बीबीसी । ‘गेट्स अफ द हेल’ अर्थात नरकको द्वार पनि भन्ने गरिएको तुर्कमेनिस्तानको मरुभूमीमा रहेको विशाल खाल्डोले दशकौँ देखि आगो फालिरहेको छ । तर यसको उत्पति भने सोभियत युगको ‘टप सिकरेट’ अर्थात अति गोप्य जानकारी भएको बताइन्छ ।
३ लाख ५० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मरुभूमीको उत्तर केन्द्रिय दिशातर्फ पर्ने सो खाल्डो (क्रेटर) भित्रको कहिल्यै ननिभ्ने आगोको भयावह दृश्य धेरैलाई अपत्यारिलो पनि लाग्ने गर्दछ । ‘डार्भाजा क्रेटर’ वास्तवमा प्राकृतिक ग्यासले भरिएको ठूलो खाल्डो हो ।
यसको कथा १९७१ मा सुरु हुन्छ जस समय सोभियतका भूविद् एवम् इन्जिनियरहरुले मरुभूमीमा तेलको खोजी गर्दा यस प्राकृतिक ग्यासको खानी पत्ता लगाएका थिए । र यसैलाई ठूलो स्तरमा बाहिर ल्याउन खोज्दा भुइँ खस्न पुगेपछि सो स्थल एउटा ठूलो ‘सिंक–होल’ या खाल्डोमा परिणत भएको हो ।
त्यसैले खाल्डोबाट मिथेन लगायत विषाक्त ग्यासहरु बाहिरी वातावरणमा ‘लिक’ नहोस् भनेर ती भूविद्हरुले खाल्डोमा आगो लगाइदिएको विश्वास गरिन्छ । यसले त्यहाँ भित्रको प्राकृतिक ग्यासलाई केही हप्ता भित्रै बालेर भस्म पारिदिनेछ भन्ने सोचले उनीहरुले त्यसो गरेका थिए ।
यसरी २०१३ मा क्यानेडियन खोजकर्ता जर्ज कोउरोउनिस उक्त क्रेटर सम्बन्धी पहिलो अध्ययनमा यसको गहिराइसम्म पुगेका हुन् । र यस क्रममा मात्र सो भयावह अनियन्त्रित आगो फाल्ने खाल्डो कसरी उत्पति भयो भन्ने वास्तवमा कतै कसैलाई थाहै नभएको पत्ता लागेको थियो ।
स्थानीय भूविद्हरुका अनुसार ६ ९ मिटरको दुरीमा फैलिएको ३० मिटर गहिरो सो खाल्डो १९६० को दशकमा सिर्जित भएको थियो र १९८० सम्म त्यसमा आगो लागेको थिएन ।
यसरी सोभियत शासनको समयमा तेल र ग्यास अत्याधिक मूल्यवान् श्रोतसाधन भएको हुँदा यस क्रेटरको उत्पति सम्बन्धी सबै रेकर्ड र जानकारीहरु पनि ‘टप–सिकरेट’ भनेर वर्गीकृत गरिएको बताइएको छ । यसैकारण यो रहस्यबारे अझैसम्म पनि केही आधिकारिक डाटा उपलब्ध छैन ।
अर्कोतर्फ नरकको नाम दिइएको यही आगोको खाल्डो देशको प्रमुख पर्यटकीय आकर्षण बन्न पुगेको हो । वर्षमा केबल ६ हजार पर्यटक आउने यस देशमा यो क्रेटरलाई अहिले सबैभन्दा लोकप्रिय गन्तव्य मानिन्छ । त्यस खाल्डोको आगोले मुरुभूमीको आकाशलाई समेत चौबीसै घण्टा उज्यालो पारिरहने गरेको छ ।