विराटनगर । संयुक्त राष्ट्र संघको तर्फबाट प्रदेश १ सरकारलाई ६२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । युएनडीपी र यूएसएआडीको सुआहारा परियोजनाबाट ती सामग्री आइतबार हस्तान्तरण गरिएको हो ।
यूएनडीपीको तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । यूएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्यान्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको साहले बताए ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग र भूमिका आवश्यक रहेकोमा जोड दिइन् । त्यस अवसरमा यूएनडीपीका धनबहादुर चन्द, यूएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।