site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संघीयताको अभ्यास स्वीकार गर्न सबैभन्दा कठिन सरकारी कर्मचारीलाई भएजस्तो छ । संघीयताको मुखर विरोध गर्नेहरूमा पूर्व कर्मचारीको संख्या बढी देखिएको छ । अर्कातिर स्थानीय तहमा कर्मचारी खटाउन मन्त्रालय तहबाट भएको अलमल र कर्मचारीहरूको सर्त तथा हिचकिचाहट पनि संघीयताप्रति उनीहरूको असहयोगकै लक्षण हो । अहिले स्थानीय तहमा बजेट निर्माण भइसकेको छ तर कार्यान्वयनमा भने बढी नै अलमल देखिएको छ । निर्वाचित जनप्रतिनिधिले पनि आफू मन्त्रालय मातहतको स्थानीय निकायमा निर्वाचित भएको हो कि संवैधानिकरूपमा स्वायत्त भूमिका भएको स्थानीय सरकारमा निर्वाचित भएको हो भन्ने भेद गर्नसकेको देखिएन । केन्द्र सरकारको राजनीतिक र प्रशासनिक नेतृत्वलाई त यसै पनि स्थानीय स्वायत्तता घाँडो भएकै छ । यी सबैको फलस्वरूप संघीयताको जगका रूपमा रहेको स्थानीय सरकारविरुद्ध जालझेल सुरु भएको हुनुपर्छ । कर्मचारी खटाउने, जाने र नजाने सबै प्रकारका खेलहरू स्थानीय तहको अधिकार क्षेत्रमा अतिक्रमण गर्ने प्रपञ्च हुन् । महानगरपालिकाको प्रमुखलाई सरकारको सहसचिवको तहमा राखेर मर्यादाक्रम निर्धारण गर्दा नै निर्वाचित जनप्रतिनिधिको तेजोबध गर्ने दुर्नियत लुकेको स्पष्टै बुझिन्थ्यो । महानगरपालिकामा सरकारको प्रथम श्रेणी वा सोसरहका थुप्रै कर्मचारी हुन्छन् । मर्यादाक्रमको व्यवस्था जनप्रतिनिधिका लागि आवश्यकै थिएन । गर्नु नै परे पनि निर्वाचित जनप्रतिनिधिको स्थान सरकारका मुख्य सचिवभन्दा माथि राखिनुपर्थ्यो ।

नेपालका सरकारी कर्मचारीले जनताले चुनेका प्रतिनिधिलाई अधिकार सम्पन्न गराउने कामलाई पञ्चायतकै पालादेखि विफल बनाउँदै आएका थिए । पञ्चायती शासनको सुरुमा (२०२२, २०२५) मा र अन्तिमतिर २०३९ सालमा विकेन्द्रीकरणका लागि राजनीतिक तहबाट गरिएको प्रयास कर्मचारीहरूकै कारण विफल भएको थियो । त्यसबीचमा पनि पटकपटक स्थानीय पञ्चायतहरूलाई अधिकार दिने र खोस्ने काम भइरह्यो । पञ्चहरूलाई प्रशासकले निर्देश गर्ने व्यवस्था भएकाले अधिकार खोसिँदा पनि खासै विरोध हुँदैनथियो । त्यतिमात्र हैन पञ्चायत कालमा संविधानलाई कानुनले, कानुनलाई नियमले, नियमलाई परिपत्रले र परिपत्रलाई मौखिक आदेशले काट्ने चलन थियो । संविधानभन्दा कानुन बनाउन र बदल्न सजिलो हुन्छ । नियम मन्त्रिपरिषद्ले बनाउन सक्छ भने परिपत्र कुनै सचिवले निर्णय गरेर पनि जारी गर्न सक्छ । मौखिम आदेश त झन् तजबिजी हुने नै भयो । कर्मचारीका लागि सबैभन्दा सजिलो यस्तै अवस्था हुन्छ । त्यति बेला र २०४८ मा पनि स्थानीय तहका निर्वाचित संस्थाहरूको संवैधानिक हैसियत थिएन । यसैले अधिकार केन्द्रमा रहेको मानिथ्यो र स्थानीय निकायलाई केन्द्रले दिने ठानिएको थियो । दिइने विषय दाताको खटनमा हुनु स्वाभाविकै हो । तर अहिले त स्थानीय तह संघ र प्रदेशकै हैसियतका संविधानबाटै स्थापित अंग हुन् । यसैले यिनको अधिकार कसैले दिने वा खोस्ने गर्न सक्तैन ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको संविधान, २०७२ को धारा २१४ ले संविधानको अनुसूची – ८ र ९ मा उल्लेख भएका विषयमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहित रहने किटान गरेको छ । सोही धाराको उपधारा (५) मा अधिकारपत्रको प्रमाणीकरणको व्यवस्था गरेको छ । यसैगरी संविधानको धारा २१८ मा ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालन‘ शीर्षकमा लेखिएको छ – ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाबाट स्वीकृत नियमावली बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुनेछ ।‘ अर्थात् गाउँ र नगरपालिकाको अधिकारमा फरक नभएजस्तै यी दुवै स्थानीय सरकारले आफ्नो कार्यसम्पादन र सञ्चालनका लागि संंघीय सरकारले जस्तै आफैँले नियम बनाउन सक्छन् । अहिले यो गर र यो नगर भन्दै सरकारले जारी गरेको निर्देशिका स्वीकार गर्नुपर्दैन । कर्मचारीले बनाएर जारी गरेका निर्देशिका नेपालको संविधान, २०७२ को अक्षर र भावनाविरुद्ध छन् । यत्ति हो, निर्वाचित प्रतिनिधिले संविधानले दिएको अधिकार तजबिजमा प्रयोग गर्न पाउँदैनन् र कानुन, नियम बनाएर त्यसैअनुसार आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।

संविधानअनुसार स्थानीय विकास मन्त्रालय स्थानीय तहको तालुक मन्त्रालय नभएर अरू संवैधानिक निकायका लागि व्यवस्था गरिएजस्तै सम्पर्क मन्त्रालयमात्र हो । यसैले स्थानीय तहले केन्द्रीय सरकारले पठाएको कर्मचारी स्वीकार नगर्न पनि सक्छ भने आफूले नै भर्ना गरेर चलाउन पनि सक्छ । अहिले सरकारी कर्मचारीले वरीयताको प्रश्न उठाइरहेका छन् । स्थानीय तहको कार्यकारी प्रमुख निर्वाचित जनप्रतिनिधि नै हुन् । बिस्तारै उनीहरूले विषयगत कार्यालयको नेतृत्वको कार्यविभाजन गरे भने कार्यकारी अधिकृत मातहत नभएर सबै कार्यालय प्रमुखहरू आआफ्नो कार्यालयको नेतृत्व गर्ने प्रतिनिधिअन्तर्गत रहनेछन् । यसैले वरीयताको झमेला जनप्रतिनिधिको भूमिका कमजोर देखाउन गरिएको जालझेलकै अंग हो । सरकारको राजनीतिक नेतृत्व र संसद् पनि स्थानीय तहलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्नबाट रोक्ने दुर्नियतबाट प्रेरित छैन भने देशको हितमा निर्णय गर्ने उत्तम अवसर आएको छ । खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई अवकाशमा पठाउने निर्णय गर्ने हो भने अनावश्यक कर्मचारी कटौती गर्न अर्को निर्णय गरिरहनु पर्नेछैन । स्थानीय तहले स्वीकार गरेको दरबन्दीअनुसारका कर्मचारी लोकसेवा आयोगले नयाँ भर्ना गरेर पठाउन सक्छ । यति गर्न सके नेपालको सार्वजनिक प्रशासनको पनि सुधार हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC