आज १६ औँ ‘ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध’को विश्व चेतना दिवस । यस वर्ष संयुक्त राष्ट्रसंघले ‘एक्सेस टु जस्टिस’ अर्थात् ज्येष्ठ नागरिकलाई ‘न्यायमा पहुँच’ भन्ने नारा तय गरेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ ।
त्यसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामजिक सुरक्षाको हक हुनेछ भनिएको छ । यसैगरी, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने लेखिएको छ । यसर्थ, आजको दिनमा कुनैपनि हालतमा ज्येष्ठ नागरिकलाई दुव्र्यवहार नगर्ने र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिनुपर्छ ।
आज ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धमा आवाज उठाउँदै दुव्र्यवहारलाई न्यूनीकरण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर यो दिवस मनाइँदैछ । ज्येष्ठ नागरिक सबैको घरमा देवतातुल्य भएर रहनु भएको छ । प्रत्येक घरका लागि ज्येष्ठ नागरिक गहना हुन् । ती हामीसँग छन् र हाम्रो परिवार पूर्ण छ, हामी गौरवान्वित छौँ । यस्ता ज्येष्ठ नागरिकउपर दुव्र्यवहार गर्नुजस्तो असामाजिक काम अरु हुन सक्तैन ।
हामी सबैको मुख्य ध्येय ज्येष्ठ नागरिकको कसरी सम्मान गर्न सकिन्छ र उनीहरूप्रति हुने विभिन्न प्रकारका दुव्र्यवहारलाई कसरी न्यून गर्न सकिन्छ भन्ने हुनुपर्छ । विश्वका प्रायः सबै मुलुकमा जस्तै हाम्रो घरपरिवार, छरछिमेक र समाजमा पनि ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुनेगरेको पाइन्छ । आपसी विश्वास र निर्भरताको सीमाभित्र रहेर गरिने कुनै पनि कामको सिलसिलामा वा ज्येष्ठ नागरिकले प्राप्त गर्नुपर्ने सम्मानित व्यवहारको अभावलाई नै ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारका रुपमा बुझिन्छ । यस्तो दुव्र्यवहारले ज्येष्ठ नागरिकको शारीरिक, आर्थिक र मानसिकरूपमा क्षति पुग्ने हुन्छ । यस्तो दुव्र्यवहारलाई सभ्य समाजमाथिको कलंकका रुपमा बुझिन्छ ।
संसारमा ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको छ । उनीहरुको जनसंख्या वृद्धि भएकै गतिमा उनीहरूमाथि दुव्र्यवहारमा पनि वृद्धि आएको पाइन्छ । यो हामी सबैको चिन्ताको विषय हो । हाम्रो देशको सन्दर्भमा घर, परिवार, समाजदेखि सार्वजनिक सेवाप्रदायक निकायहरूसमेतबाट ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार भइरहेको पाइन्छ । खासगरी, घर, परिवारबाट हुने दुव्र्यवहार पीडित पक्षले आफ्नो र आफ्नै परिवारको समाजमा बेइज्जत हुने डरका कारणले त्यस्तो घटना बाहिर आउन मान्दैनन् । फलस्वरुप, भूसको आगो सरह नेपालमा भित्रभित्रै ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारको आगो दन्किइरहेको अनुभूति हुन्छ ।
हाम्रोजस्तो अल्पविकसित मुलुकमा विभिन्न सामाजिक समारोहमा ज्येष्ठ नागरिकले खाएको खाना र लगाएको पोसाकमाथि समेत अनावश्यक टिप्पणी गरी दुव्र्यवहार गर्ने गरिन्छ । घर परिवार, नातेदार र समाजसहित गरिएको यात्रामा पनि ज्येष्ठ नागरिकलाई दिने सिट, सामूहिक खानपिनलगायतमा हेयको दृष्टिकोण राख्ने गरिन्छ । यथार्थमा हामी सबै एकदिन ज्येष्ठ नागरिकमा रुपान्तरित हुन्छौँ भन्ने हेक्का राखेमा कसैले पनि ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गर्ने परिस्थिति आउने थिएन । यस्को निमित्त घर परिवार र समाजमा चेतना विस्तार हुनु जरुरी हुन्छ । जे रोप्यो त्यही उम्रिन्छ भने झैँ आज हामीले ज्येष्ठ नागरिकलाई दुव्र्यवहार गर्यौं भने भोलि हामी ज्येष्ठ नागरिक हुँदा पनि सोहि परिस्थिति भोग्न बाध्य हुनैछौं ।
ज्येष्ठ नागरिक सार्वजनिक सेवा प्रदायक निकायबाट सेवा हासिल गर्दा पनि अनैकौं दुव्र्यवहार सहन बाध्य छन् । तर यस्ता दुव्र्यवहारलाई सार्वजनिक गर्दा आफ्नै इज्जत र प्रतिष्ठामा आँच आउने कारणले ती चुप लाग्न बाध्य भएका छन् । विशेषगरी, सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकमाथि दुव्र्यवहारको दुष्प्रयास हुने गर्छ । उनीहरुका लागि छुट्याइएको सीटमा अन्य यात्रु बस्ने र भाडामा ५० प्रतिशत छुट दिने विषयमा किचमिच हुने गर्छ । यसैगरी, मासिक ज्येष्ठ नागरिक भत्ता बुभ्mन जाँदा पनि केही मानिसले होच्याउने गर्छन् । धारा, बत्ती, टेलिफोनको महसुल बुझाउन जाँदा पनि ज्येष्ठ नागरिकलाई हेप्ने गरेको पाइन्छ । पसलमा सामान किन्दा पनि ज्येष्ठ नागरिकको कुरा सुनेको नसुनेजस्तो गरेर तिनको उपेक्षा गरिन्छ । यसरी पलपलमा ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गरी उनीहरुको चित्त छियाछिया पार्न समाजका नागरिक उद्यत रहेको पाइन्छ । यसमा तत्कालै सुधार हुन जरुरी छ ।
