? सारा थोक क्षणिक । पीडा पनि र सुख पनि, इच्छा र इच्छाहीनता पनि । त्यसैले मुस्कुराउनुपर्छ । 
राजमार्गका यी सारा घटना र जीवनकै राजमार्गमा घटेका घटना । भेटिएका र छुटिएका यात्री, संगालिएका याद– सबै सबै क्षणिक र अस्थायी । साउन र पुस सहँदै राजमार्ग स्वागत गरिरहेछ हाम्रो यात्रा । जीवनको राजमार्गमा पनि उसरी नै गुडाउनुछ जीवन । सप्ठ्यारो अप्ठ्यारो, आइ डोन्ट केयर !
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC