site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छोरीको विजयसँगै प्रचण्डको परीक्षा सुरू

नेपालको राजनीतिमा सडकदेखि सदनसम्म चर्चामा रहेको भरतपुर महानगरपालिका १९ वडाको पुनः मतदानले अन्ततः रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाईकन छाड्यो । भरतपुर उपमहानगरपालिकाबाट महानगरपालिकामा बढोत्तरी भएपछि नेपाली कांग्रेसको अवस्था बलियो भएको अनुमान गरिएको यस महानगरपालिकामा कांग्रेसले मेयरको पदमा दिएको उमेदवारी फिर्ता लिएपछि कांग्रेस कार्यकर्ताको व्यापक असन्तुष्टिले गर्दा  कांग्रेस—माओवादी गठबन्धनकी उमेदवार रेणु दाहाललाई चुनाव जित्न हम्मेहम्मे परेको थियो ।  पुनः मतदानको पक्षमा फैसला भएमा कांग्रेसले आफ्ना सबै मत रेणुलाई खसाल्ने र  रेणुको पक्ष  बलियो हुने अनुमान गरिएको थियो । खासगरेर पुनः मतदानपछिको फैसला कांग्रेसका लागि परीक्षा थियो र कांग्रेसले आफ्ना समर्थकलाई रेणुलाई भोट हाल्न आग्रह गरेको थियो । यसअघि कांग्रेस समर्थक मतदाताको मत बाँडिएकै कारण रेणुको जित अनिश्चित भएको थियो । 

कांग्रेसको प्रभाव क्षेत्र मानिने पश्चिम चितवनको  २ हजार ८९७ मत भएको १९ वडा र ३ हजार ३ २ मत भएको २० वडा नै मेयर पदका कांग्रेस—माओवादी गठबन्धनकी उमेदवार रेणु दाहाल र नेकपा (एमाले) का देवी ज्ञवालीका लागि निर्णायक थिए । १९ वडाको मतगणना हुँदैगर्दा  कांग्रेस—माओवादी गठबन्धनकी उमेदवार रेणु दाहालभन्दा नेकपा (एमाले) का उमेदवार देवी ज्ञवाली ७३३ मत अगाडि भएका बेला मतपत्र च्यातिएको थियो । त्यसपछि स्थगित भएको  प्रक्रियाले झन्डै दुई महिनापछि निकास पायो । पुनः मतदानपछि  भने १९ वडामा देवी ज्ञवाली २ सय २१ मतले मात्र अघि देखिए ।  कांग्रेसको पकड रहेको  २० वडाको मत गन्दै गर्दा रेणुले अग्रता लिँदै गइन् र अन्ततः २ सय ३ मतले  देवी ज्ञवालीलाई उछिनेर रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर बनिन् । यी दुई वडामा अन्य सबै पदमा कांरेसले एकलौटी विजय   हासिल गरेको छ । यसरी नै भरतपुरका २९ वडामध्ये १२ वटा वडामा नेपाली कांग्रेसले, १४ वटा वडामा नेकपा (एमाले) र ३ वटा वडामा माओवादी केन्द्रले वडा अध्यक्ष जितेका छन् भने वडा सदस्यहरूमा कांग्रेस र एमालेकै वर्चस्व देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन परिणाम हेर्दा भरतपुर महानगरपालिकाको परिषद्मा कांग्रेस—माओवादी गठबन्धनले बहुमत पाएको छ । कांग्रेसको समर्थनमा चुनाव जितेकी माओवादी केन्द्रकी रेणु दाहाललाई यो गठबन्धन कायम रहेमात्र आफ्ना एजेन्डा प्रस्तुत वा आफ्नो सोचअनुसारको कार्यक्रम गर्न सम्भव हुनेछ । अधिकार सम्पन्न स्थानीय सरकारमा प्रचुर सम्भावना बोकेको भरतपुर महानगरपालिकाको मेयर  जित्नु माओवादीका लागि चितवनमा राजनीतिक आधारशिला तयार गर्ने अवसर बन्नसक्छ । तर, महानगरको ३ वटा वडामा मात्र वडा अध्यक्ष जितेको माओवादीका लागि पूरै कार्यकाल कांग्रेससँगको सहकार्यको विकल्प देखिँदैन । यसैबीच आफ्नो उपस्थिति अर्थपूर्ण बनाउने उद्देश्यले नेकपा (एमाले) ले आफूलाई महानगरमा सशक्त प्रतिपक्षका रूपमा प्रस्तुत गर्नेछ । यसैले भरतपुरकी मेयर रेणु दाहालका लागि अबको बाटो सहज र सरल भने छैन ।   

माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहालकी छोरी उमेदवार भएकै कारण भरतपुरको चुनाव देशभर चर्चित बन्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल  र एमाले (अध्यक्ष) केपी ओलीबीच संसद्मा जुहारी नै चल्यो । माओवादीसँग गठबन्धन गरेको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाको उनकै कार्यकर्ताले पुत्ला दहनसम्म गरेर विरोध गरे ।  मतपत्र च्यातिएपछि मतगणना कि पुनः मतदान भन्ने बहस झन्डै दुई महिना लम्मियो । अनेकौं शंका उपशंका पैदा भए । राजनीतिको विश्वसनीयतामा नागरिकले प्रश्न उठाए । भरतपुर निवार्चन प्रकरणसँग जोडिएका यी सबै क्रियाकलापले  नेपाल र खासगरी चितवनको राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने सम्भावना देखिन्छ । तर, राजनीतिलाई सही दिशामा लैजानु जरुरी छ । रेणु दाहालको अबको कार्यकालले यी सबै शंका उपशंका चिर्दै राजनीतिको नयाँ बाटो तय गर्नुपर्छ  ।

Global Ime bank

नगर तथा गाउँको बृहत्तर विकास र समुदायको अग्रगामी रूपान्तरण निर्वाचित प्रतिनिधिको मुख्य जिम्मेवारी हो । भरतपुरमा भएका स्रोतलाई स्थानीय प्राथमिकतासँग मेल खाने गरी विनियोजन गर्नसक्ने हो र स्थानीय आवश्यकता अथवा अवस्था सुहाउँदो निर्णय लिनसक्ने हो भने रेणु दाहालका लागि सफल मेयर बन्न गाह्रो  छैन । तर, जनता र निर्वाचित  जनप्रतिनिधिबीचको सम्बन्ध सहमति र प्रतिनिधित्वमा आधारित हुन्छ भन्ने हेक्का भने हुनु जरुरी छ । जनप्रतिनिधिका लागि विश्वास, विश्वसनीयता र प्रतिबद्धता महत्त्वपूर्ण गुण हुन् । विश्वासले समस्या समाधान गर्न सहज बनाउँछ भने प्रतिबद्धताले चुनौती वा अप्ठेराको सामना गर्ने हिम्मत पुग्छ । अग्रगामी परिवर्तन र समृद्ध भरतपुर महानगरपालिका बनाउन आग्रह पूर्वाग्रह छाडेर सहमति र सहकार्यलाई प्राथमिकता दिनु जरुरी हुन्छ । पर्यटन, शिक्षा, स्वास्थ, कृषि, सिंचाइ, भौतिक पूर्वाधार र जनसरोकारका क्षेत्रमा संविधानले दिएको अधिकारको पूर्ण उपयोग गर्नसक्ने हो र सहमति, सहकार्यसाथ अगाडि बढ्ने हो भने परिवर्तन ल्याउन कठिन छैन ।

विश्वासको वातावरण तयार गरेर विकासको खाका कोर्ने जिम्मा भने कांग्रेस - माओवादी गठबन्धनबाट चुनाव जितेकी मेयर रेणु दाहालकै भूमिकामा भर पर्नेछ । रेणु दाहालको जित र हारको सबाल नेपालको राजनीतिका दुई शीर्ष व्यक्ति उनकै बाबु पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडिएको थियो । कांग्रेस सभापति देउवाले दाहालसँगको राजनीतिक सहमतिमा भरतपुरको कांग्रेस राजनीतिलाई दाउमा लगाएका थिए भने दाहालका लागि आफ्नो उत्तराधिकारी तयार गर्नु थियो ।  छोरीलाई राजनीतिमा सफल बनाउन परिवारमा पार्टीको जरो गाड्नु थियो ।

रेणुको राजनीतिक यात्राले अब दाहालको परिवारमा छोरा प्रकाश दाहाललाई पनि राजनीतिमा होमिन सहज बनेको छ । महानगरको परिषद्मा बहुमतका लागि पनि आफ्नो कार्यकाल भर कांग्रेससँगको सहकार्य छोड्न नसक्ने बाध्यतामा रहेकी रेणु दाहालको नेतृत्व क्षमता र कार्यशैलीले उनकै बाबु पुष्पकमलको राजनीतिक प्रभाव र दूरदर्शितालाई समेत दिशानिर्देश गर्नेछ । छोरीलाई राजनीतिमा स्थापित गराउन दाहालले गरेको परिश्रम र सम्झौताको परीक्षा पनि यसैपटक हुनेछ । यसैले व्यापक आरोपप्रत्यारोपबीच निर्वाचन जित्न सफल रेणु दाहालको जित दाहाल परिवारकै लागि अग्निपरीक्षा हुनेछ । 
     

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC