जेरुसेलम । गाजामा इजरायलले गरेको हवाई हमलामा आफ्ना वरिष्ठ कमान्डरहरु मारिएपछि विद्रोही संगठन हमासले इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको छ । इजरायली आक्रमणको जवाफमा १३० रकेट प्रहार गरेको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायल र चरमपन्थी समूह हमासबी गएको सोमबारदेखि भड्केको हिंसाले उग्र रुप लिएको छ । इजरायलले गाजापट्टीमा र हमासले इजरायलका विभिन्न स्थानमा आक्रमण गर्ने क्रम रोकिएको छैन । यी आक्रमणहरुमा परी गाजामा कम्तीमा ६७ र इजरायलमा सातजना मारिएका बताइएको छ ।
मुस्लिम र यहुदीहरुको आस्थाको केन्द्रका रुपमा रहेको पूर्वी जेरुसेलममा इजरायल प्रहरीले प्यालेस्टिनीहरुमाथि बल प्रयोग गरेपछि तनाव बढेको जनाइएको छ ।
बुधबार मात्र इजरायलमा यहुदी र अरबीहरुबीच झडप हुँदा दर्जनौँ मानिस घाइते भएका थिए । इजरायली सेनाले प्यालेस्टाइनमा गरेको आक्रमणप्रति असन्तुष्ट अरबी समुदायले प्रदर्शन गरेका थिए । इजरायली प्रहरीका अनुसार सो क्रममा ३७४ जना पक्राउ परेका छन् भने ३६ प्रहरी घाइते भएका छन् । प्रदर्शन हिंसात्मक बनेपछि इजरायलमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
यस क्षेत्रमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले जारी संघर्ष युद्धमा परिणत हुन सक्ने चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । सुरक्षा परिषद्मा पनि यस विषयमा छलफल भएको बताइएको छ । तर, कुनै आधिकारिक वक्तव्य भने सार्वजनिक गरिएको छैन ।
अवस्थाले गम्भीर रुप लिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन सम्पर्क गरेका छन् । बाइडेनले इजरायलको सुरक्षाको लागि सहयोग गर्ने तर त्यसको लागि दिगो शान्ति कायम गरिनुपर्ने प्रस्ताव गरेका छन् भने रुसले पनि मिडिल इस्ट क्वारटेट (अमेरिका, रुस, संयुक्त राष्ट्रसंघ र युरोपेली संघ)को बैठकका लागि आह्वान गरेको छ ।