सर्वोच्च अदालतले २०७७ पौष ५ मा गरिएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ गते बदर गरिदियो । त्यही प्रतिनिधि सभालाई २०७८ जेठ ८ गते प्रधानमन्त्री केपी ओलीले फेरि विघटन गराए । विघटनविरुद्धमा फेरी सर्वोच्च अदालतमा थुप्रै रिट दर्ता भएका छन् ।
विसं २०४८ देखि २०७८ सम्मको इतिहास हेर्ने हो भने थुप्रैपटक प्रतिनिधि सभालाई अकालमा मार्न खोजिएको छ । विसं २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले, २०५२ सालमा मनमोहन अधिकारीले, २०५४ सालमा सूर्यबहादुर थापाले , २०५९ जेठ ८ मा शेरबहादुर देउवाले र २०७७ पौष -५ तथा २०७८ जेठ ८ मा ओलीले प्रतिनिधि सभा भङ्ग गर्ने सिफारिस गरेका थिए ।
देउवाले २०५९ जेठ ८ को मध्यरातमा दरबारमा बुझाएको विघटनको सिफारिसबाहेक अरु सबै राजनीतिक रूपमा सामान्य रहे । तिनै देउवा अहिले प्रतिपक्षी दलको नेता छन् । देशकाे प्रमुख कम्युनिस्ट र लोकतान्त्रिक पार्टीकाे नेतृत्वमा रहेका यी दुईमध्ये एउटामा चतुर्याइँ र धुत्याइँ बढी छ भने अर्का अपेक्षाकृत जिद्दी र एकोहोरो स्वभाव का छन् । चतुर स्वभावका ओलीको नेतृत्वमा उनको पार्टीले गत चुनावमा स्पष्ट बहुमत ल्यायो । अर्का जिद्दी स्वभावका देउवा नेतृत्व को नेपाली कांग्रेस चुनावपछि थला परेकोछ ।
८ जेठ, २०५९ लाई फर्केर हेर्दा !
विसं २०५८ सालको रोल्पाको होलेरी काण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच ठूलै मनमुटाव भयो । राजनीतिक दबाब बढ्दै गएपछि गिरिजाबाबुले राजीनामा दिए । कोइराला र काङ्ग्रेसलाई कमजोर बनाएर राजा ज्ञानेन्द्र राज्यसत्ताको बागडोर लिन आतुर थिए ।
पोखरामा भएको १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित देउवा कांग्रेसमा कोइरालालाई विस्थापित गर्न चाहन्थे । कोइरालालाई कमजोर बनाउने मनसायले देउवाले राजालाई साथ दिए । राजा ज्ञानेन्द्रको परामर्श र सहयोगमा गरिएको त्यो प्रतिनिधि सभा विघटनलाई कसैले रोक्न सकेन ।
कोइरालालाई कमजोर बनाउन खोज्दा कांग्रेस र लोकतन्त्र नै धरापमा पर्छ भन्ने जिद्दी देउवाले बुझ्नै सकेनन् । आफूखुसी गलत निर्णय गर्ने स्वभावका देउवालाई पार्टीले अनुशासनको कारबही गर्यो । कोइरालासँग रिसाएका ज्ञानेन्द्रले देउवालाई पार्टी फुटाउन उक्साए । राजाकै इसारामा २०५९ असारमा देउवाले पार्टी नै फुटाए । उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए ।
देउवाले माओवादी हिंसाका कारण निर्धारित मितिमा चुनाव गराउन सकेनन् । राजनीतिक अस्थिरता आयो । आफ्नो उद्देश्य पूरा भएपछि राजाले अक्षम प्रधानमन्त्रीको पगरी लगाएर देउवालाई पदच्युत गरिदिए । राजनीतिक अस्थिरताको मौका छोपेर राजा ज्ञानेन्द्रले माघ १९ मा प्रजातन्त्रलाई "कु" गर्ने मौका पाए । निर्वाचित प्रमलाई बर्खास्त गरेकोमा देशभर राजाको विरोध भयो । प्रजातन्त्र स्थापनाका लागि नेपाली जनताले फेरि जनआन्दोलन गर्नुपर्ने भयो । अन्ततः गिरिजाप्रसाद कोइरालाकाे नेतृत्वमा जारी आन्दोलन ०६२/६३ मा बल्ल सफल भयाे ।
बीस वर्षपछि ०७८ जेठ ८ !
संसदमा स्पष्ट बहुमत , दलभित्र सानातिना विवादबाहेक सबै कुरामा सहयोग थियो प्रधामन्त्री ओलीलाई । ओलीसँग उनका सहयात्री र सहयोद्धा माधवकुमार नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनालकाे मिडियामा आएजस्तो ठूलो झगडा पनि थिएन ।
सरकारको नीति र कार्यक्रमलाई सत्तापक्षका सांसदभन्दा अघि नै ताली बजाउन हतार हुने विपक्षी दल थियो । सरकारले गरेका भ्रष्टाचार र अत्याचारका विषय नसुन्नेझैँ गर्ने, संसद्मा नबोल्ने तर ओलीसँग मित्रता बढाउन बालुवाटार छिर्ने विपक्षी दलको नेता ।
सरकार टिकाउन प्रतिपक्षी दललाई फकाउनै नपर्ने ।
नेपालको सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य, हार्दिकता, सामीप्यका साथै भ्रष्टाचार र अनियमिततामा समेत साझेदारी देखेर विश्वका प्रजातान्त्रिक मुलुकहरु छ्क्क पर्छन् होला ।
सरकार सञ्चालनमा यति सहज परिस्थिति छ तर पनि संविधानमा नै प्वाल पार्ने गरी संसद् विघटनको सिफारिस लिएर ओली किन पटकपटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्छन् ? देशभरका नागरिकमा यही कौतुहल छ ।
र अन्त्यमा
देउवाभन्दा उमेरले पाँच वर्ष कान्छा केपी ओली ६३ वर्षको उमेरमा पार्टी अध्यक्ष बनेका थिए । उनी ६४ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री भए । आफूभन्दा बीस वर्षअघि नै प्रधानमन्त्री बनेका देउवाबाट केपी ओली अहिले सिको गर्दैछन् ।
प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ओलीले देउवा नेतृत्वबाट भरपूर सहयोग पाइरहेका छन् । राजनीतिक नैतिकता बिर्सेर देउवाले सत्तापक्षसँग मिलेमतो गर्दा कांग्रेसकाे भने पार्टी संगठन ध्वस्त हुनै लागेकाे थियाे ।
पार्टीका नेतालाई मिलाउन छोडेर विपक्षी दलको नेतासग नजिकिएर ओलीले आफ्नै पार्टी सिध्याउँदै छन् । कांग्रेस र एमाले कमजोर भएपछि देश र लोकतन्त्रको भविष्य के होला ? बेलगाम घोडाजस्तै बेसुरमा दौडिरहेका ओली र देउवाको अबको गन्तव्य कहाँ हो ? सायद यिनैलाई पनि थाहा नहोला । प्रधानमन्त्री ओली र सभापति देउवाको यो व्यवहार देशको भविष्य र लोकतन्त्रको लागि शुभ संकेत चाहिँ होइन ।
( अध्यक्ष, गणेशमान सिंह स्मृति पुस्तकालय, रुपन्देही )