site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाँचखाललाई ‘सुनको कचौरा’ को रुपमा विकास गर्दैछौँ 
Ghorahi CementGhorahi Cement

महेश खरेल काभ्रेको पाँचखाल नगरपालिकाका मेयर हुन् । राजनीतिक पारिवारिक पृष्ठभूमि भएका मेयर त्यसक्षेत्रका उदियमान नेताका रुपमा परिचित छन् ।

अमेरिकामा अध्ययन गरेर फर्किएका खरेलले पार्टीहरुलाई गुटले बिगारेको धारणा राख्छन् ।
 

आफ्नो गुटको नेताले गरेको गल्तीमा पनि कार्यकर्ताले औँला ठड्याउन नसक्दा राजनीतिमा विसंगति मिसिएको उनको तर्क छ ।
 

Agni Group

प्रस्तुत छ, मेयर भएपछि गरेका काम, आगामी योजना, पार्टी राजनीतिलगायतका विषयमा मेयर खरेलसँग बाह्रखरीले गरेको कुराकानी :

यहाँको कार्यकाल लगभग पूरा हुने चरणमा छ । आफूले आफ्नो मूल्यांकन गर्दा कति काम गर्न सकेँ या सकिन भन्ने लाग्छ ? 

Global Ime bank

हामीले जनप्रतिनिधिको रुपमा शपथ खाएर काम गरेको लगभग ५० महिना भयो । इमान्दारितापूर्वक  भन्नुपर्छ सुरुको पहिलो वर्ष धेरै कुरा सिक्नमा नै लाग्यो ।

प्रदेश तह र स्थानीयतहबीच अधिकार, कानुन स्रोतको बाँडफाँडका कुरा थिए । तीनैतहमा समन्वय पनि भयो । दोस्रो वर्षबाट राम्रोसँग  काम गर्न थाल्यौँ ।  हामीले के विचार गर्‍यौँ भने केन्द्रमा र प्रदेशमा दल, वादको नाममा विभाजन देखिएको छ, त्यसले मुलुकलाई राम्रो गरेको छैन भनेर हामीले पाँचखालमा एकताबद्ध गर्न सफल भयौं । 

म पार्टीगत हिसाबमा अल्पमतमा थिएँ । तर त्यो कुरा कहिल्यै आउन दिएनौँ । हरेक निर्णय सर्वसम्मत गर्‍यौँ । 

कर बढी लिनेभन्दा पनि करको दायरा फराकिलो पारेर सबैलाई करको दायरमा ल्याउन लाग्यौँ । काभ्रे जिल्लामा नै सबैभन्दा कम कर लगायौँ  । 

अन्यत्रभन्दा ७०–८० प्रतिशत कर छुट गरेर किसानलाई सहज हुने नीति निर्माण गर्‍यौँ । 

त्यसबाहेक ?

त्यसपछि हामीले केन्द्रीय सरकारको नीति एक गाउँपालिका एक कालोपत्रे सडक अवधारणा अघि सार्‍यौँ । 

हामीले एक वडा कम्तिमा एक कालोपत्रे सडक भन्यौँ ।

५० महिनाको अवधिमा १२ वटै वडामा १८ वटा बाटो कालोपत्रे गरिसकेका छौं । एउटा वडाको बाँकी छ । यो वर्ष हामी त्यो पनि गर्दैछौँ । 

एउटा वडामा सीमित नभएर हरेक विद्यालयमा कालोपत्रे सडक पुर्‍याउने, प्रमुख मठ मन्दिर, स्वास्थ्यचौकी र वडा कार्यालयमा कालोपत्रे सडक पुर्‍याउने भन्ने लक्ष्य पनि छ । 

त्यसबाहेक सबैभन्दा ठूलो उपलब्धि सुनकोशी खानेपानी आयोजना एडिबी र नगर विकासँग सम्झौता गर्न सफल भयौँ । 

सम्झौतामात्रै होइन टेन्डर पनि लागेर पाइप बिच्याउने काम भइरहेको छ । 

प्रत्येक नगरबासीको घरमा एक घर एक धारा नारा दिएका थियौँ । त्यसै स्वच्छ खानेपानी एक वर्षमा पुर्‍याउछौँ । 

रोजगारी सिर्जना गर्ने दिशामा हामीले स्पेशल इकोनोमिक जोन सेज (विशेष आर्थिक क्षेत्र) सरकारले घोषणामात्र गरेको थियो । वर्षेनी बजेट आउने तर काम गर्न नसक्ने ।

त्यहाँ सुकुम्बासी थिए, वन उपभोक्ता समितिको विवाद थियो । हामी निर्वाचित भएको एक वर्षभित्रमा सबै समस्याको समाधान गर्‍यौँ । बजेट आउनु ठूलो कुरा होइन । त्यहाँ निर्माणको काम थालिएको छ । 

त्यहाँ ४७ वटा उद्योग स्थापना हुँदैछ । ४ हजार रोजगारी सिर्जना हुँदैछ । हामीले कृषिमैत्री र वातावरण मैत्री उद्योगलाई प्रोत्साहन गर्‍यौँ । तीन हजार रोजगारी भनेका थियौँ । 

ठूला लगानीमा फार्म हाउस बनिरहेको छ । जसले सय जना बढी रोजगारी सिर्जना गरिरहेको छ । सानोसानो फार्म हाउसलाई पनि प्रोत्साहन गर्‍यौँ । उहाँँहरुलाई सफ्ट लोन लिनका लागि समन्वय गरिहेका छौँ ।

पाँचखालमा तीन हजार होइन सात हजार रोजगारी सिर्जना हुन गइरहेको छ । 

हरितमहिला औद्योगिक ग्रामलाई सय रोपनी जग्गा दिइसकेका छौं । 

महिला उद्यमीहरुका लागि स्थानीय तरकारी, फलफुलहरुलाई ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच बनाउनका लागि काम गरेका छौँ । 

प्रदेश सरकारसँग समन्वय गरेर अर्गानिक मल पाँचखालमा नै बनाउनका लागि काम सुरु भइसकेको छ । यो वर्ष उत्पादन पनि सुरु हुन्छ । 

त्यहाँको पातपतिङ्गर, रातो माटो र उत्पादन भएको जैविक फोहोरलाई संकलन गरेर मल बनाउन लागिरहेका छौँ । 

योबाहेक पाँचखाल नगरपालिकामा रोजगारी, खानेपानी, कालोपत्रे सडकको लागि दुईवटा रिङरोडको ट्र्याक खोलिसकेका छौँ । एउटाको अलिक काम बाँकी छ । 

हामीले खेत जोगाएर भावी पुस्तालाई कस्तो हुन्छ भनेर देखाउनकमा लागि सञ्चय गर्छौँ ।  बाली लाग्ने खेतमा प्लटिङ, प्यानिङमापूर्ण रोक लगाएका छौँ । 

हामीले घरका लागि नक्सा पास गर्दा नै सेफ्टिट्याङ्की अनिवार्य गरेका छौँ । ढल बनाउँदैनौं । त्यो सम्भव पनि छैन । 

नेपालको विद्युत नेपालमा नै खपत गर्न सकियोस् र पेट्रोलियम पदार्थ बाहिरबाट आयात गर्न नपरोस् भनेर हामीले रकम नेपालमा नै जोगाउन नयाँ अध्यास पनि सुरु गरेका छौं ।

कोभिडको बेलामा एफएम रेडियोबाट पठनपाठन सुरु गर्यौं । हामीले नगरपालिकामा शिक्षकको भिडियो क्लिप्स बनाएर अभिभावकहरुलाई म्यासेन्जरमा पठाउने काम पनि गर्‍यौँ ।

एक विद्यालय एक बालबालिका पार्क अवधारणा ल्याएका छौँ । 

अतिविपन्न विद्यार्थीहरुलाई विभिन्न संघसंस्थासँग हातेमालो गरेर स्टेसनरी सामान, झोला वितरण गरेका छौं । 

हामी चुनाव जित्नेबितिकै काठमाडौं विश्वविद्यालयसँग एउटा सम्झौता गर्‍यौँ । पाँच सय रोपनी जग्गा पनि उहाँहरुलाई उपलब्ध गराइसकेका छौं । 

त्यस्त  राष्ट्रपति र प्रधानमन्त्रीले विश्वविद्यालयको सिटी नै स्थापना गर्ने आग्रह गरेपछि वन क्षेत्रको १२ हजार रोपनी मदन भण्डारी स्टेट युनिभर्सिटीका लागि दियौँ । यो पटकको बजेटमा एक अर्ब रुपैँया आएको छ । 

युवा विदेशमा जान नपरोस् भन्ने मेरो उद्देश्य रहेको छ । म पनि १४ वर्ष विदेश बसेको परिवारसँग छुट्टिएर बस्नुको पीडा महसुस गरेको छु ।

पाँचखाललाई जबको हबकोरुपमा विकास गर्दैछौँ ।

पाँचखाललाई एउटा सुनको कचौराको रुपमा भविष्य भएको काठमाडौंको वैकल्पिक सहरको रुपमा हामीले पी ट्वान्टी (पाँचखाल इन ट्वान्टी इयर्स) को अवधारण ल्याएका छौँ । त्यो मेरो भिजन पनि हो ।

कति वर्षमा पाँचखाल सुनको कचौरा हुन्छ ?

पाँचाखाल पहिलेदेखि सुन नै हो । त्यो हामीले चिनेका थिएनौं । कृषकहरुले जुन खेती गर्दै आउनुभएको थियो । त्यस्तो खेतीले कुनै पनि कृषकले प्रगति गर्न सक्नुभएन । धेरै किसानका छोराछोरी विदेश पलायन हुनुभयो । 

त्यो स्थितिको अन्त्य गर्नका लागि पाँचखालको माटोको गुणस्तर सुधार गर्नलाई एकलाख किलो चुन वितरण गरिसकेका छौँ । 

हामीले आईपिएम पाठशाला स्थापना गरेका छौँ । ६ सय कृषकलाई लव ग्रीन नेपाल र युसएआइडीबाट तालिम दिलाएका छाैँ ।

तालिम लिएकाले अरुलाई सिकाइरहनुभएको छ । गाउँमा नै जैविक मल र विषादीको मल बनाउने तालिम पनि दिइरहेका छौं ।

प्रत्येक श्रीमान्  र श्रीमतीले काम गरेर आफ्नो तलब ३० हजारको दरले छुट्ट्याएर त्यससहित एक परिवारले १० लाख कमाउनैपर्छ । 

वार्षिक रुपमा १० लाख कमाउन लागि सफ्ट लोन लिन एभरेष्ट, कृषि विकास र मुक्तिनाथ विकास बैंकसँग सहकार्य गरिरहेका छौँ । 

क्रेडिट कार्ड दिन पनि सहकार्य गरिरहेका छौँ । कृषकलाई लोन लिन सहयोग गर्ने डेस्क स्थापना पनि गरिसकेका छौं ।

लोन लिएर उक्त आम्दानी गर्नका लागि टर्की पालन, बोयर बोका, लोकल कुखुराका अण्डा, कालिज, गाई, भैंसी, बंगुर पालन गरिरहेका छौँ । 

सुन हामीसँग थियो । सुनको कचौरा पहिचान गर्दैछौँ । पाँचवर्षभित्र पाँचखालमा धेरै परिवर्तन देखिन्छ । चाँडै नै पाँचखाललाई काठमाडौंको वैकल्पिक सहरका रुपमा स्थापित गर्दैछौँ ।

लकडाउनका कारण किसानका तरकारी बारीमा कुहिए । ती किसानहरुलाई के सहयोग गर्नुभयो । उत्पादन गरेका सामग्रीको व्यवस्थापन कसरी गर्नुभयो त ?

अघिल्लो लकडाउन हुँदा किसान मारमा पर्नुहुन्छ भनेर हामीले अरु नगरपालिकाले कृषकको दुध भर्न बन्द गरे हामीले कहिल्यै बन्द गरेनौँ ।

हामीले भीडभाड नहोस् भनेर ६ बजेभन्दा अघि दुध भर्ने र सातबजे अघि नै बिक्री गर्ने व्यवस्था मिलायौँ । दुधको डेरी र संकलन गर्ने ठाउँमा साबुन पानी, मास्क, सेनिटाइजरलगायत सामग्रीको वितरण गर्‍यौँ । लकडाउन र निषेधाज्ञामा दुध खेर गएन । यो कुरामा हामी खुसी छौँ । 

लकडाउनका कारण पार्टी प्यालेस, होटेल, होटेल बन्द भएकाले तरकारीले मूल्य पाएनन् । 

तर, हामीले पहुँच पुर्‍याउन उपत्यकाबाहेक तनहुँ, दमौली, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लासँग समन्वय गरेर तरकारीबाट कोरोना फैलिँदैन बिना अवरोध तरकारी पठाउने व्यवस्था मिलाइदिन आग्रह गरेर त्यहाँसम्म पुर्‍यायौँ । खेर जान दिएनौं । 

यो वर्ष तरकारीको राम्रै मूल्य पनि पाइरहनुभएको छ । किसानहरु सन्तुष्ट पनि हुनुहुन्छ ।  कतै गाडी रोकिए राति २ बजे भए पनि मआफैँ गएर छुटाएको पनि छु ।

कृषका लागि मेरो हटलाईन जतिबेला पनि खुला हुन्छ । 

कोरोनाको जोखिमबाट जनता बचाउन के गर्नुभयो ?

कोभिड–१९ मा जब भारतीय सीमाक्षेत्रबाट बिना चेकजाँच नेपालीहरु छिरिरहेको, केन्द्रीय सरकार र प्रदेशको लापरबाही हामीले देख्यौं । पाँचखालमा ढिलो चाँडो कोरोनाको कहर आउँछ भन्ने मूल्यांकन गरेर तुरुन्त आकस्मिक बैठक डाकेर २५ वटा अक्सिजनसहितको आइसोलेसन बेड स्थापना गर्‍यौँ । हामीले घरघरमा बिरामी भएको ठाउँमा अक्सिजन सिलिन्डर पुर्‍यायौैँ ।

निःशुल्क अक्सिजन, ल्याब, रगत परीक्षण, डिजिटल एक्सरे गरेर कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गर्‍यौँ । 

हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गर्‍यौँ ।

जनप्रतिनिधिको गाडीलाई एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दियौँ । मेरो निजी गाडी पनि स्वास्थ्यकर्मी चढ्न प्रयोग भएको छ । हामीले अतिविपन्न नागरिकको उपचार गर्न १० हजार दिने निर्णय गर्‍यौँ । प्रत्येक वडा, टोलटोलमा स्वाब परीक्षण गर्न गयौँ । काभ्रे जिल्लामा सबैभन्दा बढी हामीले पीसीआर परीक्षण गरायौँ र टोलटोलको अवस्था मुल्यांकन गरेर बेलैमा नगर सिल गर्यौं । समयमा नै लकडाउन कडा गर्‍यौँ त्यसको परिणाम राम्रो देखियो ।

५० प्रतिशतभन्दा बढी रहेको पोजेटिभ दर अहिले निकै तल झर्‍यो । 

हामीले घरघरमा संक्रमितहरुलाई स्वास्थ्य शाखाबाट फोन गर्ने, स्वास्थ्य अबस्थाबारे बुझ्ने कामलाई निरन्तरता दियौँ ।

गाह्रो भएको भए टोलटोलमा डाक्टरको घुम्ती सेवा, घरघरमा गएर ज्वरो नाप्ने बढी भएकाले आफैँले अस्पताल ल्यायौँ ।

रातदिन नभनी जनप्रतिनिधि र स्वाथ्यकर्मी मिलेर धेरैको जीवन रक्षा गर्न सक्यौं । 

नागरिकलाई कोरोनाको बेला राज्य छ है भन्ने आभास दिलायौं । प्रत्येक दिनको अपडेट सामाजिक सञ्जाल, वेबसाइटमा दियौँ । म आफैं लाइभमा पनि बसेर दिएँ । नागरिकको जीवन रक्षाका लागि भूमिका खेल्न पायौं । 

चुनौती के रहेछ स्थानीय तहमा ?

दृढ इच्छा शक्ति नै सबैभन्दा ठूलो कुरा हो । आफ्नो स्वार्थबाटमाथि उठ्नुपर्छ । पदमा पुगेर यसलाई जागिर पेशाको रुपमा गरेको हाम्रै अघि ज्वलन्त रुपमा देखिन्छ । केही वर्षमा नै चप्पलबाट पजेरोसम्म हैसियत पुग्यो, गाउँको छाप्रोबाट काठमाडौंमा ठूलाठूला महल भए भन्ने कुरा देखेर जनतामा वितृष्णा पनि छायो । 

त्यसैले राजनीतिलाई पेशा होइन सेवाको भावना लिएर र दृढ इच्छाशक्ति भयो भने काम गर्न सकिने रहेछ । यो पार्टी त्यो पार्टीभन्दा पनि दलबादबाट माथि उठेर सबैलाई समेटेर ज–जसले काम गर्न सक्नुभएको छ । उहाँहरु सफल हुनुभएको छ । 

हामीकहाँ कर्मचारी र जनप्रनिधिबीच आजको दिनसम्म विवाद नै छैन । मेयर र उपमेयरबीच विवाद नै छैन । अधिकारको बाँडफाँडमा उपमेयरलाई मात्रै होइन वडा अध्यक्षलाई पनि कार्यवाहक मेयरको जिम्मेवारी दिएर देशभरी नै ज्वलन्त नेतृत्वको अभ्यास सुरु गरेका छौँ ।

किनभने उहाँहरु पनि भोलि मेयर भएर चलाउनका  लागि सक्षम हुनुप¥यो भनेर नौलो अभ्यास गरिरहेका छौँ ।

विशेषगरी स्वार्थभन्दा माथि उठ्नुपर्‍यो । पानीको मूल सफा त धारमा पानी सफा आउँछ । नेतृत्व गर्ने व्यक्तिको मनसाय सही हुनुपर्‍यो । जनताप्रति उत्तरदायी हुनुपर्‍यो ।

त्यसका लागि सबैले चेक पनि गर्नुपर्‍यो । स्थानीय तहमा काम गर्न हामीलाई असहज भएन ।

तपाईँ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँ एमाले वा अर्को पार्टीको बाहुल्यता होला । संघमा, प्रदेशमा अर्को पार्टीको बाहुल्यता हुँदा चुनौती महसुस हुँदैन ?

चुनौती महसुस त भयो नै । तर, संघ र प्रदेशको दुवै माननीयसँग पाँचखाल नगरपालिकालाई अघि बढाउने विषयमा सौहार्दरुपमा नै छलफल भए ।

हामी नै पहिलो पालिका हो काभ्रेमा संघबाट निर्वाचित गोकुल बाँस्कोटा र प्रदेशबाट निर्वाचित लक्ष्मण लम्साललाई नगरपालिकामा सम्मान गर्ने ।

कार्यक्रममा बोलाउने, छलफल गर्ने, विकास निर्माणका कुरामा सल्लाह गर्नेलगायतका काम हुन्छ ।

त्यसैले उहाँहरुले पनि अलि बढी पाँचखाललाई माया गरिदिनुभयो । स्थानीय निकायमा विकास गर्न सकिने रोल मोडल विकास गर्‍यौँ । 

अझै त्यहीँ रहेर जनताको सेवा गर्न तयार हुनुुहुन्छ कि त्यहाँँ भन्दामाथि उठेर आफ्नो दायरा फराकिलो बनाउन चाहनुहुन्छ ?

मलाई कृष्णप्रसाद भट्टराई किसुनजीले साह्रै माया गर्नुहुन्थ्यो । उहाँले मलाई सधैं भन्नुभयो, बाबु राजनीति जहिले पनि सेवाको भावनाबाट गर । 

राजनीतिलाई पेशाको रुपमा कहिल्यै नगुर्नू भन्नुहुन्थ्यो । मेरो बुबाले पनि सधैँ निष्ठाको राजनीति गर्नुभयो । 

बुबाले पनि ठूलो मान्छे बन्ने प्रयास कहिल्यै नगर्नु असल मान्छे बन्नु भन्नुभयो । 

उहाँलाई बीपी कोइरालाले पनि त्यही भन्नुहुन्थ्यो रे । मैले जनताको सेवा गर्नमात्रै जानेँ । म चौध वर्ष अमेरिका बसेर सुख सुविधा त्यागेर, सुख छोडेर दुःखभित्र सुख खोज्न आएको मान्छे । 

म कमाउन होइन, सेवा गर्नका लागि आएको हुँ । 

मेरो उद्देश्य कुनै न कुनै भूमिकामा बसेर नेपाली नागरिक जनताको सेवा गर्ने, बाहिर आफूले सिकेर आएका कुरालाई व्यवहारमा लागु गर्ने हो । 

पार्टी र जनताले पत्याएको खण्डमा स्थानीय निकाय होस्, प्रदेश संघमा होस् आफ्नो बुद्धि विवेकले भ्याएसम्म विकास र सेवा गर्न तयार छु ।

यो खालको पार्टी पोलिटिक्समा त्यो सम्भव हुन्छ ?

राजनीतिले युवापुस्ता आम नागरिकहरुलाई डिप्रेशन नै भइसकेको छ । तर, किनारामा बसेर मात्रै राजनीति गर्ने मान्छे खराब छन्, घृणित छ, फोहोरी खेल हो भनेर दोषारोपण गर्दा त यो झन् घृणित भएर जाने भयो । त्यसैले यसमा पढेका युवाहरु आउनुपर्छ । काम र व्यवसाय गर्न सक्षम युवाहरु जोडिनुपर्छ ।

विस्तारै हाम्रो पुस्ताबाट सुरु हँुदैछ । तमाम युवापुस्तारुलाई अघि बढाउन पनि राजनीतिमा मेरो उपस्थिति हो । जब युवाहरु किनारामा बसेर दोषारोपण भन्दा पनि त्यहीँभित्र छिरेर संघर्ष त्यस्ता तत्वहरुलाई हराएर सेवा गर्ने भावना भएका व्यक्तिहरुलाई राजनीतिमा स्थापित हुन जरुरी छ । केही दशकमा पूरा हुन्छ जस्तो पनि लाग्छ । 

राष्ट्रिय राजनीतिमा देखिएको तरंगले समस्या सिर्जना गर्दैन ?

धेरै गर्छ । अहिले के भएको छ भने पार्टी पार्टीभित्र पनि आफ्नो गुटले जे गरे पनि धुपपत्ति बालेर पुजा गर्ने, आफ्ना नेताले भ्रष्टाचार गरे पनि ढाकछोप गर्ने, आफ्ना नेताले जस्तोसुकै काम गरे पनि बढाइचढाई कुरा गर्ने प्रवृति छ त्यसको अन्त्य हुनुपर्छ ।

जबसम्म आफ्ना मान्छेलाई चाकडी गरेर सरुवा बढुवा गर्न नेताकहाँ गएर झुक्ने चलन, कर्मचारीतन्त्र, आम नागरिकले जबसम्म नेतालाई मालिक बनाउन छाड्नुहुन्न त्यसबेलासम्म राजनीति सुधारिँदैन । 

हामीले दासत्वबाट मुक्ति गर्नका लागि राणाशासन, पञ्चायत शासनविरुद्ध संघर्ष गर्न तयार भयौँ । तर त्यही ल्याएर नेतालाई छोटे राजा बनाइदिएका छौँ । हामी शासक होइन, राजनीतिक पदमा भएका व्यक्ति सेवक हौँ ।

सेवकलाई सेवककै हैसियतमा राख्नुपर्‍यो । शासक बनाइदिनुभएन । त्यो गरिदिए खराब राजनीतिक संस्कार अन्त्य भएर जानेछ ।

अब, पार्टीभित्र युवाहरुले हस्तक्षेप गर्ने बेला भएन ? पार्टी नै नसङ्लिए कसरी राष्ट्रिय राजनीति राम्रो हुन्छ ?

