site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
केपी ओलीहरुको रोग र एउटा डाक्टरको भोक

एउटा संस्कारको मृत्यु भइरहेको छ । संस्कारका मौन मलामी बनेका छन् मानिस । बोलीको मृत्यु भएको देशमा एउटा डाक्टर भोकै लडिरहेको छ !

सदाचारी डा. गोविन्द केसी एघारौं उपवासमा  हुनुहुन्छ । जीवनमरणको दोसाँधमा निराहार पल्टिएर सत्य र निष्ठाको लडाइँ लड्दै हुनुहुन्छ । सत्याग्रह उहाँको संस्कार हो । निष्ठा र परोपकार उहाँको धर्म हो । कति कठीन छ, संस्कार र धर्म पालना गर्न ?

मौन छ देश । मौनकै बीचमा खड्गप्रसाद ओलीजीको बोली फुट्यो, ‘म अनशन बसेँ भने तपाईँ राजीनामा दिनुहुन्छ ?’ खड्गप्रसाद ओली उर्फ केपी ओलीजीको प्रश्न बिरादरी चरित्रका अर्का नेता शेरबहादुर देउवाप्रति थियो । 

Agni Group

ओलीजी बोल्नु भो तर विचार हैन विष पोख्नु भो । भित्रभित्र पाकेको औडाहा र ऐठन फोको फुटाउनु भो । ओलीजीको बोलीमा कटुतामात्र हैन वैचारिक रिक्तता र तुच्छताको मात्रा कति छ ? राष्ट्रिय स्तरको नेताको भाषा, शैली र शब्द सुनेर स्तब्ध भएँ म ।

ढुंगामुढा, लाठीमुङ्गी, तोडफोड, राँको, अगुल्टोको राजनीतिक शैलीको विकास गर्ने नेताले अनशनको अर्थ बुझ्दैनन् ! सत्याग्रहको मर्म बुझ्दैनन् । गुन्डा, डन र माफियाको शक्ति खेलाउनेले उपवासको भोकको शक्ति मापन गर्न सक्दैन । हो ! ओलीजी, तपार्र्इँका नजरमा तपार्र्इँ ठीक हुनुहोला । 

Global Ime bank

तैपनि ओली जी, केही प्रश्न गर्न चाहन्छु । 

डा. गोविन्द केसीको मागमा तपाईँले संसद्को सर्वोच्चताको प्रश्न उठाउनु भो । ती माग पूरा गर्दा संसदको सर्वोच्चता हनन हुन्छ भन्नु भो । कुन चाहिँ माग पूरा गर्दा सर्वोच्चता हनन हुन्छ ? के ती माग डा. गोविन्द केसीका निजी हुन् ? निजी स्वार्थका लागि कुनै माग राख्नु भएको छ ? देश र जनताको हितविपरीत राष्ट्रलाई घात गर्ने खालको छ कुनै एउटा माग ? छ भने के छ त्यस्तो ? एक जिम्मेवार राष्ट्रिय नेताको हैसियतले नैतिकता सम्झेर जवाफ दिनुहुन्छ भन्ने लागेको छ । नदिन पनि सक्नुहुन्छ । नेपाली नेताको अनुत्तरदायी चरित्र नयाँ हैन । तपाइँ कहाँबाट अपवाद हुनु ? 
संसद्को सर्वोच्चता भनेको के ? सर्वोच्चता हनन हुने भए आफू प्रधानमन्त्री हुँदा दसौं अनशनका तीनै माग पूरा गर्छु भनेर किन सम्झौता गराउनु भो ? मनमोहन मेडिकल कलेजको सम्पूर्ण भौतिक सम्पति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहने गरी सरकारलाई विक्री गर्ने सहमति किन गर्नु भो ? संसद्मा पेस गरिएको मनमोहन मेडिकलको विधेयक फिर्ता लिने सहमति तपार्र्इँले नै गरेको हो कि हैन ? 

पटकपटक सम्झौता गरेका तिनै माग कार्यान्वयन गर भनेर एउटा कर्तव्यनिष्ठ डाक्टर भुइँमा लड्दा आज कसरी भन्दै हुनुहुन्छ संसद्को सर्वाेच्चता हनन हुन्छ भनेर ? आज कुन नैतिकताले संसदीय सर्वोच्चताको वकालत गर्दै हुनुहुन्छ ? ओलीजी, नेताको आभूषण नैतिकता हैन ? 

समग्र राष्ट्र र जनताको हितभन्दा तपाइँहरुको कुत्सित स्वार्थ जोडिएको संसदको देखावटी सर्वोच्चता ठूलो हुन्छ ? संसारको कुन मुलुकमा हुन्छ यस्तो घीनलाग्दो अभ्यास ? 

किन भन्न सक्नु हुन्न मनमोहन मेडिकल कलेजमा हाम्रो लगानी छ भनेर ? नेताले कतै लगानी गर्न पाइँदैन भन्ने छैन । आफ्नो लगानी देखाउन पनि पाइन्छ तर त्यसका लागि नैतिक साहस चाहिन्छ । त्यो साहस किन गर्नु हुन्न ? किन बिरालोभन्दा चतुर भएर सधैँ लुकाउन खोज्नु हुन्छ ? किन सधैं ढाट्नु हुन्छ, छल्नु हुन्छ ? 

बिरोलोभन्दा लोभी भएपछि बिरालोजति साहस पनि मान्छेमा आउँदैन । कारण सबैलाई थाह छ, तपाइँहरुसँग लगानीको स्रोत खुलाउने आधार छैन । नसक्नुको कारण पनि सबैलाई थाहा छ, त्यस्तो लगानीको नैतिक स्रोत हुँदैन । कालोलाई सेतो बनाएर राष्ट्र लुट्ने खेल कहिलेसम्म खेल्नु हुन्छ ? राष्ट्र त्यसै कंगाल र बरबाद भएको हैन । आफूलाई साहसी नेता देखाउन खोज्नु हुन्छ तर एकशब्द सत्य बोल्ने साहस गर्नुस् ? नमन गर्छु । 

अधिकांश मेडिकल कलेजका मालिक बनेका नेताहरुको निजी स्वार्थलाई संसदको सर्वोच्चतासँग जोड्नु लज्जाको विषय हो । तर, ओली महाशय,  लज्जा भनेको के हो थाहा छ ? लज्जा आफैंले बोध गर्ने ज्ञान हो । कतै पढेको थिएँ, ‘वचन आफैँ पालना गर्ने नियम हो ।’ 

प्रधानमन्त्री भइसकेका तपाईँजस्ता नेतालाई किन अलिकति लज्जाबोध र वचनको पालनाको ज्ञान छैन ? किनभने राजनीतिलाई तपाईँहरुले सेवा हैन धन्धा बनाउनु भएको छ । तपार्र्इँले मात्र हैन, तपार्र्इँको पुस्ताका हरेक दलका हरेक नेता देशमा धन्धा चलाइरहनु भएको छ । लोकतन्त्रलाई ‘जोकतन्त्र’ बनाउनु भएको छ । लोकतन्त्रको योभन्दा बढी हुर्मत लिने र धज्जी उडाउने काम संसारमा अन्त भएको छैन ।

माफियामैत्री कानुन लादेर देशको स्वास्थ्य क्षेत्रमा लूट मचाउन नपाउँदा संसद्को सर्वोच्चता हनन् हुने ? कस्तो सर्वोच्चता हो, यो ? माफियातन्त्रलाई संसद्को गरिमासँग जोड्नेलाई के भन्ने ? 

सत्याग्रही डा. गोविन्द केसी तपार्इँहरुका आँखाका कसिंगर त्यसै भएका हैनन् । भारतीय ‘खडेबाबा’ डाक्टर खडा गरेर मेडिकल कलेजका नाउँमा ‘कसाईखाना’ संचालन गर्ने काम भएको छ कि छैन ? जहाँ नेपालीका मिर्गौलासमेत बेपत्ता पारिन्छ, बेचिन्छ । देशको विधायक भएर यसभन्दा घटिया हर्कतका मतियार बन्ने अन्य कहाँ होलान् ?  एमालेप्रति आस्थावान् मित्रहरुलाई आवेगको आगोले पोल्ला । सत्यको आगो आवेग र चिताको आगोभन्दा रापिलो हुन्छ । आज त्यो आगोले भित्रभित्रै लाखौं जनतालाई डामेको छ । 

सुशील कोइरालाले जुन दिन ‘डा. केसी मरे म के गरुँ त?’ भन्ने बोलीको विष ओकलेका थिए मजस्ता साधारणका नजरमा कहिल्यै नउठ्ने गरी गिरे । खराउ पुजारी कोइरालालाई महान् बनाए तर मजस्तो सामान्यका नजरमा दयाहीन र किंर्तव्यविमूढमात्र भए उनी । भाग्यमा विश्वास गर्दिन तर त्यही भाग्यले उनी प्रधानमन्त्री भए । अन्ततः अनन्ततिर गए, हराए । 

मान्छे सबै एकदिन अनन्ततिर जाने नै हो । अनन्ततिर गए पनि केही मान्छे कतै न कतै बाँचेको हुन्छन् । तर बचाउने आफैँंले हो आफूलाई ।  

खड्गप्रसाद ओलीजी, मजस्ता समान्य मान्छे कसैका खाराउ पुजारी बन्न सक्दैनन् । डा. केसीको अनशनका बारेमा तपाईँको पछिल्लो बोली कोइरालाको भन्दा निचो लाग्यो । किनभने कोइरालाजीभन्दा ओलीजीमा अकिलकति भए पनि ‘अक्कलको मात्रा’ बढी होला भन्ने विश्वासको ठुटेलिंगो ठाडिएको देख्थे । हेर्दा हेर्दै ढल्यो, सदाका लागि ढल्यो । 
 
ओलीजी, तपार्र्इँ नेताहरुलाई निजी स्वार्थको रोगको भोकले तड्पाएको छ । डा. केसीलाई भोलिका सन्ततिको चिन्ताको भोकले लडाएको छ । भोकै लडेर त्यही भोकको साधन गर्दै हुनुहुन्छ । दुवै भोका हुनुहुन्छ तर भोक फरक छ । 

तपार्इँको भोकको चर्चा तपाईँकै दलका वरिष्ठ नेता माधवकुमार नेपाल एक टेलिभिजन अन्तर्वातामा गर्नु भएको छ । 

मलिन स्वरमा उहाँले तपार्इँलाई पौराणिक मिथका दुष्टपात्र रावण र कंशसँग तुलना पनि गर्नु भएको छ । तपार्इँजस्तो एउटा राष्ट्रिय स्तरको नेतालाई त्यही दलका अर्का वरिष्ठ नेताले यसो भनिरहँदा अब विश्वास मान्ने कि नमान्ने ? तपार्र्इँले ओढेको राष्ट्रिय नेताको खोलभित्रको मान्छेलाई कसरी हेर्ने ? 

ती परम परोपकारी डा. केसीप्रति तपार्इँको हालैको त्यो उदण्ड र विचारहीन बोली रावण र कशंको भन्दा कम लागेन मलाई । माधव नेपालजीका भनाइ आवेगका अभिव्यक्ति पनि हैनन् र  आरोप हैनन्, ती सबै सत्य हुन् भन्ने तपार्इँकै बोलीले नै मान्न बाध्य गरायो । 

तपार्इँलाई लागेन होला तर तपार्इँको खोलभित्रको आचरण यसरी उघ्रिदाको लज्जाभन्दा अर्को लज्जा के हुन्छ ? लज्जास्पद भएँ म । 

म यिनै हरफबाट तपार्इँलाई सोध्न चाहन्छु, माधव नेपालजीका भनाइ गलत हुन् भने सार्वजनिकरूपमा नकार्न र उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? मानहानि विरुद्ध उहाँलाई कानुनी दायरामा ल्याउन सक्नुहुन्छ ? 

मान्छेले लुगा लगाएर मात्र हुदैन, अंग छोपिए पनि अनुहार नांगै हुन्छ । नांगो अनुहारमा लज्जाजति सबै थोपरिएको हुन्छ । ओलीजी, चरित्र नै नेताको पहिरन हो । चरित्र उदांगिएपछि लुगाको केही अर्थ हुदैन । 

सत्यको अनुहार हुदैन, देख्नु हुन्न । आवाज हुन्छ तर सुन्नु हुन्न । खराउ पुजारीका भजनकिर्तनले तपार्इँहरुजस्ता नेताका कान भरिएको हुन्छ । कसरी सुन्नु ? 

ओलीजी, तपार्इँसँग अलिकति राष्ट्रवादको चर्चा पनि गर्न मन लाग्यो । भन्दिनुस् त मजस्ता सामान्य मान्छेलाई, के हो राष्ट्रवाद ? 

नेता भएर राष्ट्रलाई लुट्नु, ढाट्नु, छल्नु, देशमा माफियातन्त्र चलाउनु, न्याय, अदालत, शिक्षा, स्वास्थ्य, प्रहरी, प्रशासन लगायत देशका सम्पूर्ण अंग भागबन्डा गरेर तहसनहस बनाउनु, दलालीतन्त्र बढाउनु, डन र गुण्डाका नाइके भएर महिनाबारी असुल्नु, हत्यारा र अपराधीलाई संरक्षण दिनु, भ्रष्टाचरमा लिप्त हुनु र बाहिरबाहिर भारततिर मुड्की उठाउनु नै हाम्रो राष्ट्रवाद हो ? 

सडकमा घुम्तीपसल थापेर भारतविधोरी नक्कली नारा बेचेर राष्ट्रवादको राजनीतिक व्यापार गर्नुलाई राष्ट्रवादी मानिदैन, ओलीजी । सुधीर शर्माको प्रयोगशाला किताबमा भारतीय खुफियासँग तपार्इँको राष्ट्रवादी ‘कनेक्सन’का बारेमा पनि लेखिएजस्तो लाग्छ । राज्यलक्ष्मी गोल्छाको टाट्नामा बाँधिनेको सूचीको बहीखाता तपार्इँले पनि हेर्नु भयो होला । तपार्इँलाई कस्तो लाग्यो तर मैले देशका नेताको नांगो चरित्र हेर्न सकिन, आँखा चिम्लिएँ ।

ओलीजी, राष्ट्रवाद भनेको कुनै नारा हैन । राष्ट्रप्रति इमानदार हुनु नै राष्ट्रवाद हो । तपार्इँलगायत सबै दलका नेताले आफ्नै छातीमा हात राखेर आत्मालाई सोध्नुस्, तपार्इँहरूले राष्ट्रप्रति कति बेइमानी गर्नु भएको छ ? 

ओलीजीले प्रधानमन्त्री बन्न भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय झोलीको सुरुवालको तुना समाएको चर्चा पनि भित्रभित्रै भुसको आगो भएर सल्किएको थियो । प्रधानमन्त्री पदका लागि भारतीय लिफ्टको प्रयोग कति गर्नु भो धेरैका नांगा आँखाले देखेका छन् । वर्तमान राष्ट्रप्रति विद्या भण्डारी तपार्इँकी दूत बनेर विन्ति बिसाउन गएको कुरा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय संसद्मा खुल्लमखुल्ला भनेकी थिइन् । भिडियो सामाजिक सञ्जालतिर अझै फैलिरहेको छ । आजसम्म कसैले प्रयोग नगरेको व्यापारिक कूटनीतिक ‘टनेल’ प्रयोग गर्ने सायद तपार्इँ नै पहिलो राष्ट्रवादी हो । व्यापारी विनोद चौधरीले तपार्इँको सन्देश बोकेर गएको कुरा पनि धेरैलाई थाहा छ । 

ओलीजी, यो कस्तो राष्ट्रवाद हो ? यसलाई भारतीय राष्ट्रवाद भनिन्छ कि नेपाली राष्ट्रवाद ? मार्कवादी–लेनिनवादी दर्शनको राष्ट्रवाद भनिन्छ कि ओलीवादी नवराष्ट्रवाद ?

अन्नपानीबिनाको डा. केसीको जीर्ण शरीरले आज २१ औं दिनसम्म थेगेको छ । एक्लो शरीर नै उनको श्रीसम्पत्ति हो । त्यो श्रीसम्पत्ति पनि दिनहुँ घट्दै छ । उनका आफ्ना कोही छैनन् तर सबैलाई आफ्ना देख्छन् । 

सबैलाई थाहा छ, ती सबैका लागि नै ती सत्याग्रही डाक्टर लडिरहेका छन् । देशमा चलेका माफियातन्त्र विरुद्धको कुरुक्षेत्रमा एक्लो अर्जुन भएका छन् । कौरव सेनामा खड्गप्रसाद र राजेन्द्र पाण्डेहरू छन् । शेरबहादुरहरू धृतराष्ट्र बनेका छन् । सांसद मौन छन् । जर्ज वर्नाड शाले भनेजस्तो संस्कारको मृत्युभन्दा साइकल दुर्घटनाको समाचारले पाना भरिन्छन् । 

मानिसका भोक फरक हुन्छन् । खड्गप्रसादहरुको भोक र डा. केसीको भोक फरक छ । डा. केसीको भोक एउटा सर्वोच्च संस्कार हो । 
डा. केसी बाँच्नु पर्छ । डा. केसी बाँच्नु भनेको एउटा व्यक्ति बाँच्नु हैन, एउटा संस्कार बाँच्नु हो । नीतिनियम, निष्ठानैतिकता र विधिविधान बाँच्नु हो । यिनै हुन् लोकतन्त्र गहना ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC