site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मेडिकल माफियाको स्वार्थका लागि सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन र योगदानको उपेक्षा गरेको देखियो । डा. केसीले अनशन सुरु गरेको केही दिनपछि वार्ता टोली गठन गरे पनि वार्ताका लागि खटिएका सरकारी कर्मचारी सम्बन्धित मन्त्रीलाई भेट्नसम्म पनि नसक्ने निरीह देखिए । अर्कातिर डा. केसीको स्वास्थ्य अवस्था दिनहुँ बिग्रँदै गएको बताइएको छ । चिकित्साशास्त्रको शिक्षामा व्याप्त बेथिति र विसंगतिविरुद्ध डा. केसीको यो ११ अाैं अनशन हो । यसभन्दा पहिलेका सबैजसो अनशन उनका माग पूरा गर्ने  सम्झौतामा टुंगिएका छन् । यसबीच प्रमुख तीनैवटा दलका नेताले सरकारको नेतृत्व गरिसकेका छन् । र, सबै सरकारको नियत सकेसम्म डा. केसीलाई गलाउने र नसकेपछि सम्झौता गर्ने रहँदै आएको छ । यसपटक पनि सरकारले त्यही रणनीति अपनाएको देखिन्छ । अलमल्याउने रणनीतिले अकल्पनीय अनीष्ठ निम्त्याउन सक्छ भन्ने सरकारको उच्च राजनीतिक नेतृत्वले भने हेक्का राखेको देखिएन । सुस्त गतिमै भए पनि डा. केसीको मागप्रति समर्थन जनाउनेहरूको संख्या बढ्दै गएको छ । डा. केसीको स्वास्थ्य अवस्था जति कमजोर हुँदै जान्छ उनको समर्थन गर्नेको संख्या र आक्रोश उत्तिकै बढ्दै जान्छ ।

डा. केसीका अधिकांश मागहरू पुराना सहमति, सम्झौताको कार्यान्वयन होस् भन्ने नै हो । सरकारले भने सम्झौता कार्यान्वयन नगर्ने, गरिहाले ढिलासुस्ती गरेर त्यसलाई अर्थहीन बनाउने र एकातिरबाट सम्झौता गरेजस्तो देखाएर अर्को प्रकारले निरर्थक बनाउने षड्यन्त्र गर्दैआएको छ । डा. केसीकै माग पूरा गर्ने क्रममा शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय आयोग पनि गठन गरिएको थियो । आयोगले दिएको सुझावमा आधारित रहेर मस्यौदा गरिएको चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । अर्कातिर चिकित्साशास्त्रको पढाइमा विद्यार्थीलाई ठग्ने विकृति पनि अनेकौं रूप र शैलीमा निर्बाध चलिरहेकै छ । त्यस्तो विकृति टुलुटुलु हेरेर बस्न नसकेर डा. केसीले सत्याग्रहको बाटो रोजेको हुनुपर्छ । डा. केसीले आफूलाई असली सत्याग्रही सिद्ध गरिसकेका छन् । अब नेपाली समाजले सत्याग्रहीको समर्थनमा उभिने कि जनविरोधी विकृति र विसंगतिको पक्षमा जाने भन्ने रोज्नुपर्ने बेला आएको छ ।  डा. केसी निरीह सत्याग्रही नन्दप्रसाद अधिकारी हैनन् । यसो त नन्दप्रसादको जीवनाेत्सर्ग पनि खेर पक्कै जानेछैन ।

Agni Group

डा. केसीका मागहरू नेपालका सर्वसाधारण जनताका पक्षमा छन् । उनको कुनै राजनीतिक शक्तिसँग निकटता पनि देखिएको छैन । यसैगरी उनका माग हेर्दा केही व्यक्तिले प्रचार गरेजस्तो निजी मेडिकल कलेज विरोधी पनि देखिँदैनन् । शिक्षा सर्वसुलभ हुनुपर्छ र त्यसमा कुनै पनि प्रकारको चलखेल हुनुहुँदैन भन्ने मागको पनि खुलेर समर्थन गर्न नसक्ने लामो समयसम्म जीवन्त रहनसक्तैन । यसैगरी विवेकहीन सरकारको पनि आयु लामो हुँदैन । राजधानीका सडकमा चेतनशील नागरिकहरूले डा. केसीका मागमा ऐक्यबद्धता प्रकट गर्न थालेका छन् । यसले सरकारप्रति जनस्तरमा रहेको चर्को असन्तुष्टि आक्रोशमा परिणत भएरसडकमा पोखिने संकेत देखाउँछ । यसलाई देशव्यापी हुन नदिन सरकारले पहिले सहमति भइसकेका डा. केसीका माग तत्काल पूरा गर्नुपर्छ ।

संसद्मा प्रस्तुत विधेयकमा राखिएका संशोधनमा मेडिकल  माफियाको गन्ध आइसकेको छ । सांसदहरूले पनि कसैको स्वार्थका लागि जनताको हितविरुद्ध जानु आत्मघाती हुन्छ भन्ने नबिर्सून् । डा. केसीले पनि सरकारको प्रकृति बुझेर प्राणघातक अनशनभन्दा दबाबमूलक आन्दोलनको नेतृत्व गर्दा बढी प्रभावकारी र उपलब्धिपूर्ण हुनसक्ने यथार्थ आत्मसात् गरेर अनशन स्थगित गर्नुपर्छ । डा. केसीलाई अनशन स्थगित गर्न लगाउने उत्तम उपाय भने उनका माग पूरा गर्न आन्दोलन चर्काउनु नै हो । डा. केसीको संघर्ष नेपाली जनताको हितका लागि भएकाले यसमा जालझेल वा उपेक्षा गर्नु सरकारका लागि आत्मघाती सिद्ध हुनेछ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC