site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
निर्माणक्षेत्रका कमजोरी र जिम्मेवार पक्ष

एक 
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवले एउटा टेलिभिजन वार्तामा बताएअनुसार मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कार्यको अनुगमन गरिरहेकै बखतमा उनकै सामुन्ने ट्रेन्च भत्किएर तीनजना कामदारको घटनास्थलमै मृत्‍यु भएको थियो । काठमाडौंको मुटु सितापाइलामा भएको उक्त दुर्घटनामा  मृत्‍यु हुनेका परिवारलाई एघार लाख क्षतिपूर्ति दिएर उम्किइयो । उक्त ट्रेन्च २.५ मिटर गहिरो रहेको उनले बताएका थिए  । दुर्घटनापश्चात  उक्त दुर्घटनाका  कारण केलाउँदै अब यस्ता दुर्घटना दोहरिन  नदिन के के साबधानी अपनाउनु पर्ला भनेर कुनै समीक्षा भए नभएको भने केही बताइएन ।

दुई 

गत जुलाई ९ को एक टेलिभिजन कार्यक्रममा प्रसारित भएअनुसार चित्लाङ्ग-थानकोट सडकको कालोपत्र गर्ने काम भर्खर सम्पन्न भएको थियो । तर, काम सम्पन्न भयको दुई महिना पनि नबित्दै सडकमा पुन: खल्डाखुल्डी देखा पर्न थालिसकेका छन् । भिडिओमा प्रस्टै देखिन्छ उक्त कालोपत्र निकै कम मोटाइको छ र कुनै बल प्रयोग नगरीकनै हातका औंलाले उप्काउन सकिन्छ । केही महिनाभित्रै बाटो पुन: पुरानै स्वरुपमा फर्किन सुरु भइसकेको छ । स्थानीय  बासिन्दाका अनुसार उनीहरूले विरोध गर्दागर्दै पनि उक्त सडक न्यून गुणस्तरमा बनाइएको थियो ।  

Agni Group

तीन 

श्रावण १३ र १७ गते प्रकाशित  दुई  छुट्टाछुट्टै समाचार र फोटोहरूअनुसार इलामको चुलाचुली गाउँपालिकामा निर्मित झोलुङ्गेपुलको एक छेउको एप्रोच मार्ग भत्किएको छ । उक्त भाग भत्किनाले पुल सर्वसाधारणले प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । एक त पुलको लमाइ नै खोलाको चौडाइभन्दा कम देखिन्छ अनि तल्लो र माथिल्लो तटमा नदी नियन्त्रणका कुनै संरचना छैनन् । खोलाको चौडाइभन्दा छोटो र एक छेउ भात्किन पुगेको हुनाले कैयौं वर्ष देखिको गाउलेहरूको सपना तुहिएको छ । गाउँपालिका अध्यक्षले पुल अब सेल्फी खिच्नको लागिमात्र उपयुक्त रहेको कटाक्षपूर्ण अभिव्यक्ति दिएका छन् ।

Global Ime bank

चार 

जुलाई १६ मा स्याङ्जा पुतलीबजार नगरपालिकाका नवनिर्वाचित मेयर सडक निर्माण निरीक्षणमा निस्के  । भर्खरै कालोपत्रे गरिएको हरिपालास्थित सडक उक्त समयमा बीच बाटोमै २ चिरा परेको देखिन्छ । कालोपत्रेको मोटाइ ठीक नै छ तर लगभग आठ इन्च जति चौडा उक्त धाँजाले सडक मर्मत नगरीकन  प्रयोग गर्न नमिले अवस्थामा देखिन्छ  । फेसबुकमा पोस्ट गरिएको उक्त अनुगमनको फोटो छिनभरमै व्यापक भयो अनि ठेकेदार र इन्जिनियरलाई गालीको वर्षा सुरु भयो । कसैले ठेकेदारलाई जेल हाल भन्ने माग तेर्स्याए त कसैले इन्जिनियरलाई कालो मोसो दल्नुपर्ने निष्कर्ष नै निकाले तर के कारणले बाटोमा धाँजा पर्‍यो भन्ने कसैले सोचेन ।

माथि उल्लेख गरिएका केही प्रतिनिधि समस्या हुन् । देशभर हजारौं निर्माण कार्य एकैसाथ भइरहेका हुन्छन् र यस्ता घटना पनि प्रशस्तै भइरहेका छन् । निर्माण कार्यमा दुर्घटना, कमसल निर्माण र ढिलाइ किन र कसका कारण भइरहेको छन् भनेर कारण केलाउनभन्दा हामी एकअर्कालाई दोष थोपर्ने तर भविष्यमा यस्तो नहोस् भनेर समीक्षा नगर्ने हुनाले बारम्बार उस्तै प्रकृतिका समस्या भोग्दै आइरहेका छौँ । 

माथिका चार समस्या लाई केलाउने प्रयत्न गरौँ ।

निर्माण कार्य गर्दा सबैभन्दा उच्च प्राथमिकता कामदारको सुरक्षा र स्वास्थ्यलाई दिनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । जुनसुकै निर्माण कार्यमा पनि “सेफ्टी फर्स्ट” भन्ने सिद्धान्त लागु हुन्छ । कामको प्रकृतिअनुसार छुट्टाछुट्टै सुरक्षा उपकरण र वस्त्र प्रयोग गर्नुपर्ने हुन्छ । उपयुक्त र सुरक्षित कामगर्ने वातावरण छ छैन र कामदारले सुरक्षा उपकरण वा वस्त्र पहिरिएको छ छैन जाँच गर्ने  सुरक्षा अधिकारी नै हुन्छन् । आवश्यक सुरक्षाबिना काम गरे गराएमा धेरैजसो देशमा कानुनबमोजिम कारबाही हुने गर्छ । सीतापाइलामा तीन जनाको मृत्‍यु हुनुमा कमजोर निर्माण सुरक्षा वा हेल्चेक्र्याइँ रहेको प्रस्टै छ ।

अनुगमनको क्रममा रहेका सचिवले सेल्फी खिच्ने, टेलिभिजनलाई अन्तर्वार्ता दिने तथा कफी  समय भन्दै फेसबुकमा फोटो अपलोड गरेको देखियो तर निर्माण कार्य सुरक्षित वातावरणमा गरिएको छ छैन? सुरक्षाका उचित उपकरण र विधि अपनाएको छ छैन ? निर्माण गुणस्तर के कस्तो छ तथा कामको प्रगति लक्ष्यअनुसार छ छैन ? भन्नेजस्ता महत्त्वपूर्ण चेकजाँच नगरेको प्रमाण उक्त दुर्घटनाबाट पनि स्पष्ट हुन्छ । यसबाट प्रस्ट हुन्छ तीन जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको जिम्मेवार ठेकेदारका सुरक्षा अधिकारी तथा अनुगमन गर्ने सरकारी अधिकारी नै हुन् ।

चित्लाङ्ग-थानकोट सडकको दुर्दशा हेर्दा प्रस्ट हुन्छ काम र बजेट सिध्याउने ध्याउन्नमा निर्माण कम्पनी र सरकारी कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम गरेर जनता झुक्याइयो । सडकको सबबेसमा आवश्यक कम्प्याक्सन नगरीकन कालोपत्रे गरिएको र उक्त कालोपत्र पनि निकै पातलो गरेको देखिन्छ । स्थानीय बासिन्दाको बिरोध हुँदाहुँदै पनि सरकारी अधिकारी र निर्माण कम्पनीबीचको मिलेमतोमा यस्तो हुनेगरेको प्रमाण हो यो  ।

हाम्रा धेरैजसो निर्माण कम्पनीले अनुमानित लागत भन्दा आधा नै थोरै रकममा काम गर्छु भनेर कबोल गर्दै काम फुत्काएका हुन्छन् । अनि कसरी गुणस्तरको काम होस् ? त्यसमध्य पनि सरकारी अधिकारीलाई खुसी पार्न छुट्टै नजराना नदिने हो भने बिल नै पास नहुने अवस्था आउन सक्छ । कंक्रिट मिक्स गर्ने ठाउँमा आँखा झिमिक्क पार्न पाएको छैन उता केही बकेट थप बालुवा र गिट्टी मिसाउँछन् । यस्ता कारणले ठेकेदारबाट हुने धेरै काम न्यून गुणस्तरका हुनेगरेका छन् । काम सम्पन्न गरिसकेपछि उक्त निर्माणको कम्तीमा एक वर्ष ठेकेदारले मर्मत सम्भार गर्नुपर्ने कानुनको प्रभावकारी कार्यन्वयन नहुनु पनि न्यून गुणस्तरको अर्को कारण हो ।  

चुलाचुली गाँउपालिकाको झोलुङ्गे पुलको अवस्था हेर्दै दयनीय देखिन्छ । नदीको उपल्लो र तल्लो तटीय किनारमा नदी नियन्त्रणका संरचनाबिना नै नदीको चौडाइभन्दा छोटो झोलुङ्गे पुल डिजाइन गर्ने कस्तो इन्जिनियर होला? पहिलो चरणको फोटो हेर्दैमा प्रस्ट हुन्छ पुलको दाँया किनारको ढुङ्गाको गाह्रो दबेर उक्त गाह्रोमाथि अडेको कंक्रिटको स्ल्याब भाँचिन पुगेको छ । पछिल्लो फोटो हेर्दा उक्त स्ल्याब कामै नलाग्ने गरी भत्केको देखिन्छ । उक्त ढुङ्गाको गाह्रोको जग भासिएर उक्त समस्या आएको स्पष्टै देखिन्छ । झोलुङ्गे पुलको मुख्य संरचना अहिलेसम्म ठीकै छ तर यस्तै डिजाइन गरिएको हो भने मुख्य पुलको आयु पनि धेरै नहुन सक्छ । पुलको सर्भे र डिजाइन पूर्णतः गलत देखिन्छ । यो समस्या डिजाइन गर्ने डिजाइनरको कारणले भएको र निर्माण कम्पनीको गल्ती नभएजस्तो देखिन्छ । निर्माण क्रममा स्थानीयहरुले पुलको जगका बारेमा प्रश्न गरेको तर ठेकेदारले जे डिजाइन र नक्सा छ सोहीअनुसारमात्र काम गर्ने बताएको भनेका छन् । तसर्थ, सम्पूर्ण जिम्मा डिजाइनर अर्थात् इन्जिनियरले लिनुपर्छ ।

स्याङ्जाको हरिपालास्थित सडकको समस्या सडकको छेउतिरको जमिनको ठूलो भाग लच्किएर उत्पन्न भएको स्पष्ट देखिन्छ । उच्च गुणस्तरको कालोपत्रे हुँदा पनि सडकको बीच भागमा लगभग आठ इन्च जतिको धाँजा परेको छ । यो डिजाइनर र निर्माणकर्ता दुवैको कारणबाट भएको  नभई प्राकृतिक समस्या हो । धेरै पहिला नै निर्माण सम्पन्न भइसकेको सडकको स्तरोन्नतिको काम गर्दा डिजाइनरले त्यस्ता किसिमका समस्या हेर्दैनन र आवश्यक पनि हुँदैन । तर गालीका वर्षा निर्माण कम्पनी र इन्जिनियरमाथि ओहिरिएका छन् । हामी कतिपय विषयमा वास्तविकता नबुझी आगो ओकलिरहेका हुन्छौँ । समस्याको जरो के हो बुझ्नतिर लाग्दैनौ ।  

समग्रमा,

निर्माण कार्यमा आउने समस्या डिजाइनर इन्जिनियर, निर्माण कम्पनी र प्राकृतिक जुनसुकै पक्षबाट पनि सिर्जना भएका हुन सक्छन् । सधैँ ठेकेदार वा इन्जिनियरलाई एकोहोरो दोषापरण गर्नु उचित होइन । समस्या कुन पक्षबाट सिर्जना भएको हो बुझ्नु जरुरी छ ।

न सबै डिजाइन पूर्ण हुन्छ, न सबै निर्माण कम्पनी पूर्ण छन् । तर, अनुभवी र ख्याती प्राप्त डिजाइनरबाट डिजाइन गर्ने वा चेक गर्ने, उचित प्रक्रिया र मापदण्डबाट निर्माण कम्पनी छनोट गर्ने, निर्माण प्रक्रियाको नियमित निरीक्षण तथा अनुगमन गर्ने (सेल्फी लिने र चिया पिउनेमात्र होइन ), निर्माण सम्पन्न गरिसकेपछि कम्तीमा एक वर्ष मर्मत र सम्भारको दायित्व निर्माण कम्पनीकै हुने नियमलाई प्रभावकारी कार्यन्वयन गर्ने, प्रत्येक निर्माण कार्यमा स्थानीय सरकार र जनतालाई सहभागी गराउनेजस्ता काम गर्ने हो भने अधिकांश निर्माणको गुणस्तर बढ्न गई माथि लेखिएजस्ता समस्याको न्यूनीकरण गर्न सहयोग पुग्छ ।  
@er_rrsharma
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC