उत्तर कोरियाको आणविक परीक्षण, थप प्रतिबन्ध र पुनः परीक्षणको दुश्चक्रले संसारलाई विनाशको संघारतिर धकेल्दै लगेको छ । सुरुमा चीन र रूसको सहमा उत्तर कोरियाले आणविक हतियारको विकास गर्न थाल्यो । अहिले उत्तर कोरिया संसारका आणविक हतियार भएका मुलुकहरूमध्ये सबैभन्दा डरलाग्दो शक्तिका रूपमा देखा परेको छ । सन् २००३ देखि नै आणविक अप्रसार सन्धिमा नरहेको उत्तर कोरियामाथिे २००६ मा परमाणु परीक्षणलाई गति दिन थालेपछि प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्धले उत्तर कोरियाका जनता भोकै मर्नुपर्ने अवस्थामा पुगे पनि राज्यको आणविक कार्यक्रममा खासै असर गरेको देखिएन । यही साताको सुरुमा उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि अमेरिका, जापान र दक्षिण कोरियाले विशेष चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाले त लामो समयको संयम भंग गर्दै सोमवार क्षेप्यास्त्र प्रहार नै गरेको छ । उत्तर कोरियाले उत्तेजना र आतंक फैलाउन छाडेन भने यस क्षेत्रमा शान्ति भंग हुने र त्यसले सिंगो संसारलाई नै प्रभावित पार्न सक्छ ।
संसारमा कायम रहेका केही अत्यन्त अनुदार अधिनायकवादी शासन र बन्द समाज भएको मुलुकमा पर्ने उत्तर कोरियाले सन् १९६० को दशकबाटै आणविक कार्यक्रम सुरु गरेको थियो । रुस र चीनले उत्तर कोरियालाई शान्तिपूर्ण आणविक कार्यक्रमका लागि सहयोग गरे । विशेषगरी आणु वैज्ञानिकको तालिम र शिक्षामा दुवै मुलुकले गरेको सहयोगको परिणाम अहिले देखा परेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रतिबन्ध लगाए पनि चीन र रुसलगायत केही मुलुकले अवज्ञा गरेपछि त्यस्तो प्रतिबन्ध अर्थहीन भयो । पूर्वी एसियामा अमेरिकाको उपस्थितिको बहाना बनाएर उत्तर कोरियाले आणविक अस्त्र हतियार निर्माण र परीक्षणलाई निरन्तरता दिइरहेको छ । अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अनुबन्ध केही पनि स्वीकार नगर्ने उत्तर कोरिया अहिले संसारकै लागि खतरा बन्न पुगेको छ ।
उत्तर कोरिया लोकतान्त्रिक मुलुक भएको भए सायद त्यहाँका जनताले पनि सरकारको उद्दण्डता नियन्त्रण गर्ने थिए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बेलाबखत अत्यन्त अनपेक्षित र अभद्र अभिव्यक्ति प्रकट गर्छन् । तर, लोकतान्त्रिक मुलुक भएकाले तिनको अनुचित बोली र व्यवहारको सबैभन्दा चर्को विरोध अमेरिकाकै नागरिकले गर्छन् । उत्तर कोरियामा एउटै वंशका तेस्रो पुस्ताका अधिनायकवादी शासन छ । मुलुक र समाज दुवै बन्द भएकाले उत्तर कोरियाली जनतामात्र हैन सिंगो संसार नै त्यहाँका शासकको अप्रताशित बहुलठ्ठीबाट आजित भएको छ । तर, अमेरिकालाई तर्साउन उत्तर कोरियालाई धाप मार्ने चीन र रुसको प्रवृत्तिले संसारलाई थप अनिश्चितता तर्फ धकेलेको छ । उत्तर पनि दक्षिण कोरियाजस्तै लाेकतान्त्रिक मुलुक हुँदाे हो त धेरै अात्तिनु पर्ने थिएन ।
अर्कातिर शान्तिपूर्णरूपमा समस्याको समाधान खोज्न अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अपनाएको वार्ताको नीतिलाई उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले ‘काम नलाग्ने‘ भन्दै अस्वीकार गरेर धम्की र निषेधको नीति अख्तियार गरेपछि पनि स्थिति झन् जटिल र चिन्ताजनक भएको हो । उत्तर कोरियाविरुद्ध लगाइएको प्रतिबन्धले त्यहाँका निर्दोष जनताले बढी नै सास्ती पाएको हुनुपर्छ । यसैले धम्की, निषेध र प्रतिबन्धको रणनीति त्यागेर विश्व समुदायले समस्यालाई नयाँ दृष्टि र पहलुबाट विचार गर्नु जरुरी छ ।
चीन र रुसले पनि अमेरिका तर्साउन हुर्काएको बाघले आफूलाई पनि छाड्दैन भन्ने नबिर्सून् । अमेरिकी राष्ट्रपति ट्रम्पले बोलीमा संयम र सन्तुलन नगुमाउने र रुसी तथा चिनियाँ नेतृत्वले उत्तर कोरियाली शासकमाथि दबाद चर्को बनाउने हो भनेमात्र तनाव छिटै कम होला । विश्व आणविक युद्धको चपेटामा नपरोस् भन्ने चाहने हो उत्तर कोरियाका नेपाली मित्रहरूले पनि आआफ्नो प्रभाव विश्व शान्तिका लागि प्रयोग गर्नु आवश्यक देखिन्छ । तर, उत्तर कोरिया सरकारका मेजमानी खानेहरूले मात्र हैन नेपाल सरकार र नेपाली समाजले पनि यस विषयमा बोल्लान् भन्ने ठान्नु मूर्खता हुन्छ । यसैले नेपाल सरकारले असंलग्न समूह वा सार्कमा नै भए पनि उत्तर कोरियाली समस्या उठाएर सम्बन्धित विश्वको ध्यानाकर्षण गर्न सके कूटनीतिक कौशल देखिने थियो । निषेध र प्रतिबन्धको विधिले काम नगरेकाले विश्व समुदायले पनि उत्तर कोरियालाई उद्दण्डता छाडेर वार्तामा ल्याउन स्पष्ट नीति अपनाउनुपर्छ । उत्तर कोरियाली उद्दण्डता खतरनाक र आपत्तिजनक दुवै छ ।