जुनसुकै स्थानमा पनि ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन लामबाट हट्नु पर्दा मानिसहरु चिढिने गर्छन् । चाडपर्व, धार्मिक स्थल, मेला लागेको स्थानमा पनि हुलभिड गरेर ज्येष्ठ नागरिकलाई हेर्ने वा सुन्ने मौका दिइँदैन । घर परिवारमा पनि ज्येष्ठ नागरिकले केही सबाल गरेमा गाईवस्तु बूढो भए भिर खोज्छन्, मानिस बुढाबुढी भए निउँ खोज्छन् भनेको ठीक रहेछ भनी व्यंग्य गरिन्छ ।
यस अवस्थामा घरपरिवारको दुव्र्यवहार सहन बाध्य ज्येष्ठ नागरिक चुपचाप रहने, एक्लै टोलाएर बस्ने, तप तप आँसु झार्ने र चाडो मृत्युको कामना गर्ने गरेको पाइन्छ । छिमेकी र समाजबाट दुव्र्यवहार भएमा घरबाट बाहिर ननिस्किने, कुनै पनि सामाजिक कामका सहभागी नहुने, कसैको पनि वास्ता नगर्ने एकलकाटे हुने मनोसामाजिक वेत्ताले बताउने गरेका छन् । यसर्थ, कसैले पनि ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगरौँ ।
सम्पत्तिको निहुँमा कतिपय ज्येष्ठ नागरिकले आफ्नै घर परिवारका सदस्यबाट दुव्र्यवहार सहनु परेको हुन्छ । यसर्थ, ज्येष्ठ नागरिकको सम्पत्ति आफूखुसी गर्न दिनुपर्छ । ती बाँचुन्जेल सम्पत्ति हस्तान्तरण नहुने गरी इच्छापत्रमात्रै जारी हुने कानुनी व्यवस्था गर्नुपर्छ । अचेल घरपरिवारमा ज्येष्ठ नागरिक बोझ मानिइन थालेका छन् । केही स्थानमा पुरुष ज्येष्ठ नागरिकलाई यौनसम्बन्धी झुठ्ठा आरोप लगाउने र महिला ज्येष्ठ नागरिकलाई बोक्सीको आक्षेप लगाएर घरबाट बाहिर निकाल्नेसम्मका निकृष्ट हर्कत भएको पाइन्छ । यस्ता सन्ततीलाई धिकार्नुको विकल्प ज्येष्ठ नागरिकसँग केही हुँदैन ।
विश्वमा ज्येष्ठ नागरिकमाथि भएका विभिन्न घटना र तथ्यलाई दृष्टिगत गरी ‘इन्टरनेसनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर एब्युज’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २००६ देखि प्रत्येक वर्षको जुन १५ तारिखलाई “ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस” को रूपमा मनाउने कार्र्य आरम्भ गरेको हो । तत् पश्चात यस संस्थाले ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहारकोे विषयमा खोज र अनुसन्धान गर्ने कार्य गर्न थाल्यो । यस संस्थाले दुव्र्यवहारविरुद्ध प्रचारप्रसार गर्ने क्रममा संयुक्त राष्ट्रसंघलाई समेत घच्घच्याउन पुग्यो । परिणामस्वरुप, संयुक्त राष्ट्र संघले पनि सन् २०११ को निर्णय अनुसार २०१२ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालेको हो । तत्पश्चात् संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूले यो दिवस विश्वभर मनाउने प्रचलने छ । सन् २०१२ देखि नेपाल सरकारले पनि यो दिवस मनाइआएको छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध दिवस मनाउनु स्वयंमा प्रशंसनीय कार्य हो । तर, दिवसले मात्रै ज्येष्ठ नागरिकलाई न्याय दिन सक्तैन । यसर्थ, सानो सानो दुव्र्यवहारको घटनामा पनि दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ । नेपाल प्रहरीमा ज्येष्ठ नागरिकविरुद्धको दुव्र्यवहार रोक्न विशेष सेल खडा गर्नुपर्छ ।
ज्येष्ठ नागरिकले मर्का परेका बखत तत्काल सहायता माग गर्नसक्ने गरी हेल्पलाइन खडा गर्नुपर्छ । स्कुल र कलेजको पाठ्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने पाठ समावेश गर्नुपर्छ । जनसाधारणलाई नैतिक शिक्षा दिनुपर्छ । सामाजिक कार्यमा भैरहेको फजुल खर्च रोकेर त्यस्तो खर्च ज्येष्ठ नागरिकको हितमा खर्च गर्ने अभियान संचालन हुनुपर्छ ।
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्छ । सरकारले मासिक भत्ता दिँदा मजदुरको लागि तोकिएको न्यूनतम मासिक पारिश्रमिक भन्दा कम नहुने व्यवस्था गर्नुपर्छ । कुनै ज्येष्ठ नागरिक आप्mनै खुटृामा उभिन सक्ने भए बीज पुँजी दिएर प्राइम लोकेसनमा व्यवसाय गर्न दिनुपर्छ । यस्ता रचनात्मक सोचलाई कार्यान्व गर्न सकिएमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारको न्यूनीकरण गर्न सकिनेछ ।
कार्यकारी सदस्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