सुमन सौरभ
बल्लबल्ल मानसिक डाक्टरको नम्बर फेला पारेर ‘कल’ गरेँ, “मेरी श्रीमतीको मानसिक स्वास्थ्यको बारेमा छलफल गरूँ भनेर डाक्टर साब...।”
उताबाट सुस्त आवाज आयो, “कोरोनाले बोल्न गाह्रो छ, ठिक भएपछि म आफैँ ‘कल’ गरूँला ।”
“ए...हस्...”
फोन काटिएको केही बेरमा ऊ हिजोअस्तिजस्तै ‘पार्टीसार्टी’मा जान भनेर किनिएको ‘भर्जिन’ सारी लगाएर चिया लिएर आई ।
आफ्नो ह्वाङ्ले घरेलु कट्टु तान्दै इसारामा सोधेँ, “आज पनि चिरिच्याँट्टै ?”
उसले ‘सेक्सी’ मुस्कानमा चिया दिई, ‘चियर्स’ भनेर आफ्नो चिया सुरुप्प पारी र भनी, “हामी त अब यस्तै हो । कट्टु गन्जी फालेर नयाँ कपडा लगाऊ त तिमी पनि ।”
उफ्फ ! डाक्टरले कहिले पो फोन गर्ने हो !
भोलिपल्ट भात खाने समयमा देखेँ–
उहिले बिहेको बेलादेखिको सुनको गहना शिरदेखि पाउसम्म छपक्कै लगाएर बसेकी रहिछ ।
मैले केही भन्नुअघि उसैले असन्तोष जनाई, “झिकेर राखिदिएको कपडा आज पनि लगाएनौ ?”
खिसिक्क हासेँ, डाक्टरलाई सम्झिएँ र चुपचाप खाना खाएर उठेँ ।
झन् अर्को दिन–
ऊ जानेजतिको मेकअप गरेर, पर्फ्युम लगाएर, नयाँ बनारसी सारीमा थिई ।
साँच्चिकै डर लाग्यो !
उसले मेरो डरमा पानी छम्किई, “कति भन्नु तिमी पनि नयाँ लगाऊ भनेर ? किन साँचेर राख्नु ? जिन्दगी आज हो प्यारे, भोलिको के थाहा ? कोरोनाले लगिहाले कहिले लगाउनु फेरि ?”
उसले पहिल्यै खोलेर राखिएको मेरो भागको भित्ताभरिको बडेमाको काठको दराज देखाई, “यी सुट–टाइहरू, कुर्ता–सुरुवालहरू, यी सुनका ब्रासलेट र चेनहरू, यी जुत्ताहरू, पर्फ्युमहरू कहिलेको लागि र कसका लागि किन्दै साँच्दै राखेको ?”
जवाफमा सोचेँ मात्रै, “खै कुन्नि ।”
त्यत्ति नै बेला डाक्टरले ‘कल’ ग¥यो, “बल्लबल्ल सन्चो भएँ । तपाईंको श्रीमतीको के समस्या रे ?”
अलि पर गएर सकेसम्म श्रीमतीले नसुन्ने गरी सुस्तरी भनेँ, “श्रीमतीको होइन डाक्टर साब, मेरो आफ्नै मानसिक समस्या छलफल गरूँ भनेर...।”