काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल समूहले जेठ २ मा फर्कन नचाहेको भन्दै त्यो रटानको उपादेयता सकिएको बताएका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका थापाले माधव नेपाल गुटको सर्तमा बरु शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेससँग एकता होला भन्दै कटाक्ष गरेका छन् ।
“अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला,” उनले सामाजिक सञ्जालमार्फंत धारणा व्यक्त गरेका छन् । तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्ने भन्दै 'ल्याङल्याङ' अति भएको निष्कर्ष निकालेका छन् ।
“अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ, असम्भव कोसिस छाडौँ,” थापाको आग्रह छ ।