वाशिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले अचानक क्रिप्टोकरेन्सी ‘बिटकोइन’ सम्बन्धी आफ्नो धारणा बदल्दै सबैलाई आश्चर्यमा पारेका छन् । यसअघि उनले आफ्नो कम्पनीले एक अर्ब बराबरको बिटकोइन खरिद गरेको घोषणा गरेका थिए जस लगत्तै बिटकोइनको मूल्य आकाशिन पुगेको थियो । यहाँसम्मकी उनले टेस्लाको गाडी खरिद गर्न समेत बिटकोइन प्रयोग गर्न सकिने बताएका थिए । तर सो घोषणा गरेको दुई महिना नबित्दै उनले आफ्ना तिनै वचनलाई खण्डन गरेका छन् ।
बिहीबार उनले बिटकोइन सम्बन्धी अलगै धारणा व्यक्त गरेपछि यसबारे सामाजिक संजालभर अधिक चर्चा सुरु भएको छ ।
बिटकोइनको कारोबारले अत्याधिक ऊर्जा खपत् गर्ने हुनाले वातावरणका लागि राम्रो नभएकामा चिन्ता जनाउँदै उनले टेस्ला खरिद गर्दा अब बिटकोइनको प्रयोग गर्न नपाइने बताएका हुन् । उनको यस भनाइसँगै बिटकोइनको भाउ अचानक १० प्रतिशतले घटेको छ ।
मस्कले बुधबार ट्वीट गर्दै लेखेका हुन्, “क्रिप्टोकरेन्सी धेरै स्तरमा राम्रो व्यवसायिक योजना हो र यसको भविष्य उज्वल छ भन्ने हामी सबैको विश्वास छ । तर यस वापद् वातावरणले ठूलो मूल्य चुकाउनुपर्ने कुरा भने स्वीकार्य हुनेछैन । ” बिटकोइनकै कारण पछिल्ला केही महिना ऊर्जा खपत्को मात्रा अकल्पनीय स्तरमा बढेको समेत उनले ठहर गरेका हुन् ।
टेस्ला कम्पनीले गत फेब्रुअरीमा आफूले १.५ अर्ब डलर बराबरको बिटकोइन खरिद गरेको घोषणा गरेको थियो । यो खबरसँगै डिजिटल करेन्सीको बजार अति उच्च बिन्दुमा पुग्यो ।
तर यसले वातावरणमैत्री प्रविधिको पक्षमा रहेका अर्बपति मस्कको छविलाई विवादित तुल्याएको थियो । टेस्लाका केही लगानीकर्ता सहित वातावरणवादी अभियन्ताहरुले बिटकोइनको ऊर्जा खपतबारे आलोचना गरेका हुन् ।
यस्तोमा मस्कले आफू पनि उनीहरुको यस चिन्ताबारे गम्भीर रहेको बताउँदै कार्बन उत्सर्जन विरुद्धको पक्षमा उभिने बताए ।
मस्कका अनुसार उनीहरुले आफूसँग भएका बिटकोइन अब दिगो ऊर्जाका श्रोतहरुमा खर्च गर्नेछन् । उनको यस बदलिँदो धारणालाई केही लगानीकर्ताहरुले स्वागत गरेका छन् भने कतिले चाहिँ आश्चर्य जनाएका हुन् ।
हालसम्म बिटकोइन मार्फत टेस्लाको गाडी खरिद गरिएको छ छैन भन्नेबारे मस्कले कुनै खुलासा गरेका छैनन् र कम्पनीले पनि प्रतिक्रिया दिएको छैन । तर यति भनिरहँदा पनि क्रिप्टोकरेन्सी प्रतिको आफ्नो विश्वास भने कायम नै रहेको उनले मस्कले स्पष्ट पारेका हुन् र अब आफूहरुले बिटकोइन भन्दा कम ऊर्जा खर्च गर्ने क्रिप्टोकरेन्सीको खोजी गरिरहेको बताए ।
रोयटर्स