Skip Advt.

साहित्य र कला

बीपी कोइरालालाई न्याय गर्न ‘तीन घुम्ती’

बीपी कोइरालालाई न्याय गर्न ‘तीन घुम्ती’
 

सुशान्त कार्की 

नायक, तीन घुम्ती  

 

साहित्यकार तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बहुचर्चित उपन्यास ‘तीन घुम्ती’ अहिले चर्चाको शिखरमा छ । गत शुक्रबारदेखि प्रदर्शन आरम्भ भएको चलचित्रमा बीपीले आफ्नो उपन्यासमा एक महिलाले आफ्नो जीवनका तीन महत्वपूर्ण घुम्ती र तत्कालीन पञ्चायती व्यवस्था विरुद्धको कथा समेटिएको छ । बाबुराम ढकालले निर्देशन गरेको चलचित्रमा गरिमा पन्त, सुशान्त कार्की, ध्रुव दत्त, मदनदास श्रेष्ठ, लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माण युनिट अहिले चलचित्रको प्रोमोसनका लागि दौडधूपमा छ । गरिमा पन्त र धु्रव दत्त नेपाल बाहिर रहेकाले निर्देशक ढकाल र नायक कार्की सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त छन् । ‘जलजला’, ‘विन्दास’ र त्यसको सिक्वेल, ‘सपना तिम्रो मेरो’, ‘मिस्टेक’मा नायकका रुपमा काम गरेका कार्की आफ्नो करियरमा ‘तीन घुम्ती’ टर्निङ प्वाइन्ट भएको बताउँछन् । ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ र ‘चर्खा’मा अभिनय गरेका नायक कार्कीसँग ‘तीन घुम्ती’का विषयमा केन्द्रित रहेर नरेश फुयाँलले गरेको कुराकानी : 

 

‘तीन घुम्ती’ उपन्यासको जुन लोकप्रियता थियो त्यसलाई चलचित्रमा उतार्दा त्यसको कथालाई न्याय भएजस्तो लाग्छ तपार्इंलाई ?

केही दिन अघि मात्रै पनि हामीले विग सिनेमामा पनि यो चलचित्र प्रदर्शन गरेका थियौं । त्यहाँ वरिष्ठ चलचित्रकर्मी र वरिष्ठ पत्रकारहरु आएर पुरै तीन घण्टा बसेर हेर्नुभयो । सबैले राम्रो भनेर प्रतिक्रिया दिनुभयो । वीपी कोइरालाको उक्त गरिमामय उपन्यासलाई चलचित्रमा उतार्दा अझै न्याय भएको बताउनु भएको थियो । विभिन्न साहित्यकारहरुका कृतीमा यसअघि बनेको चलचित्रभन्दा ‘तीन घुम्ती’ राम्रो बनेको उहाँहरूको प्रतिक्रिया थियो । हलहरुमा दर्शकको उपस्थिति हेर्दा त्यसले पनि पुष्टि गर्छ चलचित्र राम्रो बनेको छ भन्ने । 

 

चलचित्रमा ‘इन्द्रमायाँ’ भन्ने पात्र काठमाडौंकी नेवार समुदायकी हुन् । तर, चलचित्रमा आर्यन फेस गरिमा पन्तलाई उभ्याइदिनु भयो । चलचित्र यहीँ चिप्लिएन ? 

जुन जाती वा भाषाको पात्र छ त्यही चाहिन्छ भन्ने छैन । यदी अर्को कुनै जाती वा भाषाको व्यक्तिले न्याय गर्न सक्छ भने उसलाई खेलाउन सकिन्छ । त्यसैले यही अनुहारलाई हेरेर मात्र निष्कर्षमा पुग्नु हुँदैन । ‘इन्द्रमाया’ नेवार समुदायकी महिला भए पनि उनी ब्राह्मण समुदायसँग विवाह गर्छिन् । त्यसो हो भने त्यहाँ दुई जना पात्र उतार्नु पर्ने हुन्छ । ‘इन्द्रमायाँ’ भन्ने पात्रलाई गरिमाजीले न्याय गर्नु भएको छ । दर्शकलाई पूरै चलचित्र हेर्दा कहीँ पनि उहाँको अभिनय र पात्र चयनका विषयलाई लिएर आलोचना गर्ने ठाउँ देखिँदैन । 

 

युग हाँक्ने कृती चलचित्रमा परिणत भएर आउँदा फिका भएर आउने गरेको टिप्पणी छ नि !

जति चलचित्र उपन्यासमा बने, त्यसमा समय सन्दर्भ पनि नमिलेको हुनसक्छ । जुन समयमा कृती लेखिए त्यो त्यही समयको कथा हो । तर, कृती लेखिएको ५० औं वर्षपछि चलचित्र बन्दा समयसान्दर्भिक नभएको जस्तो लाग्नसक्छ । तीन घुम्तीको विषयमा भने जति पनि आलोक, समालोचक तथा समीक्षकले हेर्नु भयो सबैले राम्रो भनेर भन्नु भएको छ । व्यवसायीक रुपले हेर्दा पनि सबै हलहरु हाउसफुल भएका छन् । अरुको हकमा के भयो त्यो अरुले नै भन्ने कुरा भयो । तर अहिलेसम्मको तथ्यले ‘तीन घुम्ती’ भने सबै हलहरुमा हाउसफूल हुनुले व्यवसायिक रुपमा पनि सफल रह्यो भनेर भन्न सकिन्छ ।

 

‘तीन घुम्ती’ व्यवसायिक चलचित्र हो ?

हो । यसमा शंका गर्नु पर्ने ठाउँ छैन । यदी व्यवसायिक हुँदैन थियो भने त्यहाँ हामीले गीत राख्दैन थियौं होला । हलसम्म पुगेका दर्शकलाई सामाजिक सांस्कृतिक विषयको जानकारीसँगै मनोरन्जन पनि प्रदान गर्नुपर्छ भनेर गीत समावेश गर्यौं । इतिहाससँग जोडिएको यो कथासँगै व्यवसायिकता पनि अपनाएर जोडिएको चलचित्र बनेको छ, ‘तीन घुम्ती’ ।  

 

‘तीन घुम्ती’ मा कथा के छ, सबैलाई थाहा छ । दर्शक के हेर्न पैसा र समय खर्चिएर हलसम्म पुग्ने ?

यो चलचित्र हेर्नु पर्ने दुई वटा कारण छन् । पहिलो–कलाकारको प्रस्तुती । दोस्रो–उपन्यासलाई कसरी चलचित्रमा उतारिएको छ भन्ने थाहा पाउन । निर्देशकले कसरी पात्रलाई चलचित्रमा प्रस्तुत गरेका छन् र  उपन्यासका पात्रलाई चलचित्रका पात्रले न्याय गरेका छन् कि छैनन् भन्ने जान्न पनि यो चलचित्र हेर्नुपर्छ । अर्को कुरा चलचित्र हेर्नु र किताव पढ्नुमा केही न केही फरक त हुन्छ नै । 

 

कृतिमा आधारित चलचित्रमा काम गर्न सजिलो कि मुलधारका चलचित्रमा ? 

म सँधै चुनौती मोल्न रुचाउने मान्छे । मैले धेरै व्यावसायिक चलचित्रमा काम गरेँ । तर यो भोलिका पुस्ताले पनि सम्झने चलचित्र हो । त्यसैले मैले चुनौतीलाई स्वीकार गर्दै अवसरका रुपमा यसलाई लिएर काम गरेँ । अरु चलचित्रभन्दा यसमा म बढी सन्तुष्ट छु । व्यावसायकि चलचित्रमा प्रायः समसामयिक विषय हुन्छ र केही सजिलो हुन्छ । तर, यस्ता खालका चलचित्रमा आफ्नो परिवेशभन्दा परको वा पहिलेको विषय हुँदा काम गर्न केही अफ्ठ्यारो हुन्छ । हामीले यसमा न्याय गरेका छौं । कृतिमा आधारित चलचित्रमा काम गर्दा जोखिम बढी हुने भएकाले दबाब चाँही बढी हुँदोरहेछ । 

 

कुनै समयमा चलिसकेका कृतिलाई चलचित्र बनाउनु राम्रो अभ्यास हो ?

ऐतिहासिक तथा सामाजिक सांस्कृति कृतिमा अब्बल र पाठकको मन जितेका पुस्तकलाई चलचित्र बनाउनु राम्रो जस्ता लाग्छ । चलचित्र हेर्ने सबैले पुस्तक पढेको हुन्छ भन्ने हुँदैन । ‘तीन घुम्ती’ कै कुरा गर्दा हिजो म स्वयम चलचित्र हेर्न हल पुगेको थिँए । त्यहाँ ‘तीन घुम्ती’ पढेका, ४० वर्ष उमेर कटेका धेरै देखेँ । यसको अर्थ बिरलै हलसम्म पुग्ने व्यक्तिहरु पनि यस्ता चलचित्रहेर्न रुचाउनुहुन्छ भन्ने हो । 

  

 

    

 

 

 

 

 

 

      

 

तपाईंको मत