गोर्खा रेजिमेन्टमा ४०,००० भन्दा धेरै नेपाली भारतको रक्षाको निम्ति तैनाथ छन् तर दुई छिमेकी मुलुकबीच हुनुपर्ने हार्दिकतापूर्ण सम्बन्ध नेपाल र भारतबीच रहेको देखिएको छैन । नेपाल भारत सम्बन्धमा यस्तै चिसो रहिरहे अरू छिमेकीजस्तै अवस्थामा नेपाल पनि पुग्न सक्छ ।
कूटनीतिक र राजनितिक तहबाट पहल गरेरमात्र नेपाल भारत सम्बन्धमा सुधार हुँदैन । यसका लागि जनस्तरको सम्बन्ध (पिपुल टु पिपुल कनेक्सन) अपरिहार्य देखिन्छ । नेपालबाट हजारौंको संख्यामा रोजगारी, अध्ययन, व्यवसायलगायतका लागि भारत जाने र भारतबाट पनि उत्ति नै संख्यामा नेपाल आउने गरिएको पाइन्छ।
इतिहासदेखि नै दुवै देशमा जनस्तरमा सामाजिक एवं पारिवारिक सम्बन्ध रहिआएको छ । टिहरीकी महारानी एवं भाजपा सांसद माला राज्य लक्ष्मी शाह नेपाली मूलकी हुन् । भाजपा नेता बसुन्धरा राजे सिन्धिया र कांग्रेसका ज्योति राजे सिन्धियाको मावली पनि नेपाल नै हो । मनीषा कोइरालाले पनि नेपाली भएर पनि भारतमा फिल्मी जगतमा राम्रो हैसियत बनाएकी छन् । नेपाल भारत सम्बन्धमा सबैले ठूलो भूमिका खेल्न सक्छन् आआफ्नो स्थानबाट ।
भारत, चीन वा तेस्रो राष्ट्रले के गरेको थियो, के गरिरहेको छ र भविष्यमा के गर्ने छ भन्ने मुख्य विषय हैन । मुख्य विषय त नेपाल र भारतको समृद्धि, विकास र शान्तिको हो । कहिले मधेस आन्दोलन, कहिले संविधानका समस्या, कहिले हिन्दु राष्ट्र, त कहिले अन्य राष्ट्रको हस्तक्षेप । हामी यही कुरामा कहिलेसम्म रुमलिरहने ?
सबैभन्दा पहिले भारतले नेपालमा गर्दै आएको 'सूक्ष्म् व्यवस्थापन'को अभ्यास तुरुन्त बन्द गर्नुपर्ने हुन्छ। विश्व नै गाउँ बन्दै गएको आजको विश्वमा छिमेकी दुई देश शंकाउपशंकामा रुमलिएर दुनियाँ हँसाउनुभन्दा नयाँ परिस्थितिमा नयाँ नीतिका साथ हातेमालो गर्दै अघि बढ्नुपर्छ।
नेपाल भारत सम्बन्ध सुधारेर हामीले मात्र हैन भारतले पनि धेरै फाइदा उठाउन सक्छ । खुल्ला सिमाना, मिल्दो सामाजिक, राजनीतिक र आर्थिक अवस्था इत्यादिका कारण पनि पारस्परिक सम्बन्ध सुधारेर एक अर्को देशबाट लाभ लिनु नै अहिले सबैभन्दा ठूलो बुद्धिमतापूर्ण कार्य हुनेछ । नेपाल भारतको सम्बन्धलाई आजको युग अनुकूल पुनर्परिभाषित गर्न जरुरी छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जनस्तरमा सम्बन्ध भएको यी दुई देशले सहअस्तित्वको आधारमा विश्वको चलायमान भूराजनीतिको परिस्थितिलाई ध्यान दिँदै अघि बढ्नु पर्ने हुन्छ।