site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
सरकारले अझै पूर्णता पाएको छैन । नेकपा (माओवादी केन्द्र) का तर्फबाट आइतबार केही मन्त्री थपिए पनि सत्ताको प्रमुख साझेदार नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा पठाउने व्यक्तिको निर्णय गर्न सकेको छैन । नेपाल विद्यार्थी संघको महाधिवेशनलाई अनिर्णयको कमजोरी लुकाउने बहाना बनाइएको छ । तर, मुलुकलाई लामो समयसम्म कांग्रेसको निर्णयहीनताको बन्दी बनाइराख्न मिल्दैनथियो । यसैले होला प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई नपर्खीकन राजकाज अगाडि बढाउन थालेका छन् र पहिलो चरणमै भारत र चीनमा उपप्रधानमन्त्री स्तरका विशेषदूत पठाएर दुवै देशसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको सन्देश दिन खोजेका देखिएको छ । सत्ताबाट बाहिरिएकाहरूले सरकार परिवर्तन 'नेपाललाई अस्थिर बनाउने' भारतको 'षड्यन्त्र' अन्तर्गत भएको र सत्ताका प्रमुख साझेदार माओवादी केन्द्र र कांग्रेस त्यसको 'गोटी' बनेको आरोप लगाउँदै गरेका बेला दुवै देशसँग समान र सन्तुलित सम्बन्ध राख्ने सरकारको नीति र प्राथमिकता भएको देखाएर आरोपको उत्तर दिन पनि विशेषदूत पठाउने निर्णय लिइएको हुनुपर्छ ।
 
परराष्ट्र मन्त्रीसमेत नियुक्त नगरिएको र दुवै देशमा राजदूत पनि नभएका अवस्थामा यसरी खटाइएका विशेषदूतले कति सार्थक संवाद गर्न सक्लान् र त्यसलाई सम्बन्धित देशका कूटनयिकले कसरी हेर्लान् त्यो एउटा पक्ष हो । तर, यस प्रकारको उच्चस्तरको कूटनीतिक भ्रमणको उद्देश्य खुद्रामसिना कुराको नाटीकुटी नभएर सरकारको सद्भाव र विश्वासको सन्देश प्रवाह गर्नु नै हो । साथै, दूतहरूको विश्वसनीयता र क्षमतामा पनि भ्रमणको सफलता निर्भर हुन्छ । परन्तु, यी सबै प्राविधिक पक्षभन्दा बढी महत्त्वपूर्ण अनुष्ठानको नियत हुन्छ । अहिले सरकारले आफूमाथि लागेका आरोपलाई मत्थर बनाउनमात्र उच्चस्तरीय विशेषदूत पठाएको हो कि यथार्थमै निकट छिमेकीहरूसँग विश्वास र सद्भावको सम्बन्ध कायम गर्न सरकारले प्राथमिकता दिएको हो भन्ने विषय नै यस प्रकरणमा निर्णायक बन्नपुग्छ । छिमेकीसँग विश्वास र सद्भाव कायम राख्न देशले स्पष्ट नीति अपनाउन र उनीहरूलाई आफ्नो स्थिति स्पष्ट पार्न सक्नुपर्छ । कुरा एकातिर र व्यवहार अर्कातिर हुन थाल्यो भने छिमेकीले पत्याउन छाड्छन् । यस्तै, अनर्गल आरोपप्रत्यारोपले पनि छिमेकीका मनमा सन्देह उत्पन्न हुनसक्छ । अगिल्लो सरकारले भारतबाट राजदूत फिर्ता बोलाउनुको कूटनीतिक सन्देश कति नराम्रो हुन्छ भन्ने बारेमा विचारै गरेन । यस्तै चीनसँग गरिएका विकास सहयोग सम्झौता पार्टी वा व्यक्ती विशेषका लागि चीनले दिएको सौगातका अर्थमा प्रचारप्रसार गरियो । यस्तो उर्बौलो अभ्यासले सद्भाव आर्जन गर्न सकिँदैन । नयाँ सरकार यस्तो कमजोरीबाट जोगिनसक्नुपर्छ ।
 
विशेषदूतका रूपमा खटिएका उपप्रधानमन्त्री द्वय सरकारमा दोस्रो र तेस्रो वरीयतामा पर्छन् । यसभन्दा उच्चस्तरीय दूत पठाउन सकिँदैन । तर, देशभित्र उनीहरूको भ्रमण सुहाउँदो छलफल र तयारी भने गरिएन । देशभित्र जति नै विवाद भए पनि विदेशसँग राखिने सम्बन्धका विषयमा एकमत हुनु आवश्यक र उचित हुन्छ । बेलाबखत नेपालको समग्र परराष्ट्र नीति नै नभएजस्तो देखिने गरेको छ । भारत र चीनका हकमा त झन् सुविधाअनुसार यता कि उता ढल्किने गरेको तर राष्ट्रिय हित र कूटनीतिक मर्यादाअनुरूपको अभ्यास गर्न नसकेको उदाहरण धेरै देखिइसकेको छ । प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तले भेटेर भुटानी र तिब्बती शरणार्थीका सम्बन्धमा छलफल गरेको समाचार छ । तिब्बती शरणार्थीको मामिला चीनको विशेष चासोको विषय रहिआएको छ । नेपालले चीनलाई तिब्बती शरणार्थीका विषयमा स्पष्टसँग आफ्नो पक्ष राख्न सकेको देखिँदैन । नेपालले तिब्बतमा अशान्ति र अराजकता बढाउने कुनै पनि कार्य आफ्नो भूमिबाट गर्न वा गराउन दिनसक्तैन । तर, तिब्बतबाट नेपाल छिरेका शरणार्थीलाई पक्रेर फिर्ता पठाउन पनि सक्तैन । अन्तर्राष्ट्रिय अनुबन्धका कारण नेपालले मानवीय कानुनहरूको पालना गर्नैपर्छ । यसैगरी भारतविरुद्ध पनि नेपालले आफ्नो सरहदभित्र अवाञ्छित गतिविधि हुन दिनहुँदैन । तर, स्वदेश फर्कन चाहने भुटानी शरणार्थीलाई भुटान जान दिनुपर्ने भारतको कर्तव्य सम्झाउन पनि हिचकिचाउनु हुँदैन । यी त दुई सामान्य उदाहरणमात्रै हुन् । दुवै छिमेकीको अाअाफ्नै राष्ट्रिय स्वार्थ हुनु अस्वाभाविक होइन । तर, नेपालले स्पष्टसँग आफ्ना सीमा र चाहना स्पष्ट पार्न सके दुवै देशको सद्भाव हासिल हुनसक्छ । यसका लागि एउटा छिमेकीविरुद्ध अर्कालाई प्रयोग गर्न खोज्ने अर्थात् भारत वा चाइना 'कार्ड' खेल्ने प्रयास पनि नेपालले पटक्कै गर्नु हुँदैन । बरु, सकेदेखि दुवै छिमेकीको विश्वासप्राप्त सहयोगी बन्ने प्रयास गर्नुपर्छ । सन् १९६० को दशकको छलछामको छद्म कूटनीति एक्काइसौं शताब्दीमा सफल हुनसक्तैन । देशभित्र जनता र छिमेकका मित्रहरूलाई नढाँट्ने, छलछाम नगर्ने तर आफ्ना चाहना, प्राथमिकता र बाध्यतासमेत स्पष्टरूपमा नहिचकिचाईकन राख्ने कूटनीतिक शैलीको अभ्यास गर्ने हो भने विशेषदूतहरूको भ्रमण सम्बन्ध सुधारका दृष्टिमा कोसेढुंगा हुनसक्छ । यस पटक भारतमा प्रधानमन्त्री दाहालको भ्रमण र भारतका राष्ट्रपतिको नेपाल भ्रमण सफलताको सूचक मानिन सक्छ भने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण चीनसँगको सम्बन्धको कसी बन्नेछ । तर, यीमध्ये कुनै एउटा लक्ष्य अपूर्ण रहेका उच्चस्तरीय विशेषदूतको कूटनीति असफल सिद्ध हुनेछ । र, त्यसो हुनु सरकारलाई पहिलो गाँसमै ढुंगा भनेजस्तो मानिनेछ ।
     
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC