site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थरीथरीका हाम्रा बौद्धिक 

केही समय यता मिडियामा ‘बौद्धिक बहस र यसका आयाम’बारे चर्चापरिचर्चा भइरहेको छ । यस बहसमा जोडिन ध्येयले हाम्रा विचार पनि प्रस्तुत गरेका छौँ । बौद्धिकता त कपाल फुलेकाहरूको पर्यायजस्तो भएको छ तथापि हामीले यहाँ बौद्धिक बहसका सामान्य प्रवृत्ति  प्रस्तुत गरेका छौँ । 

१.सहरिया बौद्धिक 

हाम्रा सबै बौद्धिक सहरकेन्द्रित छन् । हाम्रा बौद्धिकवर्गको बहसमा गाउँ अझै पर्नसकेको छैन । ‘बौद्धिक हुनु भनेको गाउँघरको कुरा नगर्नु हो’ भन्ने धारणा स्थापित भएको छ । लोक उक्तिको प्रयोग हुन छोड्यो । गाउँको कुरा गर्नेबित्तिकै ‘पाखे’ भइने डर छ । नेपाललाई गाउँ नै गाउँको देश भनिन्छ जहाँ अझै पनि अधिकांश त पुरानै अवस्थाका गाउँ छन् । बौद्धिक बहसले समग्र देश समेट्नुपर्छ तर यहाँ गाँउलाई छोडेर सहरको भिडलाई मात्र बहसको केन्द्र बनाइएको छ । र, अझै सहरउन्मुख बजारसमेत त उपेक्षित नै  छन् । पढेलेखेका मान्छेलाई गाउँमा उचित मञ्च नमिलेको हुन सक्छ र ऊ बौद्धिक सक्रियताको लागि उचित मञ्चको खोजीमा सहर पसेको हुन सक्छ । गाउँमै बस्नुपर्छ भन्ने होइन । सहर बसेर पनि गाउँको लागि चिन्तन मनन गर्न सकिन्छ तर गाउँ नै पूरै बौद्धिक बहसको विषयमा नपर्नु दुर्भाग्यपूर्ण हो । अर्कोतिर, मिडियाले पनि गाउँमै बसेर बौद्धिक ‘अगुवाइ’ गरेको व्यक्तिलाई ‘बौद्धिक’को दर्जा नदिएको हुनसक्छ । किनभने उसले बौद्धिक त टक्क महँगो टाइ सुटमा, महँगो होटेलमा, टिभीमा, रेडियो या पत्रपत्रिकामा मात्र हुन्छ’ भन्ने जानेको छ । अर्कोतिर एड्स, एटोमिक बम्ब, न्यु वल्र्ड अर्डर, लादेन, मोदी डक्ट्रिनजस्ता कुरामात्र बौद्धिकताका विषय हुन् भन्ने स्थापित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गाउँका प्राचीन कला संस्कृति लोप हुँदैछन् । के बौद्धिक वर्गले गाउँ हेर्नु हुँदैन ? हाम्रा यी गाउँलाई डो¥याउने, गाउँका समस्यालाई उजागर गर्ने, हिम्मतका साथ बोल्ने गाउँ र सहरलाई जोड्ने बौद्धिकको अब खाँचो छ । रेमिट्यान्स, स्थानीय राजनीति, कृषि, पर्यटन किन बौद्धिकताको विषय बन्न सकिरहेका छैनन्  ? बुटवलका लागि बुटवलमै बोलिएको कुराले किन महत्व पाउँदैन  ? सिराहाका लागि किन सिराहामै बोलेर तरंग नहुने  ? काठमाडौँबाट बोलेमात्र सुनिने वा तरंग देखिने किन  ? हुन त यसका अनेक पाटा होलान् । यी विषय बौद्धिकतासँग मात्र जोडिँदैनन् होला । त्यसकारण अब बौद्धिक सक्रियता गाउँमा पनि हुनुपर्छ । सहरमै होस् तर गाउँ लक्षित पनि बौद्धिक क्रियाकलाप होस् । गाउँ सहरोन्मुख हुँदैगएको अवस्थामा बौद्धिकको खबरदारी, सक्रियता बहुतै आवश्यक छ । सायद, जुन दिन बौद्धिक बहस ५ तारे होटेल, सेमिनार, एनजीओ र विश्वविद्यालयबाट अलिकति बाहिर आउँछ गाउँ पनि देख्ला ।

२ अन्तर्राष्ट्रिय बौद्धिक 

Global Ime bank

जति विदेशी सबालहरूमा चर्को बोल्न सक्यो त्यो त्यति ठूलो बौद्धिक मानिने एउटा मनोरोग छ नेपालमा । यो मनोरोगको पारंगत हुने प्रतिस्पर्धै छ । अन्तर्राष्ट्रिय सवालहरूमा मौसमी असर, मौसमी लहर देखिनु त ठीकै हो तर लगातार बेमौसमी भइरहनु र प्रवक्ता झैँ पैरवी गरिरहनु चाहिँ कति जायज हो ? जस्तो ट्रम्पको उमेदवारीसँगै अनेक कोणबाट बहसहरू भए । उनका व्यक्तिगत, व्यावसायिक, आचरणगत र विगतका कुरा भए तर उनले राष्ट्रपति पदमा आखिर जिती नै हाले । अब त ट्रम्पका नीति नियम र उनले जारी गरेका कार्यकारी आदेशहरूमा छलफल हुनुपर्ने तथा प्रभावहरूबारे बहसहरू हुनुपर्ने हो । यता मोदीले जितेर पनि ५ वर्षे कार्यकालको प्रभावशाली साढे तीन वर्ष सकिसके । विदेशी लगानी भित्राउन नसकेको कारण, हिन्दुवादी कट्टर रुझानका कारण बढेको असहिष्णुता, असफल मुद्रा नीति (५००÷१०००को नोट)लाई लिएर भारतमै उनको कार्यकाललाई असफल भनिसकियो । नेपालमा भने मोदीको उदय र त्यसको प्रभावबारे अझै चर्चा हुँदै छ । उत्तर कोरियाले अमेरिकालाई बम हान्छ कि हान्दैन  ? आणविक हतियार अमेरिकासँग धेरै कि रसियासँग भन्ने नै यहाँका बौद्धिक माझ ठूलो चर्काचर्की पर्छ । आणविक बम हाम्रो बहसको विषय हो कि होइन  ? हाम्रा बौद्धिक कस्ता कुरामा अल्झिरहेछन् ? त्यस प्रकारका बहसमा जोडिँदा नेपाललाई कसरी फाइदा हुन्छ  ? क्युबा र अमेरिकाबीच भएगरेका उतारचढावले नेपालमा के प्रभाव पार्छ ? पहिलो कुरो बस व्यक्तिगत प्रोफाइल बढाउनमात्र लेख्ने हो बौद्धिकले  ? दोस्रो, यहाँ गरिने बहसले चर्चाले त्यहाँ के प्रभाव पर्छ  ? यहाँ पनि प्रभाव नहुने त्यहाँ पनि नहुने भएपछि ’लावारिस’ बहस किन गर्ने ? तर, यसो भन्दैमा सम्बन्धै नभएको देशको उतार चढावको यहाँ फिटिक्कै विमर्श हुनुहुँदैन भन्नखोजेको होइन, खाली त्यसलाई लावारिस नबनाऊँ प्रभावी बनाऔं भनेको हो । कति मात्रामा ट्रम्प, पुटिन, म्याक्राँँें अथवा अरू हाम्रा लागि विमर्शका विषय हुन्  ? पहिले त्यो निक्र्यौल गरौँ । बौद्धिकहरू बरु हाम्रा स्वदेशी सवालहरूलाई अन्तर्राष्ट्रियकरण गर्न लागे हुने । ‘राष्ट्रियलाई अन्तर्राष्ट्रिय चाहिँ गर्न नसक्ने अन्तर्राष्ट्रियलाई राष्ट्रिय’ चाहिँ गराई रहने ? अग्रेजी भाषा मिसाएर बोल्नेबित्तिकै बौद्धिक भन्छन् । तमाम अन्तर्राष्ट्रिय मुद्दा छन् हाम्रो देशभित्र ।

३. चर्को बौद्धिक 
 

एकथरी बौद्धिक यस्ता पनि छन् जो अध्ययन अनुसन्धान गर्दैनन् तर कसरी कसरी बौद्धिक चाहिँ देखिन भ्याउँछन् । तर, कहिलेकाहीँ यही बौद्धिक वर्ग बहसभन्दा पनि तुरुन्त गालीमा उत्रिन्छन् । कतिपय त जानाजान चर्को हुन्छन् । चर्को देखियो भने ‘धार’ बन्छ भनेर । विचार मन्थन नगर्ने तर तुरुन्ता तुरुन्तै सामान्य विवेकको आधारमा प्रतिक्रियात्मक हुनेहरूको बिगबिगी छ । पहिलो चरणको सूचनाको भरमै लामो गहिरो भविष्यवाणी गरिदिने ‘विज्ञताको शैली’ विकसित भएको छ । हुन त बौद्धिक हुनु भनेको पनि प्रारम्भिक अवस्थाको सूचनाको भरमा आफ्नो विज्ञता मिसाएर यसोयसो होला है भनेर अधिकतम् हुन सक्ने, नहुन सक्ने बताइदिनु हो । तर, केही चाहिँ गालीमात्र गर्न जान्छन् । मिडियामा स्थान पाउन जानाजान ‘फरक’ भइदिन मसलाको खोजीमा हिँडिरहेका हुन्छन् । फलस्वरूप विपक्षीको सामान्य तर्कमाथि पनि उग्र उत्तेजित भइहाल्छन् । 

अर्को ‘अजीव बौद्धिक’ वर्ग छ जो हमेसा सरकारलाई गालीमात्र गरिरहन्छ । यो अजीव बौद्धिक वर्गले सधैँ र जहाँ पनि ‘राज्य’ दोषी देख्छ । बाटो बिग्रियो राज्यको गम्भीर भुल भन्दिइहाल्ने, पुल खस्यो राज्यको लापरवाही हुने, कसैले आत्महत्या ग¥यो राज्यको बेपरवाह भन्ने । राज्यका तत्तत् ठाउँमा ससाना इकाइ हुन्छन् । पहिले ती जिम्मेवार हुन्छन् । अन्तिममा त राज्य नै जोडिन्छ जोडिन त । तर, हाम्रा बौद्धिक जहाँ पनि सरकार र राज्यलाई नै दोषी दमनकारी, विभेदकारी देख्छन् । राज्य प्रणाली बदलिसकेको छ तर हाम्रा बौद्धिकको सोच्ने लेख्ने तरिका बदलिन सकेन । उनीहरू आफू चाहिँ नबदलिने तर सरकार र राज्य प्रणाली पुरातन देख्ने गर्छन् । हो, बौद्धिकको भूमिका भनेको नागरिकको स्तरबाट ‘प्रतिपक्षी’ भएर खबरदारी गर्नु हो आलोचना गर्नुमात्रै होइन । 

यी बौद्धिकको कुरा सुन्ने हो भने हाम्रो राज्य असफल भएको मान्नुपर्छ तर अवस्था त त्यस्तो छैन । सरकारले राम्रो काम पनि त गरेको छ । राम्रो कुराको चर्चा गरिदिनुहुँदैन र ? बौद्धिकहरूको कुरा सुन्दा कस्तो लागेको छ भने आजसम्म कुनै सरकार सफल भएको छैन । हामीकहाँ सरकार भनेको असफलमात्र हुन्छ भन्ने छ । हाम्रा बौद्धिकहरू निराशाको सौगातमात्र बाँडिरहेछन् । बौद्धिकहरूले सरकारलाई हमेसा कमजोर देखाइदिँदा त्यसले समाजमा के प्रभाव पार्छ त्यसतर्फ सोचेका छैनन् । आज हामीले हरेक ठाउँमा सरकार निकम्मा देख्नुको कारण त्यही हो ।

 

४. एनजीओ प्रवर्धित बौद्धिक

विदेशतिर एनजीओलाई राम्रो मानिन्छ । समाजबाट सामाजिक विषयमा लगानी गरेर सामाजिक सवालहरूमा लगानी गर्नु पर्छ भन्ने त्यहाँ जनस्तरकै सोचाइ हुन्छ । यहाँ हामीकहाँ भने एनजीओ भन्नेबित्तिकै सामान्य मान्छेले गलत सोच्छन् । एनजीओ अलि बदनाम छ हामीकहाँ । अहिले एनजीओ बौद्धिक उत्पादनको केन्द्र बनेको छ ।

एनजीओ अहिले हाम्रा बौद्धिकहरूको ठूलो मंच बनेको छ । हाम्रा बौद्धिकहरू कहीँ न कहीँ एनजीओसँग जोडिएका छन् । उनीहरू कुन स्तरको एनजीओसँग जोडिएका छन् त्यही स्तरको उनीहरू बौद्धिक मानिन्छन् । अलि ठूलै अन्तर्राष्ट्रिय एनजीओसँग सम्बद्ध छ भने ऊ ठूलै र अन्तर्राष्ट्रिय बौद्धिक कहलिन्छ । हैन, सानै र नेपाली हो भने ऊ सानै बौद्धिक कहलिन्छ । यस प्रकारका बौद्धिकको काम एनजीओको प्रवक्ता हुनु हो । एनजीओको सवालको प्रबर्धन गर्नु हो । राम्रो आम्दानी गर्नु हो । आईएनजीओ बौद्धिकको हाइट र चुरीफुरी अलि बढी हुन्छ । अहिले त कस्तो छ भने समस्याको पहिचान पनि एनजीओले गर्ने, सहजीकरण र उठान पनि एनजीओले गर्ने अनि समाधान वा समाधानको उपाय पनि एनजीओले दिने । विषयहरूको महत्व कम गराउन अनावश्यक विदेशी शब्दजाल थोपारेको भान हुन्छ । हाम्रा बौद्धिकको काम हो उनीहरूको रिपोर्ट लेख्नु र फोरमहरूमा त्यस रिपोर्टको दरो प्रचार गर्नु । कतिपय एनजीओको काम नै बौद्धिकता सम्बन्धी देखिन्छ ।

एनजीओमा हाम्रा बौद्धिकहरू तलबी हुने हुनाले त्यहाभित्र उनीहरूको ‘राय’को कदर भने हुँदैन । दुनियाँको कुनै कुनामा सफल भएको कामको तरिका यस देशको माटो हावापानी र अन्य संरचनाअनुसार मेल खान्छ खाँदैन भन्ने नै नहेरी लादिएका कार्यक्रमहरूको माथिल्लो तहमा चर्चा गरिदिनु यिनीहरूको अर्को काम हो । कतिपय एनजीओले त बौद्धिक सक्रियताको मंच नै दिएका छन् । हो यहाँ यो ठीक हो कि होइन भन्ने सवाल उत्पन्न हुन्छ । हाम्रा बौद्धिकहरू कतै कसैका प्रायोजित त छैनन् ? तर एनजीओ प्रवर्धित बौद्धिक वर्गले प्रतिपक्षको भूमिका खेल्न सक्छ सक्दैन ? त्यसका परिणामहरू के के हुन्छन् ? यी सबैै विषया केलाउने बेला भने आइसक्यो । त्यो काम पनि स्वयं बौद्धिककै हो ।

५.दलीय बौद्धिक 
 

केही ठूला राजनीतिक पार्टीसँग बुद्धिजीवी संगठन छन् । त्यो राम्रो पक्ष हो । पार्टीले आवश्यक परेको बेलामा सरसल्लाह लिन र पार्टी नेतृत्वलाई नियमित सरसल्लाह दिइरहन यो संगठन बनाइएको हुन्छ । बौद्धिकहरूलाई आफूतिर तान्दा नै पार्टीको सौन्दर्य बढ्छ । तर छिर्ने बेलामै गुटको आधारमा छिर्ने हुनाले मूल पार्टीमा हुनेगरेको किचलोको प्रभाव त्यहाँ पनि पर्छ । पार्टीको राष्ट्रिय अधिवेशनमा बौद्धिक संगठनबाट पनि प्रतिनिधि हुने भएकोले सदस्यता दिने बेलादेखि नै को कुन गुटको भनेर निर्धारण हुन्छ । यिनीहरूको काम पार्टीलाई सरसल्लाह अलि अलि दिनु त हुँदै हो मुख्य काम चाहिँ आफू निकटे नेताको गल्तीलाई सके ढाकछोप नभए आफ्नो भएभरको ज्ञान र सीप प्रयोग गरेर बैध तुल्याउने प्रयास गर्ने हो ।

