बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाकालमा नैतिकताको खडेरी आमोद प्याकुरेल
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, जेठ १०, २०७८
Laxmi Bank
Laxmi Bank

सन् २०११ मा एउटा हलिउडको ‘कंटेजन’ भन्ने चलचित्र निस्केको थियो । यो विश्वव्यापी महामारीलाई लिएर बनाइएको काल्पनिक कथा थियो ।

चलचित्रमा महामारीले संक्रमणले समुदायकै स्वास्थ्यमा पर्ने असर गर्नेमात्र होइन मानव सभ्यता र सामाजिक संरचना नै संकटमा पर्नसक्छन् भनेर कल्पना बाहिरको वस्तुस्तिथिको चित्रण गरिएको थियो। के थाहा निकट भविष्यमै विश्व कोरोनाले ठप्प बनाउला भनेर !
 
उक्त कथामा फ्रेन्च समाजशास्त्री डेविड इ डरखाइमको अनोमी सिद्धान्तले व्याख्या गरेजस्तो विषम परिस्थितिले समाजमा मानवताको जग नै हल्लाउने अनेक किसिमका विचलनलाई निम्त्याउँछ भन्ने चित्रण गरिको छ ।

अन्योलको अवस्थामा आफ्नो बचाउका लागि सबैले प्रचलित सामाजिक मूल्य मान्यतालाई लत्याउँछन् । समाजमा झुठ, जालसाजी, हिंसा आदि सामान्य हुन्छ ।
 
अहिले यस्तै अवस्था हाम्रो समाजमा पनि जताततै देखिएको छ । पढेलेखेका, धनीगरिबदेखि नेतृत्व एवं विज्ञ वर्गसम्मले आफनो सामाजिक, व्यावसायिक, नैतिक मूल्य मान्यतासँग सम्झौता गरेको देखिएको छ।

Duber nepal

Agani Group

लम्मिदै गएको कहर र नयाँ लहरको महामारीले समाजमा आतंक मच्याएकोछ। सर्वसाधारण कोही खानलाउनको चिन्तामा छन्, कोही संक्रमित भएर अस्पतालको बेडको खोजीमा छन् । अस्पतालमा भर्ना भएकाहरू अक्सिजनको खोजीमा छन् । तर, समाजका ठूलाबढा र जिम्मेवारहरूको ध्यान आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित छ ।
 
मानिसले नैतिकतासँग सम्झौता कि गलत नियतले गर्छ कि बाध्यताले । कहिलेकाहीँ राम्रो लक्ष्य लिएर गरेकाे काम पनि अपनाइएको तरिकाका कारण उपयुक्त हुँदैन ।

यस्तै महामारीको दौरानमा चर्चित एक चिकित्सकले सामाजिक संजालमार्फत व्यापकरूपले अनियंत्रित हुँदै गएको कोरोनाको उपचार पद्धतिको सुझाव सार्वजनिक गरे । चिकित्सकहरूले बिरामीको सेवामा चिकित्साशास्त्रको नैतिक परिधिभित्र रहेर दायित्व पूर्ण रूपले पूरागर्ने कसम खाएका हुन्छन्।

व्यक्तिगतस्तरमा आफूलाई आवश्यक लागे पनि त्यस परिधि उल्लंघन गर्न मिल्दैन। ती चिकित्सकले बिग्रँदै गएको स्थिति र अस्पतालमा सेवा दिने क्षमता सीमित हुँदै गएपछि हतासमा सामान्य समयमा डाक्टरको कडा निगरानीमा मात्र सेवन गर्नुपर्ने स्टेरोइड औषधि सामाजिक संजालबाट सेवन विधि र मात्रासमेत सार्वजनिक गरे ।

यो चिकित्सकीय नैतिकता बाहिर थियो । सुरक्षा निकायले शान्ति सुरक्षा बिग्रिएको खण्डमा नागरिकलाई बन्दुक लिएर आफैँ सुरक्षा गर्नुस् भन्नु झन् हानिकारक भएजस्तै डाक्टरको सल्लाह पनि त्यत्तिकै प्रत्युत्पादक हनसक्छ । 
 
यो सम्पूर्ण समाज कहालिएको बेला एक विश्वासिलो चिकित्सकले दिएको सल्लाह सामाजिक संजालमा त व्याप्त भइसकेको थियो नै संचार माध्यमले पनि प्रचारप्रसार गरेर त्यसलाई व्यापक बनाए । यो समाचारमा आएको दुई दिनपछि पनि न सरकारले न चिकित्सक संघले यसमा कुनै प्रतिक्रिया दिए । 

महामारीको अप्ठेरो परिस्थितिमा निजी अस्पतालहरू पनि आफ्नो भूमिकामा चूकेका उदारहण धेरै छन् । कतै निजी अस्पतालले उपचारमा अत्याधिक शुल्क लिएको देखियो भने कतै आफ्नो क्षमता र पाएको अनुमति भन्दा बढी बिरामी भर्ना लिइएकाे तर आवश्यक सुविधा दिन नसकेर ज्यान नै गएको घटना पनि भए ।

सरकारले वर्षौंदेखि अनुगमन र निगरानी गर्न नसकेका सेवा केन्द्रहरूले सेवाग्रही र सरकार हतासमा भएको माैकाकाे फाइदा उठाएको एउटा उदाहरण याे हाे । 

यो विषम परिस्थितिमा औषधि र स्वास्थ्य उपकरण विक्रेताहरूले पनि अनुचित फाइदा लिएका ख़बर आइरहेका छन् । कोरोना निदानको लागि अत्यावश्यक भनेर सबैलाई घरमा राख्न सुझाइएको अक्सिमीटर र थरमोगनजस्ता उपकरणदेखि विभिन्न औषधीको कालाेबजारी र न्यून गुणस्तरको समान विक्री गरिएको पनि समाचार छ ।
 
महामारीको सुरूदेखि नै  सरकारले संक्रमित, मृतक, परीक्षण आदिकाे सङ्ख्या सधैँ सारवजनिक गरे पनि सरकारी तथ्यांकमा प्रश्न पहिलेदेखि नै उठिराखेको थियो ।

पछि दैनिक मृतकको संख्या र सुरूदेखि मृतकहरूको अन्त्येष्टि गर्दै आएको नेपाली सेनाको संख्यामा धेरैको फरक देखिन आएपछि सरकारी तथ्यांक संशोधन गरिएको थियो ।

त्यस्तै केही सरकारी तथा गैरसरकारी विज्ञहरूले तथ्यांक आफ्नो स्वार्थमा सहायक हुनेगरी वा आंशिक विश्लेषण गरेर संप्रेषण गरेकाे पनि बेला बेलामा पाइयो । यसरी समाज आतंकित भएको बेलामा  गैरजिम्मेवार तरिकाले तथ्यांक संप्रेषण गर्दा झन् आगोमा घीउ थप्ने काम त भयाे नै अनैतिकताको उदारहण पनि भयो।
 
सबै किसिमका गैरजिम्मेवार गतिविधि र अनैतिक कार्यलाई समाजमा हुन नदीन वा न्यून गर्न देशको जिम्मा लिएर बसेको वर्गले आफ्नो आचरण उदाहरणीय बनाउन सक्नुपर्थ्यो।

तर, देशको बागडोर समाएर बसेकाहरूले नै आफनो नैतिकता र नागरिकप्रतिको जिम्मेवारी बिर्सिएको देखियो । महामारीको सुरूमै संसारमा कोरोनाले वितण्डा मच्चाउन थालेकै बेला विज्ञहरूसँग सल्लाह सुझाव लिएर स्वास्थ सेवालाई महामारीको सामना गर्न तयार पार्नुको साटो उखान टुक्का र विज्ञानले पुष्टि नगरेका विधि र उक्ति प्रधानमन्त्रीजस्तो राष्ट्रको प्रमुख कार्यकारीले स्वास्थ्य साक्षरता न्यून भएका देशवासीलाई बताउँदै हिँडे ।

अझ अत्यावश्यक समान खरिद प्रक्रियामा त सरकारी जम्मेवारीमा भएकाहरू नै भ्रष्टाचारमा अलमलिएर समान खरिद प्रक्रिया नै उल्झ्याइयो।
 
समाज कोरोनाले आक्रांत भइरहेको बेला सरकार सम्हालिरहेको पार्टी महामारीबाट जनताकाे रक्षामा लाग्नुकाे साटो अन्तर्कलहमा व्यस्त रह्यो । आफ्नो राजनीतिक एजेन्डा लिएर सरकार प्रमुख नै आफ्नै स्वास्थ्य निकायहरूको सुझाव उल्लंघन गर्दै भेला, जुलुस, उदघाटन र शिलान्यासमा व्यस्त रहे ।

