बीबीसी । ब्राजिलमा कोभिड–१९ सँग सम्बन्धित मृत्युको संख्या पाँच लाख पार गरेको छ । यो भनेको विश्वकै दोस्रो ठूलो मृत्युको तथ्यांक हो ।
स्वास्थ्यविद्हरुले जाडो यामको सुरुवात र अति सुस्त गतिमा जारी खोप अभियानका कारण आगामी दिनहरुमा स्थिति झन् भयानक बन्दै जाने बताइरहेका छन् ।
भाइरस तीव्र रुपमा फैलिरहँदा त्यहाँका राष्ट्रपति जेर बोल्सेनेरोले भने सामाजिक दूरीलगायत सुरक्षाका उपाय अपनाउन अस्वीकार गरिरहेका छन् ।
स्वास्थ्य संस्था फिओक्रुजका अनुसार स्थिति अत्यन्तै संकटपूर्ण बनेको छ । हाल त्यहाँ १५ प्रतिशत वयस्कहरुले मात्र खोपको पूरा डोज प्राप्त गरेका छन् । त्यस्तै, ब्राजिलको संसद्ले महामारी नियन्त्रणमा सरकारको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
राष्ट्रपति बोल्सेनेरो भाइरसप्रति उनले जनाएको प्रतिक्रियाबारे लगातार आलोचित भइरहेका छन् । उनले कोरोनाविरुद्धको खोपदेखि लकडाउन, मास्क लगाउने आवश्यकतालगायत सबै सुरक्षाका उपायहरुप्रति शंका व्यक्त गर्दै आएका छन् । विपक्षीहरुले उनीमाथि राजनीतिक कारणवश खोप खरिद गर्नमा ढिलाइ गरेको र महामारीको चिन्ताजनक अवस्थालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाइरहेका छन् ।
ब्राजिलमा अहिलेको प्रकोप अमेजोन क्षेत्रमा फेला परेको नयाँ ‘गामा भेरियेन्ट’का कारण पनि समस्याजनक बनेको बताइएको छ । गत हप्ता मात्र त्यहाँ दैनिक ७० हजारभन्दा धेरै नयाँ संक्रमितहरु थपिएका थिए ।
हाल सबै प्रमुख स्टेटहरुमा ८० प्रतिशत आईसीयू प्रयोगमा रहेको बताइएको छ । यसबारे ट्विट गर्दै स्वास्थ्यमन्त्री मार्सेलोले कोभिड महामारीका कारण आफ्ना बुवा, आमा, साथीभाइ र आफन्तजनहरु गुमाएका सबै परिवारप्रति समवेदना व्यक्त गर्दै ब्राजिलमा मृतकको संख्या पाँच लाख पार गरेको जानकारी दिएका हुन् ।
शनिबार मात्र त्यहाँ खोप अभियानलाई तीव्र बनाउन माग गर्दै हजारौँ नागरिक बोल्सेनेरो सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका थिए ।