यसरी लाग्ने बौद्धिकहरूको अन्तिम उद्देश्य परिषद्हरूमा, राजदूतहरूमा, प्रतिष्ठानहरूमा, आयोगहरूमा, विश्वविद्यालयहरूमा प्रमुख पद अथवा हैसियत अनुसारको नियुक्ति खानु रहेको छ । कतिपय त मन्त्री तथा प्रधानमन्त्रीको सल्लाहकार पनि हुन पुग्छन् । पार्टीगत बुद्धिजीवीको काम माथि उल्लिखितबाहेक सिद्धान्तअनुरूप दस्तावेजहरू लेख्नु, चुनावी घोषणा पत्र लेख्नु, नीति तथा कार्यक्रम तय गर्नुजस्ता रहेका छन् । आन्दोलनको बेला चर्का नारा बनाउनु पनि यिनको काम हो । पार्टीगत बुद्धिजीवीमा दलबदल गर्ने रोग पनि छ । एउटा पार्टीमा रहँदा आफैँले लेखेको दस्ताबेजको अर्को पार्टीमा जाँदा विरोध गरेको पनि पाइयो । यी बुद्धिजीवीको अधिकांश समय चाहिँ पार्टीको विषयमा छलफल गर्ने नभएर अर्को पार्टीको विरोध गर्नुरहेको छ । नेपालमा कम्युनिस्ट पार्टीहरू बढिरहेकाले तुलनात्मकरूपमा वामपन्थी बुद्धिजीवी बढी छन् । राजनीतिक बुद्धिजीवीको मुख्य काम भनेकै पार्टीको निर्देशन शिरोपर गर्दै काम गर्नु नै रहेको छ ।

५.सर्वज्ञ बौद्धिक
 

हाम्रा बौद्धिकहरूको अर्को रोचक र मौलिक विबशेषता सर्वज्ञ हुनु हो । सबैतिर असीमित ज्ञानका भण्डारजस्ता भएर प्रस्तुत हुन्छन् । पहिलो ४ वर्षे संविधान सभाको कार्यकालदेखि दोस्रो २ वर्षे अवधिसम्म संवैधानिक ज्ञाताको बिगबिगी नै भयो यो देशमा । जो पनि संविधानको विश्लेषक । पछि गएर तिनै संवैधानिक ज्ञाता भूकम्पका ज्ञाता भए, अलि पछि नाकाबन्दीका ज्ञाता पनि हुन भ्याए । भूपरिवेष्ठित देशका नागरिकले जान्नुपर्ने अधिकारको बहस खै ? हाम्रा बौद्धिकमा तुरुन्तातुरुन्तै जे कुराको मौसम छ त्यसैको ज्ञाता भइदिने अचम्मको क्षमता छ । जे भेट्यो त्यसैमा बौद्धिकता छर्न खोज्ने । आफ्नो विज्ञता र सीमितता के हो त्यो बिर्सिने । प्राय बौद्धिकताको विषय सार्वजनिक  विषय हुने र तुलनात्मकरूपमा कानुनको क्षेत्र फराकिलो हुने हुनाले कानुनी पृष्ठभूमिका बौद्धिक सबैतिर बोल्नु उचितै होला तर अरूहरू पनि सबैमा आफ्नो ‘राय’ दिइरहेका हुन्छन् । हुनत बौद्धिक भनेकै आफ्नो विज्ञता र संलग्नताभन्दा माथि र पर रहेर बोल्ने अथवा त्यो मिसाएर पनि, आफ्नो व्यावसायिक ज्ञानको आधारमा अर्को विषयमा सम्भावित यो वा त्यो कुराहरू गर्ने, जायज छ तर अलोकप्रिय छ भने पनि आवाज उठाउने, धेरैले रुचाउनेभन्दा फरक कुरा गर्न पछि नहट्ने भन्ने नै हो ।

