नरेश फुयाँल
मामाहरु राजनीतिज्ञ नै त थिएनन् तर बामपन्थी विचारलाई समर्थन गर्थे । स्थानीय स्तरमा हुने राजनीतिक क्रियाकलापमा सहभागी हुन्थे । २०१९ सालमा पर्वतमा जन्मिएका देवी मामाहरुकै कमिजको फेर समाएर हिँड्थे । पुष्पलाल सांस्कृतिक समूहमा मामा र दाई आबद्ध थिए । त्यो समूहले विसं. २०३० सालमा नाटक गर्ने भयो । नाटक थियो–‘५० रुपैयाँको तमसुक’ । त्यो नाटकमा बालपात्र चाहियो ।देवी बालपनमै हिँडिरेका थिए । उनलाई मामा र दाईले नाटकमा खेल्न भने । बालसुलभ उनलाई केही थाहा थिएन । थियो त केवल आफू भन्दा ठूला मान्छेले भनेको मान्नुपर्छ । उनले आज्ञा शिरोपर गरे । नाटक खेले । ‘नुमा’ भन्ने बाल पात्रमा उनले अभिनय गरे । “त्यो बेला म बामपन्थी हुँदैछु भन्ने थाहा थिएन । तर राजनीतिमा तानिएको भनेँ त्यही बेलादेखि हो,” देवीले आफ्ना पुराना दिन सम्झिए,“पछि उहाँहरुसँग हिँड्दै जाँदा शोषक, सामान्त र गरिबका पक्षमा लड्ने बामपन्थीले नै रहेछ भनेर थाहा भयो । म उनीहरुबाट प्रभावित हुँदै गएँ र त्यतैतर्फ आकर्षित भएँ ।”
पर्वत रानीपानी गाविसबाट देवीको परिवार आफ्नो थातथलो छोडेर चितवन झर्यो । ०४३ सालमा उनी स्कुलमा पढ्दै थिए । तत्कालीन मालेका नेता गोपाल शाक्य देवीका शिक्षक विष्णु घिमिरेकोमा आउँदा रहेछन् । देवी र उनका शिक्षक विष्णुको घर सँगै थियो ।
देवी लगनशील विद्यार्थी थिए । विष्णुले राम्रो विद्यार्थी भन्दै उनलाई बामपन्थी पुस्तकहरु ‘आमा’, ‘अग्नी दिक्षा’ जस्ता किताव दिन्थे । देवी सानै उमेर भए पनि ति पुुस्तक अक्षरस पढ्थे । ति पुस्तकको अध्ययनले बामपन्थी राजनीतिप्रति देवीको झुकाव झनै चहकिलो बनाइदियो ।
० ० ०
गोपाल शाक्य नख्खु जेल तोडेर नवलपरासी हुँदै चितवन पुगेका रहेछन् । उनीसँग देवीको भेट भयो । पछि केदार न्यौपाने, मुकुन्द न्यौपानेसँग पनि देवीको भेट भयो । उनीहरुले देवीलाई पार्टीको काम लगाउन थाले । देवीडाक्टर हुन चाहन्थे । तर, सम्पर्कमा रहेका बामपन्थी नेताहरु उनलाई राजनीतिक क्रियाकलापमा केन्द्रित गर्न थाले ।
देवीले भने, “म राजनीतिज्ञ होइन डाक्टर हुन चाहन्छु ।” उनीहरुले देवीलाई प्रश्न गरे,– तपाइँ डाक्टर हुँदा मान्छेको उपचार गर्नुहुन्छ । तर देशलाई नै रोग लागेको छ भने देशको उपचार कसरी गर्ने ? जब देश नै रोगी छ भने तपाइँले एक/दुई जना रोगी मान्छेको उपचार गर्दैमा देश बन्छ ?
६ कक्षामा पढ्दै गरेका उनलाई गोपाल, केदार र मुकुन्दको त्यो प्रश्नले मुटुसम्मै छोयो ।
उनले गम्भीर भएर सोचे । ‘मान्छेको उपचार गर्ने कि देशको ?’ देशकै उपचार गर्नुपर्छ भन्ने जिक्र्यौल निकाले र राजनीतिमा होमिए ।
लगनशील देवी ०३७ सालमा चितवनमा अखिलको अध्यक्ष भए । अखिलको केन्द्रीय नेतृत्वले सम्मेलन गर्दै देवीलाई चितवनको अध्यक्ष बनाइदियो । एमालेका अहिलेका पोलिट्ब्यूरो सदस्य कांशीनाथ अधिकारी चितवन गएपछि उनलाई अध्यक्ष बनाएर देवी सचिव पदमा बसेर काम गर्न थाले ।
०३८ साल भर्खर सुरु भएको थियो । देवीलगायतका कार्यकर्तालाई पढाई छोडाएर पार्टीले पञ्चायत विरोधी आन्दोलनमा लगायो । देवी पढाई, घरपरिवार सबै छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता हुँदै राजनीतिक परिवर्तनका लागि समाहित भए ।
० ० ०
चितवन, मकवानपुर, सिन्धुली, ललितपुर, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पार्टीले दिएको जिम्मेवारी अनुसार देवीले काम गर्न थाले । त्यतिबेला उनको दिमागमा आफूलाई जन्माएर हुर्काएको परिवार र भविश्यसँग जोडिएको छोडेको अध्ययनको केही ख्यालै हुँदैन थियो । मात्रै बहुदलीय व्यवस्थासहितको समृद्ध नेपालको सपना हुन्थ्यो ।
०४६ सालको जनआन्दोलनमा उनी बारा जिल्लाको पार्टी सचिव भए । (त्यो बेला सचिव मुख्य पद हुन्थ्यो ।)
०४७ सालमा तत्कालीन माले महासचिव मदन भण्डारीले ‘तपाइँ आफ्नै जिल्ला चितवन फर्किनुस् र खुला राजनीति गर्नुस्’ भने । ०४७ को जेठमा उनी गृह जिल्ला चितवन फर्किए । तत्कालीन मालेको जिल्ला सचिव भएर काम सुरु गरे ।
राजनीतिमा अनवरत संघर्ष गर्दै गरेका उनी राजनीतिक खुड्किलो उक्लिँदै गए । ०५० सालमा पार्टीले उनलाई अञ्चल सचिवको जिम्मेवारी दियो । त्यो जिम्मेवारी कुशलतापूर्क निर्वाह गरेको देवी सम्झिन्छन् ।
०५४ सालमा तत्कालीन स्थानीय निकायको निर्वाचन हुने भयो । पार्टीले देवीसँग छलफल गर्यो । भरतपुर नगरपालिकामा चुनाव लड्नुपर्छ भन्यो । उनी भने त्यो समय चुनाव लड्न चाहँदैन थिए । तर, पार्टीले निर्णय गरिसकेको थियो । उनलाई उप–प्रमुखमा लड्न चिठ्ठी लेखिसकेको थियो । अन्ततः उनी उमेदवारमा खडा भए । जनताले उनलाई पत्याए । देवीले पाँच हजार मतान्तरले आफ्ना प्रतिस्पर्धी (कांग्रेस) लाई पाखा लगाउँदै उप–प्रमुखको कुर्सी सुरक्षित गरे ।
० ० ०
उप–प्रमुखको पद सम्हालेको दोस्रो दिन नै दलबलसहित स्थानीय नागरिक उनको कार्यालय घेराउ गर्न आइपुगे । उनीहरुको माग थियो, ‘हामीलाई खाने पानी देऊ’ । जेठको अन्तिम समय थियो । चर्को धुप थियो । इनार र कल सुकेका थिए । नागरिक पानी मागिरहेका थिए । देवीले कार्यभार समेटेको दुई दिनमा भएको थियो त्यो घटना ।
देवीले भने,–“पानीका मुहान सुकेका छन् । घरको धारमा म पानी दिन सक्तिन । भाँडा थाप्नुस् म पानी भरिदिन्छु ।” उनले ट्यांकरबाट पानी लगेर नागरिकलाई दिए ।
वर्षा लाग्यो । मुहान पलाए । देवीले ट्यांकरबाट नागरिकलाई पानी दिनुपरेन । तर समयको चक्र घुमुरह्यो । फेरी आयो खडेरी । पानीकामुहान उसैगरी सुके । पानीको मुहान सुके सँगै देवीको निद्रा पनि हरायो ।
एडीवी लगायतका दातृ निकायलाई उनले गुहारे । शहरी वातावरणीय आयोजना नामक परियोजना सञ्चालन गरे । यो परियोजना अन्तरगत उनले भरतपुरमा खाने पानी, ढल, वर्षात, फुटपाथ, गरिबी निवारण, ग्रिनरी, बसपार्क, शिक्षा लगायतका क्षेत्रमा काम गरे । यसका लागि एडीबीसँग उनले ७२ करोड रुपैयाँ लोन लिएका थिए ।
उनले फोर व्यवस्थापनका लागि नयाँ परियोजनाको प्रस्ताव एडीबीसँग गरे । “एडीबीले असम्भव हावादारी प्रस्ताव भन्दै अस्वीकार गर्यो । मैले उसलाई मेरो ड्रिम प्रोजेक्ट भनेर कन्भिन्स गरें । चितवनको सम्पत्ति नेसनल पार्क हो । यहाँका जनावर फोहोर मास्दैछ । त्यसलाई रोक्नुछ भनेँ । नारायणी चितवनको सम्पत्ति हो यसका जलचर जनावर मर्छन् त्यसलाई मैले बचाउनुछ भनेँ,” उनले सम्झिए ।
“चितवनको पर्यटनलाई बचाउँदै यहाँबाट प्राप्त हुने आयलाई सुरक्षित गर्छु भनेपछि मलाई एडीबीले पत्त्यायो । सय किलोमिटर कालोपत्रे हामीले ५ वर्षको कार्यकालमा गर्यौं । त्यही बेला म जनताका समस्यासँग एकाकार भएँ । मलाई जनताले विश्वास गर्नुभयो । जनताको मनोभावना अनुसार काम गरेपछि मलाई यहाँका नागरिकले देवी ज्ञवाली इमान्दार रहेछ भनेर चिन्नुभयो,” उनले भने । त्यही बेलाको नागरिकसँगको आफ्नो सम्बन्ध र विश्वासका कारण पार्टीले जनभावनाको करद गर्दै आफूलाई मेयरका लागि टिकट दिएको उनले सम्झिए ।
० ० ०
व्यक्तिसँग लडेको भए आफूलाई समस्या र जितको चुनौती खासै नहुने रहेछ भन्ने अनुमान लगाउँदै देबीले भने, “तर मैले अहिले दुई पार्टी त्यो पनि सत्तारुढ दलसँग एक्लै चुनाव लड्नुपर्यो । यही नै मेरो लागि चुनौती थियो ।”
सत्तारुढ दल मात्रै होइन मुख्य दलसँग उनले लडे । त्यतिमात्रै पनि होइन दुई पूर्वप्रधानमन्त्रीको गठजोड भएका उमेदवारसँग लडे । “प्रधानमन्त्री शेरबहादुरज्यू र तत्कालीन वहालवाला प्रधानमन्त्री ज्यूसँग म चुनाव लडिरेहको मैले अनुभूति गरेँ । म वाहालवाला प्रधानमन्त्री र पटपक–पटक प्रधानमन्त्री भएका दुई प्रधानमन्त्रीसँग चुनाव लडेँ,” देवीले भने, “त्यतिात्रै पनि होइन सिंगो राज्यशक्तिको दुरुपयोग भइरहेको सबैलाई थाहैछ । दुई पूर्वप्रधानमन्त्री र सिंगो राज्यशक्तिसँग एक्लै लडेँ । यति हुँदा पनि मैले सुरुदेखिनै अग्रता लिएँ । मलाई यहाँका नागरिकले माया गर्नुभयो । मप्रति विश्वास देखाउनुभयो । ठूला शक्तिशालीहरुको धेरै स्रोत र साधनको दुरुपयोग भयो । यो कसैबाट लुकेको छैन । म एक्लै भए पनि ढलेको छैन । खडा छु । त्यसैले मलाई साथ दिने नागरिकका लागि म कामगर्छु । भरतपुरबासीको सेवामा अझै पनि समर्पित हुन्छु ।”
प्रतिस्पर्धामा एक्लो भएर खडा हुँदा आफ्नो सीप, बुद्धी र श्रम भने पर्याप्त खर्चिनुपरेको देवीले सुनाए ।
भरतपुर महानगरलाई सुखी समृद्ध बनाउने आफ्नो दायित्व भएको उनको भनाइ थियो । सुखी हुँदैमा कोही खुसी हुँदैन भन्ने उनी भरतपुर महानगरबासीलाई सुखीसँगै खुसी बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । यसका लागि उनी आम नागरिकसँगै चुनावमा आफूसँग प्रतिस्पर्धामा खडा हुने राजनीतिक दल र व्यक्तिलाई पनि सँगै लिएर हिँड्ने बताएका थिए ।
देवी मदनभण्डारीलाई आदर्श राजनीतिज्ञ मान्छन् भने बीपीको विचारलाई सम्मान गर्दै यही दुई नेतालाई नेपाली राजनीतिज्ञका सर्वश्रेष्ठ व्यक्ति मान्छन् । गोपाल शाक्य र जीवराज आश्रितलाई राजनीतिक गुरु मान्छन् भने हात समाएर राजनीतिमा हिँडाउने नेताका रुपमा केदार न्यौपाने, मुकुन्द न्यौपानेलाई ठान्छन् ।
यस्ताथिए उनका विकासे एजेन्डाः
- २९ वटै वडाका हरेक घरमा स्वच्छ पानी पिउने व्यवस्था
- २९ वटै वडामा १२ महिना रोडकनेक्भिटीको व्यवस्था
- वातावरण सुरक्षा सुन्दर शरहर बनाउने
- प्रत्यक नागरिकलाई अनलाईन आईडी कार्डको व्यवस्था
- वडाहरुलाई ब्लकमा विभाजन गरेर, सूचना प्रदान गर्दै नागरिकलाई राजस्वको दायरमा ल्याउने
- शान्ती, सुरक्षाको चुस्त दुरुस्थ व्यवस्था नारायणीलाई चितवनको दुःखबाट बारदाको रुपमा परिणत गर्ने
- हाइड्रोपावर, तटबन्द तथा नदीउकासको जग्गा व्यापारिक प्रयोजनमा प्रयोग गर्ने ।
- अब्यबस्थित शहरलाई व्यवबस्थित गर्दै व्यवस्थित शहरीकरण गर्ने
- सुकुम्बासीहरुलाई नदीउकासबाट आएको जग्गामा केन्द्रित गर्ने