काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शीर्ष स्थानको एट्लेटिकोले जित निकाल्दै उपाधि होडमा आफूलाई बलियो बनाएको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र एन्जल कोर्रेयाले एक–एक गोल गरे । एट्लेटिकोका लागि यान्निक कारास्कोको १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको अग्रता २–० को बनाए । ८३ औं मिनेटमा सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काए पनि टिमको हारलाई टार्न सकेनन् ।
जितसँगै एट्लेटिको ला लिगाको उपाधि नजिक पुगेको छ । एट्लेटिकोले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्न एक खेलमा जित निकाले पुग्नेछ । एट्लेटिकोले ३६ खेलमा ८० अंक जोडेको छ । सोसिडाड ५६ अंक जोडेर पाँचौं स्थानमा छ ।