तर, हाम्रा बौद्धिकहरू सर्वज्ञ हँुदा सबै बहस पातलो हुने गरेको छ । यसैले तिनको रायमा विश्लेषणमा कुनै दम हुँदैने । अर्काेतिर अन्दाजको भरमा बोल्ने बानी पनि छ । या त ‘मलाई लाग्छ’बाट सुरु हुने यात अन्त्य हुने । केको आधारमा लागेको हो त त्यो नबताउने, नखुलाउने । एकदम ठ्याक्कै हुनुपर्नेमा पनि हाम्रा बौद्धिकहरू लागेको भरमा, अन्दाजको भरमा प्रस्तुत भइरहेका हुन्छन् । बृहत् अध्ययन अनुसन्धान चाहिने ठाउँमा पनि ‘लागेकै’ लेखिरहेका हुन्छन् । केही यस्तालाई पनि बौद्धिक मान्नुपरेको छ जो समाचारमा आधारित रहेका छन् । यस प्रकारका बौद्धिकहरू विदेश बस्छन् । नियमित समाचार पढ्छन् । सामाजिक संजालको बहाव हेर्छन् ।

कुनै बेला नेपाल बसेकै थिए अनि लेख्छन्, बोल्छन् । यो सबैभन्दा झुर प्रकारको बौद्धिकता हो । समाचारको तहभन्दा माथि उठेर र गहिरिएर नसोच्ने बौद्धिकता हो यो । यिनीहरू डिग्रीको भरमा, चर्चित विश्वविद्यालयको नामको छायाँमा भएका बौद्धिक हुन् । यिनको स्रोत सोझै समाज हुँदैन बरु किताब, मिडिया र रिपोर्ट हुन्छ । अर्को एउटा ठूलो भ्रम हामीकहाँ के छ भने विज्ञतालाई नै बौद्धिकता मान्ने । त्यसै भएको हुनाले हामीले अधिकांश स्थितिमा पीएचडी गरेकालाई स्वतः बौद्धिक मान्ने गरेका छौँ । नेपालको पीएचडीसम्मको थेसिस सोझै किन्न र खेताला लगाएर लेखाउन सकिन्छ भन्ने छ ।

नेपाल त्यस्तो देश हो जहाँ कक्षा ८ देखि, इञ्जिनियरिङ्ग एमफिल र एमडी (मेडिसिन) सम्मको प्रश्न पत्र ‘आउट’ हुन्छ । त्यस्तो अवस्थामा हाम्रो देशभित्रै उत्पादन भएका सबै विज्ञमा भर पर्न पनि गाह्रो छ । कतिपय बौद्धिक किताबभित्र मात्र समाज बुझ्छन् । सयवटा किताब पढेरमात्र १०१ कुरा गर्ने । एकेडेमिक मात्रै । अर्कोथरी बौद्धिक अभियानकर्ताको रूपमा देखिन्छन् तर नपढ्ने । मोटामोटी एकथरी नपढ्ने तर अभियानकर्ता हुने अर्कोथरी पढ्नेमात्रै व्यवाहारिक नहुने । बौद्धिक प्राज्ञिक र बौद्धिक दुवै हुनुपर्छ । प्राज्ञिक भन्दा शैक्षिक प्रमाणपत्र नभएर अध्ययनशीलताको चर्चा गरिएको हो । 

यो सब अवस्थामा हाम्रो बौद्धिक वर्ग अब कसरी अगाडि बढ्ने भन्ने बहस हुनु आवश्यक छ । बौद्धिक वर्ग आधुनिक समाजको विशेषता हो । समाजमा खबरदारी गर्न, कतिपय अवस्थामा दिशानिर्देश गर्न बौद्धिक वर्ग आवश्यक हुन्छ तर नेपाली समाजमा अबको बाटो नयाँ हुनु भने नितान्त आवश्यक छ। 
readerkiran@yahoo .com

iamarjunpangeni@gmail .com 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC