लण्डन । संगीतको राम्रो कुरा भनेको जब यसले तपाईँलाई छुन्छ, तपाईँलाई कुनै पिडा महशुस हुँदैन । बब मार्लेको ट्रेन्चटाउन रक एल्वमको गीतका शब्द हुन् यी ।
सायद उनलाई त्यति बेला नै थाहा थियो संगीतको शक्ति । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ट्रस्टले गरेको परीक्षणले पनि उपचारमा संगीतको प्रयोग गर्न सकिने देखाएको छ । ट्रस्टले अल्जाइमरका विरामी र तनावग्रस्त स्वास्थ्यकर्मीको पिडा कम गर्ने गीतको सूची तयार गर्न सक्षम एल्गोरिदमले विकास गर्ने प्रयास गरिरहेको छ ।
डिमेन्सिया (मानसिक विक्षिप्तता) भएका व्यक्तिहरुमा गरिएको परीक्षणले यस्तो एल्गोरिदम पत्ता लाग्यो जसले श्रोताको व्यक्तिगत पृष्ठभूमि र रोजाइमा आधारित भएर गीत छनोट गर्न सहयोग गर्छ । यसरी छनोट भएको गीत सुन्दा मुटुको धड्कनमा २२ प्रतिशतसम्म कमि ल्याएर ब्याकुलता कम भएको पाइयो ।
विरामीलाई गीत सुनाएर र उनीहरुको मुटुको चालको अनुगमन गरेर यो प्रविधिले 'सांगीतिक थोपा'का रुपमा काम गर्ने दाबी गरिएको छ । यसले ९० वर्षको व्यक्तिलाई ठूला ब्यान्डको गीत सिफारिस गरेर ५० वर्षको मान्छेलाई भ्यान हलेनको पप गीत वा पल म्याककार्टनीको गीत पनि सिफारिस गर्न सक्छ ।
यो एल्गोरिदम स्पोर्टीफाइ जस्ता स्ट्रिमिङ सेवासँग जोडिएको हुन्छ । सिफारिस गरिएका गीतहरुले काम गरिरहेको छैन भने एल्गोरिदमले पछाडी बज्ने गीतहरु परिवर्तन गर्न अनुमति प्रदान गर्छ । यसको कृतिम बौद्धिक प्रणाली (आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम)ले टेम्पो, टिम्बर, की, टाइम सिग्नेचरलगायत ३६ वटा फरक फरक गुणहरुको परीक्षण गर्दै गीतको मूल्यांकन गर्छ । गीतको यी गुणहरुले नै मुटुको गति र रक्तचापलाई नियन्त्रणमा राख्न सहयोग पुग्ने सफ्टवेयर विकास गरिरहेको मेडिम्युजिक कम्पनीका प्रमुख कार्यकारी गेरी जोन्स बताउँछन् ।
ल्यांकेसायर एनएचएस ट्रस्टमा अल्जाइमर भएका ६० देखि ९० वर्षका २५ व्यक्तिमा गरिएको परीक्षणले आशाजनक नतिजाहरु देखाएको ट्रस्टले जनाएको छ । यी विरामीहरुको मुटुको गतिमा २२ प्रतिशतसम्म कमि आएको छ । "केही व्यक्तिको मुटुको चालमा भने यसले कुनै असर गरेन । तर पनि उनीहरुको अनुहारको भावमा परिवर्तन आएको भने सजलै देख्न सकिन्छ," ट्रस्टका शैक्षिक अनुसन्धान र नवीनता प्रबन्धक डा. ज्याकलिन टमलीले भनिन्, "एक विरामी आँशु झार्दै फर्किए । उनी भन्दै थिए गीतले खुशीका पलहरु पुनः स्मरण गरायो । उनी खुशीको आँशु झार्दै थिए ।"
यो प्रविधिको उद्देश्य डिमेन्सियाका विरामीको चिन्ता र उदासिनता तथा दीर्घकालिन पिडा कम गर्न संगीतको प्रभावकारीताको अध्ययनलाई स्थापित गर्नु हो । यसले प्रयोगकर्ताको छनोटको प्राथमिकताका आधारमा प्रयोगकर्ताको स्ट्रिमिङ सेवाको प्याट्रन अनुसार प्लेलिष्ट तयार गरिदिन्छ । यसले प्रयोगकर्ताको उमेर, लिंग, राष्ट्रियताजस्ता विवरणहरुको समेत परीक्षण गर्छ, जसको आधारमा नै गीत चयन हुन्छ ।
संगीत निराशाजनक पनि हुन्छ भन्ने विषयमा समेत यो प्रविधि सचेत छ । विरामीलाई दर्दनाक घटनाको याद दिलाएर उनीहरुलाई धेरै दुखि तुल्याउने खालका गीतहरु छन् भने त्यसलाई यसले फिल्टर गर्छ । प्रयोगकर्ता स्वयंले पनि आफूले सुन्न नचाहेको गीतलाई 'रेड फ्ल्याग' गर्न सक्छन् ।
यसले चिन्ता र तनाव कम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन ट्रस्टले कोभिडको क्रिटिकल केयर युनिटमा काम गरेका स्वास्थ्यकर्मीमा परीक्षण विस्तार गर्दै छ । औषधिको मात्रा कम गर्ने उद्देश्यले निको भइरहेका गम्भिर प्रकारका विरामी, निडल फोबिक (सियोजस्तो तिखा वस्तुसँग डराउने) बच्चाहरु र दीर्घकालीन पिडाको सामना गरिरहेका विरामीहरुमा पनि परीक्षण गर्ने उनीहरुको योजना छ ।