बैंकक । राजनीतिक अस्थिरता थियो । लगानी सुरक्षित हुने वातावरण थिएन । तर पनि जिन्दगी त धान्नु नै थियो । जिन्दगी चलाउन कि कुनै दलको नेताको झोला बोकेर हिँड्नुपथ्र्यो, नभए कुनै गैरकाकानुनी बाटोबाट पैसा कमाउनु पथ्र्यो । मुटुभरी देशको माया बोकेकै भरमा आदर्शले जीवन चल्दैनथ्यो । जसरी हुन्छ, जीवन चलाउन पैसा भने कमाउनैपथ्र्यो ।
गाउँबाट काठमाडौं आएर जिन्दगी चलाउनु अधिकांशका लागि फलामको चिउरा चपाउन सरह थियो । सोलुको दूरदराजबाट राजधानी झरेर आफैं आधारभूमि खडा गरेर सुखसयलमा बाँच्नु सहज थिएन सुनील खड्काका लागि पनि ।
जिन्दगीको बाटो पहिल्याउन खोजिरहेका थिए उनी । हरेक शुक्रबार एकीकृत आवाज नामक साप्ताहिक पत्रिका निकालिरहेका थिए । त्यसले सुखद लक्षण देखाइरहेको थिएन । “त्यही ताका एक जना पुरानो साथी भेट भए । पत्रिकामा मेरो नाम देखेर उनले मलाई फोन गरेर भेटे । उनैले घुम्न जाउँ बैंकक भने । म पनि बैंकक आएर २ महिना मजाले घुमें,” अघिल्लो सप्ताहन्तमा बैंककको होटल मेरियटमा भेटिएका सुनिल नोस्टाल्जिक हुँदैथिए, “त्यही बेला मेरो दिमागमा क्लिक भयो बुद्ध नेपालमा जन्मिएको भनेर नारा लगाउँदै गर्दा म बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रमाणित गर्न यहाँका जनतालाई नेपाल पठाउँछु । एकातिर बुद्धको भूमिमा पर्यटक पठाएर बुद्धको प्रचार गर्छु अर्कोतिर पैसा पठाउँछु भन्ने आयो र सोचें ट्राभल एजेन्सी खोल्छु ।”
२ महिना घुमेर नेपाल फर्किएका सुनील फेरि थाइल्याण्ड फर्किए र ट्राभल एजेन्सी खोले । उद्देश्य उही थियो, “थाईहरुसँग बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रचार गर्दै उनीहरुलाई नेपाल घुम्न पठाउने ।”
२० हजारमा थाई सरकारसँग इजाजत लिए । ३० हजारमा कम्पनी खडा भयो । ५ हजारमा कोठा लिएर १५ हजार ३ महिनाको भाडा तिरे र करिब साढे ३ लाख रुपैयाँमा उनले ट्राभल एजेन्सी खोले बैंककमा ।
थाइल्याण्डमा थाई नेपाल चेम्बर कोष स्थापना भएको थियो । त्यसको महासचिव भारतीय मूलको थाइ नागरिक थिए । उनको मातहतमा नेपाल एयरलाइन्सको कार्गो थियो । उनीहरुले मासिक १३ लाख भाट (३९ लाख नेपाली रुपैयाँ) कमाउँथे । नेपाल एयरलाइन्सले त्यो समय २३ भाट पाउँथ्यो तर उनीहरुले ४० भाट लिन्थे । सुनीलले यो तथ्य नेपाल एयरलाइन्सलाई विस्तृतमा बताएर एक जना व्यक्तिको सिन्डिकेट तोड्न आग्रह गरे । उनको यो आग्रहलाई नेपाल एयरलाइन्सले सुुनुवाइ गर्यो । प्रतिव्यक्ति कार्गो ३२ भाट पाउँदै आएको नेपाल एयरलानइन्सले ३४ भा सम्म पाउन थाल्यो । उनले पनि कार्गो चलाउन थाले ।
ट्राभल र कार्गो खोलेपछि साथीहरुको संख्या बढ्दै गयो । त्यसपछि सुनीलले २०१० को अन्तिममा ३० लाखमा एयरपोर्ट नजिकै थाई रेष्टुरेन्ट खोले । २०१३ मा उनले सुकुमितमा होटल खोले । त्यसलाई उनले निरन्तरता दिँदै गए । उनका सञ्चालनमा रहेका होटलमा एभरेष्ट बुटिक (२), अशोक स्विट्स र लापोर्ते हुन् ।
अहिले उनका २ वटा निर्माणाधीन होटल छन् भने ३ वटा होेटल सञ्चालनमा छन् । उनले बनाउन लागेका होटल तीन तारे हुन् ।
“८० मिलियनभन्दा माथि होटलमा लगानी छ, १ सय भन्दा धेरैलाई रोजगारी दिएको छु,” सुनिल भन्छन्, “व्यापारमा ठ्याक्कै त भन्न सकिन्न तर औसतमा बार्षिक अढाई करोड नेपाली रुपैयाँ आम्दानी हुन्छ ।”
थाइल्याण्डमा व्यापार गर्न थाइ नागरिकको कम्तिमा ५१ प्रतिशत लगानी अनिवार्य छ । सुनीलको बिजनेसमा पनि ४९ प्रतिशत मात्रै उनको आफ्नो नाममा छ भने बाँकी उनकी श्रीमतीको नाममा छ । सुनीलकी श्रीमती थाइ नागरिक हुन् । “मैले विवाह नगर्दा सुरुमा थाइ नागरिकलाई विश्वास गरेर ५१ प्रतिशत उसकै नाममा गरेको थिएँ । अहिले भने श्रीमती थाई नागरिक भएकाले उनको नाममा छ,” उनले भने ।
थाइल्याण्ड अहिले पर्यटनका लागि विश्वकै केन्द्र हो । पर्यटनसँगै वैदेशिक लगानी थपिँदै गएको छ । थाइल्याण्डमा विश्वकै धेरै राष्ट्रका व्यापारीले लगानी गरेका छन् । तर थाइ नागरिक बढी महत्वाकांक्षी र धुर्त नहुने भएकाले विश्वासघात नहुने गरेको सुनील सुनाउँछन् । सुनील थाइल्याण्डमा गएर होटल व्यसायमा लागनी गर्ने पहिलो नेपाली हुन् ।
सुनील राजनीतिज्ञ पनि हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय छन् । उनी नयाँ शक्तिको आर्थिक विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन् ।
नेपालमा उनले भूकम्पअगाडि कान्तिपथको माउन्टेन होटल र पोखराको बेडरक होटल लिजमा चलाएका थिए ।
सोलुखुम्बुमा ठूलै लगानीमा रिसोर्टको तयारी गरिरहेका सुनिलले थाइ नागरिक बन्ने सोच बनाएका छैनन् । आफ्नै देशमा आफ्नो सीप प्रयोग गर्नुपर्छ भन्ने सोचले आफूले थाइल्याण्डको पीआर नलिएको बताउने उनी राजनीतिमार्फत समाज सेवा गर्ने योजना रहेको बताउँछन् ।
“नेपालमा लगानीमैत्री वातावरण छैन । यहाँबाट पैसा लिएर नेपालमा विजनेश गर्छुभन्दा त्यहाँको पोलिसीले दिँदैन । राष्ट्र बैंकले चर्को रुपैयाँ लिन्छ जुन विदेशमा दुःख गरेर कमाएको पैसा राज्यलाई बुझाउनुपर्छ,” उनी भन्छन् “राज्यले लगानी गरेर त्यहीँ कमाएर त्यहीँबाट कर उठाउने नीति बनाउनु पर्छ । तर पनि म निराश छैन । गर्ने हामीले नै हो । हामी युवा जबसम्म राजनीतिक नेतृत्वमा पुग्दैनौं, तबसम्म नेपालको राजनीति सुधिँ्रदैन । पोलिसीमा परिवर्तन हुँदैन ।”
राजनीति सेवाका लागि हुनुपर्नेमा सुनील जोड दिन्छन् । राजनीतिलाई उद्योग बनाउने राजनीतिज्ञका कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको उनको बुझाइ छ ।