site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अक्सिजन अभाव : ‘सरकारी हत्या’ ! आफन्तहरु कर्म यस्तै रहेछ भन्छन्, फर्कन्छन् ...
Ghorahi CementGhorahi Cement

पोखरा । बिरामी अचानक छटपटाउन थाले । उनीहरुको नाकमा अक्सिजन मास्क लगाइएको थियो । तर, उनीहरुले सहजै स्वास फेर्न सकिरहेका थिएनन् । अक्सिजन सिलिण्डरबाट चाहिने मात्रामा अक्सिजन प्रवाह हुन सकेन ।

त्यसपछि उपचाररत बिरामीहरु अचानक जुरुकजुरुक गर्न थाले । उनीहरुका आफन्त चिच्याउन, कराउन र दौडन थाले । डाक्टर गुहार्न थाले । “मेरो बिरामी मर्न लागिसक्यो, हेरिदिनुहोस भन्दै ।”

कतिपय बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर ल्याउन डाक्टरहरुले भनिरहेका थिए । त्यहाँ एक किसिमको भागदौड नै चल्यो । बिरामीका आफन्तले डाक्टर बस्ने कक्षको ढोका हान्न थाले । तर, डाक्टर बाहिर निस्केनन् ।

Agni Group

बिहीबार राति भएको यो घटना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयू वार्डको हो । अनि अनुभव सुनाउने चाहिँ सोही वार्डमा कोभिड संक्रमित भएर उपचाररत पोखरा मुस्ताङ चोककी एक सुत्केरी महिला हुन् ।

उनको अर्को बेडमा एक महिलालाई बिहीबार साँझ ९ बजेतिर ल्याइएको थियो । तर, १० बज्दा नबज्दै उनको अक्सिजन प्रवाह कम भयो । उनको उचालिएको शरीर एक्कासी ढल्यो । त्यहाँको अवस्था देखेर उनी आफैँ बेहोस हुने स्थितिमा पुगिन् । त्यो देख्न नसकेर उनी बाहिर गइन् ।

Global Ime bank

बाहिर केहीबेर बसेर आफ्नो बेडमा जाँदा ती महिला निर्जिव भइसकेकी थिइन् । उनको प्राणपखेरु उडिसकेको थियो ।

“त्यस्तो अवस्थामा कोही डाक्टर निस्केनन्, त्यहाँको अवस्था हेर्न नसकेर म बाहिर गएँ, पछि अक्सिजन नपुगेर मृत्यु भएको हो रे भन्ने थाहा पाएँ,” ती महिलाले भनिन् ।

कोभिड संक्रमित भएर उपचाररत पर्वतको कुश्माका एक पुरुष पनि बिहीबार रातिको अवस्था निकै भयावह रहेको बताउँछन् ।

“बोलाउँदाखेरि कोही डाक्टर नै आउँदैनन् । उनीहरु प्रहरीको सुरक्षामा बसिरहेका थिए । अक्सिजन अपुग होलाजस्तो हुनासाथ प्रहरी आउँदा रहेछन् । हिजोमात्रै दुइजनाको निधन भयो, त्योभन्दा चार पाँचदिन अगाडि पनि थप दुइजना अक्सिजन कम भएका कारण ज्यान गुमाएका रहेछन्,” उनले भने ।

गएराति चाहिँ एकजना युवक आफ्नो बिरामीलाई गाह्रो भएपछि डाक्टरलाई बोलाउन गए । तर, डाक्टरले घरिघरि यहाँ नआउनुहोस् भन्दै जवाफ फर्काएको ती पुरुषले जानकारी दिए ।

ती युवा निराश हुँदै फर्के र सुस्कारे, “कर्म यस्तै रहेछ ।”

बिहीबार रातिको त्यो त्रासदीपूर्ण अवस्थामा ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक सुत्केरी महिलासमेत छन् ।

जो सुत्केरी भइन्, तर आफ्नो बच्चालाई दुधसमेत चुसाउन नपाइ उनको ज्यान गयो ।

उनका आफन्तले यसलाई ‘सरकारी हत्या’को संज्ञा दिएका छन् ।

कोरोना संक्रमितको उपचार गर्ने प्रदेशकै ठूलो यही अस्पतालमा गएराति ती महिलासहित ३ जना बिरामीले चाहिने मात्रामा अक्सिजन नपाएर ज्यान गुमाउन पुगे । यो घटना अहिले देशव्यापी बनेको छ । 

त्यही रात थप पाँचजनाको ज्यान गएको अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए ।

के चाहिने मात्रामा अक्सिजन आपूूर्ति भएको भए ती बिरामीको ज्यान बच्न सक्थ्यो त ? डा. बराल भन्छन्, “बिरामीसँगै हामीलाई पनि राहत महसुस हुन्थ्यो ।”

अक्सिजन स्टक भएर बिरामीलाई नदिएको नभइ उद्योगबाट रातभरि नै अक्सिजन ल्याएर बिरामीलाई दिइरहेको उनले बताए ।

“अक्सिजन स्टक आउट भएको होइन । तर, अक्सिजनको चाप चाहिँ बढि भएको हो,” उनले भने ।

यो अस्पताललाई पोखरा अक्सिजन प्रालिले ग्यास आपूर्ति गर्ने गर्दछ । अहिले अस्पतालमा दैनिक ३ सय ५० सिलिण्डर खपत हुने गरेको छ । 

तर, बिहीबार केहीबेर विद्युत अवरुद्ध भएका कारण उद्योग बन्द भएको थियो । उद्योग बन्द हुनासाथ त्यसलाई पुनः सुचारु गर्न केही समय लाग्ने उद्योगका व्यवस्थापक लक्ष्मण ताम्राकारले जानकारी दिए । 

पछि विद्युत सुचारु भएपछि उद्योगले तत्कालै अक्सिजन उत्पादन थालेको र अस्पताललाई आपूर्ति गरेको उनले जानकारी दिए ।

उत्पादन सीमित र माग बढी भएका कारण हिजोको अवस्था आएको त्यसमा पनि विद्युत अवरोधका कारण क्षमता अनुरुप उत्पादन गर्न नसकिएको उनले बताए ।

उद्योगसँग पर्याप्त सिलिण्डर पनि नभएका कारण बाह्य जिल्लाका अस्पतालले सिलिण्डर पठाएर फिलिङ गरेर लैजाने गरेका छन् ।

यही घटनापछि शुक्रबार बिहानै प्रदेशका मुख्यमन्त्रीसहित कास्कीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य निर्देशनालयका निर्देशक, अस्पतालका निर्देशक सहितको आकस्मिक बैठक बसेको थियो ।

उक्त बैठकले अक्सिजन आपूर्तिलाई नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी अस्पतालका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।

त्यसका लागि सकेसम्म छिटो अक्सिजन प्लान्ट खोल्नुपर्ने उनी बताउँछन् । अस्पतालमा यही आर्थिक वर्षमा सम्पन्न हुनेगरि अक्सिजन प्लान्ट स्थापनाको कार्य अगाडि बढेको छ । 

ठेकेदार कम्पनीले जर्मनीबाट सामान मगाउनुपर्ने भएका कारण ढिलाई भएको उनले बताए ।

यसबाहेक निजी कम्पनी बतास अर्गनाइजेसन तथा युएनडिपीले पनि अस्पतालमा अक्सिजन प्लान्ट राख्ने जानकारी उनले दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पनि चीनले पठाएका ३६ थान सिलिण्डर संघीय मन्त्रालयले पठाएको छ । अस्पतालको इमर्जेन्सी वार्ड नजिकै एउटा कुनामा १६ वटा निला सिलिण्डर लाइन मिलाएर राखिएको छ । चीनबाट प्राप्त यी सिलिण्डर आएदेखि त्यही वार्डको बाहिरपट्टि थन्किएर बसेका छन् । 

प्रयोगमा कहिले आउँछ भन्ने अन्योल नै छ । यसबाहेकका २० वटा सिलिण्डर भर्नकै लागि उद्योगमा पठाइएको छ ।
तर, ती भरिइएका छैनन् ।

कारण चीनबाट आएका ती सिलिण्डरमा ग्यास भने उपकरण उद्योगसँग छैन । अस्पतालले किनेर पनि दिएको छैन ।

सिलिन्डरको नोजल फरक परेका कारण अक्सिजन भर्न नमिलेको उद्योगका व्यवस्थापक ताम्राकार बताउँछन् ।

“ग्यास भर्ने उपकरण मिलेको छैन, अस्पतालले किनेर दियो भने तत्कालै भर्न सकिन्छ, नत्र बाहिरबाट मगाउँदा चाहिँ कहिले हुन्छ भन्न सकिँदैन,” उनले भने ।

यता अस्पतालको अक्सिजन व्यवस्थापनको जिम्मेवारी भूमिकामा रहेका विमल बरालले चाहिँ ग्यास भर्न मिल्ने नोजल उद्योगले नै किन्नुपर्ने बताए ।

नोजल नमिलेको सिलिण्डरमा भारतबाट नयाँ नोजल ल्याएर फेरे पनि उक्त सिलिण्डरमा अक्सिजन भर्न समस्या हुने र अस्पतालका रेगुलेटरमा राख्न पनि थप समस्या हुने बताइएको छ ।

अक्सिजन भर्न खोज्दा नोजल (सिलिण्डरको टुटी) मा समस्या देखिएकै कारण अस्पताल परिसरको भित्तामा सिलिण्डर थन्किएका छन् । ती सिलिण्डर पनि प्रयोग गर्न पाएको भए ...... ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC