संसदीय विधि र नियमले आफ्नो सर्वसत्तावादी प्रवृत्तिलाई अप्ठ्रो पर्ने भएपछि जसरी भए पनि संसद्को हत्या गरी अकण्टक शासन गर्ने लालसा बोकेका खड्गप्रसाद शर्मा ओली आफ्नो योजनामा अन्तत: सफल हुने सङ्केत देखिएको छ । संसद् विघटन त फेरि बदर होला तर अहिलेको दूषित राजनीतिक वातावरण सङ्लिने सम्भावना भने बिरलै देखिन्छ ।
दुर्भाग्य, योसँगै दशकौंको संघर्ष र हजारौंको रगतले प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भने ढल्ने गरी कमजोर भएको छ र जोरजोरले देखाइएको समृद्धिको सपना पनि तुहिने अवस्थामा पुगेको छ ।
समृद्धिको कडी : व्यक्ति कि प्रणाली ?
समृद्धिलाई एकछिनका लागि सर्वमान्य अवधारणा मानेर हेरौँ । स्कूले विद्यार्थीले लेख्ने स्तरका कवितामा हुन् या उट्पट्याङ भाषणमा, ओली आफूले समृद्धि ल्याइदिने कुरा प्रत्यक्ष, परोक्ष भनिरहेकै छन् । आफ्नो नेतृत्वको सरकारले पैसा नहुनेको खल्तीमै पैसा हाल्दिने, चुच्चे रेल र पानीजहाजबाट समृद्धि ल्याइदिनेजस्ता उडन्ते गफले त ओलीले आफ्ना समकक्षी र प्रतिस्पर्धीलाई समेत अवाक् बनाए ।
बलियो र चुस्त राजनीतिक र आर्थिक प्रणालीमा बाँच्ने अनुभव नभएर हुन सक्छ नेपालीमा प्रणालीको भरभन्दा नायकको तृष्णा धेरै छ । यस्तो समाजले ओलीजस्ता आत्ममुग्धको मनोबल उच्च राख्छ नै !
चर्चित पुस्तक "ह्वाइ नेसन्स फेल" मा भनिए झैँ एउटा नायकको त कुरै छोडौँ देशको संस्कृति, भूगोल, जलवायु र प्राकृतिक सम्पदाको प्रचूरतासमेत त्यस देशको समृद्धि (र गरिबी) मा निर्णायक हुँदैनन् । बरू, निर्णायक हुन्छन् त त्यस देशले अवलम्बन गर्ने आर्थिक र राजनीतिक प्रणाली ।
नेपाली राजनीति र शासन व्यवस्था लामो समयसम्म एउटा जात र वर्ण विशेषको साँघुरो घेरोमा नियन्त्रित रह्यो भने आर्थिक प्रणाली समावेशी हैन दोहनकारी रह्यो । तसर्थ, माओवादी हिंसात्मक विद्रोह र दोस्रो जनआन्दोलन हुँदै नयाँ संविधानसम्म आइपुग्दा, राज्यको पुनःसंरचना गर्न राजनीतिक र आर्थिक प्रणालीको व्यापक पुनर्संरचना गर्नु स्वाभाविकरूपमा प्रमुख विषय बन्यो । संविधान जारी भइसकेपछि ठूलो बहुमतको साथ आफ्नो नेतृत्वमा सरकार बनाउन पुगेका ओलीको काँधमा ती परिवर्तनलाई नेतृत्व दिने र संस्थागत गर्ने अभिभारा आइपुगेको थियो ।
आर्थिक र राजनीतिक प्रणाली सुदृढ भइनसकेको यस्तै विशेष परिस्थितिमै हो देशले लिने बाटो तथा देशको सुदूर भविष्यसमेत एक वा केही प्रभावशाली व्यक्तिहरुको नैतिक आचरण, व्यवहार र निर्णयहरूबाट तय हुने । जस्तै ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि अमेरिकामा जर्ज वासिङ्टन, भारतमा जवाहरलाल नेहरु, जिम्बावेमा रोबर्ट मुगाबे र उत्तररङभेदी दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको व्यक्तित्व, विचार र राजनीतिक आचरणले ती देशको अगाडिको बाटो तय भयो ।
भनिन्छ, अमेरिकाका प्रथम राष्ट्रपति वासिङ्टन अति लोकप्रिय थिए । धेरैले उनलाई तेस्रो पटक पनि निर्वाचित भएको देख्न चाहन्थे र त्यसबेला संविधानमा पनि दुई कार्यकालको सीमा नभएकोले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आउन उनलाई गाह्रो थिएन । तर, लामो समय एकै जनामा शक्ति केन्द्रित हुनु तानाशाहीको बिउ रोपिनु हो भन्ने आफ्नै तर्कमा टेकेर, आफ्नै हातमा सत्ता आउने सम्भावनालाई पनि नकारेर उनले दुई कार्यकालको स्थिति बसाए ।
यो अनि यस्तै संविधानमा किटान नभएका तर सुदृढ राजनीतिक प्रणालीका लागि अति आवश्यक नैतिकता, अनुशासन, व्यक्तिगत मर्यादा र लोकतान्त्रिक आचरणको निरन्तरताबाट मात्रै अमेरिकी प्रणाली बलियो भयो । तब न गत चुनावमा ट्रम्पजस्ता सनकी शासकले आफ्नो सबै शक्ति लगाएर पनि आफ्नो हारलाई जितमा बदल्न सकेनन् ।
भारतजस्तो भाषिक, सांस्कृतिक र धार्मिक विविधता भएको देश त एउटै रहनै सक्दैन भन्ने गर्थे रे पश्चिमाहरू । तर, महात्मा गान्धी र अझ जवाहरलाल नेहरुले आफ्नो अतिशय लोकप्रिय छवि र शक्तिलाई लोकतान्त्रिक मर्यादाभित्रै राखेर दिगो राजनीतिक प्रणाली बसाउने आफ्नो जिम्मेवारी पूरा गरे । यसैले त बेलाबेलामा इन्दिरा गान्धी वा नरेन्द्र मोदीजस्ता शासकहरू देखापरे पनि पाकिस्तान र बङ्लादेशको तुलनामा भारतीय प्रणाली धेरै बलियो देखिन्छ ।
नेपालको नियति
हाम्रो नेपालको परिवर्तन भने भारत, अमेरिका र दक्षिण अफ्रिकासँग त तुलना गर्न नमिल्ने नै भयो, जिम्बावेसँग समेत अतुलनीय रह्यो । जिम्वाबेमा स्वतन्त्रता क्रान्तिका नायक लोकप्रिय मुगाबे शनै: शनै: तानाशाह भए । झन्डै चार दशक शासन गरे तर जिम्बावेको अवस्था उपनिवेशकालभन्दा माथि उठ्न सकेन । नेपालमा त त्यसभन्दा पनि आश्चर्य राजतन्त्र बिरुद्धको आन्दोलनलाई गिज्याउने र समावेशिता तथा संघीयताको पनि कट्टर विरोधी खड्गप्रसाद शर्मा ओली त्यही आन्दोलनले प्राप्त गरेको उनै उपलब्धिलाई संस्थागत गर्न सत्तामा उक्ले । यो नै नेपाली इतिहासलाई नियतिको क्रूर व्यङ्ग्य थियो ।
यसैले ओली जुन विचारधाराका प्रतिनिधि हुन् त्यस हिसाबले प्रधानमन्त्रीको कुर्सीमा बस्नेबित्तिकै उनले शक्ति केन्द्रित गर्न थाल्नु अस्वाभाविक होइन । राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई आफ्नो माताहत ल्याइसकेपछि ओलीले पार्टिभित्र सर्वेसर्वा हुने अभ्यास सुरु गरे । शीतलनिवास त बालुवाटारको 'रबर स्ट्याम्प' भइगयो अन्य संवैधानिक नियुक्ति पनि जस्केलाबाट गरेर ओलीले जताततैबाट आफूलाई बलियो बनाए । अनि न तत्कालीन नेकपाभित्रको बहुमतलाई समेत निर्वाचन आयोगले वास्तै गरेन र ओलीलाई कसैले हल्लाउन सकेन । यता जुन व्यक्तिको जसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति भयो यो शासनभर र अझ यो महामारीमा ओली समूहले गरेको चरम भ्रष्टाचार छानबिनमा आउला भन्ने आश नगरे पनि हुन्छ ।
तेस्रो जनआन्दोलनको सुरु भयो भनेर जनता सडकमा उत्रेको पृष्ठभूमिमा सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दा ओलीलाई धक्का लागेजस्तो भएको थियो । तर पुनःस्थापित संसद्को बैठक बस्दा नबस्दै पार्टीको नामको विवादको मुद्दामा एक कदमअगाडि बढेर पार्टी टुक्र्याउने फैसलाले अन्तत: फाइदा ओलीलाई नै भयो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि अपारदर्शी ढंगले ओलीसँग जोडिएको आरोप खेपेका प्रधान न्यायधीशले अधिवक्ता दिनेश त्रिपाठीको शब्दमा "सरकारलाई अप्ठेरो पर्ने मुद्दालाई यो वा त्यो हिसाबले निस्तेज गर्ने" गरेकोले आजको ओलीराज अधिनायकवादको परिपक्व चरणमा पुगेको छ भन्न सकिन्छ ।
ओलीको व्यक्तित्व गुट
स्थापित प्रणालीलाई भत्काएर आफ्नो नियन्त्रण कस्नेबाहेक धेरैले ख्याल नगरेको कुरा चाहिँ ओली प्रधानमन्त्री भएदेखि नै बिस्तारै बन्दै गएको उनको व्यक्तित्व गुट (पर्सनालिटी कल्ट) हो । ओली गायक भेटे आफू पनि गाउने मान्छे हो भन्छन्, पौडी खेलाडीसँग पौडीवाज नै बन्छन् । यस्तो देखाइन्छ मानौ ओलीले नजानेको केही छैन । धून त सुनिदैन तर ओलीले सार्वजनिकरूपमै बेढंगले सारङ्गी र बाँसुरी बजाएको भिडियो प्रचलित नै छ । ओलीसँग दर्शन र इतिहासको अथाह ज्ञान मुखैमा छ भन्न राष्ट्रिय पत्रिकामा "प्रधानमन्त्री ओली ज्ञानको विश्वविद्यालय" भनेर लेख छापिन्छ । त्यसैले उनले भगवान् रामको जन्म ठोरीमा भएको भनेपछि सत्य त्यही हुन्छ । राम मन्दिर बनाउन बजेट छुट्टिनु त सामान्य कुरा हो राम जन्मभूमिसम्बन्धी उनको भनाइलाई पुष्टि हुनेगरी अन्वेषण गर्न त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानकर्ता टोली नै गठन भएको पनि सुनियो ।
ओलीको व्यक्तित्व गुटले ओलीलाई हाम्रा परचक्रीलाई ठेगान लाउने मसिहाको रूपमा चित्रण गर्छ । भारतलाई ठीक लाउन चुच्चे नक्सा झिलिक्क देखाएर पछि गायब पारी ओलीले अन्तर्राष्ट्रिय सीमा विवाद मिलाउने यो काइदा सही हैन भन्ने आफैँ प्रमाणित गरिदिए । तर उनको गुटको लागि चुच्चे नक्सा अझै ओलीको राष्ट्रवादको प्रतीक कायमै छ । नेपाल प्रज्ञा प्रतिष्ठानका एक प्राज्ञ (?)का अनुसार त विदेशीलाई फरर अङ्रेजी बोलेर कायल पार्न सक्ने ओलीमात्रै एक जना नेता छन् नेपालमा ! यी सबै हौवाले जनमानसमा ओलीको चित्र नायकका रूपमा छाप्न मद्दत पुग्छ । नत्र कम से कम धर्मनिरपेक्षता, संघीयता र समावेशिता विरोधी हिन्दु खसआर्य समुदायको एउटा समूहबीच लोकप्रियता कायम राख्न मद्दत त पुग्छ नै ।
नेपालको शक्ति समीकरणमा सधैँ खेल्ने भएकाले छिमेकी भारत पनि अहिले र आउने दिनको शक्ति सन्तुलनमा महत्त्वपूर्ण हुने विश्लेषण गर्छन् राजनीतिका जानकारहरू । भारतविरोधी छवि बनाएर सत्तामा उक्लेका ओलीले अन्तत: भारतलाई पनि शयनकक्षमै बोलाएर पाती चढाइसकेपछि विरोधीले ठानेभन्दा ज्यादा बलिया भएका छन् ।
यति बलिया ओलीले नहुने चुनावको घोषणा गर्नु, काम चलाउ भएर पनि पूर्ण बजेट ल्याउनु र "स्वतन्त्र" अदालतमा इजलासको गठनदेखि नै संसद् विघटनको मुद्दा गिजोलिनुले ओलीको अधिनायकवाद झन् बलियो हुने सङ्केत देखिन्छ ।
मधेस आन्दोलनको एउटा शक्ति, ओलीकै शब्दमा "झरेका आँप" ले पनि अन्ततः ओलीकै चरणमा मधेस आन्दोलनको विसर्जन गराइसके । ओली इतरका समूह/शक्तिमा पनि राजनीतिक लालच, केही गुम्ला कि भन्ने डर, अगाडिको बाटो पहिल्याउनको द्विविधा र अकर्मण्यता कायम छ । यस्तो दारुण परिस्थितिमा सुदृढ लोकतान्त्रिक प्रणाली र समृद्धिको नेपालीजनको लामो सपना भने तुहिन अभिशप्त देखिन्छ ।