चीनको वुहानबाट सुरु भएको भए पनि कोभिड महामारी चीनकै भने अरु प्रान्त र सहरमा खासै फैलिन पाएन । हुनत, त्यस समय कोरोनाविरुद्धको खोपको विकास पनि भएको थिएन । तैपनि चीन यो महामारी नियन्त्रण गर्न सफल भयो ।
दक्षिण एसियाको शक्तिशाली मानिएको भारतले भने दोस्रो लहरसम्म आइपुग्दा पनि संक्रमण रोक्न चाहिने रणनीति र न्यूनतम स्वास्थ्य संरचनासमेत बनाउन सकेन । परिणामस्वरुप भारतमा यो संक्रमण व्यापक र तीव्ररूपमा फैलियो । यसको असर नेपालमा पनि पर्न गयो ।
भारत सरकार कोभिड–१९ महामारी नियन्त्रणका लागि हावश्यक रणनीति र स्वास्थ्य संरचनाको अपरिहार्यता बुझ्न र सम्झन असफल भयो । त्यही कारणले भारतमा महामारीे भयावह हुनपुग्यो । सँगै नेपालमा पनि भयावह स्थिति उत्पन्न भयो ।
कुनै पनि महामारी सजिलै समाप्त नभएको साक्षी इतिहास छ । सन् १९१८ – २० को इन्फ्लुएन्जाको महामारीको चार लहर आएको थियो । दोस्रो लहरले धेरै हानि गरेको थिया । फरवरी– मार्च २०२१ सम्म चीनबाहेक सबै प्रमुख देशले कोभिड–१९ को महामारीको संक्रमणको दुई या तीन लहरको सामना गरिसकेका छन् । त्यहाँ पहिलो लहरको तुलनामा दोस्रो धेरै भयावह भएको छ ।
भारतका वैज्ञानिकहरुले कोरोनाको तेस्रो लहर अवश्यंभावी छ भनेका छन् । तर त्यो लहर कहिले आउँछ र कति नोक्सान गर्छ भन्ने आकलन अहिले गर्न सकिँदैन भन्ने उनीहरुको धारणा छ ।
यो तेस्रो लहर बच्चाहरुका लागि बढी खतरनाक हुने चर्चा छ । जनसंख्याको ६० –७० प्रतिशतमा ‘एन्टिबडी‘ विकास भएर समूहिक प्रतिरक्षात्मक क्षमता (हर्ड इम्युनिटी) विकसित नहुँदासम्म यो रोग नियन्त्रण हुँदैन।
नेपालमा पहिलो लहरमा १२.५ प्रतिशत जनसंख्यामा मात्र एन्टिबडी विकसित भएको थियो। बाकी ४८ देखि ५८ प्रतिशत जनसंख्यामा एन्टिबडी विकसित भएमात्र संक्रमण नियंत्रण हुनसक्छ । कोभिड–१९ विरुद्धको खोप लगाएका वा संक्रमण भइसकेका मानिसमामात्र एन्टिबडी विकसित हुन्छ ।
नेपालको सरकार भने कोरोना संक्रमण नियंत्रण गर्ने काममा केन्द्रित देखिँदैन । सरकारको ध्यान त राजनीतिक किचलोमा मात्र केन्द्रित छ। यही कारणले खोप वितरण प्रक्रिया तीव्र होलाजस्तो देखिँदैन । यसको अर्थ एकपटक जनसंख्याको ठूलो समूह कोरोनाबाट संक्रमित भई एन्टिबडी विकसित भएमात्र संक्रमण मत्थर हुन्छ भन्ने हो । अर्थात, नेपालमा संक्रमणको तेस्रो र चौथो लहरसम्म आउन सक्छ ।
अहिले कोरोनाको पहिलो र दोस्रो लहरसम्म आउँदा स्वास्थ्य संरचनका कमीकमजोरी स्पष्टरुपमा देखिएका छन् । अब तेस्रो लहरको सामना गर्न ती कमी कमजोरी हटाउँदै उच्च सावधानी अपनाउनुपर्ने देखिन्छ ।
–तेस्रो लहरको सामना गर्न केन्द्र र प्रदेश स।का। मिलेर योजना बनाउनुपर्छ । प्रत्येक गाउँपालिकाका वार्डहरुमा भएका स्वास्थ्य संरचनालाई मजबुत बनाउने मार्गचित्र बनाउनुपर्छ ।
–अस्पतालमा अक्सिजनसहितका शय्याहरु तयार गर्न वार्डहरुमा भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई सक्रिय बनाउनुपर्छ । यसका लागि सरकारी निकायको मात्र मुख ताक्नुभन्दा समुदायबाट पनि सहयोग जुटाउन सकिन्छ। जस्तै गुल्मीमा पत्रकार महासंघले अक्सिजन बैंक स्थापना गर्न पहल गर्दा धेरैले सहयोग गरे ।
–नेपालमा नागरिक समाज, राजनीतिक, पेसाागत, व्यावसायिक, जातीय, धार्मिक संघसंगठन छन् । तिनीहरु पनि यस्तो विपदमा देश र समाजलाई सहयोग गर्न अग्रसर हुनुपर्छ । तर, केही संगठनहरुले त्यस्तो गरेको देखिएन ।
–बुटवलमा एउटा दलका स्थानीय नेताको कोरोना संक्रमणको कारण मृत्यु भयो । उनी आबद्ध संगठनका कोही पनि तिनको दाहसंस्कार गर्न तयार भएनन् । मानिसमा चेतनाको कमीले पनि यसो भएको हुनसक्छ । विशेष सावधानी अपनाएर दाह संस्कार गर्दा कोरोना सल्किँदैन भन्ने ज्ञान न भएर पनि यस्तो व्यवहार गरिएको हुनसक्छ । पछि तरुण दलका कार्यकर्ता गएर ती अर्को पार्टीका नेताको दाह संस्कार गरे । राजनीतिक संघसंगठन चुनावका लागिमात्र बनाइने होइन । यिनीहरु समाज र नागरिकप्रतिको जिम्मेवारीबाट विमुख नहोऊन् । यो समयमा संगठनको आधारमा मतभेत भन्दा पनि मानवताको आधारमा सबै एकजुट भए। मानव सेवामा अग्रसर हुने बेला हो ।
–अहिले नेपालमा २ हजार ६०० आईसीयु बेड छन् भने ९०० भेंटिलेटरमात्र छन् । यो लेख लेख्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको थियो भने मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।
–नेपालको कोभिड–१९ को तग्यांक रेकर्डिंग र रिपोर्टिंगमा पनि सुधार आवश्यक छ । कुनै पनि बिरामीको प्रवृत्ति बुझ्न तथा नयाँ स्ट्रेनको परीक्षणका लागि जिनोमिक सिक्वेंसिंग (जीनोम अनुक्रमण)को अध्ययन गर्नुपर्छ । नेपालमा जिनोमिक सिक्वेंसिंगमा कुनै काम भएको थाहा पाइएको छैन । संक्रमण नियंत्रण गर्न र समयमा उचित रणनीति तयार गर्न यी दुवै काम गर्नु आवश्यक छ । नेपालले यस बारेमा शोध गर्न कुनै कदम उठाएको देखिँदैन । नेपालले सिक्वेंसिंगको लागि हांगकांगलगायत अन्यत्र नमुना पठाउने गरेको छ ।
–महामारी सम्बन्धित प्रतिकार्यहरु वैज्ञानिक प्रमाण र विशेषज्ञहरुको प्राविधिक सलाहबाट मात्र निर्देशित हुनुपर्छ । हल्लाको भरमा नीति नियम बनाइनु हँुदैन । निर्माताले प्राविधिक विशेषज्ञहरुको सल्लाह सुझावअनुरूप नीति निर्माण गर्नुपर्छ । स्वास्थ्य, जनस्वास्थ्य, अर्थशास्त्री, समाजशास्त्रीजस्ता स्वतन्त्र विशेषज्ञहरु नीति निर्माणको लागि संलग्न गराउनुपर्छ । महामारीको असर स्वास्थ्यमा मात्र नपरेर यस्को असर समाजिक र आर्थिक क्षेत्रमा पनि हुन्छ।