विश्वले नेपालको स्थिति दयनीय देखेर अन्तर्राष्ट्रिय संचार माध्यमले अन्तरवार्ता लिँदा प्रधानमन्त्रीले देशमा सबै एकदम नियंत्रणमा छ भनिदिए । तर दुई दिनपछि र्को अन्तर्राष्ट्रिय पत्रिकामा आफैँले लेखेर नेपाललाई महामारीसँग लड्न मद्दतको खाँचो भएकाे अपिल गरे । यसरी शीर्ष नेतृत्व तहबाट नै देशको नागरिकको अगाडिमात्र होइन दुनियाँसामु समेत देशले भोगिरहेको समस्याप्रतिको कमजोर बुझाई देखाए ।
 
हाम्रा प्रधानमन्त्रीलाई अरूले तथ्य सत्य जति जानकारी दिए पनि अनर्गल बोल्न उनले बन्द गर्दैनन् । गएको केही सातादेखि व्यापक संक्रमण देशका हरेक कुनामा फैलिएर चौहत्तर जिल्लामा त निषेधाज्ञा नै लागू गरिएको छ। दिनहुँ हजारौं संक्रमित र मृत्युदर विश्वकै  उच्च भएको जानकारी स्वास्थ मन्त्रालयले दिन्छ ।

देशभरका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लाचार भएर सीमित स्राेत साधन जुटाएर हतासमा बिरामीको ज्यान बचाउन लागरहेछन् । एकपछि अर्को अस्पताल अक्सिजनको अभावमा बिरामी भर्ना लिन सकिरहेका छैनन् । अस्पतालकाे हाताभर बिरामी चित्कार गरिरहेका छन् ।

संक्रमित स्वास्थकर्मी आफ्नै हातमा सेलायन चढाएर सेवा दिइराखेका छन्। अनि यो सबै देखेर अझै प्रधानमन्त्री स्वास्थ प्रणालीमा साधारण कमी कमजोरी देखिएको छ, ‘काेल्याप्स’ हुने स्थिति छैन भन्छन् ।

पहुँचवाला सांसदहरूले अनुदानमा आएका अक्सिजन सिलिन्डर राजनीतिक रोब जमाउन लिएर राखेका छन् भने अर्कातिर कोरोना उपचारमा तोकिएका अस्पतालमै अक्सिजनको अभावले बिरामी भर्ना लिनसकेका छैनन् ।
 
सरकारी चिकित्सकहरू नै थेग्न गाह्रो भयाे, स्वास्थ्य संकटकाल घोषणा गरियाेस् भनिरहेका छन् । तर, प्रधानमन्त्री अस्पतालमा बेडको कमी छैन भन्दै छन् । आज सीसीएमसी खडा गरेको वर्ष दिनपछि आएर सरकार माहामारीसँग लड्न थप कानुनी संरचना चाहिने निष्कर्षमा पुगेको छ । बल्ल प्रधानमन्त्रीले नेपालीको इम्युन सिस्टमले कोरोना लाग्दैन भन्ने गलत भएकाे बुझे रे !

लाखौंलाई संक्रमणले ढाली सक्यो । महामारी सुरू भएको चीनमाभन्दा बढी मृत्यु नेपालमा भएपछि बल्ल बुझेछन् । प्रधानमन्त्रीले आफ्नो कुर्सी ढल्न नदिन गरेको कसरत र परिश्रम देशकाे स्वास्थ्य प्रणाली बलियाे बनाउन र नेपालीलाई बचाउन लगाएको भए इतिहासले सम्झिन्थ्यो ।

दुर्भाग्य, हामी नेपालीको । ठूलाबढाले आफ्नो जिम्मेवारी उचित ढंगले बहन नगरेपछि समाजका अन्यलाई पनि आफ्नो दायित्व र नैतिकतासँग सम्झौता गर्न सजिलो भयो ।

नागरिकहरूको महामारीले असर पारेको  मानसिक बोझ हटाउनुको साटो जिम्मेवार नेतृत्व नै नैतिक जिम्मेवारीबाट भागेर अनैतिक, गैरजिम्मेवार र गैरकानुनी काम गर्नेलाई झन् सहज भयो। हामीलाई  चाहिएको कानुनी संरचना त जिम्मेवारी बहन नगर्ने भ्रष्ट र अनैतिकहरूलाई कारबाही गर्नका लागि हाे ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्