बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बुद्ध एक शान्त विद्रोही तथा रणनीतिज्ञ डा. सुरेन्द्र सिंह रावल    
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, जेठ २४, २०७८
Laxmi Bank
Laxmi Bank

बौद्धवादलाई धर्मका रुपमा अभ्यास गरिंँदा होस् या दर्शनका रुपमा अध्ययन गर्दा चार आर्य सत्य, अष्टाङ्ग मार्ग, प्रतीत्य–समुत्पाद, द्वादश–निदान, मध्यम–मार्ग तथा अनीश्वरवाद–अनात्मवाद–क्षणीकवादलाई केलाउनुपर्ने हुन्छ । धार्मिक अभ्यासमा बौद्धवादका अनेक स्वरुप हुँदाहुँदै दर्शनको रुपमा यसको ह्मत्त्व दिनप्रतिदिन बढ्दो छ । बौद्ध धर्म कर्मवादी हो, ईश्वरवादी होइन । बुद्ध भन्छन् – कर्म शुद्ध छ भने ईश्वरले केही बिगार्न सक्दैनन् तर कर्म नै अशुद्ध छ भने ईश्वरले पनि सपार्न सक्दैनन् । हरेक दुःखको कारण छ । विनाकारण (कज) कार्य (इफेक्ट) हुँदैन । यसलाई उनी प्रतीत्य–समुत्पादका रुपमा व्याख्या गर्छन् । बौद्ध दर्शनमा कार्यकारण सम्बन्ध नै त्यस्तो मूलभूत तत्व हो जसलाई कसैले पनि बदल्ने सामथ्र्य राख्दैन । 

शान्त विद्रोही

बुद्ध विद्रोही हुन् – चाहे त्यो व्यक्तिगत जीवनमा गरिएको विद्रोह होस् वा सामाजिक परिवर्तनका लागि । उनले आफ्ना वरपर दुःख देखेर विलासी जीवनबाट मात्र विद्रोह गरेका होइनन् बरु मानव मुक्तिकै लागि विद्रोह गरेका थिए । तर, बुद्धको विद्रोह भने शान्तिपूर्ण थियो । उनको ज्ञान तथा नरम बोलीले नै समाजमा स्थापित मान्यतालाई विस्थापित गरिदियो । 

Duber nepal

Agani Group

गंगातट वरपर छरिएर रहेका लडाकु समाजहरु बुद्धकालभन्दा अघिबाट केन्द्रीकृत राजतन्त्रमा विकास भएका थिए । यी राज्यका भित्री भागमा नगर तथा प्रशासनिक केन्द्र थिए जहाँ व्यापारीलगायत विभिन्न पेसा अँगाल्नेहरु बस्थे । त्यहाँ मानिसहरुबीच श्रमको जटिल बाँडफाँट तथा सामाजिक हैसियत निर्धारण गरिएका हुन्थे । तर, यो स्थिति क्रमशः वर्ण व्यवस्थाका रुपमा समाजमा स्थापित हुँदै तथा जन्मसिद्ध अधिकारका रुपमा बिस्तारै झाँगिदै गयो । बुद्धलाई धर्म तथा ईश्वरको नाममा भइरहेका यस्ता सामाजिक विभेद, छुवाछुत र शोषण मन परेन । 

तसर्थ, उनले ईश्वरवादको बदला मानवतावादी उपागमलाई जोड दिए । बुद्ध तर्क गर्थे – भगवान हुन्थे त भने पृथ्वीमा भइरहेका पाप हुने थिएनन् र पाप उनैले हुन दिएका हुन् भने त्यस्ता निर्दयी भगवानको काम छैन । वेदलाई विकृत गरेर यज्ञको नाममा बलि चढाएको देखेपछि उनी कर्मकाण्डको विरुद्ध लागे । उनले जो आफ्नो विवेकको प्रयोग गर्दैन र जाँचपडतालविना वेदलाई प्रमाण मान्छ त्यसभन्दा मूर्ख मानिस संसारमा अरु हुँदैन भन्ने धारणा राखे । बुद्धले वेदमा उठाएका छ प्रश्नहरु अव्याकृत (अकथनीय) हुन् जसको उत्तर छैन । त्यसैले तिनको पछिलाग्नु समयको बर्बादी हो भनेका छन् । 

ज्ञान र सद्गुण जन्मको आधारमा नभई कर्मबाट आर्जन गरिने भएकाले जुनसुकै वर्ण वा वर्गकाले पनि सो प्राप्त गर्नसक्ने र फलस्वरुप निर्वाण हरेकको पहुँचमा रहेको ठम्याइ बुद्धको थियो । उनले ‘कर्म गर्नुभन्दा कर्मको मनसाय ह्मत्त्वपूर्ण हुन्छ’ भन्दै कर्मको लोकतन्त्रीकरण गरे । यसले मानिसको मुक्तिको चाहनालाई पुरोहितको हातबाट जनसाधारणको पहुँचमा पु¥यायो । त्यस्तै, तत्कालीन कठिन परिस्थितिमा पनि महिलालाई संघमा स्वीकारेर समावेशीकरणलाई आत्मसात् गरे । 

एक कुशल रणनीतिज्ञ

बुद्ध जनतन्त्रवादी थिए र कर्मकाण्ड तथा भक्तिको बदला उनको झुकाव ज्ञान र चिन्तनतिर थियो । तर, कुशल रणनीतिज्ञ भएकाले आफू अनिश्वरवादी हुँदाहुँदै पनि ईश्वरवादीहरुको धेरै विरोध गरेनन् । बरु उनीहरुलाई पनि आफ्नो विचारमा समाहित गरे । राहुल सांकृत्यायनले आफ्नो पुस्तक ‘बौद्ध दर्शन’ मा भनेका छन् – “मगधका सारीपुत्र, मौद्गल्यायन, ह्माकाश्यप मात्र होइनन्, सुदूर उज्जैनका राजपुरोहित ह्माकाव्यायनजस्ता विद्वान् ब्राह्मण उनका शिष्य बने जसले ब्राह्मणहरुको धर्म र स्वार्थको विरोधी बौद्ध धर्मप्रति ब्राह्मणहरुमा कटुता फैलिनबाट रोके ।”

आफ्नो अभियानमा व्यवधान आउन नदिन उनि कति सचेत थिए भन्ने अर्को एउटा प्रसंगबाट पनि थाहा हुन्छ । अजातशत्रुसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि बुद्धले अजातशत्रुका विरोधी वैशालीका लिच्छिवीहरुको प्रशंसा गर्दै राष्ट्रलाई अपराजित राख्ने सात कुराहरु बताए जसमा सामूहिक कर्तव्य पालनका विषयहरुबाहेक जातीय धर्मको पालना गर्ने र धर्माचार्यहरुको सत्कार गर्नेमा जोड दिनु पनि थियो । बुद्धका सुझावहरुले उनी त्यस समयको सामाजिक व्यवस्थामा हस्तक्षेप गर्न चाहँदैनथे भन्ने देखाउँछ । 

बौद्ध दर्शन क्षणिकवादी हो र कुनै पनि वस्तु निरन्तर परिवर्तनशील छ भन्ने मान्यता राख्छ । तर, यस सिद्धान्तलाई बुद्धले समाजको आर्थिक व्यवस्थामा लागू गर्न चाहेनन् । धनाढ्य शासक शोषक समाजसँग यस प्रकार समझदारी कायम गर्दा उनीजस्ता दार्शनिकको उपल्लो वर्गमा सम्मान बढ्नु निश्चितै थियो । यस्तो नीतिले पुरोहित वर्गका कूटदन्त, सोणदण्ड जस्ता धनी तथा प्रभुत्व भएका ब्राह्मण उनका अनुयायी बन्थे । राजाहरु उनको सत्कारको लागि होडबाजी गर्थे । त्यस बेलाका धनी व्यापारी उनको सत्कारको लागि अझ बढी खर्च गर्थे । खासमा, बौद्ध धर्मलाई फैलाउन राजाहरुले भन्दा व्यापारीहरुले बढी सहायता गरे । बुद्ध त्यस बखतको आर्थिक व्यवस्थाविरुद्ध गएका भए यस्तो सहजता सम्भव थिएन ।  

बुद्धले दरिद्रता र दासतालाई हटाउनु आफ्नो अभियानको हिस्सा बनाएका थिएनन् । आरम्भिक दिनहरुमा दरिद्रता र दासताको भयावह स्थितिलाई केही हलुको गर्नुपर्छ भन्ने प्रवृत्ति बौद्ध संघमा थियो । त्यसबेला, ऋण दिनेहरु ऋणीसँग तिर्ने सम्पत्ति नहुँदा शरीरसम्म किन्ने अधिकार राख्थे । यसै कारण कैयौं ऋणीहरु त्राण पाउनको लागि भिक्षु बन्थे । तर, जब महाजनहरुको विरोधी भइने खतरा सामु आयो अनि बुद्धले घोषणा गरे – “ऋणीलाई प्रव्रज्या (सन्यास) दिनु हुँदैन ।” त्यस्तै गरी, बुद्धका अनुयायी मगधराज विम्बिसारका सैनिकहरु जब युद्धमा जानुको सट्टा भिक्षु बन्न थाले तब सेनानायक र राजा सारै डराए । विम्बिसारले राजसैनिकहरुलाई साधु बनाउने मान्छेलाई दण्डभागी बनाउनुपर्ने मनसाय आफ्ना अधिकारीहरुको रहेको बुद्धलाई सुनाएपछि बुद्धले घोषणा गरे – “भिक्षुहरु, राजसैनिकहरुलाई प्रव्रज्या दिनु हुँदैन ।” 

मानिस एक विवेकशील प्राणी हो जसमाथि कुनै पनि विचार जबरजस्ती लाद्ने दुष्प्रयास गर्नु कालान्तरमा प्रत्युत्पादक हुन्छ भन्ने बुद्ध राम्ररी बुझ्थे । एक प्रसङ्गमा बुद्धले भिक्षुहरुलाई सम्झाउँदै आफ्नो दर्शनलाई डुङ्गा (पटेलो)को रुपमा नदी तर्न प्रयोग गर्नुपर्ने तर त्यसैलाई नै समातिराख्न हुँदैन भनेका छन् । यहाँ बुद्धको सुझबुझलाई तीव्र धार भएको नदी पार गर्ने सादृश्यबाट पनि हेर्न सकिन्छ ।

उपनिषदकालीन धार्मिक मूल बहाव भनेको आत्माको बारेमा ऋषिमुनिले गर्ने सशक्त प्रचार थियो । यो समय चार्वाकजस्ता भौतिकवादी दार्शनिक पनि देखिए तर ‘ऋणं कृत्वा घृतं पिवेत्’ (ऋण गरेर भए पनि घिउ पिऊ) भन्दै प्रवाहको पूरैविपरीत जान खोजेकाले उनी धेरै सफल भएनन् । बुद्ध पनि बहावविपरीत गएका भए चार्वाकजस्तै सीमित हैसियतमा रहने थिए भने समयको धारअनुरुप बगी उपनिषद्कै व्याख्यानका पछि लागेको भए उनी त्यतिवेलाका वैदिक विद्वान्को हुलमा हराउँथे । तर एक कुशल रणनीतिज्ञ भएकाले मध्यम मार्ग अपनाउँदै दुवै प्रवाहबाट बच्दै अन्ततः बौद्ध दर्शनलाई पार लगाउन सफल भए ।

बुद्धको दार्शनिक निचोडलाई हेगलको वाद–प्रतिवाद–संवाद (थेसिस–एन्टिथेसिस–सिन्थेसिस)बाट पनि हेर्न सकिन्छ । वादको रुपमा उपनिषद्को आत्मवाद, प्रतिवादको रुपमा चार्वाकको भौतिकवाद र संवादको रुपमा बुद्धको अभौतिक अनात्मवादलाई बुझ्नुपर्ने हुन्छ । आत्मवादमा विश्वास गर्ने ईश्वरवादी तथा कर्मकाण्डवादीहरुबाट मात्र होइन भौतिकवादीबाट पनि आफ्नो ब्रह्मचर्य र समाधिको विरोध हुन्छ भन्नेमा उनी उत्तिकै सचेत थिए । त्यसैले बुद्धले आफूलाई अभौतिकवादी–अनात्मवादीको स्थितिमा राखे । बुद्ध आफ्नो दर्शनको व्याख्या अत्यन्त सावधानीपूर्वक गर्थे र त्यसको अपव्याख्या होला भनी कतिसम्म सचेत थिए भन्ने साति केवटपुत्त भिक्षुलाई आफ्नो दर्शनको गलत व्याख्या गरेकोमा नालायक (मोघपुरुष) भनेको घटनाले दर्शाउँछ । 

त्यस बखत अनित्यवादबाट लोकमर्यादा, धनी–गरिब, दास–स्वामीजस्ता भेदमा ठक्कर लाग्न सक्थ्यो । त्यसैले त कोरा भौतिकवाद सामन्त र व्यापारिक वर्गमा लोकप्रिय बन्न सकेन । गौतम बुद्धले भौतिकवादमा केही सम्मिश्रण गरी त्यसको तीतोपनालाई मिल्काएर आफ्नो अनात्मवाद तर्जुमा गरेका थिए । राहुल सांकृत्यायनले आफ्नो पुस्तक ‘भोल्गासे गंगा’ मा भनेका छन् – “यस(बुद्ध) विचारमा प्रवाहण राजाद्वारा आविष्कार गरिएको हतियार ‘पुनर्जन्म’ समेटिने पुरै गुन्जाइस थियो ।” राहुल अगाडि भन्छन् – “गौतम बुद्धले कोरा भौतिकवादको मात्रै प्रचार गरेका भए निश्चय नै श्रावस्ती, साकेत, कौशाम्बी, राजगृह माद्रिकाका श्रेष्ठीराजले न आफ्ना थैली खोल्थे न ब्राह्मण, क्षत्रीय सामन्त तथा राजा उनका चरणमा शिर निहुराउन होडबाजी गर्थे ।”

आफ्नो प्रतीत्य समुत्पादबाट अभिजात वर्ग सशंकित हुने अवस्थामा बुद्ध कर्मवादलाई अघि सार्थे जसले उनीहरुको भयलाई हटाइ दिन्थ्यो । फलस्वरुप बौद्ध धर्मको छत्रछायामा ठूलाठूला राजा, सम्राट, धनाढ्य निर्भयतापूर्वक आउने मात्र होइन तिनैले श्रीलंका, जापान, चीन, तिब्बतमा समेत बुद्ध धर्म फैलाउन मद्दत गरे । उनीहरु सोच्थे – बुद्ध धर्म सामाजिक विद्रोहको लागि नभई तत्कालीन सामाजिक स्थितिलाई अझ बलियो बनाउन सहायकसिद्ध हुनेछ । सामाजिक आर्थिक विषम्तालाई अक्षुण्ण राख्दै बुद्धले वर्ण व्यवस्था, जातीय भेदभावलाई हटाउने नीति अवलम्बन गरेका थिए । त्यसबाट विषमता त हटेन तर निम्न वर्गको सद्भाव बुद्ध धर्मतिर वृद्धि भने भयो । समाजमा विद्यमान वर्गको दृष्टिकोणबाट बौद्ध धर्म शासक वर्गको मध्यस्थकर्ताजस्तो देखियो – कुलीन वर्गको मौलिक स्वार्थलाई विस्थापित नगरी बौद्ध धर्मले आफूलाई स्थापित गर्न तथा न्यायको पक्षधरता देखाउन सफल भयो । 

एक रणनीतिज्ञको रुपमा बुद्धलाई आफ्नो साध्य (इन्ड) प्राप्त गर्न साधन (वेज एन्ड मिन्स) लाई समय–परिस्थितिअनुरुप सामञ्जस्य गर्दै कसरी अघि बढ्नुपर्छ भन्ने राम्रो ज्ञान थियो । कतिपय उनलाई ईश्वरवादी त कति अनिश्वरवादी मान्छन् तर उनको रणनीतिको गुह्य भने अव्याकृत पक्ष हो । उनी पश्चिमा दार्शनिकले झैं ‘मेटाफिजिक्स’ को अनुत्तरित प्रश्नको पछि नलागी व्यवहारवादमार्फत् आफ्नो लक्ष्य प्राप्तिमा सफल भए ।

अन्त्यमा, मुलुकको राजनीति तथा अन्य जिम्मेवार निकायहरुका शीर्ष पदाधिकारीमा समेत आत्मकेन्द्री, सर्वसत्तावादी, अतिवादी, स्वेच्छाचारी, अहंकारी, स्वार्थी, भ्रष्टाचारी, अवसरवादी, संकिर्णवादी र आत्ममुग्ध नेतृत्व र प्रवृत्तिको वोलवाला भएको यो जटिल समयमा महामानव बुद्धका शान्तिपूर्ण विद्रोह तथा कुशल रणनीतिज्ञताको आवश्यकता समतामूलक समाज निर्माणको लक्ष्यप्राप्तिका लागि आज पनि टड्कारो ह्मसुस गरिएको छ । 
 

 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्