स्थानीय तहको चुनावमा साझा र विवेकशील पार्टीका छुट्टाछुट्टै उमेदवार हुँदा जनता निराश भए । परम्परागत मूल धारका दलभन्दा अलग नयाँ पार्टीहरू विभाजित भएर चुनाव लड्दा शक्ति विभाजित हुने भएकाले मिलेर चुनावमा गएको भए हुने भन्ने धेरैलाई लागेको थियो । तर, त्यसो हुन सकेन । त्यसका कारण धेरै होलान् । त्यसको कारण खोज्नेभन्दा पनि जनचाहना बुझेर दुई पार्टीले गरेको एकीकरणलाई एकपल्ट नियाल्नु उपयुक्त हुन्छ ।
पहिलो, विवेकशील र साझा पार्टीका नेताले जनताका कुरा सुन्ने रहेछन् । राजनीतिमा शक्ति प्राप्त गर्दै प्रभावकारी काम गर्न दृढ हुने हो भने यस्ता निर्णय गरेर अगाडि बढ्न जरुरी हुन्छ । यस्तो निर्णयले वैकल्पिक शक्तिले नयाँ नेपाल हाक्नु पर्छ भनेर विश्वास गर्ने म र मजस्तै कैयौंलाई उत्साहित बनाएको छ ।
यी दुई पार्टीको सोच, हामी आफैँ जिम्मेवार भएर अब राजनीति सफा गर्नुपर्छ, हाम्रै कालमा उद्यमशील, विवेकशील, विकसित र जनहितकारी नेपाल राज्य बनाउनुपर्छ । त्यसका लागि पद्धति, पारदर्शिता, इमानदारीको बाटो जानुपर्छ भन्ने कुरा सही छ । त्योमात्र नभई दुई पार्टीको अहिलेसम्मको भनाइ र गराइमा पनि सामञ्जस्य नै देखिन्छ ।
विगत २ दशकदेखि नेपाली नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै गरेको मैले, "समृद्धि हाम्रै कालमा" भन्ने भनाइ पहिलोपल्ट उज्वल थापाको विवेकशील नेपाली दलका दस्तावेजहरूमा देखेको हुँ । पछि यस्तै आशय बाबुराम भट्टराईको नयाँ शक्ति र रवीन्द्र मिश्रको साझा पार्टीमा पनि देखियो । पछिल्लो स्थानीय चुनावमा आएर त सबै दलको दस्ताबेजमा अर्थिक विकास, समृद्धिका विषय छ्यापछ्याप्ती पाइए । जे होस्, विस्तृत शान्ति सम्झौतापछिको समयमा, हाम्रै कालमा, हाम्रै पसिनाले, हामीले नगरे कसले ? अहिले नगरे कहिले ? नेपाल हाम्रो घर हो डेरा होइन, विवेकशील युवा अघि सर्छ, देश अघि बढ्छ जस्ता साँच्चै नै विवेकशील, दूरदर्शी र जिम्मेवार कुराको थालनी र वैकल्पिक शक्तिको अग्रगामी नेतृत्व गर्ने पहिलो व्यक्ति उज्वल थापा हुन् भन्ने मलाई लाग्छ ।
वैकल्पिक शक्तिकै कुरा गर्दा बाबुराम भट्टराईको 'नयाँ शक्ति'को पनि चर्चा जरूरी छ । अहिले बाबुराम भट्टराईलाई गाली गर्नेहरूले 'भारूराम' 'भारतको दलाल' आदि भनेको सुन्छु । यस्तो गाली सबैलाई कुनै न कुनै बेला गरिएको पाइन्छ । महाकाली सन्धि गर्दा, केपी ओलीलाई 'र' को एजेन्ट पनि भनिएकै हो । तर अहिले उनै सबैभन्दा राष्ट्रवादी भएका छन् । यस्ता व्यक्तिगत आक्षेप, चरित्र हत्या र आफनै नेताहरूप्रति चरम अनादर र तर्कहीन शंकाले राम्रो गर्दैन । हाम्रा धेरैजसा नेता हामीले नै बनाएका हौँ । उनीहरू नेपालकै सन्तान हुन् । तिनको नियत राम्रै छ । कमी छ त क्षमताको । त्यसैले अब क्षमतावान व्यक्तिहरू राजनीतिमा आउनु पर्छ । साझा र विवेकशील जस्ता पार्टीले त्यसको अगुवाइ गरिरहेका छन् ।
बाबुराम भट्टराईले देशको व्यवस्था परिवर्तन गर्दासम्म हिंसाको बाटो लिने पार्टीमा राजनीति गरे । त्यो सही थियो कि गलत त्यसको चर्चा म अहिले गर्न चाहन्न । तर 'नयाँ शक्ति' मार्फत् उनले अब देशमा अवस्था परिवर्तन गर्ने बेला हो, समृद्ध नेपाल हाम्रै कालमा बनाउने, अबको निकास आर्थिक विकासको नीति लिएका छन् । त्यो आफैँमा ठीक छ । तर, उनको नयाँ शक्ति स्थापनादेखि अहिलेसम्मका आन्तरिक खटनपटन, पारदर्शिताआदि नियाल्दा उनीहरूले साझा र विवेकशीलजस्तो जनविश्वास जित्न सकेका छैनन् । अनि धेरैले उनको संघीय समाजवादी पार्टीसँगको उठबस र एकताको विषयलाई पनि नकारात्मक दृष्टिले हेरेको देखिन्छ । मधेश, तराई जे भनौ, त्यहाँका सम्पूर्ण दाजुभाई दिदीबहिनी पहिला नेपाली हुन् । उनीहरूको आवाज आफ्ना राजनीतिमा हक र अधिकारका लागि हो भन्ने स्वीकार गर्नुपर्छ । राज्यका सबै ठाउँ र जनतामा समान विकास, समान स्रोत परिचालन, समान हक पुगेको छैन । त्यो हाम्रा विगतका बजेट हेरेर सजिलैसँग थाहा पाउन सकिन्छ । त्यस विषयमा तराईमात्र होइन पहाडकै ठाउँ र जनता पनि पीडित छन् ।
साशन र सरकारको संरचनामा बिस्तारैमात्र समावेशी हुँदैछ । उपेन्द्र यादवलाई गाली गर्नेले, उनी परराष्ट्र मन्त्री हुँदा बोलेका र गरेका काम हेर्नुपर्छ । त्यसबेला उनले मधेसी नेताको रूपमा भन्दा नेपालको परराष्ट्र मन्त्रीजस्तो भएर काम गरेको देखिनेछ । त्यसैले कुनै व्यक्तिलाई आक्षेप लगाउने कुसंस्कृतिलाई बढावा दिनेभन्दा अलिकति सोचेर टिप्पणी गर्नु पर्छ । बाँकी रह्यो बाबुराम भट्टराई र उपेन्द्र यादवहरूको एकीकरणको । त्यो पनि सकारात्मक कदम नै हो । वैकल्पिक शक्तिहरूले नेपालभर प्रभाव पार्न सक्नुपर्छ । उनीहरूले पनि विवेकशील र साझाजस्तो पारदर्शिता र क्षमताको प्रदर्शन गर्दै नेपाली जनताको मन जित्न सकून् । अझ, मिलेसम्म त साझा र विवेकशीलसँगै कार्यगत एकता वा पार्टी नै एकता गरेर समृद्ध नेपाल बनाउन लागे हुन्थ्यो ।
अरू पार्टीहरूमा पनि नियत राम्रा भएका धेरै मानिस छन् । तर त्यतिले पुग्दैन, क्षमता वा गरेर देखाउने खुबी अहिलेका पुराना पार्टी र नेताहरूमा नभएको २०४६ साल यता सत्ता र शक्तिको फोहोरी खेलले प्रमाणित गरिसकेको छ । नेताहरू ९ -१० महिनाको लागि सत्ताको समझदारी गर्छन् । सत्तामा टिक्न आधा दर्जन उपप्रधानमन्त्री बनाउन पनि पछि पर्दैनन् । नेपालमा स्थायित्व होस् भनेर सोच्ने, साँच्चै नै जनताको सेवा गर्ने नियत भएकाले यस्तो राजनीति गर्दैनन् । जिम्मेवार प्रतिपक्ष भएर मिलेर देशको विकास गरौँ भन्न सकिन्न? तैपनि म तिनले देशको राजनीतिक व्यवस्था परिवर्तन गर्न गरेको योगदानलाई कम मान्दिन । तर, अब देशको अवस्था परिवर्तन गर्ने बेला भयो । त्यसका लागि उनीहरू अक्षम छन् र वैकल्पिक शक्ति नै चाहिन्छ ।
पुराना पार्टी र नेताहरूले सत्ता र शक्तिका लागि खेलेका फोहोरी खेल, सडकमा टायर बाल्ने राजनीति, सदनमा कुर्सीको तोडफोड, अरूलाई निषेध गर्ने पंचायतको जस्तो दाउपेच ( हेर्नुस त विवेकशील, नयाँ शक्तिलाइ चुनाव चिह्न समेत नदिएको ) सबैले संकेत गर्छन् - उनीहरूको नियत राम्रै भए पनि तिनले बिगत २० वर्षमा देशलाई विकाश र समृद्धिको बाटोमा लग्न सकेनन् र उनीहरू सक्षम छैनन् । सधैँ अक्षमले पालो पाउनु हुँदैन, विवेकशील र साझाजस्तो सक्षमहरू राजनीतिक मैदानमा उत्रिसकेपछि त अब अक्षमले पालो पाउन हुँदैन । यथाशीघ्र सक्षमहरूलाई पालो दिनुपर्छ, हामीले यही कालमा नेपाल आमाको विकास हेर्ने धोको मेटाउने हो भने अब वैकल्पिक शक्तिलाई सघाउनुपर्छ ।
भर्खरै जन्मेका पार्टीहरूको वकालत गर्दै हिँड्दा कैयौं साथीहरूले मलाई, 'नेपालमा केही हुन्न', 'नेपाली जनता भेडा छन्', यो 'काठमाडौँ ' 'फेसबुक' 'ट्विटर'मा सीमित हुने पार्टी हो भन्छन । यी साथीहरूमध्ये कैयौं त पुराना पार्टीमा आबद्ध अनि आफ्नो समय र स्रोत पुराना पार्टीमा खर्च गरेर आफ्नो पार्टीले नै केही गरोस् भन्ने सफा नियतले नै बोलेका छन् । कोही राजनीतिदेखि वाक्क छन् । कोहीले सकारात्मक सोच र आफू एकजनाको सहयोगले मात्र पार्ने फरकलाई कम आँकेका छन् ।
यहाँ विवेकशील र साझा पार्टीले जित्ने नजित्ने भन्दा पनि समृद्ध र विकसित नेपालको लागि कसले र कसरी अगाडि बढ्छ भन्ने कुरा प्रमुख हो । पुरानै पार्टीहरू बदलिएर यिनै एजेन्डालाई कार्यान्वयन गरे पनि विवेकशील र साझाको मात्र होइन नेपाल र नेपालीकै जित हुन्छ । तर, अहिलेसम्मको काम हेर्दा रन्जु दर्शनाले चुनावताका भनेजस्तो "अब स्मार्ट फोनको जमानामा ल्यान्डलाइन फोनले चल्दैन", क्षमताशील वैकल्पिक शक्ति र व्यक्ति नै चाहिन्छ, त्यसको मतलब उमेरमै रन्जुजस्तो युवा हुनुपर्छ भनेको होइन, किशोर थापाजस्तो अनुभवीको पनि सोच युवाजस्तो र क्षमता राम्रो हुन सक्छ । साझा र विवेकशीललाइ 'फेसबुक' 'ट्विटर'मा मात्र सीमित पार्टी भनेर बुझ्नु भएन । अहिलेको जमानामा प्राविधिक रूपमा परिष्कृत हुन पनि जरुरी छ । साझा र विवेकशील पार्टीको व्यवस्थापन, संचार र पद्धति २१ शताब्दी सुहाउँदो पनि छ । अनि हामी हरेकले सकारात्मक भएर समर्थन र विश्वास गरे विवेकशील र साझाले नजित्ने कुरै आउँदैन ।
साझा र विवेकशीलको एकीकरणले नेपाली राजनीतिमा एउटा उत्साहप्रद तरङ्ग ल्याउने छ । यो तरङ्गमा अरू वैकल्पिक शक्ति पनि मिसिँदै जानुपर्छ । यस्तै सकारात्मक घटनासँगै हामी सबैको राजनीतिक क्रियाकलाप अनि टीकाटिप्पणी पनि सुसंस्कृत हुँदै जानेछ ।