पूर्वमन्त्री तथा संविधानसभा सदस्य आमोदप्रसाद उपाध्याय मोरङ क्षेत्र– १ मा मतदातालाई धन्यवाद दिन व्यस्त थिए । कुरा हो, २०६५ असार अन्तिम साताको । प्रधानमन्त्री निवासवाट उनलाई तारन्तर फोन आउन थाल्यो – गिरिजाबाबुले भनेको आमोद दा छिटो काठमाडौं आउनु पर्यो । केही दिन निर्वाचन क्षेत्र घुमेर फर्किने सोचमा थिए उनी । त्यसबीच कोइराला आफैँले फोन गरे –आमोदजी छिटो काठमाडौं आउनु पर्यो । तपाइँ कहाँ हराएको ।
प्रधानमन्त्रीको ‘किचन क्याबिनेट’का सदस्य आमोदले कोइरालासँगको वार्तालाप लेखकलाई यसरी सुनाए –
आमोद : गाँउ घुमेर मतदातालाई धन्यवाद दिँदैछु गिरिजाबाबु एक दुई दिनमा आउँछु ।
कोइराला : धन्यवाद त पछि दिए पनि भइहाल्छ । आउनुस् न । स्थिति ‘क्रिटिकल’ भयो । सेना पनि डराएको छ । अरू पनि डराएका छन् ।
आमोद : ठीक छ गिरिजाबाबु म हिँड्छु ।
हतार हतार उनी काठमाडौंका लागि उँडे । संविधान सभा निर्वाचनमा सबैको अनुमानविपरीत माओवादी शक्तिशाली बनेर आएको थियो ।
यस प्रसंगमा स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकसँग भनेका छन् –त्यति सिट आउँछ भन्ने मैलेसमेत कल्पना गरेको थिइन । कहाँबाट कसरी आयो ? म आफैँलाई सपनामा छु कि विपनामा जस्तो लागिरहेको थियो । निर्वाचन परिणामले एक प्रकार शक्तिको उन्माद देखियो ममा पनि ।
विराटनगरबाट फर्किँदै गर्दा आमोदले प्रधानमन्त्री कोइरालासँगको टेलिफोन संवाद सम्झिए । कोइरालाले भनेका थिए – माओवादी ठूलो दल भएर आयो । कम से कम राष्ट्रपति हाम्रो भए ठीक हुन्थ्यो ।
आमोदले लेखकलाई सुनाए – मैले कुरा बुझिहालेँ । स्थिति बिग्रिए छ । मैले अरूसँग कुरा गर्नुपर्ने भएछ । के गर्ने ? कसरी कुरा गर्ने ? भनेर बाटाभर सोच्दै थिएँ । मुलुकको पहिला राष्ट्रपति को हुने भन्ने विषयले राजनीतिक वातावरण तातेको थियो ।
प्रधानमन्त्री र कांग्रेस सभापति त दाजुहरू बीपी र मातृका पनि भइसकेकाले प्रधानमन्त्री कोइरालामा राष्ट्रपति भएर इतिहास बनाउने तीव्र चाहना हुनु अस्वाभाविक थिएन । फेरि चुनावअघि उनी नै त्यो पदमा जाने करिब करिब निश्चितजस्तै थियो ।
यसबीच प्रधानमन्त्री कोइरालाले माओवादी अध्यक्ष दाहाल र नेता बाबुराम भट्टराईलाई यस विषयमा कुरा गर्न बालुवाटारमै बोलाएका थिए । प्रधानमन्त्रीलाई भेट्नुअघि आमोदले दुवै नेतासँग एक्लै कुरा गरे । त्यो बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला बैठक कक्ष बाहिरै थिए ।
आमोद : सबै मिलेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु छ । मिलेर सरकार बनाऊँ ।
दाहाल, बाबुराम : अब त्यो अवस्था रहेन । आमोदजी ! तपाईँहरूले निर्वाचन परिणाम, हाम्रा कार्यकर्ताको मानसिकता र हाम्रो बाध्यता बुझिदिनुपर्छ ।
जति प्रयास गर्दा पनि कोइरालालाई मुलुकको पहिलो राष्ट्रपति स्वीकार्न माओवादी तयार भएनन् । निर्वाचनअघि उनीहरूले त्यस पदमा उनलाई लैजाने वचन दिएका थिए । यस प्रसंगमा दाहालले लेखकसँग भनेका छन् –त्यस्तो औपचारिक सहमति नभए पनि गिरिजाबाबुलाई बनाउनुु हुन्न भन्नेमा हामी थिएनौ ।
यस घटनाले कांग्रेस र माओवादीबीच अविश्वासको अवस्था पैदा गरेको थियो । तैपनि नेताहरूबीच औपचारिक र अनौपचारिक वार्ता जारी नै थिए ।
पछिल्लो वार्तामा आमोदले भनेका थिए – ‘हेर्नुस् प्रचण्डजी, निर्वाचनमा तपाईहरू ठूलो दल हुनु भयो भन्दैमा शान्ति प्रक्रियाको एउटा प्रमुख शक्ति कांग्रेसलाई कर्नर गरेर चल्दैन । शान्ति प्रक्रिया टुंगिएको पनि छैन । अहिले नै यो प्रक्रिया टुंगो लाग्यो भनेर ढुक्क हुने अवस्था पनि छैन । अहिलेको अवस्थामा गिरिजाबाबुलाई साथ लिएर जानु भएन भने शान्ति प्रक्रिया टुंगिदैन । तपाइँ प्रधानमन्त्री र गिरिजाबाबु राष्ट्रपति हुने हो भने सबै कुरा मिल्छ । शान्तिपूर्णरूपमा सबै कुरा टुंगिन्छ ।
दाहालले भने – ‘हैन आमोदजी मलाई अप्ठेरो के छ भने उहाँलाई राष्ट्रपति बनाउनेबित्तिकै छुट्टै शक्ति केन्द्र बन्न जान्छ । हामी गिरिजाबाबुको छायामा पर्छाैँ । त्यसले अप्ठेरो पार्छ । बरु संविधान संशोधन गरेर गिरिजाबाबुका लागि कुनै आलंकारिक पद दिऊँ ।
आमोद र प्रचण्डबीच लामो कुरा भयो । आमोदले भने – के पोजिसन दिने ? गणेशनमान जीलाई २०४६ सालमा कांग्रेसले सर्वोच्च नेता बनाएजस्तो बनाउने ? त्यसको के अर्थ रहन्छ र ? तपाईँले जतिसुकै आलंकारिक पद दिए पनि के हुन्छ ? त्यसले उद्देश्यमा मद्दत गर्दैन । मैले भनेको मान्नुहुन्छ भने यो गल्ती नगर्नुस् ।
प्रतिउत्तरमा दाहालले भनेका थिए ‘आमोदजी तपाइँले गिरिजाबाबुलाई प्रष्ट भनिदिनुस् । हामी उहाँलाई राष्ट्रपति बनाउन सक्दैनौ ।
आमोदले दाहालसँगको कुराकानी वारे कोइरालालाई ‘ब्रिफ’ गर्दै भनेका थिए–गिरिजाबाबु, उनीहरू तपाइँलाई मान्न तयार छैनन् ।
माओवादीले धोका दिएपछि कोइराला रन्किए । एमाले अध्यक्ष झलनाथ खनालसँग कुरा गर्न टोली पठाए । कोइरालाका प्रतिनिधिले खनालसँग भनेका थिए – ‘कांग्रेसलाई कर्नर गरी तपाईँ र माओवादीमात्र मिलेर जान खोजे शान्ति प्रक्रिया दश वर्षसम्म पनि टुंगिदैन । तपाइँले माओवादीलाई घुमाउनु भएको छ । सत्ताको साँचो तपाइँहरूसँग छ । परिवर्तनको एउटा पक्षलाई छोडेर जान चाहन्नु हुन्न भने दाहालसँग कुरा गर्नुस् । झलनाथ भन्न थाले – मलाई त्यसरी किन भन्नुभएको ?
टोलीमा शेरबहादुर देउवा पनि थिए । वार्तामा सहभागी एक सदस्यले लेखकलाई सुनाए – ‘हामीले झलनाथजीलाई भन्यौ, त्यसो होइन । मिलेर जाने आवश्यकता देख्नु हुन्छ भने हामी दुई घन्टा कुर्छाै । प्रचण्डजीसँग कुरा गरेर मिलाउनुस् ।
झलनाथले त्यहीँबाट दाहालसँग कुरा गरे । लगत्तै कांग्रेसका नेतालाई भने ‘हैन प्रचण्डजी मान्नुहुन्न । मैले सकिन मनाउन ।’
त्यतिन्जेल माओवादी र एमाले नेता माधवकुमार नेपाललाई राष्ट्रपति दिने र दुई कम्युनिस्ट पार्टी मिलेर सरकारमा जाने सहमति भइरहेको थियो ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री कोइरालाले प्रभावशाली नेताहरूलाई छलफलका लागि बालुवाटारमा बोलाए । त्यो दिन बिहानै बालुवाटार पुगेका नेताहरूलाई उनले भने – शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत र डा. रामवरण यादवमध्ये एक जनालाई उमेदवार बनाउनुपर्ने भयो । तपाईँहरु आपसमा छलफल गर्नुस् कसलाई बनाउने ?
देउवा बोलेका थिएनन् । पौडेलले आफू अझै सक्रिय राजनीतिमा रहने बताए । डा. महतको पालो आयो । सेनासँग समेत राम्रो सम्बन्ध भएका उनलाई नै उमेदवार बनाउने कोइरालाको चाहना थियो । महत स्वयंलाई भने उठ्ने मन थिएन ।
छलफल चलिरहँदा आमोदले भने – ‘गिरिजाबाबु अहिलेको अवस्थामा डा.रामवरण यादवलाई बनाउन उचित हुन्छ । एक त तराई कांग्रेसको आधार क्षेत्र हो । हामीले तराईबाट मुलुककै पहिलो राष्ट्रपतिको उमेदवार बनायाैँ भन्दा त्यसको म्यासेज राम्रो जान्छ र राजनीतिमा पछिसम्म पनि सकारात्मक प्रभाव पर्छ । अहिले यसै पनि चुनाव जित्ने अवस्था छैन । फेरि डाक्टर यादवलाई उठाउँदा तराईको मत तान्न सहज हुन्छ । उहाँले जति मत लिन सक्नुहुन्छ अरूले सक्ने अवस्था छैन । मधेसी भए पनि उहाँको राष्ट्रिय व्यक्तित्व बनिसकेको छ ।’
कोइरालालाई आमोदको कुरा मन परिरहेको थिएन । लगत्तै डा. महतले भने ‘अहिलेको अवस्थामा आमोद दाले भन्नु भएको कुरा मलाई पनि ठीक लाग्छ गिरिजाबाबु ।
यस प्रसंगमा डा. महतले लेखकलाई भनेका छन् – गिरिजाबाबुको चाहना मलाई बनाउने थियो । मैले भने अहिलेको अवस्थामा म उमेदवार हुँदा पार्टीलाई लाभ हुँदैन । जित्न पनि कठिन छ । पार्टीले उठ्नै पर्छ भन्यो भने त मैले नाईनास्ती गर्न मिल्दैन तर मेरो विचारमा डा. यादव नै अहिलेका लागि उपयुक्त व्यक्ति हुनुहुन्छ ।
प्रायः सबैले यादवको नाम लिएपछि कोइराला एक्लो भए । तैपनि उनको भित्री मनमा चाँही डा. महतलाई बनाउँदा सेनाले शान्ति प्रक्रियामा सहयोग गर्छ भन्ने थियो ।
नेताहरु बसिरहेकै थिए । कोइराला आफ्नो बेडरुमतिर लागे । कांग्रेसका कोषाध्यक्ष रामकृष्ण ताम्राकारले दोस्रो तहका नेताहरूलाई भने ‘हैन तपाइँहरूले के भन्नु भयो बूढा त रिसाउँदै गए ।
आमोदले भने– गिरिजाबाबुलाई सम्झाउनुपर्छ ।
आमोदले त्यो क्षण बारे लेखकलाई यसरी वताए – त्यसपछि म गिरिजाबाबुको कोठामा गएँ । सुजातामात्र थिइन् । मैले भने –‘गिरिजावावु हाम्रो तराईमा बिग्रिएको छ । यो जित्ने चुनाव पनि होइन । रामवरणलाई उठाऊँ । अब समय छैन । निर्णय गरिदिनुस् गिरिजाबाब ।’ सुजाताले भनिन् ‘कहाँ आमोद दा पनि रामवरणजीको नाम ल्याउनुहुन्छ । मैले भने ‘तिमी कुरा बुझ्दिनौ । कुरा यस्तो हो । हेर आखिर तिमी हामीले तराईमा राजनीति गर्नुपर्छ । रामवरणलाई दिँदा भोलिको राजनीतिका लागि पनि सहज हुन्छ । उनले नाईँ भनिन् ।’ आफ्नो कुरा सकिएपछि सुजाता ‘सानोबुवा म हिँडे भनेर बाहिरिइन् ।’
प्रधानमन्त्रीका सहयोगीले आमोदलाई चिया दिए । त्यतिन्जेल उनी उभिएकै थिए । चियाको कप हातमा लिएपछि मात्र कोइरालाले भने – बस । आमोदले धेरै बेर सम्झाएपछि कोइरालाले भने ‘यार तिमीहरू भन्छौ मलाई पत्यार लाग्दैन ।’
त्यस दिनको कुराकानी आमोदले सम्झिए –‘मैले भने, के गर्ने ? गिरिजाबाबुलाई दिन उनीहरू तयार भएनन् । कि त हामी कसैलाई नउठाऊँ । त्यो पनि राम्रो भएन । उठाऊँ यसभन्दा राम्रो कार्ड हामीसँग अरू छैन ।’ अनि बल्ल गिरिजाबाबुले भन्नुभयो ‘ल ठीकै छ । तिमी त्यसो भन्छौ भने ।’
त्यही बेला माओवादीले माधव नेपाललाई राष्ट्रपति नमान्ने र रामराजाप्रसाद सिंहलाई अघि बढाउने निर्णय गरेको खबर आइपुग्यो ।
तैपनि कोइराला आफैँ उठ्ने कि भन्ने तयारीमा थिए । लामो समय बालुवाटारमै बसेर शासन चलाएका उनी त्यो दिन अकस्मात सिंहदरबार पुगे । आमोदले सुनाए –आफूले भन्नुपर्ने सबै कुरा भनिसकेको थिएँ । तैपनी साथीहरूले सिंहदरबार जान कर गरेकाले गएँ ।
माधव नेपाललाई धोका दिएपछि एमाले माओवादीसँग क्रुद्ध थियो । यसबीच कोइरालाले एमाले महासचिव झलनाथ खनालको सहयोग मागे । मौखिक वचन दिए पनि लिखित संझौता गर्न खनाल तयार नभएकाले उनी उमेदवारी दिन हच्किए ।
यस प्रसंगमा कांग्रेस नेता रामकृष्ण ताम्राकारले लेखकसँग भनेका थिए – म र आमोद दाइ प्रधानमन्त्रीको आराम गर्ने कोठामा पुग्दा शेरबहादुर देउवा, विमलेन्द्र निधिलगायत केही साथी थिए । गिरिजाबाबु रामचन्द्र जी र कृष्ण सिटौलालाई देखाएर भन्दै हुनुहुन्थ्यो ‘तपाईहरूले मलाई बेबकुफ बनाउने । हामीतिर हेरेर भन्नुभयो, हेर त उहाँहरूले अझै पनि मलाई बबेकुफ बनाउन खोज्नु भएको छ । म बेबकुफ छु ? एमालेले तत्काल गिरिजाबाबुलाई समर्थन गर्ने निर्णय दिएको भए उहाँ आफैँ उठ्नुहुन्थ्यो कि ? तर उधारो निर्णयमा जान चाहनु भएन । राष्ट्रपति बन्ने बाटोमा माओवादीले तगारो हालेपछि कोइरालाले भनेका थिए –‘माओवादीले धोका दिए म पनि देखाइदिन्छु ।’
माधव नेपाललाई माओवादीले नमान्ने निर्णय गरेको थाहा पाउनेबित्तिकै देउवा पकेटमा नागरिकता हालेर उमेदवारी दिने तयारीका साथ सिंहदरबार पुगिसकेका थिए । यस सन्दर्भमा डा. महतले लेखकलाई सुनाए –शेरबहादुरजी मसँग भन्दै हुनुहुन्थ्यो राष्ट्रपति भनेको सानो पद होइन । सानो पद होइन ।
संविधान सभा भवनमा राष्ट्रपतिका लागि मनोनयन गर्ने समय आधाघन्टामात्र बाँकी थियो । विमलेन्द्र निधि मनोनयन पत्र ठिक्क पारेर डा. यादवका साथ त्यहाँ पुगेका थिए । निधिले भने ‘गिरिजाबाबु अब समय पनि छैन । डाक्टर सापको मनोनयन दर्ता गराऊँ ।’
त्यहाँ उपस्थित धेरैलाई लाग्यो –कतै बूढाले आफैँ उमेदवारी दिने पो हुन् कि ?
सहमतिबेगर कोइराला अघि बढ्नु हुन्न भन्ने पक्षमा धेरै थिए । कतै बूढाले आफैँ उमेदवार हुने भन्छन् कि भन्ने ठानेर हतार हतार आमोदले भने ‘के गर्ने गिरिजाबाबु अब डाक्टर सापलाई हाल्न लगाउनु पर्यो ।’ आमोदले डा. यादवको नाम लिएपछि देउवाको अघि किन अर्गेलो हुने भन्दै रामकृष्ण ताम्राकार उनलाई चिमोट्दै थिए ।
अनि कोइरालाले भने – ल ! लक्ष्मण घिमिरे (प्रमुख सचेतक) लाई फोन लगाऊ र रामवरण जीलाई नोमिनेसन गर्न लगाऊ । निधिले हतार हतार डा. यादवलाई संविधान सभा भवनतिर कुदाए । डा. यादव राष्ट्रपतिको उमेदवार भए तराईमा निधि कांग्रेसको एक्लो नेता हुने । त्यसैले उनी डा. यादवको पक्षमा एक सूत्रीय अभियानमा लागेका थिए ।
विसं २०६५ साउन ५ गते पहिलो चरणमा रामराजाप्रसाद सिंह, डा. यादव र एमालेका रामप्रित पासवानबीच प्रतिश्पर्धा भयो ।
निर्वाचित हुन आवश्यक २९८ मत कसैले पाउन सकेन । साउन ६ गते हुने दोस्रो चरणको चुनावमा पासवान बाहिरिए । सिंह र डा. यादवबीच प्रतिस्पर्धा भयो । ६०१ सदस्यीय संविधानसभामा राप्रपाका ४ बाहेक सबै सदस्यले मतदानमा भाग लिए । डा. यादवले ३०८ र सिंहले २८२ मत पाए । २६ मतको अन्तरमा डा. यादव विजयी भए । जनताको छोरा देशको पहिलो राष्ट्रप्रमुख भएर इतिहास रचे ।