काठमाडौं । आफ्नै हजुरआमाको हत्या आरोपमा खोटाङमा एकजना पक्राउ परेका छन् । जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या आरोमा नाती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भनिने २९ वर्षीय निरबहादुर खड्का छन् ।
खोटाङ बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनकै नाती पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सीमा क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निरबहादुरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।