नेपाली कांग्रेस सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी हो । विभिन्न कालखण्डमा अग्रज व्यक्तित्वहरुले नेतृत्व गर्नुभयो । निष्ठा इमान्दारिता र त्यागको राजनीति नेपालमा स्थापित गरेर जानुभएको छ । 

मूल्यमान्यताको राजनीति किसुनजी, गणेशमानजी, बीपी, सुवर्ण शमशेर, सुशील कोइरालाले गर्नुभयो । बाँकी रहेका नेतृत्वको इतिहासले मुल्यांकन गर्छ । त्यसबाट हामीले धेरै कुरा देख्यौं र सिक्यौं । हाम्रो पार्टीभित्र पनि यो अधिवेशनबाट युवाहरुद्वारा संघर्ष हुन्छ । पुरानो नेतृत्व यसपटक विस्थापित हुनेछन् भन्ने विश्वास लिएको छु ।

तपाईँ आफू नेतृत्वको लागि तयार हुनुहुन्छ ?

पक्कै पनि । म नेतृत्व गर्नकै लागि राजनीतिमा आएको हुँ । अहिले स्थानीय निकाय, क्षेत्रीय स्तरमा गरिरहेको छु । एकदिन पार्टीको केन्द्रीय राजनीतिमा गएर आफूलाई स्थापित गर्ने र नेपालको सेवा गर्ने मेरो लक्ष्य छ । मेरो अभियान कहाँसम्म सफल हुन्छ । भाग्य, मेहनत र स्वाथ्यले साथ दिएसम्म केन्द्रीय राजनीतिमा स्थापित हुन्छु । 

कांग्रेसलाई लोकतान्त्रिक पद्धतिबाट डोर्‍याएर नेपाललाई एकाइसौं शताब्दीको नेपाल, रोजगारीको समस्या नभएको नेपाल, अवसर नै अवसरको नेपालका बनाउनका लागि एउटा भिजनसहित आएको छु ।

यसपटक केन्द्रीय सदस्यमा उमेदवारी दिुनुहुन्छ ?

पार्टीले आवश्यकता ठानेको खण्डमा साथीभाइहरुले त्यो कुरामा प्रोत्साहित गनुहुन्छ भने म केन्द्रीय राजनीतिमा जान तयार छु ।

कांग्रेसमा गुटको राजनीति बढी छ । तपाईंहरुलाई पनि त्यसको प्रभाव त अवश्य पर्छ होला नि ?

नेपाली कांग्रेस र सबै पार्टीमा गुट उपगुट देखियो । कांग्रेसमा पहिले किसुनजी र गिरिजाबाबुको एक किसिमको लाइन देख्यौं । संघर्ष पनि देख्यौँ । दुवैतिर शिखर पुरुष हुनुहुन्थ्यो । त्यसपछि गिरिजाबाबु र शेरबहादुर देउवाबीच पर्‍यो । 

पछि सुशील दा’ र शेरबहादुर देउवाबीच पर्‍यो । अहिले पछिल्लो अवस्थामा कृष्णप्रसाद सिटौला दाइले पनि भिन्नै गुट खोल्नुभयो । त्यसपछि मान्छेहरुलाई गुटको राजनीति फाप्ने रहेछ, सानोसानो समूह बनाएर भए पनि हामी अघि बढ्दा फाइदा हुनेरहेछ भन्ने गलत नजिर स्थापना भएको छ । मभन्दा अग्रज दोस्रो पुस्ताका नेता हुनुहुन्छ उहाँहरुले यो कुरा बुझेर गुट भन्दा पनि महाधिवेशनमा एक्लाएक्लै जानुपर्छ, आफूलाई प्रमाणित गर्नुपर्छ । 

गुटको वैशाखी टेकेर स्थापित हुने होइन कि आफैँले काम गरेर कति कार्यकर्ताको मन रिझाउन सकेको रहेछु, कति असल काम गर्न सकेको रहेछु भनेर हेर्ने हिम्मत चाहिँ गर्नुपर्छ । 

सभापति महामन्त्रीमा एउटा गुट होला त्यो आफ्नो ठाउँमा छ । तर त्यसबाहेक सबै बिनागुट एक्लाएक्लै लड्ने हिम्मत गर्नुपर्छ । परीक्षण गर्नुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC