site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९ खोप र अमेरिकाको राष्ट्रिय स्वार्थ

एक शताब्दीअघि इन्फ्लुयन्जा भाइरसको महामारीबाट प्रथम विश्वयुद्धमा भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । अहिले, कोभिड–१९ को महामारीले सन् १९४५ देखि अहिलेसम्म जति अमेरिकी विभिन्न लडाइँमा मरे त्यसभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सय वर्षअघि र अहिलेको फरक चाहिँ के हो भने त्यतिबेला इन्फ्लुयन्जाविरुद्ध कुनै खोप बनेको थिएन तर अहिले विभिन्न कंपनी र विभिन्न देशले कोभिड–१९ विरुद्धको खोप विकास गरिसकेका छन् ।

अमेरिका, बेलायतजस्ता संसारका धनी लोकतान्त्रिक मुलुक युवा अवस्था पुगेको आफ्नो जनसंख्याको आधाभन्दा बढीलाई अहिलेको महामारीविरुद्ध खोप लगाउन सफल भइसकेका छन् । फलस्वरुप, रोगको संक्रमण र मृत्युको संख्यामा पनि निकै कमी आएको छ । भारत, ब्राजिल तथा धेरै अफ्रिकी मुलुकमा खोप लगाउने दर अत्यन्त न्यून रहेको कारणले मृत्यु दर अत्यधिक छ । द इकोनोमिस्ट पत्रिकाको अनुमानअनुसार यो महामारीबाट मृत्यु हुनेको संख्या करिब एक करोड पुग्ने अवस्था छ जुन सरकारी तवरले दिइने आधिकारिक तथ्यांकभन्दा तीन गुणा ज्यादा हुनेछ । 

यस्तो अत्यन्त नाजुक अवस्थामा के विकसित देशहरूले खोप (भ्याक्सिन) नपाएर अत्यन्त अप्ठेरो अवस्थामा पुगेका देशहरूलाई सहयोग गर्नुपर्ने हैन ? आफ्नो देशमा सबैलाई खोप लगाएरमात्र अरुलाई दिने तरिका ठीक हो र ? जुनबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “पहिला अमेरिका” भन्ने नारा लगाएका थिए त्यस समयमा उनी लोकतान्त्रिक मान्यताअनुसार धेरै गलत थिएनन् । किनभने निर्वाचित नेताको पहिलो दायित्व नै आफ्ना जनताको हक, हितको सुरक्षा र तिनको सम्बर्धनका लागि काम गर्नु हुन्छ । तर, मेरो पुस्तक “डु मोरल्स म्याटर?” (के नैतिकताको मूल्य हुन्छ ?) को मूल प्रश्न नै नेताहरूले राष्ट्रिय स्वार्थलाई कसरी परिभाषित गर्छन् भन्ने नै हो । यसरी राष्ट्रिय स्वार्थको परिभाषा गर्ने दुई प्रकारका दृष्टि हुन्छन्, एउटा हुन्छ राष्ट्रपति ट्रम्पको जस्तो अदूरदर्शी र लेनदेनकारी तर अर्को दृष्टि निकै फराकिलो र धेरै कालसम्म प्रभाव पुर्‍याउने प्रकारको हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उदाहरणका लागि अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनको दोस्रो विश्वयुद्धपछिको ‘मार्सल प्लान‘को सोच । युरोपेली सहयोगी राष्ट्रलाई दोस्रो विश्वयुद्धमा खर्च भएको पैसा तिर भनेर अमेरिकाले भनेन । अमेरिकाले पहिलो विश्वयुद्धपश्चात खर्च तिराउने नीति अपनाएकोे थियो । बरु, ट्रयुमनले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत युरोपेली राष्ट्रको उत्थानका लागि खर्च गर्ने निर्णय गर्यो । यस नीतिले युरोपेलीहरूले पुनःनिर्माणमा अमेरिकी साझेदारीको उपयोग गरे जुन उनीहरूलाई निकै लाभदायक भयो । साथै अमेरिकाको राष्ट्रिय स्वार्थ पनि सफलीभूत भयो । किनभने ती देशमा पूर्वी युरोपको जस्तो कम्युनिस्ट प्रभाव परेन ।

मार्सल प्लानजस्तो नीति वा प्रयत्न गरिब देशमा खोप लगाउने विषयमा पनि अवलम्बन गरिनुपर्छ । कालान्तरमा यो अमेरिकी राष्ट्रिय हित अनुकूल हुनजान्छ । यसका लागि चार कारण दिन सकिन्छ । पहिलो, यो अमेरिकाको आफ्नै चिकित्सकीय स्वार्थका लागि गर्नुपर्छ । भाइरसले मानव जातिविरुद्ध आक्रमण गर्दा राष्ट्रियता हेर्दैन । भाइरसलाई आफ्नो वृद्धिका लागि शरीर चाहिन्छ र त्यसका लागि खोप नलगाएका गरिब देशका धेरै जनताको शरीर उपलब्ध हुन्छ । भाइरसले यसरी वृद्धि हुने मौका पायो भने बिस्तारै रुप फेर्दै अहिलेका खोपले नछुने भेरियन्ट बन्न सक्छ जुन अमेरिका पुग्न केही समय लाग्दैन । यस्तो भएको खण्डमा नयाँ खोप विकास गर्नुप¥यो, फेरि जनतालाई लगाउनु पर्‍यो, जसले चिकित्सा प्रणालीमा ठूलो तनाव पैदा गर्नसक्छ । त्यतिमात्र होइन फेरि लकडाउन र आर्थिक क्षति पनि प्रशस्त हुन्छ । 

Global Ime bank

भ्याक्सिन मार्सल प्लान हाम्रो विचारमा अमेरिकाको राष्ट्रिय हितमा नै हुन्छ । कतिपय विदेश नीति विज्ञहरू नैतिक मूल्य र स्वार्थ वा सरोकारलाई एक अर्काको विपरीत मान्छन् । तर, त्यो गलत अन्तरविरोध हो । हाम्रा मूल्यहरू सधँै हाम्रा महत्त्वपूर्ण हितसँग आबद्ध रहेका हुन्छन् । किनभने तिनले हामी मानवीयरुपमा कस्ता छौँ भनेर देखाइरहेका हुन्छन् । अन्य मानिसजस्तै अमेरिकीहरूले पनि आफ्ना देशवासीको हितमा बढी ध्यान दिन्छन् तर त्यसको मतलब अरुको समस्याप्रति उनीहरू उदासीन छन् भन्ने होइन । कुनै डुब्न लागेको मानिसले मद्दत माग्दै करायो भने उसले विदेशी भाषामा बोलेको कारणले बेवास्ता गर्ने भन्ने त हुँदैन नि । लोकतन्त्रमा नेताहरू जनताको विचारका आधारमा कतिपय अवस्थामा डोरिएका हुन्छन् र नीति बनाउँदा धेरै पर जान पाउँदैनन् भने जनताको विचार परिवर्तन गर्न पर्याप्त स्रोत र साधन पनि पाउँदैनन् ।

तेस्रो राष्ट्रिय स्वार्थ नरम शक्ति (सफ्ट पावर) हो जुन दोस्रो कारणसँग निकट छ । उदाहरणका लागि मार्सल प्लान वास्तविक आर्थिक स्रोत र रकम दिने विषयसँग जोडिएको थियो । तर, यससँगै दयालुपन र दूरदृष्टि पनि जोडिएको थियो जसले युरोपेलीको मन जित्नसक्यो । नर्वेका राजनीतिशास्त्री गेर लुन्डेस्ट्याड तर्क गर्छन् – विश्वयुद्धपछि अमेरिकाको युरोपमा साम्राज्यवादीजस्तै भूमिका थियो तर त्यस्तो साम्राज्यवाद जसलाई निमन्त्रणा दिएर बोलाइएको होस् । त्यस्तै गरिब देशलाई खोप प्रदान गरेर तथा तिनको चिकित्सा क्षेत्रलाई बलियो बनाएको खण्डमा अमेरिकाको नरम शक्ति धेरै बढ्नेमा शंका छैन । 

अन्त्यमा, यहाँ भूराजनीतिक प्रतिस्पर्धा पनि चलिरहेको छ । चीनले धेरै चाँडो के बुझ्यो भने कोभिड–१९ वुहानमा उत्पत्ति भएको कारणले उसको नरम शक्ति केही कमजोर भयो । सुरुमा भाइरसको उत्पत्तिको विषयमा कुनै कुरा स्पष्ट थिएन र सुरुको अवस्थामा चीनको नियन्त्रण नीति र सत्य स्वीकार नगर्ने कारणले समस्या चाहिनेभन्दा बढी गहिरिएर गयो । अनि उसको अधिनायकवादी ‘लकडाउन‘ सफल भयो । त्यसपछि संसारका धेरै देशमा चीनले कोभिड–१९ कूटनीतिमा निकै मेहनत गरेको छ । 

अरु देशलाई चिकित्सा सामग्री र खोप अनुदान दिएर चीनले विश्वभरमै सुरुको गल्ती गर्ने देश भन्ने सोच बदलेर सहयोगी मुलुकको रुपमा आकर्षण पैदा गरेको छ । बाइडेनको सरकार यस खेलमा चीनलाई भेट्टाउन पछि लागेको छ । अमेरिकाले ६ करोड एस्ट्रा जेनेका र २ करोड थप फाइजर, मोडर्ना तथा जोन्सन एन्ड जोन्सन खोप खुला गर्ने भनेको छ । यसका साथै विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमलाई चार अर्ब डलर सहयोग गरेर गरिब देशका लागि खोप उपलब्ध गराउने घोषणा पनि गरेको छ । साथै भ्याक्सिन उत्पादन गर्न केही समय बौद्धिक सम्पत्तिको अधिकारमा छुट दिने पनि अमेरिकाले घोषणा गरेको छ । 

छोटकरीमा, अमेरिकाको इतिहास, मूल्य र मान्यता, राष्ट्रिय हितजस्ता विषय सम्बद्ध चार सशक्त कारणले गर्दा संयुक्त राज्य अमेरिकाले धनी देशको समूहको नेतृत्व गर्दै संसारका अन्य देशलाई खोप दिलाउनु पर्छ । र, यो काम आफ्नो घरभित्र खोप लगाइसक्नुभन्दा अघि नै गरिनुपर्छ । 
(हार्वर्ड विश्वविद्यालयका प्राध्यापक)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)

Copyright: Project Syndicate, 2021.
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC