site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आर्यघाट सार्न खोजिएको हो कि थप घाटको खोजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वैकल्पिक घाटको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । पशुपति आर्यघाटले मात्रै चाप थेग्न नसक्नेभन्दै कोषले वैकल्पिक घाटको व्यवस्था गर्नुपर्ने बताएको हो । 

काठमाडौं उपत्यकाको जनसंख्या बढ्दो क्रममा रहेको र अधिकांश अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमै आउने गरेकाले आर्यघाटले चाप थेग्न सक्ने अवस्था नरहेको पशुपति क्षेत्रविकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल बताउँछन् ।

“अहिले अन्तिम संंस्कारका लागि शव लिएर आएका आफन्त पालो कुरेर लाइनमा बस्नुपर्ने अवस्था आयो । कोभिडको समयमा त हामीले चौरमा शव व्यवस्थापन गर्‍यौं । तर, सधैं चौरमा शव व्यवस्थापन गर्नु राम्रो हुँदैन भन्ने हाम्रो भनाइ हो,” सदस्य सचिव डा. ढकाल भन्छन्, “भोलिका अवस्था यही रह्यो भने यो घाटले मात्रै धान्दैन । त्यसैले अर्को कुनै ठाउँमा वैकल्पिक व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

घाट सार्ने भन्ने प्रस्ताव कोषले नगरेको उनको दाबी छ । भश्मेश्वर घाट सार्न नमिल्ने उनी जिकिर गर्छन् । “भश्मेश्वर घाट भश्मेश्वर महादेव त्यहाँ भएकाले राखिएको हो । यही मान्यताअनुसार पनि यहाँ जलाइन्छ, त्यसैले यो घाट सार्ने भन्ने कुरै हुँदैन,” उनी भन्छन्, “नदीको संगम छ । परापूर्वकालदेखि सामाजिक र धार्मिक मान्यतासँग अनुसार कर्मक्रियाहरु भइरहेका छन् । त्यसैले यो सार्ने भन्ने प्रश्न नै आउँदैन ।” 

नयाँ संरचना अन्यत्र विकास गरेर भश्मेश्वर घाटमा देखिएको चाप घटाउनुको भने विकल्प नरहेको उनको भनाइ छ । 

Global Ime bank

पशुपति आर्यघाटमै आएर घण्टौंसम्म लाइनमा बस्दा राम्रो नहुने भन्दै सरकारले यो चाप घटाउन विकल्प खोज्नुपर्ने कोषको भनाइ छ । 

पशुपति क्षेत्रमा हाल १२ वटा घाट र तीनवटा मेसिन (विद्युतिय शवदाह गृह) छन् ।

कोषले कुनै निश्चित ठाउँ तोकेर घाटको संरचना विकास गर्न भनेको छैन । यो काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नै छोडिएको बताइएको छ ।

अरु घाट सञ्चालनमा ल्याउन प्रस्ताव

शव व्यवस्थापनका लागि शंखमुल, टेकु, विष्णुमतिको ब्रह्मायणी, भक्तपुरको हनुमन्तेमा रहेका घाट सुचारु भए पशुपति आर्यघाटको चाप स्वतः कम हुने कोषको विश्वास छ । यी घाट सञ्चालनका लागि पहल गर्न मन्त्रालयसँग कोषको आग्रह छ । 
“पशुपतिमा जुन सुविधा छ, त्यही सुविधा भयो भने अन्यत्र पनि सदगद हुन्छ । त्यसो भएको अवस्थामा पशुपतिमा देखिएको चाप स्वतः कम हुन्छ,” कोषका सदस्यसचिव ढकाल भन्छन् । 

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनामा छलफल अहिले भइरहेको छ । चन्द्रमणि अधिकारीको संयोजकत्वमा गठन भएको नौ सदस्यीय गुरुयोजना अध्ययन समितिले यस विषयमा पनि छलफल गरिरहेको छ । समितिको सदस्यसचिवमा डा. ढकाल छन् । समिति अबको एक महिनाभित्र सुझावसहित निष्कर्षमा पुग्ने उनले बताए । 

अध्ययन समितिका संयोजक डा. चन्द्रमणि अधिकारी कोषको गुरुयोजनामा घाट सार्ने प्रस्ताव उल्लेख नगरिएको दाबी गर्छन् ।

“कोषको गुरुयोजनामा घाट सार्ने कुरा कतै पनि छैन । यदि प्रस्ताव गरिए पनि यो हुनै नसक्ने कुरा हो,” डा. अधिकारी भन्छन्, “सनातन परम्परा, धर्म, संस्कृति र आम मानिसको मनोविज्ञानसँग जोडिएको यो कुरा सम्भव छैन ।”

धर्म र परम्पराअनुसार पनि घाट सार्न नहुनेभन्दै गुरुयोजनामा त्यो प्रस्ताव नरहेको र समितिमा यसबारे कुनै छलफल पनि नभएको उनी बताउँछन् । 

कुनै एक व्यक्ति विशेषबाट यस्तो प्रस्ताव आए पनि त्यो मान्य नहुने संयोजक अधिकारी बताउँछन् । अध्ययन प्रतिवेदन तयार पार्ने काम भइरहेको र प्रतिवेदनमा आम जनभावना विपरीत कुनै पनि सुझाव तथा विषय नसमेटिनेका ढुक्क हुन उनी आग्रह गर्छन् । 

आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न सरकारले ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

एकैदिन कोभिडबाट मृत्यु भएका ११२ शव व्यवस्थापन

कोरोना संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुगेको समय पशुपति क्षेत्र विकास कोषलाई शव व्यवस्थापनमा हम्मेहम्मे पर्‍यो । सदस्यसचिव डा. ढकाल एकैदिन ११२ कोरोना संक्रमितका शवसमेत व्यवस्थापन गरेको बताउँछन् । 

“सबैभन्दा धेरै एकैदिन कोभिडका कारण मृत्यु भएका ११२ वटासम्म शव हामीले व्यवस्थापन गरेका छौं । ११०, १०८, १०२ र १०० वटा शव एकैदिन हामीले व्यवस्थापन गरेका छौं,” उनी भन्छन्, “अहिले भने यो संख्या निकै घटेको छ । मंगलबार कोभिडबाट मृत्यु भएका ३७ शव हामीले व्यवस्थापन गरेका थियौं । गतहप्ताबाट ५० भन्दा कमको संख्यामा शव आएको अवस्था छ ।”

कोषले नेपाली सेनाको सहयोगमा कोभिड संक्रमणका कारण मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको छ । 

प्रतिशव व्यवस्थापनको खर्च १५–२० हजार रुपैयाँ

कोभिडका कारण मृत्यु भएका व्यक्तिका आफन्तसँग कोषले शुल्क नलिई शव व्यवस्थापन गर्दै आएको छ । 

कोषलाई सरकारले प्रति शव व्यवस्थापनको ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्युतीय शव दाहमा व्यवस्थापन गरेको खर्चका आधारमा सरकारले कोषलाई ५ हजार रुपैयाँ प्रतिशव उपलब्ध गराउँदै आएको हो । विद्युतीय शवदाह गृहको दैनिक क्षमता ५–७ शव व्यवस्थापन हो । 

तर, चौरमा जलाउँदा भने शव व्यस्थापनको खर्च बढेको सदस्य सचिव ढकाल बताउँछन् । “विद्युतीय शवदाह गृहको खर्च सरकारले ५ हजारका दरले उपलब्ध गराएको हो । तर, चौरमा शव व्यवस्थापन गर्दा खर्च बढेको छ,” उनी भन्छन्, “अहिलेसम्म हामी कोषमा रहेको पैसाबाट व्यवस्थापन गरिरहेका छौं । अव शव व्यवस्थापनमा लागेको खर्च अनुसारको प्रस्ताव मन्त्रालयमा पठाउने तयारी गरिरहेका छौं ।” 

सदस्यसचिव डा. ढकालका अनुसार चौरमा दाउरामा शव व्यवस्थापन गर्दा प्रतिशव १५ हजारदेखि २० हजार रुपैयाँ लाग्छ ।

दाउरामा जलाउँदा धेरै खर्च लाग्ने गरेको उनको भनाइ छ । त्यसैले कोषले प्रति शव व्यस्थापनको २० हजारका दरले मन्त्रालयसँग सहयोगको प्रस्ताव गर्ने तयारी गरिरहेको छ । 

आर्यघाटको आम्दानी

गत वर्ष पशुपति क्षेत्र विकास कोषले आर्यघाटबाट २ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । विद्युतीय शवदाह गृह र आर्यघाटमा रहेका चितामा शव व्यवस्थापन वापत गत आर्थिक वर्षमा कोषले २ करोड ३८ लाख ४९ हजार रुपैयाँ संकलन गरेको थियो । यद्यपि, उक्त रकम कोषको लक्ष्यभन्दा १ करोड ४४ लाख २१ हजार कम थियो ।  

कोषले सामान्य समयमा विद्युतीय शवदाह गृहमा चार हजार र आर्यघाटको २ नम्बर चितामा शव जलाएको ५ हजार तथा साधारण चितामा शव व्यवस्थापन गरेको १८ सय रुपैयाँ लिने गरेको छ । 

गतवर्ष लक्ष्यभन्दा कम रकम संकलन गरेको कोषले यो वर्ष सरकारले प्रस्ताव गर्न लागेको रकम प्रदान गरेको खण्डमा परिपूर्ति गर्ने अवस्था रहने कोषको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC