site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारबाट पटकपटक धोका पाउँदा पनि सत्याग्रहको मार्गबाट अविचलित प्राध्यापक डा. गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय प्रशासनले फेरि धोका दिएको छ । डा. केसीले एघारौं अनशन सुरु गरिसकेपछि काठमाडौंको एउटा आवासीय भवनमा सञ्चालन गर्न खोजिएको ’काठमाडौं नेसनल कलेज’लाई सम्बन्धन दिने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको समाचार सार्वजनिक भएको छ । पवित्र प्राज्ञिक अभ्यासको अपेक्षा गरिने त्रिवि प्रशासनले समेत रकमी तर्कका आधारमा लुकीछिपी निर्णय गरेर सिंगो मुलुक र आफ्नै प्राध्यापकलाई धोका दिँदा त्रिभुवन विश्वविद्यालयकै बदनाम भएको छ । चिकित्साशिक्षा ऐन पारित नहुँदासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय त्रिविकै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७० सालमै गरेको थियो । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्ले पनि डा. केसीको अनशन स्थगित गराउने क्रममा ऐन पारित नहुँदासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको थियो ।
चिकित्सा शिक्षा विधेयक संसद्मा विचाराधीन रहेका अवस्थामा मेडिकल कलेजको सम्बन्धका सबै प्रक्रिया स्थगित गर्नुपर्नेमा अदालतको पुरानो र दोहोरो अर्थ लाग्ने आदेशलाई समातेर सम्बन्धन दिन गरिएको रहस्यमय हतारले त्रिविका पदाधिकारीको नियतमा पनि सन्देह उत्पन्न गराएको छ । यस निर्णयबाट त्रिवि पदाधिकारीले त्रिविका एकजना  सत्याग्रही प्राध्यापकलाई त धोका दिए नै त्रिविकै पूर्व उपकुलपति विख्यात् शिक्षाविद् केदारभक्त माथेमा आयोगको सिफारिसलाई पनि अवज्ञा गरेका छन् । माथेमा आयोगले चिकित्सा शिक्षाका क्षेत्रमा गर्नुपर्ने सुधारहरूको सुझावसहित सरकारलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न दिन नहुने प्रावधान पनि रहेको छ । सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सम्बन्धन दिएको भन्दै त्रिवि पदाधिकारीले आफ्नो गलत र बदनियतपूर्ण निर्णयको प्रतिरक्षा गरेको भए पनि अहिलेकै कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रियासमेत अपनाइएको छैन । मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शास्त्र अध्ययन संस्थानले आवश्यक पूर्वाधार पूरा गरेको ठहर गरी सहमति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, संस्थानको फ्याकल्टी बोर्डले नेसनल कलेजलाई पूर्वाधार पूरा नभएको ठहर गरेको थियो ।
माथेमा आयोगको प्रतिवेदनपछि चिकित्सा शिक्षा विधेयक संसद्मा विचाराधीन रहेको र डा. केसीसँग पटकपटक माथेमा आयोग लागु गर्ने प्रतिबद्धता सरकारले समेत व्यक्त गरेको अवस्थामा त्रिवि नेतृत्वले अदालतको निर्णयमै पुनरावेदन गर्नुपर्थ्यो । अदालतले ताकेता गरेकै हो भने पनि त्यसको यथार्थ उत्तर दिनुपर्थ्यो। त्यसको साटो सम्बन्धन दिने निर्णय गरेपछि पनि लुकाएर राखी आईओएमलाई जानकारीसमेत नदिन] त्रिवि पदाधिकारीको नियतमा सन्देह उत्पन्न हुनु स्वाभाविकै हो ।
त्रिविको कुलपतिका हैसियतले यस निर्णयको नैतिक दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाकै हो । तराईको बाढीबाट भएको जनधनको हानिबाट व्याकुल भएर डा. केसीले २३ औं दिनमा अनशन स्थगित गरेका थिए । अनशन स्थगित गर्दा नै उनले 'बदमासी' गरिएमा पुनः अनशन बस्ने चेतावनी पनि दिएका थिए । त्रिवि पदाधिकारीको रकमी बठ्याइँको साक्षी बसेर डा. केसीलाई पुनः अनशन बस्न बाध्य बनाउने कि डा. केसीसँगको सम्झौता पालना गरेर नैतिक धरातलमा उभिने भन्ने निर्णय प्रधानमन्त्री देउवाले गर्नुपर्छ । अर्कातिर, संसद्मा पनि डा. केसीको मागविपरीतको विधेयक पारित गराउने प्रपञ्च रचिएको समाचार सार्वजनिक हुन थालेका छन् । सत्याग्रहीलाई धोका दिनु आगोसँग जिस्किनुजस्तै भयावह हुनसक्छ । सम्बन्धनका विषयमा गरिएको बेइमानी त्रिविका कुलपतिको हैसियतमा तुरुन्तै नसच्याए प्रधानमन्त्री देउवा पनि मेडिकल माफियाको मतियार ठहरिनेछन् । डा. केसीको सत्याग्रहको तेज जनआन्दोलन बनेर दन्कियो भने त्यसले धेरैलाई भष्म बनाउन सक्छ । देश माफियाको हातमा परोस् भन्ने नचाहने भने डा. केसीले अनशन सुरु नगर्दै उनका मागको समर्थन गर्नेहरूले सरकार, संसद् र त्रिवि प्रशासनमाथि दबाब सिर्जना गर्नु आवश्यक छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC