खेल
ब्यूनस आयर्स । कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अर्जेन्टिनाका स्टार तथा कप्तान लियोनल मेस्सीले सन्यास फिर्ता लिने भएका छन् ।
अर्जेन्टिनाको पत्रिका ‘ला नेसियन’ को अनलाइन सस्करणका अनुसार मेस्सीले आगामी नोभेम्बरमा सन्यास फिर्ता लिदै टिममा आउने समाचार प्रकाशित गरेको छ । पत्रिकाले २९ वर्षीय मेस्सिका नजिक रहेका साथी तथा आफन्तहरुसँगको कुराकानीलाई आधार मान्दै मेस्सी नोभेम्बरदेखि टोलीमा फर्कने दाबी गरेको छ । पत्रिकाले उक्त कुराकानीमा मेस्सीले सन्यास फिर्ता लिने सोच लिइसकेको बताइएको छ ।
पत्रिकाले समाचारमा मेसीका नजिक रहेका केही व्यक्तिहरूको भनाइ समेत प्रकाशित गरेको छ । समाचार अनुसार मेस्सीले रसियामा हुने विश्वकप फुटबलका लागि छनोट चरणका खेलहरूमा खेल्ने सम्भावना बढेको जनाएको छ ।
गत हप्ता अमेरिकामा भएको कोपा अमेरिकाको उपाधि भिडन्तको पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । उक्त पेनाल्टी सुटआउटमा मेस्सी गोल गर्नबाट चुकेका थिए ।
तर, मेस्सीको सन्यासँगै अर्जेन्टिनाका राष्ट्रपति, लिजेण्ड डिएगो म्याराडोना तथा समर्थकहरुले मेस्सीलाई सन्यास फिर्ता लिन आग्रह गर्दै आएका छन् । त्यस्तै मेस्सीको सन्यास फिर्ता गराउन अजेन्टिनामा हस्ताक्षर संकलन तथा र्यालीहरु भैरहेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, असार २०, २०७३ १४:२०
प्रतिक्रिया दिनुहोस्