काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम छलफल गरेर मात्र राख्न सुझाव दिएका छन् ।
हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएमा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा नाम राख्ने चर्चा चलिरहेका बेला भट्टराईले आपत्ति जनाएका हुन् । उनले सहमतिका साथ नराखिए विवाद र तनाव झेल्नुपर्ने चेतावनी पनि दिएका छन् ।
“ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा, विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ,” उनले भनेका छन् ।