काठमाडौं । हरेक व्यक्तिमा एउटा कुनै त्यस्तो विन्दु आउँछ, जसले आफ्नो विगतलाई सम्झाइदिन्छ । र, त्यसलाई नभुल्न झक्झक्याइदिन्छ । कतिले यसलाई आदर्श मान्लान् । तर, यसले व्यक्ति अनुशासित मात्रै बनाउँदैन, उसको परम्परा पनि रक्षा गर्न प्रेरित गर्छ । सायद, यही बुझेर त होला भारतीय उस्ताद अभिनेता इरफान खान घरभित्र बस्दा कहिल्यै पनि चप्पल लगाउँदैन थिए । उनी यसको कारण प्रष्ट पार्दै भन्थे, ‘हामीले सधैँ भुईँ छुनुपर्छ । जमिनको महसुस गर्नुपर्छ ।’
सुगम पोखरेलले आफ्नो पुर्खाको भुईँ त आजसम्म छुन पाएका छैनन् । तर, त्यसको महसुस भने गरेका छन् । त्यसैले त उनले १३ वर्षअगाडि यो लाइन लेखे–
">पुर्खा है मेरा खोटाङे
मोरङ पर्यो जन्म बरी लै...
रेडियो सगरमाथामा काम गर्दा १३ वर्षअगाडि ‘अन्कन्सस् माइन्ड’बाट भाकासहित यी शब्द दिमागमा आए । उनले सोचे– यसलाई गीत बनाउनुपर्छ । गाएर आफ्नो पुर्ख्यौली थलोप्रति समर्पित गर्नुपर्छ । त्यो थातथलोप्रति यसको योगदान रहला–नरहला फरक पाटो होला । तर, आत्मसन्तुष्टि भने मिल्नेछ ।
भागदौडपूर्ण जिन्दगीमा कहिले सुसेडाँडाको जस्तै उकाली त कहिले राप्चाको भिरजस्तै पहरोको कापैकापको यात्रा, वक्र रेखाहरु छिचोल्दा छिचोल्दै १३ हिउँदले छाडेपछि सुगमले सुगम समय भेटे गत वर्षको कोभिडले जबर्जस्त दिएको फुर्सद ।
त्यसअघि, गत वर्ष सुगमले आफूलाई संसार चिहाउन अवसर दिने बुवालाई गुमाए । त्यो दुःखद् समयमा परिवारका धेरै सदस्यहरुसँग भेट भयो । विशेषगरी बुवाका भाइहरुले त्यो १३ दिनमा आफ्नो पुरानो थातथलो खोटाङको नौला सम्झिए । सुख–दुःखका कुरा गरे । आफ्ना काकाहरुलाई कति घटनाक्रमले पश्चताप गराएनन् होला । तर, धेरै नोस्टाल्जिक भएको देखे सुगमले गफिरहँदा उनीहरुको अनुहारमा । सुगमको दिमागमा कति बुवाले भनेका कुराहरुको रिल घुम्यो । कति नयाँ कुरा थाहा पाउने अवसर पाए । र, त्यही समय सुगमलाई लाग्यो– मैले पुर्खा है मेरा खोटाङे, मोरङ पर्याे जन्म बरी लै... अब पूरा गरेर गाउने समय आयो ।
सुगम देशदेशावर घुमे संगीतका सुर र सरगमहरु बोकेर । तर, खोटाङ जाने उनलाई अवसर कहिल्यै जुरेन । भलै, मावली जिल्ला भोजपुर भने पुगे । त्यही मौका छोपेर खोटाङको माटो टेके । पुर्खाको भूमि टेक्न पाउँदाको त्यो सुख उनी शब्दमा सुनाउन सक्दैनन् ।
कानले सुनेको, पत्रपत्रिका र इतिहासका पानाहरुमा कतै पढेको र आम प्रवृत्तिलाई केन्द्रमा राखे र नोस्टाल्जिक हुँदै सुगमले जन्माए यो गीत–
पुर्खा है मेरा खोटाङे, मोरङ पर्यो जन्म बरी लै
दुई दिदी दाजै र मैमाथि, कान्छो परेँ हजुर बरी लै
घामछाया जस्तै यो जीवन, कोही कहाँ कोही कहाँ बरी लै
कर्मैको खेला ए राजै, भेट कहिले होला बरी लै
छाडे सबले थातथलो, रित्तियो पहाड
माया मारे सबले गाउँ–देश शून्य भो आकाश
बसाइँ सर्नेको ताँतीले
कुन हो गाउँ, कुन हो ठाउँ
कहाँ हो मूल, के हो कुल
जवाफ के दिन्छौ बरै
सोधे भने कुनै दिन तिम्रा छोराछोरी नातिले
हाऽऽहाऽऽऽहा...
बिर्सनु कहिले हुँदैन जन्मेको ठाउँ र माटो
त्यही माटोमा पाइला चाल्न सिकेर हिँड्दै छौँ आज यो बाटो
संसारै जहाँ गए नि बरै यो चिनारी छोपिन्न
नेपाली मूलका पूर्वज हुन् भन्ने पहिचान मेटिन्न
पुर्खा है हजुर खोटाङे, मोरङ पर्यो जन्म बरी लै...
बुवाले सुगमलाई भन्थे– धानको भात खान दुःख भएपछि खोटाङ छोडेर ०२७ सालमा मोरङको रंगेली, मंगलबारे झरियो । जंगल फाँडेर भर्खर बस्ती बस्दै थियो, त्यहीँ किनेर बसियो । पछि आफन्तले आफन्त ताने । मंगलबारेमा खोटाङेहरुको बाहुल्यता नै भयो । पोखरेलहरुको त ठूलै बस्ती नै भयो । अहिले सुगम काठमाडौंमा छन् ।
“अहिले हामी कोही मोरङमा छौँ त कोही काठमाडौं र कोही कहाँ । तर, जो जहाँ भए पनि खोटाङको नौलामा गएर जग्गा किनौँ । कम्तीमा जग्गा किने पनि हाम्रो पनि त्यहाँ जमिन छ भनेर गइराखिन्छ भन्ने सल्लाह गरेका छौँ,” सुगम भन्छन्, “हामीलाई जुन भूमिले जन्म दियो । संस्कार सिकायो, त्यही भूमिलाई बिर्सिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । मूल बिर्सिनु हुँदैन । जो–जहाँ बसे पनि टेकेको, जन्मे–हुर्केको धर्ती र त्यसको गुन भुल्नु हुँदैन ।”
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको मूल भारतीय हो भन्दा आज डेढ अर्बभन्दा धेरै भारतीयको नाक उँचो हुन्छ । सुगमका बुवा खोटाङमा जन्मिए । सुगम मोरङमा जन्मिए । सुगमकी छोरी काठमाडौंमा जन्मिइन् । भोलि उनकी छोरी अमेरिका/अष्ट्रेलिया बस्लिन्, उनको सन्तान उतै जन्मिएलान् । त्यसैले सुगम आफ्नो वास्तविकता, पुर्खा, पहिचान र कुल–खा्नदान कहिल्यै मेट्न नहुने बताउँछन् । त्यसैले त उनी छोरीलाई आफ्नो कुल–पितृका कुरा गर्छन् । पहिचान, संस्कार र संस्कृतिका कुरा सुनाउँछन् । आफ्नो कुल–पितृ नभुल्न र सम्मान गर्न नछोड्न अर्ती–बुद्धि दिन्छन् । उनी भन्छन्, “म त वल्ड क्लास थर्टबाट प्रभावित व्यक्ति हुँ । कुल–पृति र संस्कार/संस्कृति नभुले त्यसैले हामीलाई सत्बुद्धि र रक्षा पो गर्छ कि ।”
नगर्ला । तर, आफ्नो भुईँ त भुल्नु भएन नि ! पहाड रित्तिन लागिसके । बसाईं सर्नेको ताँती अझै छोट्टिएको छैन । यसमै परेनन् र सुगम र उनका बुवा पनि ?
सबै कुरा रहरले कहाँ हुन्छ र ? पहाडबाट धानको भात खान तराईको औलोको महामारीको जोखिम मोलेर ऊ बेला पहाडबाट तराई झर्थे । अहिले स्वास्थ्य, शिक्षा र रोजगारको अवसरका लागि पहाडबाट तराई तथा सहर झर्ने क्रम रोकिएको छैन । “अहिले बनाइरहेको मध्यपहाडी लोकमार्ग दशकौँ अगाडि निर्माण भएको भए सायद पहाड छोड्नेको ताँती लाग्दैन पो थियो कि ?,” उनी प्रश्न गर्छन् ।
जति बेला नागरिक पहाडमा थिए, त्यो बेला सरकारले पहाडमा लगानी गरेको थिएन । न बिजुली थियो न सडक । तर, जब पहाड करिब रित्ता–रित्ता भइसके, सरकारले बजेट पहाडमा खन्याएको उनको तर्क छ ।
परिबन्दमा परेर जो–जता भए पनि आफ्नो भूगोल र पहिचान बिर्सिन नहुने बताउने सुगमलाई गीतको भिडियोमा पूरै खोटाङ र खोटाङको कला–संस्कृति र भूगोल अटाउने चाह छ । मारुनी र थोरै हाकपारे लयमा उनिएका शब्द सुहाउने दृश्य त कोभिड महामारीले अहिले खिच्न दिएन । तर, उनले हिम्मत हारेका छैनन् । त्यसैले त उनले किटेरै कतै लिरिकल भिडियो नभने पनि लिरिकल भिडियोकै रुपमा यसलाई छोडेका छन् । बाँकी सहज भएपछि पूर्वका राई–लिम्बूको कला–संस्कृति देखाउने योजनामा छन् । रमणीय भूगोल समेट्ने अठोट लिएका छन् । कम्तीमा गीतमा पूरै खोटाङ देखियोस् ।
“अहिले यो सुन्ने मात्रै छ, कोभिडले छोडेपछि हेर्ने गीत बनाउनेछु । यसका लागि मैले त्यहाँको संस्कार, संस्कृति र सभ्यताको अध्ययन गरिरहेको छु,” आफ्नो पुर्खाको माटोको मायाले पगालेपछि त्यसको जिम्मेवारी महसुस गरेका उनी दृढ सुनिए ।
धेरै उत्तर आधुनिक भएर पनि नहुने भन्दै आफू र आफ्नो बारे कम्तीमा न्यूनतम कुराहरु मनन गर्न सक्नुपर्ने उनको धारणा छ । यसलाई नैतिक शिक्षाकै रूपमा लिने सुगम यो कुरा आफू छोरीलाई बारम्बार सम्झाउने गरेको बताउँछन् ।
“बाउ–बाजेले यो गरे र हामीले पनि त्यो उपयोगी संस्कार अवलम्बन गर्नुपर्छ भन्ने मेरो सोच हो । कुल–पितृलाई माने के थाहा, केही आशीर्वाद नै मिल्छ कि ! सही बाटोमा हिँड्न सक्छ कि भन्ने मेरो सोच हो,” उनी भन्छन् ।
तस्बिर : शैशव किशोर श्रेष्ठ