यसो त काठमाडौं भौगोलिक दृष्टिले ’अमरापुरी’ नै हो । मानिसहरूले नबिगारेका भए यो सहर संसारकै दिव्य र भव्य राजधानीमध्येमा ठहरिने थियो । धुवाँ र धुलो उँडेर जाने सजिलो बाटो नहुनुबाहेक सायद कचौरा आकारको काठमाडौं उपत्यकालाई खोट लगाउने ठाउँ नै छैन । तर, शासकहरूले भने यस दिव्य उपत्यकालाई सकेसम्म कुरूप, अस्वस्थ र अप्ठेरो बनाउनेबाहेक अरू केही गरेनन् । शासकहरूको बेइमानी र मूर्खताले कुनै जमानाको अमरावती अहिले ’अन्धेर नगरी’ हुन पुगेको छ । यही क्रममा काठमाडौंको भारवहन क्षमताको अध्ययनै नगरी बनाइएका भौतिक संरचनाले सहरलाई थप कुरूपमात्र हैन जोखिमपूर्ण पनि बनाएको छ । गएको असार ३० गते दिउँसो केही बेर परेको पानीले सामाखुसीलगायत खोलामा आएको भेल सडकमा पसेपछि उत्पन्न विध्वंश त्यस्तै विवेकहीन र दूरदृष्टिहीन ’विकास’को उदाहरण हो । पानीलाई जति दोष दिए पनि त्यस दिनको भेल ज्यानमारा हुनु पुग्नुको कारण भने अत्यन्त गैरजिम्मेवाररूपमा सडकका बनाइएका खाल्टाखुल्टी र हेलचेक्य्राइँ गरेर खुला छाडिएका भ्वाङ नै हुन् । यसैले प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूलाई बोलाएर १५ दिनभित्र काठमाडौंका सडकका खाल्टाखुल्टी पुर्न निर्देशन दिएका होलान् ।
झट्ट हेर्दा अहिले उनले गर्ने वा गर्न सक्ने पनि यत्तिमात्र हो जस्तो देखिन्छ । असार ३० गते तारकेश्वर नगरपालिकाका एक जना बालिकाको नालीले बगाउँदा ज्यान गयो भने सामाखुसीमा नालीमा खसेकी अर्की बालिका भाग्यले बाँचिन् । प्रधानमन्त्री देउवाले सचिवहरूलाई निर्देशन दिनै साउने सक्रान्ति पर्खे । प्रधानमन्त्रीको कार्यालयले सोमवार संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा यातायात र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन पालना गर्न निर्देशन दियो । मंगलवार सायद यस्तै बेहोराको निर्देशन सचिवहरूले मातहत कार्यालयहरूलाई दिने र काम गर्ने निकायसम्म निर्देशन पुग्न यो साताभर लाग्ने होला । सरकारी कर्मचारीको अहिलेको कार्यशैली बदलिने लक्षण नदेखिएकाले यो तल निर्देशन दिँदै जाने र तलबाट निकासा फुकुवा माग्दै जाने गर्दागर्दै अहिलेको बर्खा यत्तिकै जानसक्छ । सकेसम्म जोगिएर हिँड्न केटाकेटीलाई अर्ती दिनुबाहेक आमाबाबुले गर्न सक्ने धेरै छैन । सके पनि गर्ने बानी छैन । सडकमा खाल्टा खनेर, भ्वाङ पारेर र ढल हालेर उदांगै छाड्ने गैरजिम्मेवारहरूलाई कारबाही गर्न अहिलेसम्म प्रधानमन्त्री वा अरू कुनै पदाधिकारीले निर्देशन दिएको चाहिँ सुनिएको छैन ।
कथाको ’अन्धेर नगरी’मा ’टका सेर भाजी : टका सेर खाजा’ हुन्थ्यो रे । आजको काठमाडौंमा शासकहरूले गरेका बन्दोबस्त पनि लगभग त्यस्तै छ । बाटो होस् वा ढल भत्काउने काम सबैले गर्छन् तर बनाउने बेलामा भने कि त जिम्मेवारी सार्छन् नत्र झारा टार्छन् । यसैले प्रधानमन्त्री देउवाको निर्देशन र निर्देशन कार्यान्वयनका लागि दिइने निर्देशन सबै झारा टराइमात्र हुने सम्भावना नै बढी छ । यसै पनि यस्तो काम सहज प्रक्रिया अपनाएर सम्पन्न हुँदैन । आपत्कालीन व्यवस्थापनमा प्रतिबद्धता र समर्पण भएको समूहमात्र सफल हुन्छ । प्रधानमन्त्री देउवाले सडकका ज्यानमारा खाल्टाखुल्टी पुर्नै खोजेका हुन्थे भने जनप्रतिनिधिहरूलाई अगाडि सारेर जिम्मेवारी दिनुपर्थ्यो । अहिले प्रत्येक वडामा ५ जना जननिर्वाचित प्रतिनिधि छन् । तिनले अगुवाइ गरे भने स्थानीय जनसमुदाय पनि सडकका खाल्टा पुर्न र पुर्न नसकेपनि त्यसलाई ज्यानमारा हुन नदिन अग्रसर हुन्थे । सरकारी कर्मचारीले गर्ने कामको तिनले निगरानी गर्थे । सरकारी निर्देशन र निकासामा लाग्ने समयभन्दा अगाडि कामै सकिन्थ्यो । तर, राष्ट्रिय गौरवका दीर्घकालीन योजना र सडकका खाल्टाखुल्टी पुर्न उस्तै विधि अपनाउने कार्यशैली प्रधानमन्त्रीले अपनाएको देखियो । अर्थात्, ’अन्धेर नगरी चौपट राजा, टका सेर भाजी टका सेर खाजा’ नेपालमै चरितार्थ भयो ।
जति निर्देशन दिए पनि पुरिने लक्षण छैन अन्धेर नगरीका ज्यानमारा खाल्टाखुल्टी !