नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको उत्तर प्रदेशले अमेरिकाको फाइजर, रुसमा निर्मित स्पट्निक भी लगायतका थुप्रै कम्पनीहरुसँग छलफल गरि १०० अर्ब भारतीय रुपैँया बराबरको खोप खरिद गर्ने भएको छ ।
उत्तर प्रदेशमा पूरै ब्राजिलको भन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । यस्तोमा बढ्दो संक्रमण र खोपको गम्भीर अभाव पश्चात् महामारी नियन्त्रणमा ल्याउन त्यहाँको सरकारले यस्तो निर्णय लिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । त्यसैगरी यसले भारतकै सिरम इन्सटिच्युटसँग पनि वार्ता गरेको छ जसले एस्ट्राजेनेका, नोभाभ्याक्स लगायतका खोप बनाउने लाइसेन्स प्राप्त गरेको छ ।
यसरी आगामी केही महिना भित्र उत्तर प्रदेशले ४ करोड बढी खोपको डोज खरिद गर्ने विश्वव्यापी टेन्डरमा सहभागी हुने तयारी गरिरहेको प्रदेशका प्रवक्ता नभनीत सेगलले संचार एजेन्सी रोयटर्ससँग बताएका हुन् ।
उनका अनुसार जोन्सन एण्ड जोन्सनले पनि सो टेन्डरमा समावेश हुने निश्चित गर्नेछ । र अर्को स्वदेशी कम्पनी भरत बायोटेक, केडिला हेल्थकेयर लगायतलाई पनि विश्वव्यापी टेन्डरमा सहभागी गराउने उनले बताए ।
शेगलले भनेका हुन्, “यसमा पैसाको कुनै मुद्दा छैन । हाम्रो बजेट धेरै ठूलो छ । हामी यसका लागि १०० अर्ब भारतीय रुपैँयासम्म खर्च गर्न सक्छौँ । ” तर सो रकम पुर्याउन अन्य विभागबाट पनि कोष ल्याउनुपर्ने उनले बताए । रोयटर्स