site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
ओली हटाऊ चुनाव टार !

केही महिना पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘महामारीबाट मानवतालाई बचाएकाे’ भन्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा कुर्लिने गर्थे । पश्चिम बङ्गालमा दलबलसहित चुनाव प्रचारमा व्यस्त थिए । 

मोदीकै सागिर्द उत्तर प्रदेशका मुख्यमन्त्री कुम्भमेलालाई भव्य बनाउन तल्लीन थिए । अहिले महामारीबाट भारतका जनता सबैभन्दा बढी पीडित छन् र जनता आकुलव्याकुल छन् ।
  

आत्मविश्वासजस्तो लाग्ने मोदी वा खड्गप्रसाद ओलीकाे बोली यथार्थमा दम्भबाट निर्देशित कुण्ठा रहेछ । ओलीको मनमा कोरोना केही हाेइन भन्ने लागेकाे रहेछ । तर, उनकाे हठले हजाराैं नेपालीकाे ज्यान गयाे । 

Agni Group

जनताकाे जीवनमा यसरी खेलाँची गर्नु कानुनी दृष्टिमा के हाे थाहा छैन परन्तु नैतिक दृष्टिमा मानवता विराेधी अपराध  हाे ।

अहिले चुनाव गर्नु नेपाली जनतालाई महामारीकाे खाडलमा जानजान खसाउनु हाे  भन्ने प्रधानमन्त्री ओलीलाई पनि थाहा छ । तैपनि उनी किन हठ गरिरहेछन् इतिहासका सनकी राजाहरूले जस्ताे ?

Global Ime bank

नेपालमा कोभिड महामारी सङ्क्रमण दर ५० प्रतिशतकाे हाराहारी पुगेकाे छ । परीक्षण गरिएकामध्ये आधामा सङ्क्रमण देखिनु निकै भयावह अवस्था मानिन्छ । नेपालस्थित राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेसोलाे न्यान्तीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पाेस्टले लेखेकाे छ सङक्रमण दर १५ प्रतिशत नै भयावह मानिन्छ । 

प्रधानमन्त्री ओलीले विनाकारण संविधान मिचाेर प्रतिनिधि सभा भङ्ग नगरेकाे भए कोभिड-१९ को दाेस्राे लहर यति धेरै फैलने थिएन भनेर ठाेकुवा गर्न भाइरस विशेषज्ञ हुन पर्दैन । प्रतिनिधि सभा विघटनका पक्षविपक्षमा निकालिएका जुलुसहरूले नै मूलतः सङ्क्रमणकाे वातावरण बनाएका हुन् । त्यसपछि उनकाे उद्घाटन र शिलान्यासका तमासाहरूले महामारी झन् फैलाए ।

संसद्मा विश्वासकाे मत नपाएपछि छाडिदिएकाे भए हुन्थ्यो । यत्राे रडाकाे हुने नै थिएन । एमालेभित्रै अर्काे कसैलाई प्रधानमन्त्री बनाउन हुँदैन  थियो ?  नेतृत्व हस्तान्तरण गर्ने भनेकाे हाेइन ? भित्री मनले भनेकाे हाे भने त अहिले उपयुक्त समय हाे ।  

संविधानमा प्रतिनिधि सभा भङ्ग गर्न सकिने अवस्था स्पष्ट किटान भएकाे छ । प्रधानमन्त्री ओलीले जानीजानी त्यसकाे उल्लङ्घन गरे । सर्वोच्च अदालतले विघटन बदर गरेर सच्यायाे । संविधान बचायाे ।

माओवादीबाट एमालेमा छिरेका केही मन्त्रीहरूकाे सांसद सदस्यता सकियाे । उनीहरू पुनः मन्त्री नियुक्त गरिए । तर, प्रधानमन्त्रीले विश्वासकाे मत नपाएपछि अल्पमतकाे प्रधानमन्त्रीका रूपमा तिनैलाई फेरि मन्त्री बनाए । 

संविधानकाे धारा ७८ काे उपधारा (३) मा प्रतिनिधि सभाकाे कार्यकाल भर उनीहरूलाई पुनः मन्त्री बनाउन नमिल्ने स्पष्ट लेखिएकाे छ । त्याे पनि जानजान प्रधानमन्त्री ओलीले उल्लङ्घन गरे । सर्वोच्च अदालतले सच्यायो ।

त्यही झोँकमा विश्वासकाे मत नलिने घोषणा गरेर अर्काे सरकार बनाउने प्रक्रिया थाल्न राष्ट्रपतिलाई भने । ओलीले पदबाट राजीनामा पनि दिएका छैनन् । यस्तो अवस्थामा संविधानमा हुँदै नभएकाे प्रावधान प्रयाेग गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फेरि संविधान मिच्न ओलीकाे मतियार बनिन् ।

नेपालकाे राष्ट्रियता र लाेकतन्त्रबीच सकारात्मक सहसम्बन्ध छ । एउटा कमजाेर वा बलियाे हुँदा अर्काे पनि सँगै कमजाेर वा बलियाे हुन्छ । यसैले राष्ट्रियता जाेगाउन लाेकतन्त्र बचाउनुपर्छ । संविधान जाेगिएमात्र अहिले लाेकतन्त्र जाेगिन्छ । 

संविधानमाथि अहिले सबैभन्दा ठूलाे खतरा  प्रधानमन्त्री पदबाट खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट देखिएकाे छ । यसैले सके यी दुवैलाई र नभए प्रधानमन्त्री ओलीलाई हटाउन लाेकतन्त्र र संविधानका पक्षधर सबैले व्यक्तिगत वा दलगत लाभहानि छाडेर एक हुनु आवश्यक छ ।

नेपाली जनताकाे माया भए राजनीतिक नेताहरू अहिले धेरै अलमलिने बेला छैन । यति बेला संविधानबमाेजिमै भए पनि चुनावमा जनतालाई होम्नु उनीहरूलाई आत्मघातका लागि बाध्य बनाउनुजस्तै हाे । यसैले ओली र चुनाव दुवै टार्न सबैले बुद्धि र त्याग देखाउनुपर्छ ।

नेपाल कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरू सम्भवतः महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि लाेकतन्त्र जाेगाउन तयारै हुनेछन् । जनता समाजवादी पार्टीका उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई कुनै पनि सर्तमा ओली हटाउन तत्पर देखिन्छन् । 

महन्थ ठाकुरकाे कुण्डलीमा प्रधानमन्त्री हुन लेखेको छ ? कुबाटोमा लागेकाे लोकतन्त्रलाई सही बाटामा फर्काएकाे जस पाका राजनीतिज्ञ ठाकुरले पाउलान् ? नियतिलाई मञ्जुर भए उनकाे मति पक्कै सुध्रिनेछ र उनी ओलीकाे जालमा नपसी लाेकतन्त्रका पक्षमा उभिनेछन् । नभए आजन्म लाेकतन्त्रका पक्षमा गरेकाे सङ्घर्षकाे इतिहासमा कलङ्क लाग्नेछ । 

त्यस अवस्थामा ठाकुर पनि इतिहासमा नेपाली जनतामा वैरीका रूपमा ओलीकै हारमा उभिनुपर्नेछ । हेराैँ,  नियतिलाई के मञ्जुर हुन्छ ?      

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC